मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

उम्मेदवारको प्रतिवद्धता र एजेन्डा बनाउँदै

उम्मेदवारको प्रतिवद्धता र एजेन्डा बनाउँदै


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०८२, बिहिबार

पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारको विरोधमा उजुरी दिन बुधवारको समय तोकिएको छ । उजुरीमाथिको जाँचबुझ र निर्णय गर्ने समय विहीबार ५ बजेसम्मका लागि समय राखिएको छ । विहीबार नै उम्मेदवारहरुको नामावली प्रकाशन हुनेछ, माघ ९ गते शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारले नाफ फिर्ता लिन सक्नेछन । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

उम्मेदवारी दर्तासंगै निर्वाचनको सरगर्मी बढेको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु नतीजा कसरी आफ्नो पक्षमा ल्याउने भन्ने एउटै ध्याउन्नमा छन् । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा वा कोणसभामार्फत चुनाव प्रचारप्रसार गर्न पाइन्छ । यो भनेको फागुन ४ गतेबाट मात्र गर्न पाइने भनिएको हो ।

राजनीतिक दलहरु यतिबेला चुनावी रणनीतिमा व्यस्त भएका छन् । पार्टीको आन्तरिक बैठक र छलफलमा केन्द्रीत भएका छन् । साथै उम्मेदवारको प्रतिवद्धता र स्थानीय एजेन्डाका विषयमा पनि छलफलमा लागिएको दलहरुले बताएका छन् । ‘आमसभा र जुलुस गर्न नपाईने यस अवधिमा हामी आन्तरिक भेटघाट र मतदाताकहाँ पुग्नेछौ’, नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले भने ।

अब उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्नेछन् । चुनावी प्रचारप्रसार गर्न उनीहरुलाई भ्याइनभ्याइ हुनेछ । उनीहरु दलबलसहित गाउँघरदेखि सहरबजार गर्नेछन् । निर्वाचन आयोगले निर्वाचनको मितिदेखि १७ दिन अगाडिबाट मात्रै आमसभालगायत ठूला–ठूला कार्यक्रम गर्न भनेको छ । नभए कारवाही गर्ने चेतावनी आयोगको छ । तर दलहरुले आचारसंहिता कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

२०७४ को भन्दा अघिल्ला निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गरेपछि शहरबजारदेखि गाउँबस्तीसम्म चुनावी रौनक भिन्दै हुन्थ्यो । बाइक ¥याली, तुल, व्यानर, पर्चापम्प्लेट, माइकिङ, आमसभा र भोजभतेर, बाजागाजा, ¥याली र नाराबाजी हुन्थे । तर अहिले चुनाव आएको हो कि होइन अत्तोपत्तो नभएजस्तो अवस्था छ । ‘टोलटोल र वडावडामा पुगेर मतदातासंग भेटघाट गर्न घरदैलोमै व्यस्त हुनेछौ’, नेकपा एमाले गण्डकी अध्यक्ष नवराज शर्माले भने, ‘निर्वाचन आचारसंहिता पालनामा कटिबद्ध छौ ।’ उनले यो बीचमा ठूला सभा तथा जुलुस गर्न नपाउँदा दलहरुको खर्च पनि कम हुने भन्दै फागुन ४ गतेयताको समय घरदैलोमै केन्द्रीत भएर सदुपयोग गर्ने बताए ।

बिभिन्न कोठे भेलामार्फत आन्तरिक तयारी र व्यवस्थापनमा लागेका दलहरुले प्रचारशैली बदल्दै सञ्चार प्रविधिमा केन्द्रीत हुन थालेका छन् । अहिले २५ जनासम्मको समुहमा मतदाताको घरदैलो कार्यक्रम भने गर्न पाइने भएकाले सोही अनुसार दल र उम्मेदवार मतदाताकोमा पुग्न थालेका हुन् । ‘यतिबेला पार्टीको आन्तरिक बैठक बसेर कसरी अघि बढ्ने भन्ने गृहकार्यमा छौ’, नेपाली कम्युनिष्ट पार्टीका गण्डकी अध्यक्ष गायत्री गुरुङले भनिन्, ‘आन्तरिक बैठकपछि ठोस योजनासाथ मतदाताको घरदैलोमा पुग्छौ ।’

दलहरुले अव कसरी अघि बढ्ने भन्ने विषयमा आवस्यक सुझाव पनि लिइरहेका छन् । मतदाताको गुनासो पनि सुन्दै उनीहरुलाई रिझाउने प्रयासमा पनि दलहरु र उम्मेदवार लागेका छन् । ‘मतदाताकहाँ पुग्ने, वडा भेला, अधिवेशनलगायत पार्टीका आन्तरिक कामहरु पनि गर्ने योजना बनाएका छौ’, राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी सभापति राजन गौतमले भने, ‘आचारसंहिताको पालना गर्दै हामी मतदाताकोमा पुग्छौ ।’

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवस्यक भएको भन्दै आचारसंहिता आयोगले बनाएको हो । आचारसंहिता अनुसार राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, कलेट वा कुनै पनि पहिरन, स्टीकर, लोगो, झोला व्याच, ट्याटु जस्ता सांकेतिक सामाग्री उत्पादन गर्न प्रयोग गर्न विक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन पाइदैन । बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नपाईने पनि उल्लेख छ । प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार गर्न नपाईने, सामाजिक संजालमा भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न र निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले सामाजिक संजालमा एकाउन्ट खोल्न नपाइने पनि आचारसंहितामा छ । जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरीकाले् गर्नुपर्ने, स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने, यस्ता कार्यक्रम गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा २४ घन्टा अगाडि जानकारी दिनुपर्ने व्यवस्था पनि छ । साथै प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने, बाजागाजा तथा झाँकीसहित जान नहुने पनि भनिएको छ । ं

गण्डकीमा ३२८ मतदानस्थल अति संवेदनशील
आसन्न प्रतिनिधि सभा निर्वाचनमा गण्डकी प्रदेशभरी ३ सय २८ मतदानस्थल अति संवेदनशीलमा राखिएको छ । प्रदेशका ११ जिल्लामा १ हजार २ सय ९७ मतदानस्थल तोकिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार ५ सय ७८ संवेदनशील र ३ सय ९१ मतदानस्थललाई सामान्य रुपमा राखिएको छ । प्रदेशभरी २ हजार ३ सय ९६ मतदान केन्द्र छन ।

गोरखामा दुई सय २५, स्याङ्जामा एक सय ९९, कास्कीमा एक सय ५३, तनहुँमा एक सय ४४, लमजुङमा एक सय ३०, नवलपुरमा एक सय १४, बागलुङमा एक सय सात, म्याग्दीमा ८२, पर्वतमा ७६, मुस्ताङमा ३९ र मनाङमा २८ मतदानस्थल रहेका छन् ।

कार्यालयका अनुसार विकट भूगोल, दलहरुबीचको संभावित आपसी द्वन्द्व, संभावित निर्वाचन विरोधी गतिविधि, विगतका निर्वाचनमा भएका घटनाको समीक्षा जस्ता कारणले सुरक्षा संवेदनशिलतालाई हेरिएको हो । जिल्ला सुरक्षा समितिले निर्धारण गरेको सुरक्षा रणनीति अनुसार मतदानस्थलको बर्गीकरण गरिएको हो । जिल्ला अनुसार संवेदनशिलता फरक रहेको र सोही अनुसार सुरक्षा योजना बनाएको कार्यालयले जनाएको छ । निर्वाचन बिरोधी गतिविधि गर्ने समुह रहे पनि त्यसको प्रभाव गण्डकीमा खासै देखिएको छैन । प्रभाव नभए पनि सुक्ष्म अध्ययन र अनुसन्धान भने भइरहेको कार्यालयले जनाएको छ ।

गण्डकीमा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन । प्रदेशभरी १८ लाख ७० हजार ६५ मतदाता रहेका छन । प्रदेशमा १४ जना तेस्रोलिंगी लगायत अन्य मतदाता छन् । १४ हजार १३ जना निर्वाचन प्रहरी र ६ हजार ८ सय ६४ नेपाल प्रहरी निर्वाचनमा खटिने छन् । तर निर्वाचन प्रहरीमा आवेदन दिनेको संख्या नै अपुग भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार १४ हजार १३ जना निर्वाचन प्रहरी आवस्यक पर्नेमा आवेदनमै १ हजार ५ सय जना कम परेको छ । अहिले निर्वाचन प्रहरीको छनौट चलिरहेको र अनुपयुक्त व्यक्ति फालिने भएकाले निर्वाचन प्रहरीको संख्या अझै कम हुने निश्चित छ । यसैले विभिन्न जिल्लामा छनौट प्रक्रियामा छुटेकालाई फेरी अवसर दिने भन्दै बोलाउन थालेका छन् ।

गण्डकीमा महिला मतदाता धेरै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । जसमा महिला मतदाताको सङ्ख्या ९ लाख ५५ हजार ५ सय १६ छ भने पुरुषको मतदाताको सङ्ख्या ९ लाख १४ हजार ५ सय ३५ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९ै सय ८१ ले बढी रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

जिल्लागत रुपमा गोरखाबाहेक प्रदेशका १० वटै जिल्लामा महिला मतदाताको सङ्ख्या बढी रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । गोरखामा एक लाख १४ हजार आठ सय ३७ पुरुष र एक लाख १४ हजार दुई सय २० महिला मतदाता कायम भएका छन् । मनाङमा ३३ सय ७७ पुरुष र ३६ सय २३ महिला मतदाता छन् । लमजुङमा ६७ हजार छ सय पुरुष र ६९ हजार पाँच सय २४ महिला, कास्कीमा एक लाख ४८ हजार पाँच सय १५ पुरुष र एक लाख ६० हजार एक सय १५ महिला मतदाता छन् ।

यस्तै तनहुँमा एक लाख २३ हजार चार सय ९१ पुरुष र एक लाख ३० हजार नौ सय छ महिला, स्याङ्जामा एक लाख २२ हजार चार सय ६४ पुरुष र एक लाख २६ हजार तीन सय ५१ म्हिला मतदाता रहेका छन् । नवलपुरमा पुरुष मतदाताको सङ्ख्या एक लाख २९ हजार ५४ छ भने महिला मतदाताको सङ्ख्या एक लाख ३९ हजार चार सय ६८ छ । मुस्ताङमा ५५ सय ५९ पुरुष मतदाता, महिला ५७ सय ६८, म्याग्दीमा ४२ हजार तीन सय दुई पुरुष र ४४ हजार ६४ महिला मतदाता रहेका छन् ।

बागलुङमा ९४ हजार आठ सय छ पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ९८ हजार पाँच सय ७४ रहेको छ । पर्वतमा ६२ हजार छ सय पुरुष र ६२ हजार आठ सय ६५ महिला मतदाता कायम भएका छन् । महिला र पुरुषबाहेक अन्य मतदाताको सङ्ख्या १४ रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता संख्या जम्मा ७ हजार छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->