बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विरहिणी दमयन्ती : कथाको एक समीक्षा

विरहिणी दमयन्ती : कथाको एक समीक्षा


  • माधव चापागाईं
  • फाल्गुन ५ २०८२, मंगलबार

आधुनिक नेपाली साहित्यका सुप्रसिद्ध आख्यानकार मदनमणि दिक्षित (वि.सं. १९७८–२०७६) द्वारा रचित ‘विरहिणी दमयन्ती’ पौराणिक विषयवस्तुमा आधारित नारिवादी कथा हो । बौद्धिक एवं दार्शनिक चिन्तक दिक्षितले यस कथामा पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णनलाई समावेश गरेका छन् । कथाका नायक निषदराज नल र नायिका रानी वैदर्भी कन्या दमयन्तीको आशातित प्रेमलाई समयसापेक्षित रूपमा कथामा वर्णन गरिएको छ । दमयन्तीले आफ्नो जीवनमा उत्पन्न दुःख, कष्ट, संकट र विपत्तिको डटेर सामना गरेकी छन् । जीवनमा जतिसुकै चक्रवात मडारिए पनि आफ्नो इज्जत र चरित्रका सुन्दर आभूषण पहिरिएर प्रेम प्राप्तिका लागि सङ्घर्ष गरिरहेको विषय कथामा छ । प्रतिकूल अवस्थामा पनि आफ्नो उद्देश्य उन्मुख बन्दै सतिसालझैँ अविचलित हृदयका साथ विघ्नबाधाहरुको सामना गर्न तत्पर दमयन्ती साहसीक यात्रामा अगाडि बढेकी छिन् ।

कर्कोटक नागहरूको घनघोर जङ्गलको एकान्त छाप्रोमा निषधराज नल र रानी दमयन्ती सुखपुर्वक आनन्दित जीवन व्यतीत गर्दै थिए । एकदिन नलले मध्यरातमा रानीलाई परित्याग गरी हिँडेपछि दमयन्ती आफ्ना प्रिय पतिलाई खोज्न बिलौना गर्दै भोक, शोक र थकाइले ग्रसित भई हिड्छिन् । त्यसै क्रममा सुर्यास्तको समयमा पिपलको रुखमुनि सुस्ताइरहेको क्षणमा तन्द्रामा पर्छिन् । सपनामा नलको भाइ पुष्करले दमयन्तीको शिर सुमसुम्याइरहेको आभास महशुस गर्छिन् । त्रसित भइ ब्युझिदा बलिष्ट नागपुरुष कर्कोटकले सुम्सुम्याएको पाएपछि चिच्याउदै भाग्न खोज्छिन् । परन्तु कर्कोटकले बलपूर्वक आफ्नो छाप्रोमा लैजान्छ । दमयन्तीले आफ्नो रक्षार्थ उपाय सोची मुस्कुराउँदै कर्कोटकलाई नमस्कार गरी भोक लागेको कुरा बताउँछिन् । कामुक कर्कोटकले आफू विजयी भएको ठान्दै दमयन्तीलाई सुखासनमा बस्न आग्रह गर्छ । यता दुष्टात्मा युवकको कामेच्छा बुझेकी दमयन्तीले आफ्नो दुखान्तक कथा सुनाई आफूले रक्षक पाएको भनी प्रसन्नता प्रकट गर्छिन् । युवकको पन्जाबाट भागेर नलको खोजीमा लाग्न आतुर दमयन्ती उसलाई भोक लागेको बताउँछिन् । सुखद जीवनको परिकल्पना गर्दै युवकले विभिन्न परिकार तयार गर्दै गर्दा दमयन्तीले युवकलाई जाँड खुवाएर मदहोस तुल्याउछिन् । त्यही मौकामा उनले ढोका र पिँढीमा जाँड पोखी आगो लगाएर पूर्वतर्फ भाग्न सफल हुन्छिन् ।

नलसङ्गको सुखी जीवन र अधिक प्रेमका कारण दमयन्तीले नल हराएपछि आफुसँग नल छैनन् भन्ने कुरामा विश्वास नै गर्न सकिरहेकी थिइनन् । दमयन्तीले उक्त घनघोर जङ्गलका हरिया पल्लव, पुष्प गुच्छा, वृक्ष वनस्पति, चराचुरुङ्गी र पशुहरुमा नलकै रूप देख्थिन् । दमयन्ती मलाई यसरी दुःखित नबनाउनु, मबाट लुकेर नबस्नुहोस् भन्दै वृक्ष, फूल र लहरासँग पुकार गर्दै हिँडिरहन्छिन् । नलसँग भएको वियोगले गर्दा उनको हृदय भस्मीभूत हुन्छ । साँच्चै नै उनले नललाई अथाह प्रेम गर्थिन तर परिस्थितिले उनीहरुलाई टाढा बनाएको थियो । नलको खोजीमा दमयन्ती भोकी, अर्धनग्न, विस्मित र शिथिल भइसकेकी थिइन् । कर्कोटकको वशबाट उम्किएपछी तीन दिनसम्म जङ्गलमा भाव विह्वल हुँदै हिँडेकी दमयन्ती निषाद र नागको बस्ती देख्दा आफ्नो रक्षार्थ कुरुप र विकृत रुप बनाई केसलाई धुलाले मुसारेर जगल्टा बनाई हिलो दलेर लठ्ठी लिई पतिकै खोजीमा हिड्छिन् । पति नललाई फेला पार्ने कुरामा दृढ हुँदै तेस्रो दिनको सूर्यास्तको समयमा पुर्वतर्फ लाग्छिन् । खेतमा पाइने कन्दमुलले भोग शान्तपारी ढुंगामाथि सुस्ताएको बेला गहिरो निन्द्रामा पर्छिन् । नलको सम्झनामा पिडाका गित गाउदै रात्रि पल बिताइरहेको क्षणमा सपना देख्न थाल्छिन् । स्वप्नमा ऋषिहरूको छाप्रामा गई सत्कारका साथ भोजन गर्छिन् सपनामै उत्तरतिर खोज्दै जाँदा नल भेटिनेछन् भनी आकाशवाणी हुन्छ । प्रातकालिन सूर्यको किरणसँगै बिउँझेकी दमयन्ती सपनाको फल र आफ्नो उद्देश्य सफल पार्न खुसी हुँदै उत्तरतर्फ लाग्छिन् ।

केही समयको हिडाइपछि सार्थवाह शुचिभद्रसँग भेट हुन्छ । सुचिभद्रको व्यापारिक दलसङ्गको साक्षातकारले उनमा नयाँ आशा पलाउँछ । सार्थबाहले सूचीभद्र र दमयन्तीको परिचय गराउँछन् । दमयन्तीले आफ्नो सबै वृतान्त बताउँछिन् । सूचीभद्रले भोजन गर्न आग्रह गर्दै चेदी जनपद ठूलो सहर भएकाले नल त्यही भेटिन सक्ने कुरा गर्छन् । उनले शरीरका वलकल परित्याग गरी वस्त्र पहिरन सुझाए पनि दमयन्तिले सन्ध्या स्नानपछि मात्र वस्त्र फेर्ने कुरा गर्छिन् । सुचीभद्र सेठको सार्थसँगै दमयन्तीले पद्म सौगन्धिक सरोवरमा पुगी जल क्रीडा गर्छिन् । सूचीभद्रले दमयन्तीलाई कालो धोती र पछ्यौरी दिन्छन् । रातको समयमा त्यो व्यापारीक समूह सरोवरकै छेउमा शयन गरिरहेका बखत जंगली हात्तीको एउटा डफ्फाले कुल्चिएर १०÷१२ जना बाहेक सुचिभद्र सहित सार्थवाहको ठूलो समुह ध्वस्त हुन्छ । जङ्गलमा हाहाकार मच्छिन्छ । सुरुमै रुखमा चढेर आफूलाई बचाउँन सफल दमयन्तीले सार्थ समुहको विचल्ली र क्रन्दन करुण दृष्टिले हेर्छिन् । उनिहरुको दुःखद् निधनमा भावविह्वल दमयन्तीले सूचीभद्रले दिएका वस्त्र अशुभ ठानी फालेर मृत महिलाको कपडा पहिरेर पति प्राप्तिको अभीष्ट लक्ष्य लिएर उनी चेदी जनपदतर्फ लाग्छिन् ।

चेदीराज सुबाहुले आफ्नी ठुलीआमा सुनन्दालाई अपहरण गरेर लगी पत्नी बनाएको कुरा सानैमा उनकी आमाबाट सुनेकि थिइन् । सोही कुराको स्मरणले आफूलाई कसैले नचिनुन् कुनै अप्ठ्यारो नपरोस् भनी केश, वस्त्र र मुहारलाई विकृति बनाई दमयन्ती चेदी पुग्छिन् । त्यहाँ आफूलाई कसैले चिनेमा नमिठो हुने ठान्छिन् तर पनि नल फेला पर्छन् कि भन्ने आशाले आफ्नो यात्रालाई निरन्तरता दिन्छिन् । उनलाई बौलाही जस्ती देखेर सडकका केटाकेटीले गिज्याउँदै दमयन्तीको पछि लाग्छन् । त्यत्तिकैमा सुनन्दाको ध्यान दमयन्तीतिर जान्छ । अनि दमयन्तीलाई बोलाएर परिचय सोध्दा उनले आफ्नो परिचय परिवर्तन गरि कुनै सेठको घरमा सुसारे भएर काम गर्ने गरेको बताएपछि सुनन्दाले आफ्नी छोरीकी सुसारे शैरन्धृको काम स्वीकार गर्न आग्रह गर्छिन् । परन्तु दमयन्तीले कसैको जुठो नखाने, पाउ न दाप्ने र कुनै परपुरुषसँग नबोल्ने शर्त राख्छिन् । सुनन्दाले शर्त स्वीकार गरी तिमी छोरीको हेरविचार र स्याहारसुसारमा बस्नु भनी आदेश दिन्छिन् । उनी ठुलीआमाको घरमा सैरन्ध्रीको रूपमा रही निषदराज नललाई जसरी भएपनि फेला पार्ने उपाय खोज्दै दिन बिताउछिन् ।

यसरी अनेकौं दुःख, कष्ट, संघर्ष र विपत्तिका बीचमा पनि दमयन्तीले आफ्नो पतिप्रति अविचललित प्रेम, साहस र धैर्य कायम राख्दै खोजिरहन्छिन् । दमयन्तीले घनघोर जङ्गलमा गरेको सङ्घर्ष आफ्नो प्रेम प्राप्तिका लागि थियो । उक्त घनघोर जंगलमा कसैको मतलब नगरी उनी आफ्नो पतिको खोजीमा निरन्तर लागि रहिन् । आफ्नो लक्ष्यमा पुग्न दमयन्ती दृढ भएर विभिन्न बाधाव्यवधानलाई झेल्दै गन्तव्यतिर बढेको देखाएर कथाकारले ‘नारी प्रेम र सङ्घर्षकी प्रतिमूर्ति हुन’ भन्ने पुष्टि गरेका छन् । जङ्गलको पीडा, कर्कोटकको प्रलोभन, सार्थविनाश, सहरको अपमान जस्ता कठिन परीक्षाहरू पार गर्दै अन्ततः उनी आशाको सहर अर्थात् चेदी राज्यको महलमा पुग्छिन् । फलस्वरूप सैरन्ध्रीको रुपमा आश्रय लिएर नल भेट्ने आशामा दृढ हुन्छिन् । यो कथा दमयन्तीको अटल प्रेम आत्मसम्मान र नारी शक्ति प्रतिको प्रेरणादायी कथा हो । दमयन्तीले आइपरेका समस्याहरुलाई समाधान गर्नका जुक्ति बुद्धि लगाएर समय र परिस्थिती अनुसार चलाखीपूर्ण तरिकाले बललाई बुद्धिले पछारेकी मात्र छैनन् । उत्पन्न हुन सक्ने समस्याको समेत मध्यनजर गरी दूरदृष्टिका साथ विभिन्न उपायहरु अवलम्बन गरेकी छन् । तसर्थ समस्या पर्दा आत्तिएर हैन बुद्धि र जुक्तिले काम गर्नुपर्छ भन्ने सन्देश पनि यस कथाले दिएको छ ।

यस कथाका आधारमा हेर्दा कर्कोटक नागहरुको घनघोर जङ्गलमा पति निषधराज नलसँग आनन्दित र सुखी जीवन बिताएकी दमयन्ती पतिवियोगमा विरहिणी बनेपछि पतिको खोजीमा निस्कँदा सङ्कट, दुःख र विपत्तिजस्ता समस्याहरुको चक्रवातले घेरिएकी दमयन्तीले सतित्व रक्षाका लागि होस् वा जीवनरक्षाका लागि आइपरेका अनेकन समस्याहरुलाई समाधान गर्न जुक्ति बुद्धि लगाएर समय र परिस्थिति अनुसार चलाखीपूर्ण तरिकाले बललाई वुद्धिले पछारेकी मात्र छैनन् भवितब्य समस्याको समेत मध्यनजर गरि दूरदृष्टिका साथ विभिन्न उपायहरु अपनाएकी छिन् । समस्या समाधानका लागि उनी धैर्य, साहस, आँट, सङ्घर्षकी प्रतिमूर्तिका रुपमा देखिन्छिन् । समस्या भागेर हैन जागेर समाधान हुन्छ, बललाई बुद्धिले पछार्न सकिन्छ, सङ्घर्ष नै जीवन हो । त्यसैले हामी निरन्तर सङ्घर्षशील बन्नुपर्छ, जीवनमा सधैँ आशावादी बन्नुपर्छ, समय र परिस्थितिअनुसार चल्न सक्नुपर्छ जस्ता जीवनोपयोगी सन्देशहरुले यो कथा उच्च कोटीको बन्न पुगेको छ । अतः यसप्रकार आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा दमयन्तीका माध्यमबाट पुष्टि गरिएको छ ।

(लेख : कक्षा १२ को पाठ्यक्रममा आधारित भएकोले विद्यार्थीहरुलाई विशेष रहनेछ ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->