हिजोको पोखरा अघिल्लो भागमा पोखरालाइ व्यवस्थित बनाउन र भविष्य उज्यालो बनाउन सकिने केही प्रयासहरु र योजना त्यो भन्दा अगाडी पोखराको पहिचान बनाउन सकेका केही महत्वपूर्ण समयबारे चर्चा गरिएको थियो । त्यस्ता दुरगामी र सुन्दर भविष्यको लागी बनाइएकामध्ये अधिकांश अझै प्रतिक्षामा छन्, कुनै अधकल्चो रहेका छन, कुनै छलफल र विचार विमर्श अगाडी बढन सकेको छैनन्, त्यसैले अब यसलाई अगाडी बढाउने जिम्मा जेन–जी पुस्ताको हो । जेन–जी आन्दोलन पछि यो पुस्ताको भूमिका÷जिम्मेवार थपिएको छ । आन्दोलन त एउटा शुरुवात हो । यो अन्तिम हुँदैन तसर्थ आन्दोलनले दिएको सन्देशले यो पुस्तालाई नव सक्रिय हुन प्रेरित गरेको हुनुपर्दछ । पोखराको सुदुर भविष्यबारे चिन्तन गर्न झकझकाउने छ र अझ बढी परिस्कृत, व्यवस्थित, सुन्दर हरियाली, प्रदुषणमुक्त, अपराध मुक्त शहर बनाउन प्रेरित गरेको हुनुपर्दछ ।
१. हामी सबैले परिकल्पना गरेको ‘पोखरा चक्रपथ’ जसले पोखरा उपत्यकालाई एकआपसमा आवद्ध गथ्र्यो नै त्यो भन्दा बढी सबैलाई आर्थिक सवलतातर्फ उन्मुख गराउँथ्यो, पोखरालाई अझ व्यवस्थित र फराकिलो सहर बनाउँथ्यो । सार्वजानिक सार्वजनिक यातयातलाई हरित प्रणालीसहित व्यवस्थित बनाउँथ्यो, जग्गा विकाससहित थप उपसहरहरु भित्री शहरी क्षेत्रमा प्रवेश गर्नुपर्ने स्थिति अन्त हुन्थ्यो । तर, यस्तो दुरगामी महत्वपूर्ण कामबारे धेरैपटक शासकीय संस्थाहरुसँग अनुरोध गर्यौ, जनप्रतिनिधिहरुलाई भन्यौ, संस्थाहरूले सकारात्मक जवाफ दिएपनि सरकारले काम अगाडी नबढाएसम्म केही हुन नसको अवस्था थियो ।
२÷३ पटक सर्भे गर्दा अन्तिममा ७८.२ किमी हुने चक्रपथ निर्माणमा ५.५ कि.मी. (४÷५ ठाउँ गरी) सुरुङ मार्ग हुने ५ वटा ठूला पुलहरु, २२ वटा साना पुलहरु र कलभर्टहरू निर्माण गर्दा झन्डै ३–४ अरब रुपैयाँ लाग्ने र ४ वर्षभित्र पुरा गर्न सकिने योजनाबारे छलफल शुरु गरेको पनि २०÷२२ वर्ष भइसकेछ । दत्तचित्त भएर, इच्छाशक्तिसहित लागेको भए, कास्कीबाट निर्वाचित सांसदहरू यो कस्केली यो भविष्यसँग जोडिएको भविष्यको लागी प्राणयुक्त कार्य हो भन्ने आत्माबोध गरेको भए पोखरामा रहेका जिल्ला विकास, नगरपालिका, गाउँपालिका निकायहरुले सक्रियता देखाएको भए र केन्द्रिय सरकारको पोखरालाई बनाउनु पर्छ भन्ने दृष्टिकोण र सोच रहेको भए निर्माण भइसक्थ्यो पोखराको स्वरूप अर्कै भइसक्थ्यो । तर कास्कीको राजनैतिक पहुँच शक्तीकेन्द्रहरूमा कास्कीका जनप्रतिनिधिहरुको दबाब र राजधानीले पोखरलाई हेर्ने दृष्टिकोणमा कमी भएको करणले यो चक्रपथ योजना सुरु गर्न सकिएको छैन । अब यो कार्य यो पुस्ताले अगाडी बढाउनु पर्छ नै ।
२. पोखरालाई व्यवस्थित शहरको रुपमा रूपान्तरण गर्न बस टर्मिनल निर्माण गर्न भनेर अधिग्रहण गरेको २०० रोपनीभन्दा बढी जग्गा २०३२ सालदेखि प्रतिक्षामा छ । बस पस्छन् निस्कन्छन् यत्रतत्र राखिन्छ जसले टहरो बनाइन्छ, खुम्चिएर अहिले एक चौथाइ जग्गा बाँकी रहेको छ । नगर पञ्चायत, नगरपालिकामा चुनिएर आएकाहरुदेखि संसद्मा चुनिएकाहरूको पहिलो प्रतिवद्धता बसपार्क निर्माण हुने गरेको छ । २०५४ सालपछि लेखनाथ क्षेत्रमा पनि अर्को टर्मिनलको लागी जग्गा छुट्याइएको छ त्यसको अवस्था पनि उस्तै छ । पोखरा र वरपर क्षेत्रमा सार्वजनिक जग्गाहरु अतिक्रमण भइरहने तर प्रशासन र जनप्रतिनिधिहरुको मौनताको करणले यस्तो अवस्था सिर्जना भएको हो ।
महानगरपालिकाले बनाउने भनेर नक्सांकन गर्छ, डिजाइन गर्छ तर कार्यन्वयन हुँदैन । सुन्दर शहर पोखरा प्रवेश गर्ने प्रत्येक व्यक्ति ओर्लन साथ अव्यवस्थित शहरमा पाइला टेक्नुपर्ने अवस्था सुखद् होइन । हामीले गर्न नसकेको यो काम पुरा गर्ने जिम्मेवारी नयाँ पुस्ता जेन–जीमा आएको छ । अहिलेको पुस्ताले यसलाई गम्भिरताका साथ लिने विश्वास गर्न सकिन्छ ।
३. साँघुरो पोखरामा सार्वजनिक यातयात प्रणाली व्यवस्थित गर्न पूर्व पश्चिम, उत्तर दक्षिण आकाशे रोपवे मार्ग योजनाको प्रारम्भिक छलफल शुरु भएको थियो । यसैबीच ‘पोडकास्ट’ नयाँ प्रणालीको सर्भे पनि हुने क्रममा थियो । अब यस कार्यलाई निक्र्यौलमा पु¥याउनेतर्फ नयाँ पुस्ताले ध्यान केन्द्रित गर्ने छ ।
४. पोखरालाई आर्थिक र व्यापारिक केन्द्रको रूपमा विकसित गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय सम्मेलन तथा संस्कृतिक केन्द्र साथै प्रदर्शनी÷व्यापारिक केन्द्र निर्माण गर्ने योजना बनाएकोमा पटकपटक डिजाइन माटो परिक्षण र बजेट छुट्याएको भएता पनि काम अगाडी बढाउन केन्द्र सरकारले रुची देखाएन । जबकी सम्मेलन केन्द्र तथा सभागृहको नाममा बुटवलमा १ अरबको सहित विभिन्न शहरहरू झन्डै (२७ वटा) निर्माण सम्पन्न गर्न तत्परता देखायो । यो केन्द्र सरकारमा रहेको नेताहरूको पोखराप्रति दुराशय र कास्कीबाट प्रतिनिधित्व गरेका सांसदहरु र मन्त्री पदमा पुगेका व्यक्तिको अकर्मण्यताको प्रतिक थियो । अब आशा गरौं जेन–जी पुस्ताहरूले प्रतिनिधित्व गरेको सरकारले पोखरामा यो काम शुरु गर्ने छ ।
५. पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा निरन्तर छलफल र दबाब पछि २०४३ सालमा ठूलो पोखरा सभागृहको निर्माण सम्पन्न भयो तर अहिले झन्डै जिर्ण अवस्था त नभनौं तर हेर्न लायक अवस्थामा नरहेको स्थिती छ । यसको पुननिर्माण र मर्मत सम्भार गर्ने कुरा पोखरा महानगरपालिकाले बारम्बार व्यक्त गरेपनि स्थिति यथावत छ नै । राम्रो गर्न छिटै काम थालनी गर्नुपर्छ ।
अर्को महत्वपूर्ण पक्ष पोखरा विश्वविद्यालय स्थापनाको लागि जनआवाज र जनपरिचालन गर्न र सरकारलाई दबाब दिन पोखरा उद्योग वाणिज्य संघले नेतृत्व गरेको सार्थकता २०५६ सालमा प्राप्त गर्यो । तर अपेक्षित काम गर्न नसकेको र राजनैतिक भागवण्डामा पदाधिकारी नियुक्ती हुने गरेको कारणले स्तरिय शिक्षासहित मुलुकलाई आवश्यक पर्ने जनशक्तिसहित व्यवहारिक ज्ञान प्रदान गर्न चुकेको छौ । हामीले परिकल्पना गरेको पोलिटेक्निकल इन्स्टिच्युट, (ख) औद्योगिक संस्थान Institute of Technology संचालन गर्ने काम अगाडी बढ्न सकेको छैन । अबको पुस्ताले गुणस्तरीय शिक्षासहित आवश्यक जनशक्ति तयार गर्न र पदाधिकारीहरु नियुक्तिमा उपयुक्त पात्रहरूको खोजी गर्न आउँदो पुस्ताले तत्परता देखाउने छ ।
६. अर्को महत्वपूर्ण कार्य भनेको पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा पश्चिमाञ्चल विकास क्षेत्रकै आम जनताको सहभागितामा अहिंसात्मक आन्दोलनले दबाब स्वरूप ल्याएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हो । इपिसी मोडलमा चिनको एक्जिम बैंकको २२ अरब ऋण लिएर चिनियाँ ठेकदारले निर्माण गरेको यो विमानस्थल उद्घाटन पश्चात पनि आन्तरिक विमानस्थलमा खुम्चिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल चाहिं कोमाको अवस्थामा छ । वर्ष को २÷४ पटक चार्टर उडान हुँदा बिउँझन्छ अन्यथा सुतिराख्ने अवस्था मा छ । त्यसैले आन्दोलनले निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल अहिले हर्ष न बिस्मातको रूपमा रहेको छ । किन यो अवस्था मा पुग्यो त ? किन पोखरेलीलाई निराश पार्याे ? किन पर्यटन क्षेत्र लगायत अन्य आर्थिक गतिविधी वृद्धि गर्न सघाउ पु¥याउन सकेन ? यसबारे महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, नागरिक उड्डयन क्षेत्र सुधारको लागि गठित उच्चस्तरिय अध्ययन र सुझाउ समितीले उल्लेख गरिएका कुरा बुझ्न जरूरी छ । त्यसमाथि सार्वजनिक लेखा समितिअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छानविन समितिको सिफारिश अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनको लागि कब्जामा लिएका कागजपत्र विवरण पनि मनन गर्नुपर्छ । अझ मनन गर्नुपर्ने कुरा २०६७ देखिन प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र नागरिक उड्डयन प्राधिकरणले समय समयमा विमानस्थल निर्माण, ऋण लिने, ठेक्का दिने काम सम्बन्धि गरिएका निर्णयहरु पनि हुन जसले धेरै संशय पैदा गरेको थियो । त्यसैले बारम्बार आवाज उठ्ने गरेको थियो, सञ्चार क्षेत्रमा धेरै सामग्रीहरु प्रकाशन र प्रसारित भएको थियो ‘ठुलै भ्रष्टाचार र स्वार्थको चलखेल भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ र यही नै प्रमुख कारण हो पोखरा बाट अन्र्तराष्ट्रिय उडान हुन नसक्नु ।
नेपाली जनता खासगरी यस भेकका नागरिकहरु आफ्नै ठाउँ पोखरामा रहेको विमानस्थलबाट अन्तर्राष्ट्रिय शहरहरुमा आउन र जान नसक्नु हामी सबैलाई यसले नै पिडादायक बनाउँदै छ । हाम्रा सपनाहरू मर्दैछन्, आर्थिक गतिविधी खुम्चिँदै छन्, पोखराको भविष्य उज्यालो बनाउने अवरोध खडा हुँदैछ । (आशंका गरिएका भ्रष्टाचार, संलग्नता, प्राधिकरणको गतिविधी, डिजाइनिङ, इन्जिनियरिङ, चाहिनेभन्दा बढी खर्च, अनावश्यक कर छुट, थप रकम आदिबारे कुनै दिन लेखौँला छलफल गरौंला) यो विमानस्थल संचालनबारे गहन छलफलसहित सुधार गर्नुपर्ने विषयमा व्यापक संवाद गर्न आवश्यक छ । जस्तैः केही समयपछि पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सम्भव हुनेछ । यस विषयमा आउँदो पुस्ताले ध्यान पु¥याउन जरुरी छ । सबै सरोकारवालाहरू सबै तहका सरकारहरू यसप्रति गम्भिर हुन जरुरी छ । किनभने यो पोखराको समृद्धिसँग जोडिएको विषय हो, पोखराको आर्थिक विकाससँग गाँसिएको विषय हो, पोखरालाई पर्यटकिय दृष्टिकोणले एशियाको प्रमुख गन्तव्य बनाउने लक्ष्यसंग जोडिएको विषय हो । अनि समग्र रूपमा पोखरेली हरुको जीवनस्तर उठाउन, आम्दानी वृद्धि गर्ने कामसंग सम्बन्धित विषय हो ।
अहिलेसम्म हिजोको पोखरा बारे चर्चा गर्यौ अब भोलिको पोखरा र आन्दोलन पछि जेन जी पुस्ताको भूमिका बारे अर्को अंकमा चर्चा गरौंला ।




