पोखरा/यो त्यो बेलाको कुरा हो, जुनबेला तत्कालीन मालेले पञ्चायत उपयोग गर्ने नीति लियो । पञ्चायतलाई कमजोर बनाउन पञ्चायतभित्रै पस्ने र हिर्काउने नीति अनुरुप २०४३ सालको राष्ट्रिय पञ्चायत चुनाव उपयोग गर्ने नीति पारित हुँदा ३२ ठाउँमा जनपक्षीय उम्मेदवार खडा ग¥यो । मादल चुनाव चिन्हसहित लमजुङबाट पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बने । चौधसाले पृथ्वीसुब्बा लक्का जवान अर्थात् ३० कटेकै थिएनन् ।लमजुङ गिलुङ–टक्सार घर भएका पृथ्वीसुब्बासँग वर्गीय चेत थियो,माक्र्सवादी दर्शन थियो । उनले त्यही दर्शनमा आधारित रहेर घोषणापत्र बनाए । मादल चुनाव चिन्ह भएका उनलाई चर्चित कलाकार उमा गुरुङ,माया गुरुङ,प्रेम गुरुङहरुले साथ दिए । सांस्कृतिक टोलीसहित मत माग्न हिँड्दा उनको समूहले ‘त्यार्लुङ पुरानकोट,पृथ्वीसुब्बालाई दिनुस् आफ्नो भोट । दुष्ट शोषकलाई पर्नेछ ठूलो चोट’लगायतका गीतहरु गाउँथे । मान्छेहरु उनीहरुका गीत ध्यानपूर्वक सुन्थे । संयोग कस्तो भने, त्यो चुनावमा भूगोलविद डा. हर्क गुरुङ पनि उम्मेदवार थिए । विद्धान हर्क चुनाव लड्न आउने हल्लाकैबीच लमजुङको सीमाना पाउँदी खोलादेखि उताका सबैजसो भित्ता र ढुंगाहरुमा ‘हर्क गुरुङ ः फर्क लमजुङ’,‘डा.हर्क ः लमजुङ फर्क’,‘विकासका लागि हर्क गुरुङ’जस्ता नारा लेखिएका थिए । घैंटो चुनाव चिन्ह लिएर उठेका हर्कसँगै त्यो चुनावमा पञ्चायतका खरो समर्थक मुनिन्द्रजंग गुरुङ,कांग्रेसी पृष्ठभूमिका जुँगे भनेर चर्चित लेखनाथ अधिकारी पनि चुनावी मैदानमा थिए । डा.डिल्लीरमण रेग्मीका छोरा मदन रेग्मीले चाहिँ प्रचार गरे पनि अत्यतिर चुनावी मैदान छाडेका थिए ।
त्यो बेला लालटिन चुनाव चिन्हसहित उम्मेदवार बनेका लेखनाथबारे भनिन्थ्यो,‘ लेखनाथ गुरुङको भान्छामा पस्छन्,गुरुङ भाषामै कुरा गर्छन् र ढेंडो खाएर जुँगामा ताउ लगाउँदै बाहिर निस्कन्छन् रे ! उनलाई गुरुङको भोट स्वाट्टै आउँछ ।’
साँच्चै २०४३ वैशाख २९ गते भएको निर्वाचनमा जनताले लालटिन चिन्हसहित चुनाव उठेका लेखनाथलाई पत्याए । जनपक्षीय उम्मेदवार बनेका पृथ्वीसुब्बा पछाडि परे । जनपक्षीय उम्मेदवार बनेकामध्ये कास्कीबाट सोमनाथ ‘प्यासी’काठमाडौँबाट पद्यरत्न तुलाधर, चितवनबाट जागृतप्रसाद भेटवाल, झापाबाट द्रोण आचार्य र इलामबाट नोबल केबी राई विजयी भए ।
मास्टरीबाट राजनीतिमा हाम्फालेका पृथ्वीसुब्बाको राजनीतिक यात्रा पराजयले रोकेन । २०४६ सालको परिवर्तनपछि उनी लमजुङका निर्विकल्प नेतामा दरिए । २०४८ सालको संसदीय चुनावमा तत्कालीन एमालेको तर्फबाट संसदीय प्रतिस्पर्धामा कांग्रेसका रामबहादुर गुरुङसँग पराजीत बने ।
त्यो बेला उनीसँग प्रतिस्पर्धा गरेकामध्ये डा.हर्कहरु यो संसारमा छैनन् । स्वस्थ पृथ्वीसुब्बा चाहिँ आउँदो फागुन २ गते ६९ वर्ष लाग्दैछन् । २०४३ यताका हरेक चुनावमा उनी लमजुङबाट एमाले उम्मेदवार बन्दै आएका छन् । र,आउँदो फागुन २१ को चुनावमा पनि उनी लमजुङबाट उनी नै उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।
२०७९ सालमा प्रत्यक्ष निर्वाचन जितेका उनै पृथ्वीसुब्बालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले २०८१ साल असार ३१ गते संचार तथा सूचना प्रविधिमन्त्रीमात्र बनाएनन्,सरकारको प्रवक्ता पनि तोके ।
ओली अलोकप्रिय बन्दै गएका थिए तर पृथ्वीसुब्बा सो सरकारका प्रवक्ता थिए । सरकारको प्रवक्ताको रुपमा उनी ओलीको बचाउमा उभिन थाले । मुख्यमन्त्री हुँदाको जस्तो उनले आफूलाई मन नपरेको कुरा प्याच्च बोल्न छाडे । गएको भदौमा सरकारले सामाजिक सञ्जाल बन्द गराउने निर्णय ग¥यो । त्यो जानकारी दिने जिम्मेवारी प्रवक्ताको रुपमा पृथ्वीसुब्बाकै थियो । उनले त्यही काम गरे अनि आलोचनाको तारोमा परे । जेन–जी आन्दोलनको दोस्रो दिन उनको निवास पनि जलाइयो । श्रीमतीले दाइजोबापत् पाएको गरगहना सबै खरानी भयो ।
‘मन्त्रिपरिषद् भनेको प्रधानमन्त्रीको हो । मैले क्याविनेटले गरेको निर्णयमा यताउता गर्न मिल्दैनथ्यो । कि सरकारमा बस्नै हुँदैनथ्यो,हैन भने मैले त्यो जानकारी जस्ताको त्यस्तै दिनुपथ्र्यो,’आफू आलोचित भएको स्वीकार गर्दै उनले भनेका छन्,‘सामाजिक सञ्जाल नियमन गर्ने र यहाँ दर्ता हुन नआउनेहरुलाई दर्तामा आऊ भन्नु सरकारको कर्तव्य र दायित्व दुबै थियो । यो कुरा समयक्रममा प्रष्ट हुने नै छ । तर, जेन–जीको नाममा जे भयो,त्यो चाहिँ अपराध नै थियो ।’
जेन–जी आन्दोलनपछिको ११ औं महाधिवेशनको क्रममा उनी अध्यक्ष ओली खेमाभन्दा बाहिर निस्कन्छन् कि भन्ने धेरैको मनमा थियो । तर, पृथ्वीसुब्बा ओलीको पक्षमा ‘सतिसाल’ बने । जनजाति पृष्ठभूमिका पृथ्वीसुब्बा यतिबेला पार्टीको बरियतामा रामबहादुर थापाभन्दा तल छन् तर जुनसुकै बेला पनि नेतृत्वमा पुग्नसक्न क्षमताका व्यक्तिका रुपमा चिनिन्छन् । पृथ्वीसुब्बालाई एमालेले आसन्न फागुन २१ को संसदीय निर्वाचनमा लमजुङबाट उम्मेदवारस्वीकार्दा आकांक्षीहरु एमाले केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारी,जमिन्द्रमान घलेहरुको चाहना चाहिँ निमोठिएको छ । तीमध्ये कृष्ण अधिकारीले त अघिल्लो चुनावकै बेला सधैँ एउटै व्यक्तिले अवसर पाएको भन्दै पृथ्वीसुब्बाको सट्टा अर्को उम्मेदवारलाई अवसर दिनुपर्ने माग केपी ओलीसमक्ष पु¥याएका थिए । जेन–जी आन्दोलनपछि नयाँ शक्तिहरु जुर्मुराएका छन् । पाका र अनुभवी पृथ्वीसुब्बाले आउँदो चुनावमा पुराना शक्ति र नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्नुपर्ने निश्चित छ । एमालेले चाहिँ उनलाई नै भरोशा गरेको छ । एमाले स्रोतका अनुसार शीर्ष तहका नेताहरुले कथंकदाचित चुनाव हारे भने र एमालेले सरकारको नेतृत्व लिनुपर्ने परिस्थितिमा अगाडि सार्नका लागि पृथ्वीसुब्बालाई पुनःउम्मेदवार बनाइएको हो ।
‘उहाँ चेतले विद्रोही तर पार्टी कार्यकर्ताको रुपमा बफादार व्यक्ति हो,’एमालेका ती नेताले भने,‘भोलि संसदमा बोल्ने, नेतृत्व लिने र परिआए अरु दलसँग पनि सहकार्यको हात फैलाउन निर्णायक वार्ता गर्नसक्ने उपाध्यक्षले नै हो र त्यसका लागि नै यसपटक उहाँको उम्मेदवारी हो ।’
उनीमात्र किन ? चुनाव नलड्ने घोषणा गरेका पूर्वमाओवादी तथा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि अन्तिम समयमा गोर्खा २ बाट चुनाव लड्ने तयारी गरेका छन् । अघिल्लो निर्वाचनमा भाग नलिएका र माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रमा स्वागत गरेका भट्टराईलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको सार्वजनिक भएको छ । बाबुराम नयाँ पार्टीबाट चुनाव लड्दै छन् तर उनी गोर्खाका जनताका लागि नयाँ हैनन् ।
मुलुक भदौ २३ र २४ को जेन–जी आन्दोलनपछिको अवस्थामा छ । त्यही जेन–जी आन्दोलनपछि तत्कालीन केपी ओली नेतृत्व सरकार विस्थापन र संसद विघटनका कारण हुन लागेको बेलामा पनि दलहरुले चाहिँ जेन–जीको माग बमोजिम नयाँलाई ठाउँ दिने सुरसार झिकेका छैनन् । ती दलहरुले पार्टी संरचना अनुसार जिल्ला तहबाट पठाएका नामहरुमध्ये नै उम्मेदवार छनोट गरेका छन् । पार्टीमा पदीय हैसियत र पहुँच भएकाहरु हाबी भएका छन् । निर्वाचन आयोगबाट मान्यता पाएको गगन थापा नेतृत्वको कांग्रेसले पनि यसअघि जिल्लाबाट पठाएका नामहरुबाटै उम्मेदवार तय गर्ने बताएको छ । यसरी हेर्दा कांग्रेस पनि यथास्थितिबाट धेरै टाढा पुग्ने अवस्था छैन ।
अर्को ठूलो दल एमालेले गण्डकी प्रदेशको नवलपुर १बाट भागिरथ सापकोटा र २ बाट तिलबहादुर (तिलक) महतलाई उम्मेदवार बनाएको छ भने गोरखा १ बाट चर्चामा नरहेका केन्द्रीय सदस्य आरसी लामिछाने र २ बाट आपराधिक पृष्ठभूमिका चक्रे मिलनका नामले चर्चित मिलन गुरुङलाई उम्मेदवार तय गरेको छ । उनीहरु जनताका लागि नयाँ अनुसहार हुन् । तनहुँबाट उम्मेदवार तय भएका भगवती न्यौपाने र केदार सिग्देल,स्याङ्जाका मीनप्रसाद गुरुङ र खिमबहादुर थापा, म्याग्दीका हरिकृष्ण गौतम, कास्कीका वैनबहादुर क्षेत्री,कृष्ण थापा,दामोदर बैरागी हुन् वा बागलुङका हीरा केसी र मञ्जु शर्मा चालिसेमध्ये कुनै नाम पनि जनताका लागि नौला हैनन् । कतिसम्म भने, यी नामहरुमध्ये अधिकांश पार्टी अध्यक्ष ओलीकै रोजाइबाट तय भएका हुन् । तीमध्ये बागलुङका हीरा चाहिँ अपवाद र युवा भएको एमाले नेताहरुले बताएका छन् । मुस्ताङका इन्द्रधारा विष्ट प्रदेश सांसद थिए र उनको संघीय संसद यात्रा पनि स्वभाविक भएको एमाले नेताहरुको भनाइ छ । यता, मनाङका पोल्देन सोताङले पुनः सोही पदमा भाग्य अज्माउन पाएका हुन् भने पर्वतका पदम गिरी दोहोरिएर टिकट पाउनेमा दर्ज भएका हुन् । तनहुँकी भगवती न्यौपाने राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट कार्यकाल सकिने भएपछि राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बन्ने भाग्यमानी बनेकी छन् । उनलाई एमालेले तनहुँ १ बाट उम्मेदवार बनाएको छ । तनहुँ २ मा भने पुरानै उमेदवार केदार सिग्देलले टिकट पाएका छन् ।
स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाको कार्यकाल सकिएको छैन । २०७४ र २०७९ को पालिका चुनाव जितेका थापालाई एमालेले स्याङजा २ को टिकट दिएको हो ।स्याङ्जा १ मा भने २०७४ को प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङलाई टिकट थमाइएको हो । स्याङ्जाका दुवै नेतालाई जित्ने आँकलनसहित टिकट थमाइएको एमाले स्रोतले बताएको त । पार्टीको विभिन्न महत्वपूर्ण भूमिकामा रहेका र नेतृत्वसँग नजिक रहेका यी नेताहरुले टिकट पाउँदा कतिपय युवा आकांक्षीको बेग चाहिँ रोकिएको छ । कास्कीकै हकमा टिकटको आशा गर्ने युवा नेताहरु रश्मी आचार्य,दीलिप न्यौपानेहरु चुप लाग्ने अवस्थामा पुगेका छन् ।
यता, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्कीको तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले कास्की– १ मा केन्द्रिय सदस्य राजकाजी गुरुङ ‘करण’ कास्की– २ मा हेमबहादुर थापा ‘किरण’ र कास्की– ३ मा प्रेम पौडेललाई उम्मेदबार बनाएको हो ।
उम्मेदवार बनेका करण र किरण पूर्व माओवादी पृष्ठभूमिका हुन् भने प्रेम एमालेबाट नेकपा एकीकृत समाजवादी हुँदै नेकपामा समाहित भएका हुन् ।
माओवादीको भूमिगत राजनीति गरेका करण र किरणले छुट्टा छुट्टै मोर्चा सम्हालेका थिए । पहिलो संविधान सभा निर्वाचनमा कास्की– २ बाट निर्वाचित भएका करण त्यसपछिका निर्वाचन जित्न सकेका छैनन् ।२०७४ मा एमाले र माओवादी गठबन्धनबाट कास्कीबाटै प्रदेश सभा सदस्य हारेका उनले २०७९ को निर्वाचनमा भने टिकट पाएका थिएनन् ।माओवादीबाट छुट्टिएर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा लागेका किरण भने गएको बर्ष मात्र माओवादीमा फर्किएका थिए । यसअघि संसदीय चुनाव लडेको अनुभव नभएका किरण यसपाली पहिलो पटक चुनावमा होमिन लागेका हुन् ।एमालेबाट तत्कालीन नेकपा एसमा गएका प्रेम पौडेल पनि पहिलो पटक संसदीय निर्वाचन उठेका हुन् ।
परिणाम के होला ?
आफैं प्रश्न बोकेर जनताकहाँ जाँदा गाह्रो हुन्छ : झलक सुवेदी
पुराना दलहरुको उम्मेदवार कास्कीको हेर्दा पनि,लमजुङको हेर्दा पनि सामान्यतयाः आकर्षणभन्दा विकर्षण गराउने खालका छन् । कतिपय उम्मेदवारलाई चाहिँ कतिपटक उठेको ? भन्ने प्रश्न गर्ने खालका छन् । एकपटक नेता भइसकेपछि पार्टीभित्र एकखालको बर्चश्व हुन्छ ।पार्टी कमिटी,सदस्य र मतदातासम्म पनि उसले केही न केही गरिदिएको हुन्छ । कसैको सरुवा, कसैलाई बजेट दिएको हुन्छ । कसैको छोराछोरीको लागि कतै भनसुन गरिदिएको हुन्छ र एकखालको सम्बन्ध बनेको हुन्छ । प्रभाव हुन्छ । त्यसलाई प्रयोग गरेर म लोकप्रिय छु । मलाई फलाना–फलानाले मत दिइहाल्छन् । पार्टीभित्रकाले मलाई मत नदिएर हुन्छ भन्ने मानसिकताले काम गरेकोजस्तो देखिन्छ । शीर्ष नेताले चाहिँ यो मान्छे शक्तिमा पुग्छ ।मन्त्री हुन्छ । त्यसले एकखालको मनोविज्ञान बन्छ र पुराना मान्छे सिफारिसमा पर्ने भएको होला । तर, सही उम्मेदवार चयन नहुँदा त्यसले या त पार्टीभित्र अन्तरघात हुन्छ । निष्कृष्य बस्ने हुन्छ । पार्टीभित्र केही नबोल्ने र मतदानको बेला अर्कालाई भोट हालेर बदला लिने सम्भावना बढ्छ । त्यस्तोमा पार्टीभित्रको असन्तुष्टिको फाइदा अर्काले उठाउँछ ।

२०४६ सालको पहिलो संसदीय निर्वाचनमा एमाले पंक्तिभित्र ४० भन्दा कम उमेरमा उम्मेदवार थिए । मदन भण्डारी, केपी ओली, झलनाथ, माधव नेपालहरुमा आकर्षण थियो । त्यो बेलाका नेता अहिलेसम्म पनि सक्रिय हुँदा युवा पंक्तिमा आकर्षण नहुनु स्वभाविक हो । त्यो असन्तुष्टि भदौ २३–२४ मा बिस्फोट भयो । त्योभन्दा अगाडि रास्वा र बालेनहरुप्रति देखिएको आकर्षण पनि त्यही असन्तुष्ट मनोभावनासँग जोडिएको छ । अहिले मैले भेटेका २०–२५ भन्दा कम उमेरकाहरुले बुढाहरुलाई अस्वीकार गरिरहेका छन् । कांग्रेसमा गगन थापा आएकाले हुनाले उनीहरुको पक्षमा पनि बहार जाने सम्भावना छ । तर,कांग्रेसको नयाँ नेतृत्व पनि युवाले छानेको नभएर ४ वर्ष अगाडिको महाधिवेशन प्रतिनिधिले चुनेका हुन् । जेन–जी आन्दोलनको अगाडिको प्रतिनिधिमा युवाको प्रतिनिधित्व छैन । कांग्रेसले परम्परागत ढर्रा छाडेर बाहिरबाट नयाँ उम्मेदवार ल्याउने हिम्मत गरेन भने कांग्रेस पनि फस्न सक्छ । त्यो असन्तुष्टिलाई रास्वपा वा नयाँ दलले पनि क्यास गर्न सक्छन् । म व्यक्तिको हकमा कुरा गर्दिन । अघिल्लो चुनावमा कास्कीमै राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको मत हेर्दा पनि त्यस्तो देखिन्छ । अघिल्लो चुनावमा कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका राजु राईले १० हजार ९ सय ४१ मत ल्याएका थिए । क्षेत्र नम्बर २ मा माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ र र क्षेत्र नम्बर ३ मा योगराज पौडेलले १२ हजार १ सय ८० मत ल्याएका थिए । जबकि क्षेत्र नम्बर १ मा मनबहादुर गुरुङले २५ हजार ७ सय मत ल्याएका थिए । रास्वपाका राईको कर्मथलो कास्की होला तर उनले ल्याएको मतले चाहिँ एउटा फरक रुझान देखाउँछ ।





