नेपाली राजनीतिमा विकल्पै विकल्पको खेती चलिरहेछ । राजाको विकल्पमा काङ्ग्रेस र काङ्ग्रेसका विकल्पमा एमाले माओवादीहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसम्मको जन्म भयो । जनताले विकल्पै विकल्पमा मताधिकार प्रयोग गरे । परन्तु जीवनस्तर जहाँको तहि भयो । समाजवादी, साम्यवादीदेखि वामपन्थी, दक्षिणपन्थी र उग्रवामपन्थी दलहरूले वर्चस्व कमाइरहे । जहानिया राणाशासन र शाहवंशीय राजतन्त्रका विकल्पमा तमाम राजनैतिक दल नेपाली भूमिमा जन्मिए । आज आएर हेर्दा मधेसमा मधेसवादी दलको वर्चस्व छ । रवि, बालेन, हर्कहुदै कुलमानसम्मका छुट्टाछुट्टै दलले आखिर देशलाई के फाइदा पुग्ला ?
राणाकालमा कोहि अगाडि नबढुन भनेर सर्वसाधारणलाई शिक्षाको पहुँच बाहिर राखिन्थ्यो । कोहि व्यक्ति महाराजका उपर ठाडो शिर गरेर बोल्ने आँट गर्दैनथे । अहिले हातहातमा मोबाइल र ल्यापटप आइपुगे । मानिस अन्तरीक्षको यात्रा गर्न सफल भए । अविकसित भनिने अनकण्टार गाउँको छेउबाट पनि विश्व ब्रह्माण्ड नियाल्न सक्ने स्थिति बन्यो । तर नेपाली राजनीति उहीँ पुरानो भुलभुलैयामा चलिरहेको छ । शक्ति, सत्ता र पहुँचका भरमा बोलवाला चलिरहेछ । आफ्नाको संरक्षण र पराइको दुर्गति बनाउन उद्द्त दुर्मतीहरुले अँध्यारो रातमा पासा खेल्न छोडेका छैनन् । उनीहरु आफ्नो विरासतमा कसैको दृष्टी नपरोस् भनेर कु–नियतको नियती चलाइरहेछन् ।
काङ्ग्रेसले दशकौंदेखि राजासङ्ग शक्ति संघर्ष गर्यो । विकल्पमा माले, मशाले, मण्डले हुँदै स्वतन्त्रेसम्म आइपुग्दा हजारौं नेपालीले ज्यानको बलिदानी दिनुपर्यो । जनताले राप्रपा र काङ्ग्रेसको विकल्पमा एमाले र माओवादीलाई सत्तामा पु¥याए । जनअपेक्षा अनुरुप काम नभए पछि पछिल्लो निर्वाचनमा पुनः काङ्ग्रेसलाई नै मुख्य विकल्प ठाने, तर काङ्ग्रेसले सरकार बनाउन सकेन । आलोपालो सत्ता सम्हालेर स्वार्थ सिद्धीमा जुटेका नेताहरू चुनावमा चारतिर फर्किएका अनुहारले सत्ता समीकरण सम्हाले । आखिर देशमा भ्रष्टाचार, बेथिति र विचौलिया तन्त्र हावी भो । चप्पल पड्काउदै राजनितीमा छिरेकाहरु आलिसान जिन्दगीमा सर्वहाराको शासन खोजीरहेछन् । जनताका दुख ज्युँकात्युँ छन् । युवाको अभावमा देश वृद्धवृद्धाहरुको सङ्ग्रहालय बन्यो । देशले निकास पाएन । त्यसैले भ्रष्टाचार र बेथितिको जरो उखेल्दै शुसासन र समृद्दीको लागि एकमात्र विकल्प भनेको वैकल्पिक शक्ति हो ।
विकल्पै विकल्पको विकल्पमा नेपाली जनताले रास्वपालाई ६ महिनामै चौथो विकल्प ठाने, उसलाई पनि पुरानैले तह लगाउने जोडबल गरे । यस पटक वैकल्पिक रोजाइ कुन पार्टी बन्छ हेर्न बाकी छ । नयाँ पार्टीलाई राज्यशक्तिबाट निराश भएका मध्यम वर्गीय जनताको भिड मान्नेहरु पनि यहाँ छन् । अघिल्लो चुनाव अगाडि रास्वपाले यहि मान्यता पायो । तिनैबाट तर्सिएका पुराना आत्माहरुले प्रतिशोधको भावना जागृत गरे । फलस्वरुप रविको छवि धमिल्याउन अनेक हर्कत गरे । मध्यम वर्ग आफैंमा निरीह, कायर र डरपोक हुँदैन । उनिहरु राज्यशक्तिको दुरुपयोगबाट विद्रोही बन्न पुगेका हुन्छन् । फलतः भ्रष्टाचार र शक्ति सञ्चयका आड्मा हुने वैमानीका विपक्षमा उभिने बौद्धिक युवाहरुको जत्थाले राज्यशक्तीलाई सुम्सुम्याउनेका विरुद्ध नारा घन्काए । सरकार आफैं ढल्यो । काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर भन्याझै जेन्जी सरकारले पनि धेरै आशा दिन सकिरहेको छैन । यो सरकारले पुरानो राजनैतिक गन्ध बिर्सिएको छैन । त्यसैले वैकल्पिक शक्ति एक हुनै पर्छ ।
आज देशमा परिवर्तनको एउटा नयाँ लहर चलेको छ । अबको चुनाव केवल मतदान होइन, यो भ्रष्ट राजनीतिलाई उखेलेर नयाँ भविष्य निर्माण गर्ने क्रान्ति हो । तर, यो यात्रा सजिलो छैन । पुराना दलहरूले आफ्नो इष्टसिद्धीका लागि जनताको अभिमान माथी खेल्नेछन् । सचेत बनौँ, ८४ मा जनमतको सुनामी ल्याउछौं भन्नेहरूलाई समय पावन बन्दैछ । पर्खने र पर्खाउनेहरुलाई पछिल्लो राजनैतिक घटनाले समय छोट्याइदिएको छ । देशमा व्याप्त भ्रष्टाचार र विफलतालाई मेटाउने सत्ता र शक्तिलाई मर्यादित पेसा बनाउने, प्रलोभन रहित स्वतन्त्र मताधिकारको प्रयोग गर्ने, निर्वाचनमा युवाहरूको उपस्थितिलाई स्वागत गर्ने, व्यक्तिगत स्वार्थ वा सत्ता प्राप्तिको खेललाई अन्त्य गरि नयाँ नेपालको आधार खोज्ने बेला यहि हो । यो समय राजनैतिक सङ्घर्ष चर्काउने, पुराना दलको विकल्पमा जनआवाज उठाउने र हतारमा निर्णय गरि फुर्सदमा पछुताउने नेपाली प्रवृत्तिको अन्त्य गर्ने समय हो ।
पुराना दलहरूले नयाँलाई दबाउन अनेकौँ विधि अपनाउनेछन् । तिनीहरूका सम्भावित चालहरूलाई चिनेर नयाँले आफूलाई बलियो बनाउनुपर्छ । जसरी शान्तिपूर्ण आन्दोलनमा हिंसा भड्काएर बदनाम गराउने प्रयास स्वरुप जेन्जी आन्दोलनलाई आफ्नो पक्षमा प्रयोग गरे । त्यसरी नै अब चुनाव लक्षित मतदाताको आत्मनिर्णयमा खेल्ने प्रपन्च रच्ने छन् । विचार गरौं, शुद्धीकरणको यात्रामा नयाँलाई हत्कडी लगाउने खेलमा सहमति नजनाऊ । पुरानाहरु विगतदेखि वर्तमानसम्म भ्रष्टाचारको दुर्गन्धमा डुबुल्की मारिरहे छन् । छोराछोरी साखा सन्तान युरोप अमेरिका पठाएर नेपालमा जिविताको राजनीति गरिरहेछन् । त्यसैले यहाँ जिविता चलाउने नेता भन्दा नेपाल मै केही गर्छु भनेर स्वदेश फर्किने युवालाई सहि भन्नै पर्छ ।
रवि देश बनाउछु भनेर आएका हुन् या हर्क, कुलमान र वालेनले देश बनाउछु भनेर देश नछोडेका हुन् पत्तो छैन । यदि रवि माथी प्रतिशोध साँधिएकै हो भन्ने बुझाइ सर्वसाधारणको भए अबको चुनावमा रास्वपा पहिलो दल बन्ला । विकल्पै विकल्पमा खोलिएका नयाँ दलहरु एक ठाउँ भए देशले अवश्य मुहार फेर्ला ।
२०६४ मा माओवादीको डरले भोट दिएझै यतिबेला रवि, कुलमान, वालेन र हर्कको आकर्षणले भोट खस्लान् । वैकल्पिक राजनीतिको नामले ६ महिनामा चौथो दल बनेको रास्वपाले धमिलो जीवन काटिरहदा अहिले यावत् वैकल्पिक दल उभिएका छन् । उता वैकल्पिक दलकै ढोङ पिटेका रविन्द्र मिश्र विवेकशीलबाट राप्रपामा सुखै काट्या छन् । राजाको विपक्षमा विद्रोही बनेको माओवादीका सयौं समाचार विश्व सम्प्रेषण गरेका मिश्र राजातिरै मिसिएर कपाल पकाउदा वैकल्पिक शक्ति बनेका युवाहरुले पुरानालाई पिठ्युँ फर्काएका छन् । विगतमा रविले तर्साएपछि शेरबहादुर र ओलीको सरकार उभिएको थियो । बलियो गठवन्धन उदण्ड रुपमा अघि बढ्दा जोन्जि आन्दोलनले उत्तानो पर्यो । अहिले अख्तियार र सुशिला सरकारले तर्साउन थालेपछि फेरि देउवा ओली संसद ब्युताउने दाउमा छन् । देउबालाई प्रम बनाएर मैखाउँ मैलाउँको सोचमा सर्वोच्चमा रिट हाल्न एक मत भएका देखिन्छन् ।
जनताले विकल्प खोज्दा खोज्दै बाबुराम भट्टराई बुढा भए प्रचण्डले विकल्पमा उभिने सबैलाई मिलाको मिलाइ छन् । मोहनवैद्य आफैंमा सिमित बने, यता रामबहादुर थापा बादलले माधब नेपालको पुख्र्यौली घर सम्हाल्दै छन् । विकल्पका नाममा यताका उता उताका यता हिडिरहे छन् । चारतारे झण्डामुनि प्रचण्ड, माधब, झलनाथ र भिम रावलको हालत जे होला उता बादलको हालत पनि त्यही होला । पार्टीको भागबन्डामा नियुक्ति पाएका न्यायाधीशहरुलाई कस्को दया लाग्छ र ? राजनैतिक बेइमानीमा पन्चामृत पिएका नेताहरुको बोलकबोल रुखो चल्छ । नेतादेखि सर्वसाधारणसम्म किन्ने, चिन्ने र भिड्नेसम्मका गतिविधि जायज हुँदा रहेछन् । सास छउन्जेल आश हुन्छ नै । रात रहे अग्राख पलाउँछ, हिजो एउटै थालमा मेजमानी गर्नेहरु आज एकअर्काको अनुहार देख्न नपरोस् भनिरहेका छन् । भमराको सङ्गत छोडेर झिंगाको सङ्गतमा परेकोले पश्चातापको पोखरीमा डुबिरहेका छन् । समाजवादको नारा घन्काउने पूर्व एमाले रावल, नेपाल र खनाल कम्युनिष्ट विचार नभेट्याएर चारतारे सिरकमुनि विद्रोह गरिरहेका छन् । यता बादललाई आफ्नो पार्टीमा भित्र्याउन प्रचण्ड असफल नै छन् । राजनीतिमा मूल्यमान्यता, नैतिकता र मर्यादा भन्ने हुँदो नरहेछ । हिजो सराप्नेदेखि अस्ति टाउकैको मूल्य तोक्नेसम्मको सङ्गत गरेर धुरीमा पुग्ने भागदौड चल्या छ ।
सहरमा कल–कारखाना बन्नुपर्ने ठाउँमा सुधार केन्द्र, घर बन्नुपर्ने ठाउँमा मानवसेवा आश्रम बनिरहेका छन् । जत्ती रवि छँदा रास्वपाको अस्तित्व छ । त्यति अस्तित्व प्रचण्ड, केपि र शेरबहादुर छँदा माओवादी, एमाले र काङ्ग्रेसमा नहोला । सुमना र सन्तोषलाई देखाएर रास्वपाभित्रको अन्तद्र्वन्दलाई पर्दामा ल्याउनेहरुले आफ्नो आङ्का भैंसी नदेखेकै हुन् । राम राज्यको अर्थ भरतलाई थाहा भएझै रविको अर्थ नेपाली राजनीतिमा चुलिएकै छ । अब रवि बिना नेपाली राजनीति चल्दैचल्दैन भन्ने दिन नआउला भन्न सकिन्न । गगनको प्रमाणले अदालतमा ठाउँ नपाउनु रविको दुर्भाग्य हो या गगनको पत्तो छैन । गगनले रवि उपर ठुला नेता र महङ्गा काण्डमा ध्यान दिएको भए रविको धरौटी भन्दा धेरै विगो उठ्थ्यो । देश फरक ढङ्गमा अगाडि बढ्थ्यो । युवाको जमात गगनतिर पनिआकर्षित हुन्थ्यो होला ।
नेपालको कु–राजनीतिले नेपालीलाई नेपालमा टिक्दै नसक्ने बनाएको छ । काम र मामको खोजीमा जापान अमेरिका पुगेका नेपालीलाई समेत विभिन्न बाहानामा लखेटिदै छ । बर्मा गए पनि कर्मसंगै भन्याझै नेपाली विकल्प विहिन बनेका छन् । नेता र कार्यकर्ता त राजनीतिमा लागेकै थिए । तर अहिले डाक्टर, पाइलट, कलाकार हुँदै शिक्षक, पत्रकार, कर्मचारी, व्यापारी र जेञ्जी सबै राजनतिमा लागेका छन् । यी सबैको राजनैतिक यात्रा समयले निर्धारण गर्ला । साँढे जुधे पनि तोरीबारीको नाश, साँढे मिले पनि तोरीबारीको नाश भन्याझै पुराना साँढेहरुको विकल्पमा नयाँलाई स्थापित गर्नैपर्छ । अन्यथा तोरीबारी जोगाउने को पो होला र !
जेन्जीले उचालेर थचारेपछी धेरै राजनैतिक दलहरूको भागाभाग भयो । राष्ट्रपति शिवाय! कोहि पजेरो, कोहि हेलिकप्टर त कोहि अर्धनग्न भएरै ज्यान जोगाउन लागे । राजिनामाको लहरमा सामान्य कार्यकर्तादेखि स्थानीय जनप्रतिनिधि, पार्टी अध्यक्ष, नेता, सांसद हुँदै प्रधानमन्त्रीसम्मको भागदौड रोचक बन्यो । त्यसैले तोरीबारी (नेपाल) को माया भए राष्ट्रपतिलाई छ । अन्यथा वैकल्पिक शक्तिबिना अब नेपाली राजनीति अगाडि नबढ्ला । पुरानाले वैकल्पिक राजनीतिमा सशक्त लागेका व्यक्तिलाई खोरमा थुनेर चर्को राजनीति गरे पनि केही उपलब्धि पाएनन् । उल्टै भोट घराए । जेन्जी आन्दोलनका कारण भागाभाग भयो । अब रवि खुल्ला आकाशमुनि छन् । त्यसैले पुराना नेताहरुको होस् हवास उड्याछ । अबको लडाइ पार्टीको होइन पुस्ताको हुनुपर्छ । पुराना पार्टीको विपक्षमा नयाँ पार्टी एक ठाउँमा हुनुपर्छ । त्यसैले अबको रोजाई नयाँ पुस्ता हुनुपर्छ । रवि, वालेन, हर्क र कुलमान एक हुनैपर्छ । वैकल्पिक शक्तिहरुको एक मत हुनै पर्छ । जय वैकल्पिक शक्ति ।।




