बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

परम्परागत नेपाली कला र वास्तुकलामा सिमेन्ट निर्माण प्रक्रिया र प्रयोग

परम्परागत नेपाली कला र वास्तुकलामा सिमेन्ट निर्माण प्रक्रिया र प्रयोग


  • लाल बहादुर नेपाली
  • पुष १७ २०८२, बिहिबार

नेपालमा सिमेन्ट बनाउने प्राचीन धारणा मानव, प्रकृति र निर्माण गरिएको वातावरण बीचको नजिकको सम्बन्धबाट शताब्दीयौँको अवधिमा बिस्तारै विकसित हुँदै गएका थिए । आधुनिक औद्योगिक सामग्रीहरू आगमन हुनुभन्दा धेरै अघि नै नेपाली निर्माणकर्ताले कुनै संरचनाको मजबुती र दीर्घायु केवल ढुंगा, इँटा वा काठमा मात्र निर्भर हुँदैन । ती सामग्रीहरूलाई एकआपसमा बाँध्ने पदार्थ पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझेका थिए जुन सिपको प्रयोग गरियो त्यो अत्यन्त वैज्ञानिक थियो र, छ । आज हामी जसलाई सिमेन्ट भन्छौँ प्राचीन नेपालमा त्यो वैज्ञानिक सिद्धान्तभन्दा पनि व्यावहारिक बुद्धिको परिणाम थियो । जसको उदाहरण स्थानीय क्षेत्रको अध्ययनका क्रममा गलकोटको राजाको दरबारदेखी काठमाण्डौंका विभिन्न स्थानहरुको अवलोकन र प्रयोगशालामा परिक्षण गरिएको हो । यो प्राकृतिक सामग्रीको सूक्ष्म अवलोकन, बारम्बारको प्रयोगात्मक अभ्यास र पुस्तौंपुस्तासम्म हस्तान्तरण हुँदै आएका सीपहरूको क्रमिक परिष्कारबाट विकसित भएको थियो । यी धारणाहरू नेपालका कला र वास्तुकलाको अभिन्न अङ्ग बनेर मन्दिर, दरबार, विहार, घर, पाटी–पौवा तथा सार्वजनिक स्थानहरूलाई आकार दिन सफल भए, जो आज पनि शताब्दीयौँपछि उभिएका छन् ।

नेपालको भूगोलले प्राचीन निर्माण अभ्यासहरू निर्माण गर्न निर्णायक भूमिका खेलेको थियो । हिमाल र उर्वर तराई मैदानबीच अवस्थित यस देशमा पहाड, उपत्यका, नदी र वनजंगलले विविध प्राकृतिक स्रोतहरू प्रदान गरेका छन् । पहाडी क्षेत्रमा ढुंगा प्रशस्त थिए, उपत्यका र तराईमा माटो र चिस्यानयुक्त माटो सजिलै पाइन्थ्यो । विषेश गरी तराई क्षेत्रको पाँगो माटो स्थानीय निर्माणमा विषेश काममा प्रयोग गरिन्थ्यो र विभिन्न क्षेत्रमा चुनढुंगाको भण्डार पनि उपलब्ध थियो । प्राचीन निर्माणकर्ताहरूले भूमिले दिएको स्रोतको उपयोग गर्न सिके र त्यो ज्ञानलाई लिखितभन्दा पनि व्यवहारिक रुपमा पुस्तान्तरण गरिएको हो र यही व्यावहारिक अनुकूलनले स्थानीय निर्माण परम्पराहरूको जन्म गरायो । सिमेन्ट बनाउने धारणा एउटै मानकीकृत सामाग्री उत्पादन गर्नेभन्दा पनि विशेष वातावरणीय अवस्थाअनुसार उपयुक्त बाँध्ने पदार्थ तयार गर्ने विषयसँग सम्बन्धित थियो । चिस्यानयुक्त उपत्यकामा पानी प्रतिरोधी गुण आवश्यक हुन्थ्यो भने भूकम्पीय पहाडी क्षेत्रमा कठोर मजबुतीभन्दा लचकता बढी महत्वपूर्ण मानिन्थ्यो । यो पुरानो सिमेन्ट अध्ययनका क्रममा प्रयोग भएका विभिन्न सामाग्रीहरुको अध्ययनले देखायो ।

प्राचीन नेपालमा प्रयोग गरिएका सबैभन्दा प्रारम्भिक र व्यापक बाँध्ने सामग्रीहरूमध्ये माटो प्रमुख थियो र अहिले पनि प्रचलनमा छ । चिस्यानयुक्त माटोलाई पानीसँग मिसाएर ग्रामीण क्षेत्रका घर र पर्खालका लागि आधारभूत मसला तयार गरिन्थ्यो । तर, साधारण माटो सुक्दा चाँडै चिरा पर्ने र पानी परेपछि कमजोर हुने कुरा प्राचीन निर्माणकर्ताहरूले चाँडै नै महसुस गरे । यस समस्याको समाधानका लागि पराल, धानको भूसी, पात, जनावरको रौँ र गोबरजस्ता जैविक सामग्रीहरू मिसाउन थालियो । यी तत्वहरूले प्राकृतिक सुदृढीकरणको काम गरे, संकुचन घटाए र समग्र माटोका कणहरुको एकता बढाए । सरल देखिए पनि यो माटोको मसला मिश्रित सामग्री (कम्पोजिट मटेरियल)को प्रारम्भिक बुझाइको उदाहरण थियो, जहाँ विभिन्न तत्वहरू मिलेर बलियो संरचना तयार हुन्थ्यो । यो प्रविधि विशेष गरी जनजीवनसँग जोडिएको परम्परागत वास्तुकलामा महत्वपूर्ण रह्यो र शताब्दीयौँसम्म प्रयोगमा आयो जसको प्रमाणका रुपमा साल २०५० (वि.सं.तिर लुथ्रन नामको गैर सरकारी संस्थाले प्रयोग गरेको ईँटा र अध्ययन प्रमाणका रुपमा लिइयो) ।

समाज जटिल बन्दै गएपछि र वास्तुकला भव्य हुँदै जाँदा माटोको मसला सीमित साबित हुन थाल्यो । धार्मिक संरचना, राजकीय भवन र शहरी बस्तीहरूलाई अझ बलियो र टिकाउ बाँध्ने सामग्री आवश्यक भयो । यही आवश्यकताबाट चुनमा आधारित सिमेन्टको विकास भयो, जुन प्राचीन नेपालमा सबैभन्दा उन्नत र महत्वपूर्ण बाँध्ने सामग्री बन्यो । चुनढुंगा वा क्याल्सियमयुक्त ढुंगालाई परम्परागत भट्टीमा पोल्दा चुन तयार गरिन्थ्यो । पोल्ने प्रक्रियाले ढुंगालाई काँचो चुनमा रूपान्तरण गथ्र्यो, जसलाई पछि सावधानीपूर्वक पानीसँग भिजाइन्थ्यो । यो चरण अत्यन्तै महत्वपूर्ण थियो, किनकी राम्रोसँग नभिजेको चुनले मसला कमजोर बनाउँथ्यो । कति पानी हाल्ने, कति समय राख्ने र प्रयोगका लागि कहिले तयार हुन्छ भन्ने ज्ञान लेखिएको निर्देशनभन्दा पनि अनुभवबाट प्राप्त हुन्थ्यो जुन स्थानिय स्तरका कालिगढहरुमा निहित ज्ञानमा भर पर्दथ्यो ।

विशेष गरी काठमाडौँ उपत्यकामा, जहाँ लिच्छवी र मल्लकालमा कला र वास्तुकला उत्कर्षमा पुगेका थिए, चुनको मसला तयार गर्ने प्रक्रियामा विशेष ध्यान दिइन्थ्यो । चुनलाई लामो समयसम्म राखिन्थ्यो, कहिलेकाहीँ भूमिगत खाल्डोमा भिजाएर राखेर चिस्यान कायम गरिन्थ्यो र समयभन्दा पहिले जम्न दिइन्थ्यो । निर्माणकर्ताहरूले पुरानो चुनले अझ चिल्लो र बलियो मसला दिने कुरा अनुभवबाट बुझेका थिए र यही विश्वास कारीगरहरूबीच स्थापित सिद्धान्त बन्यो । यो सिद्धान्त अहिले हामी मुर्तिकलामा प्रयोग गरिरहेका छौ । समयले नै सामाग्रीलाई सुधार गर्न सक्छ भन्ने धारणा निर्माणप्रतिको दार्शनिक दृष्टिकोणको संकेत हो, जहाँ धैर्य र प्राकृतिक प्रक्रियाप्रति सम्मानलाई महत्व दिइन्थ्यो तर स्थान अनुसार विकसित सिप र कला अनि ज्ञानको सम्मान ।

चुनको मसला अझ बलियो बनाउन प्राचीन नेपाली निर्माणकर्ताहरूले पोलेका इँटाको धुलो, आज ‘सुर्खी’ (स्थानीय नाम) भनेर चिनिने पदार्थ, मिसाउने गर्थे । फुटेका इँटा र छानाका टायलहरूलाई पिसेर सानो धुलो बनाइन्थ्यो र चुन तथा बालुवासँग मिसाइन्थ्यो । यस मिश्रणले मसला छिटो र राम्रोसँग जम्ने र पानी छिर्न नदिने बनायो । यद्यपि प्राचीन निर्माणकर्ताले यसमा हुने रासायनिक प्रतिक्रियाहरू नबुझे पनि यसको व्यावहारिक फाइदा स्पष्ट रूपमा चिनेका थिए । सुर्खी–चुनको मसला परम्परागत नेवारी वास्तुकलाको प्रमुख पहिचान बन्यो, जुन मन्दिर, दरबार, बहाल, चौक र विहारहरूमा स्पष्ट देखिन्छ । यीमध्ये धेरै संरचनाहरू भूकम्प, मनसुन वर्षा र शताब्दीयौँको प्रयोग सहेर आजसम्म टिकिरहेका छन्, जसले यस प्राचीन सिमेन्ट प्रविधिको प्रभावकारिता प्रमाणित गर्छ ।

प्राचीन नेपाली सिमेन्ट निर्माणका धारणामध्ये अर्को उल्लेखनीय पक्ष जैविक पदार्थहरूको प्रयोग हो, जसले मसलाको गुण परिवर्तन गथ्र्यो । सानो मात्रामा गुड, चाकु, दूध, घिउ, तोरीको तेल र विभिन्न वनस्पति चुनको मसलामा मिसाइन्थ्यो । यी पदार्थहरूले लचकता बढाउने, चिरा कम गर्ने र चिस्यान प्रतिरोध क्षमता सुधार्ने काम गर्थे यसको प्रमाण स्वरुप र स्थानीय मान्यतामा आधारित ज्ञानमा तोरीको तेल लगाएर चिसो पानीमा पौडी खेल्दा चिसो भिज्दैन भन्ने कुराको जगजायर गरायो । यस्ता सामग्रीको प्रयोगले प्राचीन निर्माणकर्ताहरूले चुन र अन्य पदार्थहरूबीचको अन्तरक्रियालाई सूक्ष्म रूपमा अवलोकन गरेको देखाउँछ । प्राकृतिक र जैविक तत्वहरूको यो मिश्रणले परम्परागत नेपाली समाजको समग्र जीवनदृष्टिकोणलाई पनि प्रतिबिम्बित गर्छ, जहाँ निर्माणलाई यान्त्रिक प्रक्रिया मात्र नभई जीवन र प्रकृतिको निरन्तरता र संगमविन्दु मानिन्थ्यो ।

प्राचीन नेपालमा सिमेन्टजस्ता सामाग्री बनाउने र प्रयोग गर्ने ज्ञान व्यापक रूपमा लेखिएको थिएन, बरु मौखिक परम्परा र सिकाइ प्रणालीमार्फत सुरक्षित राखिएको थियो । दक्ष कारीगरहरू प्रायः विशेष शिल्पी समुदायका सदस्यहरू, आफ्ना सीपहरू व्यवहारिक तालिममार्फत नयाँ पुस्तालाई सुम्पन्थे । सिकाई औपचारिक कक्षाकोठामा होइन, निर्माण स्थलमै हुन्थ्यो विभिन्न काम र क्रियाकलापमार्फत र भनसुनका आधारमा यो ज्ञान हासिल हुन्थ्यो । यस विधिले प्रविधिहरूलाई वास्तविक परिस्थितिसँग जोडेर राख्यो र व्यावहारिक आवश्यकताअनुसार विकास हुन दियो । हरेक पुस्ताले आफ्नो अनुभवका आधारमा साना सुधारहरू थप्थ्यो, जसले परम्परालाई मूल सिद्धान्त नबिगारी क्रमशः विकसित हुन सहयोग ग¥यो ।

प्राचीन नेपालमा ढुंगाको चिनाइ पनि बाँध्ने प्रविधि र संरचनात्मक स्थिरताको उन्नत सोचको उदाहरण हो । धेरै अवस्थामा ढुंगाहरूलाई अत्यन्त सावधानीपूर्वक काटेर मिलाइन्थ्यो र कम मात्रामा मसला प्रयोग गरिन्थ्यो । प्रयोग गरिएको मसला मुख्य रूपमा खाली ठाउँ भर्ने र स्थिरता दिने कामका लागि हुन्थ्यो, भार वहन गर्ने मुख्य तत्वका रूपमा होइन । यो तरिका विशेष गरी भूकम्पीय क्षेत्रमा प्रभावकारी साबित भयो, किनकी यसले संरचनालाई भूकम्पको उर्जालाई सोस्न र फैलाउन सक्षम बनायो (जसलाई अहिले रेट्रो प्रुफ्रु भनेर चिनिन्छ) । आधुनिक सिमेन्टभन्दा लचक हुने चुनको मसला यस निर्माण दर्शनसँग राम्रोसँग मेल खान्थ्यो । यसले चिरा परे पनि समयसँगै आफैँ सुधार हुन सक्ने गुण देखाउँथ्यो, कठोर प्रतिरोध गर्नेभन्दा पनि अनुकूल हुने क्षमता राख्थ्यो ।

धार्मिक वास्तुकलामा सामग्रीहरूको प्रतीकात्मक महत्वले सिमेन्ट निर्माण अभ्यासलाई पनि प्रभावित ग¥यो । मन्दिर र स्तूपहरू केवल भौतिक संरचना मात्र होइन, आध्यात्मिक अर्थ बोकेका पवित्र स्थानहरू थिए । निर्माण कार्य स्वयंलाई धार्मिक कर्तव्यका रूपमा लिइन्थ्यो । त्यसैले सामग्रीको शुद्धता र तयारीमा विशेष ध्यान दिइन्थ्यो जसले समाजमा विविध सकरात्मक र नकरात्मक प्रभाव पारे पनि वास्तुकलामा उल्लेख गरिएन् । पवित्र संरचनामा प्रयोग हुने चुनको मसला कहिलेकाहीँ विधिपूर्वक तयार गरिन्थ्यो र दूध, मह वा जडीबुटीको समावेशले प्रतीकात्मक र व्यावहारिक दुवै महत्व रहन्थ्यो । आध्यात्मीक र सामग्री विज्ञानको यस्तो संयोजन प्राचीन नेपाली वास्तुकलाको विशिष्ट विशेषता हो र अहिले पनि केही मान्यताहरु बोकेको छ ।

प्राचीन नेपाली संरचनाहरूको दीर्घायुले वातावरणीय तत्वहरूप्रतिको गहिरो बुझाई झल्काउँछ । मनसुन वर्षा, मौसमी तापक्रम परिवर्तन र उच्च आद्र्रताले निरन्तर चुनौती प्रस्तुत गर्थे जसले निर्माण सामाग्रीमा ह्रास ल्याउन सक्थे । चुनमा आधारित मसला प्रभावकारी साबित त भयो तर वैज्ञानिक तथ्यमा आधारित होइन् । किनकी यसले पर्खाललाई ‘सास फेर्न’ दिने गुण राख्थ्यो, जसले चिस्यान थुनिन नदिई बाहिर निस्कन सहयोग गथ्र्यो । यसले दीर्घकालीन क्षति र क्षय घटायो । यसको विपरीत, अत्यन्त कठोर र नछिर्ने सामग्रीहरू यस्ता परिस्थितिमा छिटो बिग्रने सम्भावना राख्छन् भन्ने मान्यता त्यो बेलका कारीगरहरुमा व्याप्त भयो । त्यसैले प्राचीन नेपालमा सिमेन्टको धारणा अधिकतम कठोरताभन्दा पनि मजबुती, लचकता र प्राकृतिक सामग्रीसँगको सामञ्जस्यमा केन्द्रित थियो भन्ने प्रमाण विभिन्न स्थलगत भ्रमण र परिक्षणमा पाइयो ।

नेपाली वास्तुकलाको कलात्मक अभिव्यक्ति निर्माण प्रविधिसँग घनिष्ठ रूपमा जोडिएको थियो । सजावटी ईँटाको काम, ढुंगाको नक्काशी र काठका कलात्मक विवरणहरूलाई ठाउँमा अड्याइराख्न भरपर्दो बाँध्ने सामग्री आवश्यक हुन्थ्यो । चुन र सुर्खीको मसला चिल्लो र सजिलै काम गर्न मिल्ने सतह प्रदान गथ्र्यो, जसले जटिल डिजाइनहरू सम्भव बनायो तर जति पनि कामहरु वा नयाँ काम तथा आविष्कार वा विचार र सोच गरियो त्यो प्रयोग मात्र थियो तथ्य होइन् । कारीगरहरूले आधारभूत संरचना टिकाउ हुने विश्वासका साथ नक्काशी र सजावट गर्न सके जुन आफैमा एक विज्ञानको स्रोत थियो । यसरी, प्राचीन सिमेन्ट निर्माणका धारणा केवल संरचनात्मक स्थिरताका लागि मात्र नभई नेपाल प्रसिद्ध भएको समृद्ध कलात्मक परम्पराको आधार पनि बने जसको सामरिक अध्ययन गनै जरुरी छ र हो ।

प्राचीन नेपालमा शहरी योजना निर्माणले पनि यस्ता बाँध्ने प्रविधिबाट ठूलो लाभ लियो । चोक, ढुंगेधारा, सडक र नाली प्रणालीलाई निरन्तर प्रयोग र पानीको सम्पर्क सहन सक्ने मसला आवश्यक हुन्थ्यो । चुनमा आधारित सिमेन्टले यी सार्वजनिक संरचनाहरूमा महत्वपूर्ण भूमिका खेल्यो । चुनको मसलाले बनेका ढुंगाले छोपिएका पानीका नाला र पोखरीहरू शताब्दीयौँसम्म प्रयोगमा रहनु हाइड्रोलिकको सिद्धान्त (हाइड्रोलिक सिद्धान्तले दबाबमा रहेका तरल पदार्थहरूले कसरी बल सञ्चार गर्छन् भन्ने कुरा व्याख्या गर्छ । यो मुख्य रूपमा पास्कलको नियममा आधारित छ । जसअनुसार बन्द तरलमा लागू गरिएको दबाब सबै दिशामा समान रूपमा प्रसारित हुन्छ । यसका कारण सानो क्षेत्रफलमा लगाइएको सानो बलले ठूलो क्षेत्रफलमा ठूलो बल उत्पन्न गर्न सक्छ ।) को बुझाइको प्रमाण हो । चिस्यानयुक्त अवस्थामा पनि चुनको मसला जम्न सक्ने क्षमता यस्ता संरचनाका लागि विशेष रूपमा उपयुक्त थियो ।

समयक्रममा सिमेन्ट निर्माण अभ्यासमा क्षेत्रीय भिन्नताहरू देखिन थाले । पहाडी र हिमाली क्षेत्रमा चुनढुंगा अभाव हुँदा माटोको मसला र ढुंगा मिलाउने प्रविधिमा बढी निर्भर रह्यो । काठमाडौँ उपत्यकामा भने व्यापार र स्रोतसाधनको उपलब्धताका कारण चुन र सुर्खीको मसला व्यापक रूपमा प्रयोग भयो । यी क्षेत्रीय भिन्नताहरूले स्थिर सूत्रभन्दा पनि अनुकूलनशील दृष्टिकोणलाई प्रतिबिम्बित गर्छन् । प्राचीन नेपाली निर्माणकर्ताहरूले एकरूपता खोजेनन् बरु स्थानीय अवस्था, स्रोत र सांस्कृतिक प्राथमिकता अनुसार सामग्री चयन गरे र कला र वास्तुकलामा प्रयोजन गरे ।

बीसौँ शताब्दीमा आधुनिक सिमेन्टको आगमनले नेपालमा निर्माण अभ्यासमा ठूलो परिवर्तन ल्यायो । तर यसले स्थानीय सन्दर्भ नबुझी औद्योगिक सामग्री प्रयोग गर्दा देखिने सीमाहरू पनि उजागर ग¥यो आजको नेपाली संरचनाहरु धेरै नै कमजोर र आर्थिक लाभमा आधारित छन् जुन जोखिम युक्त छन् ठुला खाले प्राकृतिक प्रकोपहरु भmेल्न सक्दैनन् । आज धेरै सम्पदा संरक्षण प्रयासहरूले प्राचीन भवनहरूको पुनःस्थापनाका लागि परम्परागत चुनको मसला नै उपयुक्त ठान्छन् यो तर्कमा म पनि सहमत छु । अत्यन्त कठोर र नछिर्ने आधुनिक सिमेन्टले ऐतिहासिक संरचनामा प्रयोग गर्दा क्षति पु¥याउने सम्भावना बढी हुन्छ । यस अनुभूतिले प्राचीन नेपाली सिमेन्ट निर्माणका धारणाप्रति पुनः चासो जगाएको छ र आधुनिक वास्तुकलामा समेत यसको सान्दर्भिकता देखाएको छ ।

समग्रमा, नेपालमा सिमेन्ट बनाउने प्राचीन धारणा प्रकृतिप्रतिको गहिरो सम्मान, सामग्रीप्रतिको बुझाइ र टिकाउ तथा सामञ्जस्यपूर्ण निर्माणप्रतिको प्रतिबद्धतामा आधारित थिए । यी धारणा लिखित वैज्ञानिक सिद्धान्तबाट होइन, जीवन्त अनुभव र सामूहिक बुद्धिबाट जन्मिएका सोच र ज्ञान थिए । यसले उपयोगिता, सौन्दर्य र आध्यात्मिकताको सन्तुलन कायम गर्ने वास्तुकला परम्परालाई समर्थन ग¥यो । आज पनि उभिएका मन्दिर, दरबार र घरहरू यस ज्ञानका मौन साक्षी हुन्, जसले सरल उपकरण र प्राकृतिक सामग्री प्रयोग गरेर प्राचीन नेपाली निर्माणकर्ताहरूले असाधारण उपलब्धि हासिल गरेको प्रमाण दिन्छन् ।

यी प्राचीन सिमेन्ट निर्माण अभ्यासहरूको विरासत भौतिक संरचनामा मात्र सीमित छैन । यसले दिगोपन, अनुकूलनशीलता र सांस्कृतिक निरन्तरतामा आधारित वास्तुकला सोचलाई प्रतिनिधित्व गर्छ । वातावरणीय प्रभाव र संरचनात्मक सहनशीलताप्रति बढ्दो चिन्ताको यस युगमा नेपालका प्राचीन सिमेन्ट सम्बन्धी धारणा महत्वपूर्ण पाठ प्रदान गर्छन् । यसले वास्तुकलाको साँचो बल प्रकृतिलाई जित्नमा होइन, त्यससँग सहकार्य गर्न, सामग्रीको बुद्धिमत्तापूर्वक प्रयोग गर्न र समयको लयलाई सम्मान गर्नमा निहित हुन्छ भन्ने कुरा सम्झाउँछ ।

(नेपाली वास्तुकलाको अध्ययनमा कुनै एक विद्यालयका निश्चित विद्यार्थीहरुलाई सहभागी बनाई गरिएको अध्ययन र खोजमा पाइएका विविध सामाग्री र अवषेशहरुको विस्तारित अध्ययन र नेपाल अध्ययनका लागी तयार पारिएको एक प्रतिवेदन र अध्ययनको एक अंश ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->