बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देश निर्माणमा चमत्कारी ‘सुपर हिरो’ होइन, जिम्मेवार नागरिकको भूमिका आवश्यक

देश निर्माणमा चमत्कारी ‘सुपर हिरो’ होइन, जिम्मेवार नागरिकको भूमिका आवश्यक


  • विकल्प घर्ती मगर
  • पुष २० २०८२, आइतबार

पछिल्ला वर्षहरूमा नेपाली समाजमा एउटा खतरनाक तर लोकप्रिय मानसिकता क्रमशः बलियो हुँदै गएको देखिन्छ । त्यो मानसिकता हो – देश विकासका लागि कुनै एक ‘सुपर हिरो’ नेता चाहिन्छ, जसले जादुको छडी चलाएझैँ सबै समस्या समाधान गरिदियोस् र आम नागरिकले कुनै जिम्मेवारी लिनु नपरोस् । चुनावमा एउटा नेतालाई जिताइदिने, भाषण सुन्ने, नारामा ताली बजाउने र त्यसपछि सबै विकास परिवर्तन उसैले गरिदियोस् भन्ने अपेक्षा आज हाम्रो समाजमा गहिरिँदै गएको छ । हामी आफैँ भने परिवर्तनका प्रक्रियामा सहभागी नहुने, अनुशासन, इमान्दारी र कर्तव्यबोधबाट टाढा बस्ने, तर परिणाम चाहिँ छिटो र चमत्कारी खोज्ने प्रवृत्तिले नेपाली राजनीतिक चेतनालाई कमजोर बनाइरहेको छ ।

यहिं सोचलाई बल दिन हामी प्रायः जापान र सिङ्गापुरका उदाहरण दिन्छौँ । “जापान एक जना नेताले बनायो”, “सिङ्गापुरलाई एउटै व्यक्तिले आधुनिक राष्ट्र बनायो” भन्ने कथनहरू बारम्बार सुनिन्छन् । तर यथार्थ त्यसरी सरल छैन । जापानको पुननिर्माण र सिङ्गापुरको विकास कुनै एक व्यक्तिको जादु थिएन, त्यो त त्यहाँका नागरिकहरूको अथक मेहनत, कडा अनुशासन, सामूहिक चेतना, कामप्रतिको निष्ठा र जिम्मेवारीबोधको परिणाम थियो । नेता त त्यहाँ पनि थिए, तर नेताको दृष्टि सफल हुन सकेको कारण नागरिक समाजले त्यसलाई व्यवहारमा उतार्ने इमानदार प्रयास ग¥यो ।

दोस्रो विश्वयुद्धपछि जापान पूर्ण रूपमा ध्वस्त थियो । सहरहरू खरानी बनेका थिए, उद्योग नष्ट थिए, जनशक्ति थकित र निराश थियो । यस्तो अवस्थामा जापानले आफूलाई उठायो भनेको केवल शक्तिशाली नेतृत्वका कारण होइन, नागरिक संस्कृतिको रूपान्तरणका कारण हो । जापानी समाजमा काइजेन (निरन्तर सुधार), गाम्बारे (डटेर लाग्ने मानसिकता) जस्ता मूल्यहरू आम नागरिकको जीवनशैली बने । कार्यालयदेखि विद्यालयसम्म, कारखानादेखि समुदायसम्म, सबै ठाउँमा अनुशासन र कर्तव्य पहिलो प्राथमिकता बन्यो । कामलाई बोझ होइन, राष्ट्रप्रतिको योगदान ठानियो । यही नागरिक संस्कृतिले जापानलाई विश्वको आर्थिक शक्ति बनायो । तर हामीले त्यो उज्यालो पक्ष मात्रै होइन, कराओशीजस्ता समस्याबाट देखिने अति श्रमको नकारात्मक पाठ पनि सिक्नुपर्छ विकास नागरिक सहभागिताबाट आउँछ, तर मानव गरिमाको मूल्य चुकाएर होइन ।

सिङ्गापुरको कथा पनि यस्तै छ । लि क्वान यु जस्ता दूरदर्शी नेता त्यहाँ थिए, तर सिङ्गापुरको सफलता केवल उनको व्यक्तित्वमा सीमित थिएन । कडा कानुन, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कामप्रतिको इमानदारी र नागरिक अनुशासनले सिङ्गापुरलाई सम्भव बनायो । नियम पालना गर्नु नागरिकको दैनिकी बन्यो । सडकमा फोहोर फाल्नु केवल कानुनी अपराध होइन, सामाजिक अपराध ठानियो । राज्यले नीति बनायो, तर त्यसलाई जीवन्त बनाउने काम नागरिकहरूले गरे । यही कारण सिङ्गापुरको विकास टिकाउ र दीर्घकालीन बन्यो ।

दक्षिण कोरियाको उदाहरण अझै पनि नेपालजस्तो देशका लागि सान्दर्भिक छ । युद्धपछिको गरिबी, राजनीतिक अस्थिरता र सीमित स्रोतका बाबजुद कोरियाले आफूलाई विश्वको अग्रणी अर्थतन्त्रमा रूपान्तरण ग¥यो । यो रूपान्तरण कुनै एक राष्ट्रपति वा कम्पनीको कारण मात्र थिएन । शिक्षा, श्रम र राष्ट्रप्रतिको जिम्मेवारीलाई जीवन–मूल्य बनाएका आम नागरिकहरूको योगदानले कोरियालाई उचाल्यो । त्यहाँ पनि आन्दोलन भए, निराशा आए, नयाँ नेताप्रति आशा पलायो, तर नागरिक चेतनाले निरन्तर राष्ट्रलाई अगाडि बढाइरह्यो ।

अब प्रश्न उठ्छ—नेपालमा के भयो ? नेपाल पनि परिवर्तनको लामो यात्राबाट गुज्रिएको देश हो । जनआन्दोलन, गणतन्त्र, संघीयता, समावेशिता—यी सबै ठूला राजनीतिक परिवर्तन हुन् । माओवादी आन्दोलनपछि “अब देश बदलिन्छ” भन्ने ठूलो आशा पलायो । जनताले अभूतपूर्व बहुमत दिए । तर अपेक्षित परिणाम नआएपछि निराशा फेरि बढ्यो । त्यसपछि पनि हामीले नयाँ दल, नयाँ अनुहार, नयाँ नारा खोजिरहेकै छौँ । आशा र निराशाको यही चक्रमा नेपाल अल्झिएको छ ।

समस्या के हो भने, हामी परिवर्तनको जिम्मेवारी सधैँ अरूको काँधमा थोपर्छौँ । नेता भ्रष्ट भयो भन्छौँ, तर घुस नदिई काम गर्न आफैँ तयार हुँदैनौँ । राज्य कमजोर भयो भन्छौँ, तर कर तिर्न चुक्छौँ । अनुशासन छैन भन्छौँ, तर नियम उल्लङ्घनलाई ‘चतुराइ’ ठान्छौँ । यस्तो अवस्थामा केवल नेतृत्व बदलिँदैमा देश बदलिन्छ भन्ने सोच आफैँमा भ्रम हो ।

देश कुनै एक व्यक्तिले बनाउने होइन । देश नीति, प्रणाली र नागरिक संस्कृतिले बनाउने हो । नेता बदलिन्छन्, तर नीति दीर्घकालीन हुनुपर्छ । व्यक्तिको सोच समयसँगै फेरिन सक्छ, तर संस्थागत मूल्य स्थायी हुनुपर्छ । यदि नीति राम्रो छ तर नागरिकले पालना गर्दैनन् भने त्यो कागजमै सीमित हुन्छ । यदि नागरिक सचेत छन् तर नीति कमजोर छ भने पनि विकास अधुरो रहन्छ । त्यसैले देश निर्माणको आधार नेतृत्वको दृष्टि र नागरिकको योगदान दुवै हो ।

आज नेपालको आवश्यकता कुनै चमत्कारी ‘सुपर हिरो’ होइन । आवश्यकता छ—इमानदार कर तिर्ने नागरिक, नियम पालना गर्ने युवा, सार्वजनिक सम्पत्तिलाई आफ्नै ठान्ने समाज, शिक्षा र चेतनामा लगानी गर्ने परिवार, कामलाई सम्मान गर्ने संस्कृति । सानो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्ने नागरिकहरू नै दीर्घकालीन परिवर्तनका आधार हुन् ।

परिवर्तन नेतृत्वबाट होइन, नागरिकबाट सुरु हुनुपर्छ । जब नागरिक बदलिन्छ, नेतृत्व बदलिन बाध्य हुन्छ । जब नागरिक अनुशासित, सचेत र जिम्मेवार हुन्छन्, तब नीति पनि सुध्रिन्छ, प्रणाली पनि बलियो हुन्छ । नेपाल आज पनि सम्भावनाले भरिएको देश हो । आशा र निराशाको चक्रबाट बाहिर निस्कन हामीले अब नेता होइन, नागरिकको व्यवहार र चेतना परिवर्तन गर्न थाल्नुपर्छ । यही बाटो नै दिगो विकास, लोकतन्त्र र समृद्ध नेपालको वास्तविक आधार हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->