बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संविधानले नचिन्ने ‘सुशिला सरकार’ले चुनाव गराउँला ?

संविधानले नचिन्ने ‘सुशिला सरकार’ले चुनाव गराउँला ?


  • हरिराम अधिकारी
  • मंसिर २६ २०८२, शुक्रबार

मेरो देश नेपालमा किन सधैं आशान्ती र असुरक्षा भइरेको छ । देशमा सधैं आन्दोलन मात्र भइरहन्छ । भू–राजनीतिले हो की नेपालीहरु बढी शिक्षित वा वाक स्वतन्त्र बढी भएर हो ! गरिबीका कारण हो या वेरोजागरका कारणले थाहा पाउनै सकिएन । मैले जान्दादेखि आजको उमेरसम्म आइपुग्दा पनि आन्दोलन भईराखेका छन् । २०४६ सालको जनआन्दालेन होस् या २०५१ सालदेखि भएको कथित माओवादीको १० वर्षे युद्ध पनि देखियो । २०५८ मा तानाशाह राजाले प्रजातन्त्र ‘कु’ गरेको पनि भोगियो । २०६२÷०६३ सालको बृहत जनआन्दोलन पनि देखियो भने २०८२ भाद्र २३ र २४ गतेको तथाकथित जेनजीको नाममा लुटपाट, आगजनी पनि देख्न पाइयो ।

हाम्रो यो पुस्ता अति भाग्यमानी हो कि क्या हो ! यहिं उमेरमा राजहरुको तानशाही शासन पनि देखियो, प्रजातन्त्र, लोकतान्त्रिक शासन पनि भोगिएकै छ । विश्वका कुनै पनि देशमा यति धेरै आन्दोलन भएका छैनन् त्यसैले यो मामिलामा हामी भाग्यमानी हौं । जेन्जीले गरेको आन्दोलनले केपी ओली सरकारलाई हटायो र पुर्व प्रधानन्याधिस सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । यो सरकारलाई नेपालको संविधान २०७२ ले चिन्दैन । नेपालको संविधानको धारा १३२ उपधारा १ र २ मा स्पष्ट रुपमा लेखिएको प्रधानन्यायधिश भएको व्यक्ति प्रधानमन्त्री हुन नै पाउँदैन ।

नेपालको प्रधानमन्त्री हुन नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा १, २, ३, ४ र ५ भित्रबाट प्रतिनिधी सभाको सदस्यलाई नै राष्ट्रपतिबाट प्रधानमन्त्री तोक्ने व्यवस्था रहेको छ । हालको प्रधानमन्त्री नेपालको संविधान २०७२ को धारा ६१ बमोजिम भनिए पनि धारा ६१ को उपधारा १, २, ३ र ४ मा प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्थानै छैन । त्यसैले यो सरकार असंवैधानिक छ । यो सरकारका जति पनि मन्त्री भएकाहरु बारबरा फाउण्डेशनका सदस्य मात्र छन् । जसले जति धेरै एमालेलाई विरोध गर्दछ त्यो मन्त्री बनेका छन् । यो सरकारले ६ महिनामा प्रतिनिधीसभाको चुनाव गराउनु नै आफै असंवैधानिक छ ।

यो सरकार बनेदेखि नेकपा एमाले झन् शक्तिशाली बन्दै गएको छ । दिनैपिच्छे युवायुवती लगायत सबै पुस्ताका व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरिरहेका छन् । यो सरकारका मन्त्रीहरुले एमालेलाई जति गाली गर्दैछन् उत्तिकै पार्टी लोकप्रिय बन्दै गएको छ । भनिन्छ, एउटा आँपको बोटमा लटरम्म आँप छन्, अर्को रुखमा आँप फलेको नै छैन भने अब भन्नुहोस् ढुंगाले कुन बोटमा हान्छन् । पक्कै पनि लटरम्म आँप फलेको बोटमा नै हान्छन् । त्यसैले नेपालीको आस्थाको केन्द्र सबैको मनमुटुमा बस्न सफल एमाले नै हो ।

एमालेको दिनहुँ जस्तै सभा संगठन भईरहका छन् । जेन्जी भन्नेहरुले गरेको हिंसा, लुटपाट, आगजनीबाट कुनै पनि पार्टी राजधानीभन्दा बाहिर निस्केका छैनन् । तर, जनताको पार्टी एमाले ७७ वटा जिल्ला, ७ सय ५३ पालिका र झण्डै सबै वडा तहसम्म पुगेको छ । यो विषम परिस्थितीमा जनता, कार्यकर्ताको माझ पुगेकाले जनताको विश्वास यो पार्टीप्रति जाग्दै गएको छ । यो विषम अवस्थामा एमाले कार्यकर्ताले जनताको सुरक्षा दिने छ भन्दै एमाले अध्यक्ष केपी ओली र युवानेता महेश बस्नेत सतिसाल झैं उभिएर जनताको माझ पुगिरहेका छन् । गरीब, निमुखा, किसान, मजदुर, व्यापारी र उद्योगीले भन्न थालेका कि – सबैको हित गर्ने पार्टी त एमाले पो रहेछ ।

अब निर्वाचन सम्बन्धित केही तथ्यहरु प्रस्तुत गरौं । हामीले त पञ्चायत कालको निर्दलिय चुनाव पनि देखियो । बहुदल आए पछिको पहिलो चुनावमा भोट पनि हालियो । २०५१ सालको चुनावमा पनि भोट हालियो । पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको चुनाव बहिस्कार गरेर पनि हेरियो भने लोकतन्त्रपछिको २०६४ सालको चुनावमा भोट त हालियो तर, धेरै डर र त्रासको अवस्थामा । किनभने त्यति बेला नेकपा माओवादी शान्ति प्रक्रियामा आएको थियो । उनीहरुसँग हतियार र लडाकुहरु गाउँ, शहर सबैतिर थिए । माओवादीलाई भोट नहालेमा फेरी पनि हामी जंगल नै जाने हो भन्दै भोट नदिनेलाई छानीछानी कारवाही गर्ने धम्की दिँदै हिंडेका थिए । त्यस्तो अवस्थामा भएको चुनावले कुनै परिणाम दिन सकेन । संविधान सभाको चुनाव थियो । पुनः संविधान सभाको चुनाव गराउनुप¥यो र देशलाई ठूलो आर्थिक बोझ भयो । दोस्रो संविधानसभा चुनावबाट एमाले र काँग्रेसको अगुवाइमा नेपालको संविधान २०७२ आयो । हामीले २०७४ र २०७९ को चुनाव पनि हेरियो ।

जेन्जीहरुको विध्वंसपछि नेपालको संविधानले नचिन्ने पूर्व प्रधानन्यायधिस सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइयो । जेन्जीको अगुवाईमा अहिले देश कार्कीमय बनाईदै छ । जाँचबुझ आयोगमा गौरीबहादुर कार्की, अनुसन्धान प्रमुख टेकेन्द्र कार्की, सिंहदरबार जलाउन उक्साउने दोषीमा कार्की ल्याउनुले देश जातियता जान लागेको हो त ? यो सरकार त भ्रष्टचारीको सरकार हो भनेर सहजै भन्न सकिन्छ । सबै मन्त्रीका भ्रष्टाचारका काण्ड सञ्चार माध्यममा आएकै छन् । प्रधानमन्त्री सुशिला कार्कीले टोखा नगरपालिकामा सार्वजनिक जग्गा मिचेर घर बनाएर बसेको प्रमाण आइसक्यो । झण्डै २० करोडभन्दा बढी मूल्यको जग्गा ओगटेर बसेको मान्छेले स्वच्छ हुन्छ ? प्रधानन्यायाधिस भएकी मान्छेले आफ्नो देशमा भविष्य नदेखेर अमेरिकामा घर जग्गा किनेकी छन । उनका छोराबुहारी सबै अमेरिकामा बस्दछन भने यी कार्कीले देशको लागि सोच्छिन होला त ? मन्त्रीहरुका छोराछोरी पनि विदेशमा नै छन् । कुलमानको छोराछोरी, रामेश्वर खानालकी छोरी, महाविर पुनकी छोरी, जगदिश खरेलका छोरालगायत सबैका सन्तान नै विदेश छन् भने यिनलाई देशको के माया छ । यिनीहरुले देश जलाउने खरानी पार्ने रुवाण्डा, यूक्रेन जस्तो बनाउने र देशमा विदेश सेना भित्राउने र भ्रष्टाचार गरी कमाएको अकुल सम्पति विदेशमा नै लगेका छन् । यिनीहरु उतै गएर मोजमस्त गर्ने लुसीफरहरु हुन् । एउटा देशका सार्वाजनिक सम्पति लुटपाट र व्यक्तिको सम्पति लुटपाट गर्न लगाउने लुसीफर जस्ता व्यक्तिलाई कारवाही गर्ने कस्ले ?

संविधानले नचिनेको कार्की सरकारले देशमा चुनाव गराउँछ भन्नु ‘आकाशमा थुक्नु जस्तै हो । युवाको रगतमा होली खेलेर आएका व्यक्तिहरुले चुनाव गराउने कुरै छाडौं, यिनीहरुले जातिय द्वन्द गराउने कसम खाएर आएकाले यिनीहरुबाट देशमा सुशासन र कानूनी राज्यको स्थापना हुन्छ भनेर सोच्नु पनि बेकार छ । यो सरकार असंवैधानिक छ भने अर्कोतिर प्रहरीका लुटिएका झण्डै ११ सय ७५ थान आधुनिक हतियार, झण्डै ९५ हजार थान गोली र त्यतिकै मात्रामा प्रहरीका पोशाक बाहिर छन् । कारागारबाट भागेका झण्डै ४ हजार ८५७ कैदीबन्दी बाहिर छन् । यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ? अर्को कुरा के भने चुनावको लागि पार्टीहरु प्रचार प्रसार गर्न गाउँदेखि शहरमा जानुपर्ने हुन्छ । दलहरुले आफ्ना गतिवविध गर्नका लागि उपयुक्त वातावरण छ त ? हामीले देखिसक्यौ बारामा एमाले राष्ट्रिय युवा संघको कार्यक्रममा जान जेन्जीहरुको नाममा नेता महेश बस्नेतलाई कार्यक्रममै जान रोक लगाईयो । इटहरीमा त्यस्तै, धरानमा उस्तै भएपछि कसरी चुनावमा जाने । चुनाव केवल यो सरकारको नाटक मात्र हो । उद्देश्य अर्कै छ । देशलाई सुडान बनाउने र युद्धमा धकेल्ने ।

असंवैधानिक सरकार बनेदेखि नै घोटाला शुरु भएका छन् । कलिला युवतीलाई प्रलोभनमा पारी डिम्ब बेचबिखन गर्नेलाई कारवाही गर्नुको सट्टा महान्याधीवक्ताबाट उन्मुक्ति, कुलमान घिसिले भारतबाट बिजुली आयात गर्दा करिब ४३ करोडको घोटाला, अर्थमन्त्रीले झण्डै १ अरबको कर छुट दिई करोडौंको चलखेल, सिंहदरबार जलाउने बब्लुलाई मन्त्रि उपहार, केपी ओली सरकारले देश बिगा¥यो भनि एमालेको विरोध गरेबापत बारबरा फाउन्डेसनको सदस्य जगदीश खरेललाई मन्त्री उपहार । केपी ओलीको संसद विघटन मुघामा ओलीविरुद्ध लागेकालाई कानुनमन्त्री । यिनीहरुले देशमा सुशासन दिन्छन् भन्नु कल्पना मात्र हो ।

नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, रास्वपा, मधेशवादी दल लगाएत अन्यले पनि विरोध गर्ने व्यक्ति हुन् – केपी ओली र एमाले । सबैले एउटै नेता वा एउटै पार्टीलाई प्रहार गर्नेछन् भने संभवत त्यो व्यक्ति वा शासक सत्यको बाटोमा छ । आज विकास, समृद्धि, सुशासन, शान्ती नहोस् भन्ने नेपाली अनुहारका विदेशीको डलर खाएर देशलाई अशान्त बनाउन केही तत्व लागिपरेका छन् । सबै नेता भ्रष्ट हुन भन्ने भाष्य निर्माण गरी सधैं नेगेटिभ प्रचार मात्र गरेर देशलाई अशान्त बनाएर देश माथीनै गद्धारी गरिरहेका छन् । जबसम्म यिनीहरुलाई कारवाहीको दायरामा ल्याईदैन तबसम्म देश अस्थिरताको जालोमा जगडिन बाध्य हुनेछ । सबैलाई चेतना भया ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->