बागलुङ/आजकल होम सेन्टरमा एसइई दिनेहरु छन् । त्यो पनि बाबुआमाले लगेर छाडिदिन्छन् । सँगै लिएर फर्कन्छन् । तर,उनी तीन दिन हिँडेर एसएलसीको सेन्टर पुगेकी थिइन् । तीन महिनासम्म डेरामा बसेर जिल्लाकै पहिलो महिलाको रुपमा एसएलसी उत्तीर्ण भएर फर्किइन् ।
२००४ मा बागलुङ बजारको किराना टोलमा जन्मेकी गंगादेवी राजभण्डारी कसजूले जिल्लाबाट पहिलोपटक एसएलसीमा महिला सहभागिता जनाएकी थिइन् । २०२१ साल उनले एसएलसीको टेस्ट परीक्षा पास गर्दा बागलुङमा परीक्षा केन्द्र थिएन् ।
एसएलसीका लागि पाल्पा वा पोखरा जानुपथ्र्यो । गंगाले पाल्पामा सेन्टर रोजिन् । तर, अभिभावकले पठाउन मानेनन् । परिवारका सबै अगुवाको अबरोधका बाबजुत गंगाका दाजु लालचन्द्रले पाल्पा लगे । तीन महिना राखेर एसएलसी दिने व्यवस्थापन मिलाए । बाबुले नदिएपछि लालचन्द्रले पैसा खोजेर बैनीलाई पढाउने काममा साथ दिएका थिए । घरबाट निस्कनै नपाउने गंगा दाइको साथले तीन दिन हिँडेर पाल्पा पुगेकी थिइन् ।
परीक्षा दिनका लागि मात्र उनले सास्ती खेपेकी होइनन् । घर छेवैको विद्यालय जानकै लागि पनि उनले संघर्ष गर्नुप¥यो । घरकै करेसामा रहेको विद्यालयमा छोरीचेलीले प्रवेश पाएका थिएनन् । जन्मेको तीन महिनामा आमा रत्नदेवीलाई गुमाएपछि झन छोरीलाई साथ दिने कोही थिएनन् । बाबु तेजबहादुरले छोरीबेटीलाई घर बाहिर निस्कन पनि दिन्थेनन् । छोरीलाई पढाउने चलन पनि थिएन । त्यसैले गंगाले पढ्नका लागि ठूलो संघर्ष गर्नुप¥यो ।
सदरमुकाम बागलुङमा १९९७ सालमा ओमप्रसाद गौचन र मेघकुमार बैद्यले खोलेको विद्यामन्दिर माध्यामिक विद्यालयमात्रै थियो । यहाँ धनीसाहुका छोरा मात्रै पढ्थे । ‘अर्काको घर जाने जात’ भन्दै छोरीलाई कसैले पनि पढाएका थिएनन् । घरायसी काममा मात्रै छोरीहरुलाई लगाइन्थ्यो । बरु, घरेलु उद्यममा लगाएर कपडा बुन्ने काम भने छोरीहरले गर्थे ।
बाबुले छोरीले पढ्न हुँदैन भनेपछि परिवारका सदस्यले बोल्न सक्थेनन् । गंगाको चाहनालाई साथ दिने जेठो दाइ लालचन्द्रमात्रै थिए । बहिनीको पढ्ने चाहनाका कारण पैसा खोजेर विद्यालय भर्ना गराए । आफ्नो चाहना नभएकोले तेजबहादुरले छोरी गंगालाई पोशाक समेत किनिदिएनन् । घरसारकै जामा लगाएर गंगाले झण्डै १० वर्ष विद्यालय पढिन् । १५ वर्षको उमेरमा उनलाई खास्टो चाहियो, त्योसमेत बाबुले नकिनिदिएपछि कछाड लगाउने कपडा ओडेर विद्यालय गएको उनको अनुभव छ ।
पाल्पास्थित पद्म बहुउद्देश्यीय मावि केन्द्रबाट बागलुङको पहिलो महिला विद्यार्थीको रुपमा उनले प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गर्न सफल भइन् ।
बागलुङकै बैकुण्ठ बिजुक्छे निर्देशक रहेको मसान नाटकको मञ्चन गर्ने क्रम थियो । एसएलसी दिएर फर्केपछि गंगाले उक्त नाटकमा नायिकको भूमिका खेल्ने निधो गरिन् । त्यसअघि महिला पात्रको भूमिका पनि पुरुषहरुले गर्थे । ‘महिलाले नाटक गर्दा संसार हल्लेझंै भयो’ उनले भनिन्, ‘समाजका अगुवा भनिनेहरु र बुबाबीच बैठक भयो, छोरीहरु बिग्रने भए भनेर मलाई रोक्न खोजे ।’ छोरीको विवाह नै नहुने र बात लाग्ने हो कि भनेर तेजबहादुर धेरै पटक घरमा आएर झोक्किए ।
संयुक्त परिवारमा बस्ने दाइहरुले गंगाको आँटलाई साथ दिए । दाजुहरुको साथ पाएकै कारण पहिलो पटक उनले महिला कलाकारको रुपमा नायिका बनेर २० वटाभन्दा बढी नाटक मञ्चन गरिन् । त्यो घटनाले गंगाप्रति हेर्ने दृष्टिकोण समाजमा बिग्रेकी केटीको रुपमा परिचित थियो । नाटकमा नायकको भूमिका खेलेका शत्रुध्न श्रेष्ठसँग बोल्न पनि दिइएन । उनको घरको बाटो हिंड्न रोक लाग्यो । नाटक खेल्दा पनि आँखामा हेर्न समेत प्रतिवन्ध लगाइएको थियो । ‘मलाई नाटकका पात्रसंगै लभ गर्छे, विवाह गर्छे भन्ने आरोप लाग्यो,’ गंगाले भनिन्, ‘त्यसपछि मैले बुबा र समाजमा अगुवालाई जिल्लाभित्रै विवाह गर्दिन, बाबुले खोजेर ल्याएका अर्कै जिल्लाको केटासँग विवाह गर्छु भनिदिएँ ।’ नभन्दै उनले गुल्मीको रिडीका विनयकुमार कसजूसँग् २०३२ सालमा विवाह गरिन् । विवाहमामात्रै पतिलाई देखेको उनले बताइन् ।
राजधानीका क्याम्पसमा गएर आइएससी पढ्ने गंगाको धोको थियो । तर, घर छाडेर जाने अवस्था नभएपछि प्राइभेट रुपमा आइए र बिए पास गरिन् । एमए पढ्दापढ्दै परीक्षा दिने अवस्था नभएर छाडिन् । आइए पढ्ने क्रममा विद्यामन्दिर माविका अध्यक्ष ओमप्रसाद गौचनले गंगालाई शिक्षक नियुक्त गरे । विवाह नहुन्जेल २०३२ सालसम्म विद्यामन्दिर माविमा शिक्षक बनिन् । नियुक्त पाएको एक बर्ष उनले तलब पाइनन्, बरु विद्यालयले सानो ठिमीमा शिक्षक तालिममा पठायो । त्यतिबेला पनि पालैपालो दाजुहरुले नै साथ दिए । त्यसपछि फर्केर १० वर्ष उनी शिक्षक भएर पढाइन् । उनले १ सय ७५ रुपैयाँ तलब पाउँथिन् । उनले पढाएका पहिलो व्याचका विद्यार्थी काजी गाउँले श्रेष्ठ अहिले पनि बागलुङमा वरिष्ठ अधिवक्तामा कार्यरत छन् ।
२००३ सालमा खुलेको विद्यामन्दिर पुस्तकालयको समेत उनी अध्यक्ष बनिन् । २०२५ सालमा उनी अध्यक्षमा चुनिँदा अहिलेसम्मकै एक्लो महिला बन्न सकेकी छिन् । उनको कार्यकालमा पुस्तकालयमा अतिरिक्त क्रियाकलाप संचालन,कवि गोष्ठी, पुस्तकालय दिवश मनाउने लगायतका धेरै क्रियाकलाप भएको वरिष्ठ अधिवक्ता गाउँलेले बताए । विद्यालयमा शिक्षक बनेर पनि उनले सधैं सादा र मर्यादित कपडा लगाउने, अनुशासनमा बस्ने गरेको बताइन् ।
यी सबै अभियानमा साथ दिने लालचन्द्र राजभण्डारी भने सामाजिक क्षेत्रमा क्रियाशिल भए । पुस्तकालय र विद्यालयको अध्यक्ष बन्नेबाहेक उनले कहिले पनि राजनीतिक वा अन्य पद लिएनन् । ७७ वर्षीया गंगा तीन सन्तानकी आमासमेत हुन् । उनका पति साहित्यकार थिए । नेपाल कम्प्युनिष्ट पार्टीमा बसेर कसजू दम्पत्तिले लामो समय काम गरे । २०४६ पछि विनयले राजनीति छाडे भने गंगाले २०६२ पछि राजनीति छाडेर सामाजिक क्षेत्रमा मात्र क्रियाशिल भएकी छन् । साहित्य र सामाजिक सेवामा उनको जोश भने अझै घटेको छैन ।
उनले पोखरा जानुपर्दा कालीगण्डकी नदीमा डुंगा गरेर गएको अनुभव संगालेकी छिन् । २०५० साल अघिसम्म कालीगण्डकी नदीमा पुल थिएन । पोखरा बागलुङ राजमार्ग खुलेपछि मात्रै यहाँका नागरिकले मोटर चढेर पोखरा जान पाएका थिए । गंगाले पनि खाना खर्च बोकेर स्याङजाको नागडाँडाको बाटो पोखरासम्म दुई दिन पैदल यात्रा गरेर मात्रै पुगेको अनुभव संगालेकी छिन् । पटक पटक पोखरा जानुपर्दा उनले दाजुहरुकै साथ लिने गरेको सुनाइन् । उनको मेहेनत र हिम्मतका कारण परिवार र छिमेकीहरुमा अध्ययन गर्ने बानी बढेको नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । विद्यामन्दिर मावि र विद्यामन्दिर पुस्तकालयले गंगाको योगदान सम्झेर ७७ वर्षको उमेरमा सम्मानसमेत गरे ।





