बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भकुण्डेका रामजाली थापा मगरको कुलपुजा विधिको अध्ययन

भकुण्डेका रामजाली थापा मगरको कुलपुजा विधिको अध्ययन


  • याम बहादुर थापा मगर
  • फाल्गुन १० २०८२, आइतबार

लेखको आरम्भ
मगर जातिहरुले गर्ने कुलपुजाको गहिरो धार्मिक, सांस्कृतिक र ऐतिहासिक मान्यतासँग जोडिएको छ । मगर समुदायको आन्तरिक विश्वास प्रणाली, प्रकृतिसँग उपासना र पूर्वजहरुको संस्कारको सिकोसँग सम्बन्धित रहेको छ । कुलपुजाको परम्परा धेरै पुस्तादेखि चलिआएको ऐतिहासिकता बोके संस्कृति हो । कुलपुजाले आफनो वंशजको संरक्षण गर्ने, समृद्धि ल्याउने र आफन्त चिनजान सँगसगै भातृत्वको रक्षा गर्ने विश्वास गन्छि । मगर समुदाय जातिमा कुल देवता पूजा गर्ने परम्परा र यसको महत्वबारे विस्तृत जानकारी र अध्ययन हुन लेख्य सामाग्री अभावले यथार्थ र सही तथ्यहरु प्रकाशनमा आउन बाँकी रहेको छ । कुल देवताको अनुष्ठानका बेलामा उपासु बस्ने, पञ्चकन्या, मुल पुजारी, दियो, मुल घरको खजाना आदि महत्वपुर्ण मानिन्छ । यस लेखमा रामजाली थापा मगर बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. ० भकुण्डे अर्वाउदी मुलथलो भई विभिन्न स्थानमा बसाइ सराई गर्नेको सामान्य अनुसन्धान र खोजीमार्फत यो आलेख तयार भएको छ । मगर समुदाय पशुपालन, कृषि, भरिया, लाहुरे हुने र केही राजनीति र निजामति कर्मचारीमा आवद्ध भएको पाउन सकिन्छ । आगामी दिनमा थप अनुसन्धान र खोजी नीति गरेर यसलाई बढीभन्दा बढी ऐतिहासिक, प्रमाणिक र तथ्यपरक बनाई प्रकाशन तथा प्रशारण गरी भावी सन्ततीलाई मानवशास्त्र, समाजाशास्त्र, भाषा विज्ञान, राजनीति र इतिहासका अनुसन्धान शोधार्थीहरुका लागी महत्वपुर्ण सामाग्री बन्ने छ ।

रामजाली थापा मगरको बासस्थान
गण्डकी प्रदेश बागलुङ नगरपालिका–१० भकुण्डे, अर्वाउदी टोलमा मुलपुर्खाहरु आइ बसोबास गरेको इतिहास पाइन्छ । त्यसभन्दा कुन स्थान, भुगोलबाट बसाइसराइ गरेर आएका हुन भन्नेबारे यथार्थ इतिहास पाउन सकिएको छैन । कसै कसैले जाजरकोट जिल्लाहुँदै गुल्मीको धुरकोटबाट अर्वाउदीमा आएको अप्रमाणित भनाइ उपलब्ध छ । मुल थातथलो भकुण्डे, अर्वाउदी गाउँमा बसोबास गरेका हुन भन्ने अनुसन्धान हुन बाँकी छ । भकुण्डे गाउँको ढुगेटोल, चमचामुनी, डाँडाघर, चौडिला, मौरीभिर, धौलेचउर टोल, मुखियाटोलमा बसोबास गर्छन् । त्यसैगरी रायडाँडाको बलौउटे, मौरीभिर, पाठकथर गाउँटोलमा रामजाली थापा मगरका दाजुभाइहरुको बसोवास रहेको छ । तित्याङको दहया, कुमलडाँडामा समेत बस्दै आएको र त्यहाँबाट बर्दिया, नवलपुर, गैडाकोटमा बसाइसराइ गरेका छन् । ढुगेटोलबाट दमौलीमा एक घर बसाइ सरेका छन् । पाल्पा, पर्वतको तिलाहार, राम्जामा समेत बसाइ सराइ गरेका रामजाली थापा मगरमा दाजुभाइ रहेकोले उहाँहरुको वतन खुल्ने टोल, वडा, पालिकाहरुको पहिचान गरेर कुल पुजामा सहभागी गराउनमा पहल गर्नुपर्ने आवश्यकता रहेको छ । त्यसैगरी भकुण्डे गाउँको राक्से, पात्ले, अर्भक, तल्लोपात्ले, झाक्रीथान, गुहेखोला, सुनझाँक्री, ठुलाताल, हिराताल, समलडाँडा, काउरे टोलमा समेत रामजाली थापा मगर र धनञ्जय गोत्रका सहगोत्रीय रक्त सम्बन्धको एउटै वंशावलीका दाजुभाईहरु बसोबास रहेको पाइन्छ । पात्ले भेगका रामजाली थापा मगर र अर्वाउदी गाउँका दाजुभाईहरुको फरक फरक समयमा कुलपुजा गर्ने, मृत्यु सस्कार नवार्ने, सुत्केरा नबार्ने प्रचलन विद्यमान भएपनि उहाँहरुसँग चिनजान, धनञ्जय गोत्रिय रामजाली दाजुभाइको नाताले नयाँ सम्बन्धका साथ नजिक, चिनजान हुनुपर्ने बारेमा छलफल र विमर्श भएको छ । रामजाली थापा मगर समुदायका अग्रजहरुको नेतृत्वमा वर्शावली प्रकाशन गर्नका लागि अनुसन्धान र शोध खोज भईरहेको अवस्था छ ।

रामजाली थापा मगरको कुलथान मन्दिरको इतिहास
साविक भकुण्डे गाउँ विकास समिति वडा नं. ३ र ४ को सिमाना कुलथानको खुल्लाचौर र पानीको मुहानको आडमा लाकुरीको रुखमुनि ढुंगाको गाह्रोले बारेर बनाएको एक थानमा पुजाआजा हुँदै आएको बुढापाकाहरु बताउँछन् । तर केही समय कुलथान मन्दिरको पुजा स्थलको ठाउँ सारेर माथिल्लो खुल्ला चौरमा केही वर्ष कुलपुजा गर्दा प्राकृतिक विपत्ती परेर खरको छाना भएको कुलथानको मन्दिर जस्तो संरचनामा ब्रजपात परेको थियो रे ! सो ब्रजपात परेपछि अशुभको संकेत र भावी दिनमा विकराल घटना हुने सम्भावनाले पुरानो स्थलमा नै कुलथानको मन्दिर स्थलमा सारेर पुजाआजा गर्दै आएको जानकारी बुढापाका दाजुभाईबाट भएको छ । हालको नवनिर्मित कुलथानको मन्दिरको स्थानमा ठुलो लाकुरीको रुख भएको सो थान वरीपरी ढुंगाको बान्ला लगाएर घेराबन्दी गरिएको थियो । पुजाआजाको समयमा सिमित व्यक्ति मात्र थानमा जान मिल्ने खालको थियो । आडमा ठडिएको लाकुरीको रुखको वरिपरि नियाँ लगेर मन्दिर वा थानको आकार दिएर श्रद्धापुर्वक पुजाआजा गर्ने परम्परा थियो । साथै, कुलथानको आडमा पानीको मुल स्थायी खालको भएको कारण पानीको मुहानको संरक्षण र बाँच्ने आधार भएकोले झाँक्रीको पुजाको साथसाथै सिद्ध देवताको रुपमा पानीको मुहानको पुजाआजा गर्ने प्रचलन मगर समुदायको बाहुल्य भएको स्थानमा प्रचलित भएको छ । कुलथानको वरिपरि भएको खुल्लाचौर जग्गामा सार्वजनिक चौर बनाउन पहिलाको चलनअनुसार नुन छर्केर बन्देज गर्ने भएकोले सो चौरलाई नुन छरेको स्थल भएकोले नुन्थला स्थल भएको मानिन्छ । नुन्थलाको स्थानलाई पछि भैरव माध्यमिक विद्यालय, लामिडाँडामा भएको प्राथमिक विद्यालयलाई गाउँको बिचमा पार्ने र लामीडाँडामा खुल्ला चौरको अभावले गर्दा अर्वाउदी र देउराली गाउँको सिमानामा भएको नुन्थलाचौर तथा हालको भैरव माविको भवन परिसरलाई नुन्थला भनेर भनिदै आएको छ । भैरव माविको जग्गा उपलब्ध गराउने ऐतिहासिक काम हाम्रा रामजाली थापा मगरको पुर्खाहरुको महत्वपुर्ण योगदान रहेको निर्धक्क बताउन सकिन्छ । साथै, रामजाली थापा मगर भएको मगरहरुको बसोवास भएका स्थानमा म्याग्दीको कुहँु, तमानखोलाको खुँखानी, निसीखोला देविस्थानका रामजाली थापा मगर भनेर नै थर लेख्दै आएको पाइन्छ । तर हामीले रामजाली थापा मगर भएपनि थापा मगर मात्र लेख्ने प्रचलन छ । तर थापा मात्र लेख्दा कतै हामी क्षेत्री, खड्काको थापा हो कि भन्ने भ्रम र अन्योल हुने गरेको पाइन्छ । पछिल्लो समयमा रामजाली थापा मगर लेख्नुपर्नेमा थापा मगर लेख्ने चलन बढेको छ । तर पछिल्लो समयमा मगर विद्धानहरुको अनुसन्धान र शोधहरुले रामजाली थापा मगर भएकाहरुको खासमा नामजाली मगर हो भनेर लेख्ने अभ्यास समेत भएको पाउन सकिन्छ ।

कुल देवता पुजा गर्ने कारणहरु
बंशीय वृक्षको पहिचान र संरक्षण
कुल देवता भन्नेबित्तिकै त्यो विशेष वा कुलका संरक्षक देवीदेवता हुन् । दिवंगत कुलका आफ्नै देवता हुने र सबैभन्दा ठुला देवताको रुपमा लिइन्छ । धनञ्जय गोत्रको बंशीय रक्त सम्बन्धको पहिचान र संरक्षण गरी एकआपसमा ताजा परिचयात्मक सम्बन्ध स्थापित गरी राख्नका लागि महत्वपुर्ण मानिन्छ । आफनो रक्त सम्बन्धका आधारमा बंंशीय पहिचान र संरक्षण भएमा अपनत्व हुने र दुख सुख पर्दा साथ सहयोग गर्नका लागि सजिलो हुने कारण पनि मुख्य रुपमा कुल पुजा गर्ने कारण रहेको छ । आपसी भाइचारा र सहयोगमा बाँध्ने काम गर्दछ । वंशवृक्षको ठुलो परिवारको रुपमा निर्माण भएको मानिन्छ ।

स्वर्गीय चिरशान्तीका पुर्वजप्रतिको श्रद्धा
कुल पुजा पूर्वजहरुको स्मृति र सम्मान गर्ने माध्यम तथा पुजा विधि हो । परम्परादेखि चल्दै आएको सांस्कृतिक, सामाजिक, ऐतिहासिक निरन्तरतामा योगदान गर्ने वर्तमान पुस्ताका लागि सुर्वण अवसर हो । हामी सन्ततीहरु कुलपृतीको उपज र निरन्तरता नै भएकोले असल र कुशल अभ्यासलाई स्मरण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने माध्यम कुल पुजा हो । पुर्खाको सम्झना, कदर र आशीर्वादको आग्रहले भावी दिनचर्या समुन्नत हुने मानिन्छ ।

जिवनकालमा सम्पत्ति र स्वास्थ्यको कामना
कुल देवताको पुजा गर्दा आफनो परिवारमा शान्ति, स्वास्थ्य, समृद्धि, रोग नलागोस्, सन्तान राम्रो होस् भन्ने भक्ति भावले आत्माबाटै कामना गरिन्छ । पहिलो सन्तानको विवाह भएका र छोरा जन्म भएमा कुल पुजामा छुट्टाछुटै बोका बली चढाउने परम्परा छ । रोग लागेमा छिटो निको होस् भन्ने कामना र भावना अनुसार कुल पुजाको भक्कल गर्ने चलन छ । छोरा छोरीले धेरै धनसम्पत्ती कमाइ गरेर खुशी र समुन्नत तरिकाले जिवनयापन गरोस् भन्ने कामना कुलपितृमार्फत गरिन्छ । पराम्परागत ज्ञान हस्तान्तरण, धर्म कला र संस्कृति प्रदर्शन, बाजागाजा, नाचगान प्रस्तुत गरेर समाजमा आत्मियता प्रस्तुत गर्छन् ।

दाजुभाइमा एकता र सहकार्यको भावना
कुलपुजा प्रायः सामुहिक रुपमा मनाइन्छ । जसले समुदायमा एकता, भाइचारा र सहकार्यको भावना बलियो बनाउँछ । मौलिकता र परम्परागत मुल्यलाई जीवित राख्न कुल पुजाले महत्वपुर्ण भुमिका खेल्छ । कुल देवता रिसाएमा अशुभ हुन्छ र खुशी भएमा सबै काम सफल र शुभ हुन्छन् भन्ने विश्वास गरिन्छ । धार्मिक आस्था र सकारात्मक सोचलाई बल दिन्छ । कुल पुजामा सहभागिता जनाउने बच्चा र युवाहरुलाई परम्पराको ज्ञान हुन्छ । आफनो संस्कृति र मूल्यप्रति जागरुकता बनाउँछ । हरेक तीन–तीन वर्षमा कुलपुजा गर्ने चलनले छुटाछुटै दाजुभाइका परिवारलाई एक ठाउँमा ल्याउँछ । सामाजिक एकता र भाइचारा कायम गर्न र रामजालीथ थरका मगर जातिय पहिचान बलियो बनाउन सहयोगी हुन्छ । सामुहिक रक्षाका लागि समुदायमा रोग व्याधि, भुतप्रेत, प्राकृतिक विपत्ति नहोस् भनेर विश्वास गरेर कुल पुजा गरिन्छ ।

कुषि र पशुपालनको समृद्धि र विकासको कामना गर्दै बराह तथा सिद्ध बराह र इन्द्रलाई प्रशन्न पारेर राम्रो वर्षा, बाली, गाईवस्तुको वृद्धिको कामना गर्न कुल पुजा गरिन्छ । मानिसको आस्था र मनोबल दह्रो तथा अडिग बनाउनको लागि संकटको बेला कुल देवताले रक्षा गर्छन् भन्ने जनविश्वासले मानिसलाई मानसिक बल दिन्छ । काम विशेषले घर वा गाउँ बाहिर काम गर्ने सदस्यहरु घर फर्कन्छन् र पुर्नमिलन पर्व जस्तै हुन्छ कुलपुजा । साथै, कुल देवता रिसाएमा घरमा अशुभ हुन्छ भन्ने विश्वास छ । रोग, झगडा, अनिष्ट हुने डर हुन्छ । पुजामा अनुपस्थित परिवारलाई भविष्यमा असफलता वा अप्ठयारो आइपर्ने डर मानिन्छ । त्यसैले सबै दाजुभाइहरुलाई अनिवार्य सहभागीको लागि अनुरोध नै गरिन्छ ।

कुलपुजा गर्ने विधि र विश्लेषण
कुल थान वा कुल पुजा स्थल
बागलुङ भकुण्डे अर्वाउदी, पानीको मुल भएको कुलथानमा केही महिना अगाडी सरसफाइ लगायत शुद्ध व्यवस्थापनको लागि बैठक बस्ने काम हुन्छ । कुलथानलाई मर्मत सम्भार, गाइको गोबर, गोरुको गोबरले लिपपोत गरेर चोखो बनाइन्छ । तर आजकल रंगरोगन लिएर रंगाउने प्रचलन रहेको छ । (थापा मगर, टिकाराम) धवजापतका ताग्ने काम गरिन्छ । प्रसाद पकाउने सत्तल, मार हान्ने स्थल, अचानोको लागि काठ लगायतको बन्दोबस्त गरेर आत्मिक, धार्मिक, सामाजिक हिसाबले पवित्र र शुद्ध स्थलको रुपमा निर्माण गरेर पवित्र स्थल कुलथानलाई बनाइन्छ ।

कुल पुजामा पाँच कन्याहरु व्यवस्थापन
रामजाली थापा मगर दाजुभाई भित्रका तिन कन्याको खोजी गरेर कुलपुजा हुनुभन्दा अघिल्लो दिन नुहाइधुवाइ गरी चोखो बनेर उपासु बस्न लगाइन्छ । उपासु बसेका कन्या नानीहरुलाई कुलपुजाको दिनमा तामाको गाग्रीमा पवित्र पानी बोकेर मुल पुजारीभन्दा अगाडी हिंड्न लगाइन्छ । पञ्चेबाजाभन्दा पछाडी हिंडन लगाइन्छ । (थापा मगर, लाल) कुलथानमा पुजा गर्नको लागि आवश्यक पर्ने शुद्ध पानी भएकोेले सोे बोकाएर लैजाने गरिन्छ । कन्याले चोखो कपडा लगाउने चलन छ । पवित्र चिज मात्र खाने र पञ्चेबाजाभन्दा पछाडी कन्याहरु लाम लगाएर हिंड्ने प्रचलन छ । कन्यापछि मुल पुजारी, अन्य उपासु र मुल निया पाँच वटा र अन्य प्रत्येक घरबाट लिएर आएकाहरु समातेका दाजुभाईहरु प्रत्येक घरबाट लिएका निगालोको निया, फुल प्रसाद अछेता पाती र बोकाहरु डोहो¥याउने गरिन्छ । कुलाथान पुजा सकेर फर्कदा मुल घरमा भित्राएर पुजा समापन गरिन्छ ।

कुल पुजामा मुल पुजारी चयन गर्ने
मुल पुजारी कुलपुजा विधि र परम्परा जानेको जेष्ठ दाजुभाइहरु मध्येबाट छनौट गरी मुल पुजारी छानिन्छ । मुलका अलावा बुढापाकाहरु आफनो इच्छा अनुसार घरका मुली मानिसहरु कपाल खौरेर उपासु बसेर भक्तिभाव र श्रद्धापुर्वक अन्य सहायक पुजारीहरु जस्तै बस्ने गरेको पाउन सकिन्छ । (थापा मगर, डम्मर) पुल पुजारीले मुल घर अघिल्लो दिन नै सफा सुग्घर र चोखो बनाउन लिपपोत गर्ने र कुलपुजाको बिहानै कलश, तामाको ताउलीमा बत्ती बाल्ने कुल पितृलाई सम्झेर पुजाआजा गर्ने, कुलथानसम्म बत्ती ननिभाई लगि समय समयमा तेल थपेर पुजा सम्पन्न कुल थानमा गरेर मुल घरमा नै बाजागाजासहित बत्तीलाई ल्याउने चलन रहेको छ । प्रत्येक घर घरमा समेत पवित्र र श्रद्धा स्वरुप बत्ती बाल्ने प्रचलन रहेको छ । कुलथानमा मुल पुजारीले भित्र पसेर रेखी हाल्ने, धुप हाल्ने, फुलपाती चढाउने, प्रसाद पकाएर चढाउने, बली चढाउनमा अनुमति दिने काम गरिन्छ । काटमार सम्पन्न भएपछि उपस्थित दाजुभाइ इष्टमित्र सबैलाई रोटी, खिर, हलुवा प्रसादको रुपमा वितरण गरिन्छ । मुल घरमा आएपछि मुलघरको सदस्यहरुले भित्राउन आउनेलाई रक्सी थोरै मुख बिटलो गर्न दिने चलन छ । पुजारीको बत्ती बालेको रातभर उज्यालो राख्नुपर्ने हुन्छ ।

उपासु बस्ने परम्परा
कुल पुजाको अघिल्लो दिनमा घर लगायत अन्य स्थललाई चोखो बनाउने, फलफुल खाने, रक्सी नखाने गरी उपासु बस्ने परम्परा रहेको छ । उपासु मुल पुजारी अनिवार्य रुपमा र घरको जेठो बाठो इच्छा अनुसार बस्ने चलन छ । आफनो भक्तिभाव कुलप्रति भएमा घरको दुई तीन जना पनि बस्न पाइन्छ । तर घरको पाको मान्छे स्वइच्छाले उपासु बस्ने परम्परा रहेको छ । (थापा मगर, लाल) उपासुहरुले कुलपुजा सम्पन्न नहुँदासम्म मासु, रक्सी, लसुन, प्याज, चुरोट, यौन सम्पर्क, झगडा, कशम, अपशब्द आदि त्याग गर्ने हुनुपर्ने छ । उपासु हुनेहरुले कुल पुजाको मिति तय गरेर प्रत्येक घरबाट मान्छे, चामल, बोका, फलफुल, निया, पुजा सामाग्रीहरु सामुहिक रुपमा जुटाउने गरिन्छ । पुजा स्थलहरु सरसफाइ गर्ने र कुलथानमा भाकल, कामना बाजागाजासहित गीत गाउने गरिन्छ । कुलथानमा दाजुभाइहरु जम्मा भएर आफनो जीवनको सुख शान्तिका लागि कुलदेवतासँग भाकल गर्छन् । मानसिक शुद्धता, ध्यान मौनता र नित्य स्नान गरेर पवित्र र चोखो अवस्थामा बस्ने जीवनशैली अपनाउनुपर्ने छ ।

बोका बली दिेने कार्य
कुल पुजामा मुख्य गरी इन्द्र कुल देवताको लागि धुप बत्ती, बोका कुल देवताको लागि, सिद्ध बराह देवताको लागि साँघर र विन्दु बासिनीको पुजाको लागि पाथीको बली दिने कार्यलाई निमको पुजा भनेर भन्नु नै मुख्य कुलथानको पुजा हो भनिन्छ । प्रत्येक घरबाट गच्छे अनुसार एक बटा बोका, बाँसका निगालोको निया, जसको टुप्पामा एक जोडा रातो र सेतो संंयुक्त धजा बाँडेर बाँडिन्छ । घरको मुल खाममा पाको मानिसले कुलपितृलाई सम्मान स्वरुप धजा बाँडने, चामल, बत्ती, अगरबत्ती, घिउ, फुुल लगायतको सामाग्रीहरु संकलन गरी कुल थानमा लैजाने भेटी तयार गरिन्छ । (थापा मगर, लाल) साथमा परिवारको जेठो सन्तान छोराको जन्म भएको र विवाह भएको पहिलो वर्षको सन्दर्भमा एक÷एक वटा छुट्टाछट्टै बोका बलीको लैजाने प्रचलन छ । यदि कसै कसैले छोरा जन्म भएको र विवाह भएको वर्षमा बोका बलीमा घरको बोका छुट्टाछुटै बली दिनुपर्नेमा निमको बोकामा मिसिएर समेत कुलथानको पुजामा सहभागी हुन सकिन्छ । बोका, साँघर र पाठीलगायत प्रत्येक घरबाट कुलथानमा बली दिन लगेको मार हानेपछि बोकाको दियोेको टुक्रा, खुुरको टुक्रा, घाँटीको मासु, रौं काटेर चढाउने चलन छ । प्रत्येक बोकाको मार हानेपछि टाउको रगत कुलथान चढाउने र टाउकोलाई थानमा केही समयसम्म राख्ने गरिन्छ । पुजाको अन्तिम समयमा टाउको धनीलाई यो कसो हो भनेर चिनेर लैजानको लागि भनिन्थ्यो । तर आजभोलि बलि दिने समयमा नै बोका धनीलाई तुरुन्त लैजान भनिन्छ ।

भाकल गर्ने र कामना गर्ने चलन
सिद्ध बराहको पुजाले भुमि पूजा, संरक्षण र समृद्धिका देवताका रुपमा लिइन्छ । सिद्ध थानको पुजा डाँडाको अग्लो स्थानमा पुजा गरिन्छ । इन्द्र देवता वर्षा र प्रकृतिका राजा भएकोले कुषि र पशुपालन गर्नेमा मगर समाजमा बढी पाइने भएकोले प्रकृति राम्रो होस् भन्ने कामनाका साथ पुजा गरिन्छ । विन्दुबासिनीको पुजाआजा शक्ति स्वरुपा देवीका रुपमा पुजा गरिन्छ । बासिनी भन्नाले बास गर्ने अर्थात् बसोवास गर्ने देवी भनेर बुझिन्छ । (थापा मगर, टिकाराम) विन्दु भन्नाले सृृष्टिको आरम्भ, शक्ति र ब्रहमाण्डको मुलविन्दु भन्ने बुझिन्छ । साथै, विन्दु बासिनीलाई मुल शक्तिकी माताकी रुपमा पुजा गरिन्छ । सँगसगै कुलपृतिलाई साझा कुलपुजाका तरिकाले मनाइन्छ । कुलपुजामा कसैको मुर्ति राखेको पाइदैन । परिवार विशाल वंश वृक्षमा परिणत हुँदै गएपछि कुलको निर्माण भएको हो । एकै गोत्र र थर भित्रका एउटै कुलहरु हुनुपर्ने मान्यता राखिन्छ । राम्रो स्वास्थ्य होस्, परिवारमा सुख शान्ती आओस्, नोकरीमा बढुवा, रोजगारी प्राप्त होओस्, छोराछोरीको जन्म होओस्, अन्नबाली राम्रो होओस्, भन्ने कामना र मंगलमय आशा गरिन्छ ।

सामूहिक खानपिन र भोजन
सामूहिकतामा विश्वास गर्ने र भातृत्व तथा भाइचाराको विकासले कुलथान परिसरमा चढाउन लिएका दुध, अक्षेता, धुप, रेखी, फलफुलहरुको सामुहिक रुपमा संकलन गर्दा कुलथान परिसरमा प्रसादका रुपमा धेरै जम्मा भएको हुन्छ । चामलको रोटी, हलुवा, खिर पकाउने, निमको पाठी, बोकार साँघरलाई काटेर प्रसादको रुपमा पकाई उपस्थित दाजुभाई तथा चेलीबेटीहरुलाई शुद्ध प्रसादको रुपमा वितरण गर्ने प्रचलन रहेको छ । पाठी, बोका र साँघरको मासु तथा रोटी सहितको खिर, हलुवालाई कुलथान परिसरमा उपस्थित सबैलाई वितरण गरेपश्चात बाँकी रहेको प्रत्येक घरका दाजुभाईहरुलाई टपरीमा बराबर भाग लगाएर बाँडिन्छ । घरमा आउने थप पाहुना, इष्टमित्रहरुलाई कुल प्रसादको रुपमा वितरण समेत गर्ने गरिन्छ । कुनैपनि रामजाली थापा मगरको घर छुटनु हुदैन भन्ने मान्ँयता राखिन्छ । बृहत खालको सामुहिक भोजन भनिन्छ । त्यसपछि घर घरमा छुट्टाछुट्टै बोका काँटनेहरुले दिदीबहिनी, इष्टमित्रहरुलाई रक्सी, मासु, भात कुलपितृहरुको प्रसादको गच्छेअनुसार भोजका रुपमा खुवाउने प्रचलन रहेको छ ।

धार्मिक शुद्धता कायम हुनुपर्ने
कुलथानको पुजाको समयमा दाजुभाई खलकमा सुत्केरी हुन नहुने, मृत्यु भएको घरपरिवार एक वर्षभन्दा कम अवधिको हुन नहुने, महिलामा महिनावारी नभएको शुद्धता कायम भएको संस्कारलाई अवलम्बन गरिन्छ । दाजुभाइ खलकमा कोही कसैको घरमा मृत्यु भएको अवधि सबैले बार्नुपर्ने भएकोले पहिला पहिला सात, आठ, नौ वर्षमा सामूहिक रुपमा कुलथानको पुजा गर्ने प्रचलन थियो । पछि लामो समय भई दाजुभाइहरु बिचमा चिनजानको अवधीमा अप्ठयारो महसुस भएकोले मृतक घटना भएको घरपरिवारलाई छोडेर बाँकी दाजुभाइ खलकले तीन वर्ष कुलपुजा गर्ने चलनको सुरुवात गरिएको (थापा मगर, लाल) बताउँछन् । धार्मिक र आत्मिक शुद्धतामा विशेष ध्यान दिइन्छ ।

पुजा सामाग्रीको संकलन
कुलथानको पुजा सामाग्रीहरुमा पाँच वटा ठुला तामे बाँसको मुल नियाहरु बनाउने र सो बाँसलाई रातो माटो तथा कमेरो माटोले रंगाउने गरिन्छ । रातो र सेतो रंगको धजा बाँडने चलन छ । कुलथानको चार कुनामा चार वटा बाँस र बिचको भागमा ठुलो तामे बाँसको निया गाँड्ने चलन छ । मुल घरमा संग्रह गरि राखिएको खोडका, तरबार, खुकुरी, पुरानो दियो, तामाको ताउली, त्रिशुल, चौरी गाईको पुच्छर, वर्षा (भाला), डावे आदि सामाग्रीहरु सरसफाइ गरेर चोखो बनाउने प्रचलन रहेको छ । कसै–कसै दाजुभाईले मनोकांक्षा पुरा होओस् भनेर खुकुरी, तरबार, त्रिशुलहरु चढाउने चलन रहेको छ ।

सम्मान, बधाई कार्यक्रम गर्ने सुरुवात
अहिले रामजाली थापा मगरको कुल पुजाको दिनमा सिर्जनात्मक, शिक्षामुलक कार्यहरु हुने थालनी भएको छ । एसईई पास, दश जोड दुई पास, स्नातक पास, स्नातककोत्तर पास, नयाँ नोकरी सुरुवात गरेमा र नोकरीमा बढुवा भएमा रामजाली कुल व्यवस्थापन समितिले निर्णय गरेर सम्मानपत्र र बधाई दिने काम गर्दै आएको छ । शैक्षिक, राजनैतिक, प्रशासनिक, सैन्य लगायत सबै निकाय र समुहका दाजुभाईलाई समेटेर उच्च मनोबल कायम दिलाई कुलपितृहरुको आशीर्वाद र सम्मानले नयाँ सृजनात्मक काम भएको छ ।

निश्कर्ष
कुलपुजा विधिलाई विवादरहित बनाउन आवश्यक छलफल र अन्तक्रिया आवश्यक छ । इतिहासका पानामा १३ दिने दाजुभाइ बिचमा कुनै एक घरमा मृत्यु संस्कारको जुठो परेमा पाँच सात वर्षसम्म पनि कुलपुजा नगर्ने प्रचलन रहेको थियो रे । पछि परिमार्जन गरी दाजुभाइको सल्लाहले जुन घरमा मृत्यु संस्कार परेको छ । सोही घर मात्र कुलपुजामा अलग भै बाँकी दाजुभाइहरुले सामूहिक पुजाआजा गर्ने संस्कार सुरुबाट गरेको पाइन्छ । त्यसैगरी पछिल्लो समयमा रामजाली दाजुभाइ बिचमा कसैले बौद्ध धर्म मान्ने र कसैले हिन्दु धर्म मान्ने चलनको विकास हुँदा केही फरक र नौलो अनुभुति भएको छ । कुनै दाजुभाईले जन्म, विवाह, मृत्यु, चौरासी संस्कार बौद्ध धर्मको रीतिथिती अनुसार गर्ने गरेको पाइन्छ । कसैले हिन्दु धर्मको संस्कार गर्दा दाजुभाइको मुल मर्म र मान्यतामा व्यापक भिन्नता आएको छ । दाजुभाइभित्रको वैमनश्यतालाई निर्मुल गर्नका लागि छलफल चलाउनु पर्ने र सही एकतामा आधारित भएर निर्णय गर्नुपर्ने भएको छ । कुलपुजाको बहस र छलफल नयाँ पुस्तामा चलाई कुलथानको महत्व र विशेषता हस्तान्तरण गर्नुपर्ने भएको छ । पुर्वजप्रति कृतज्ञता, कुल संरक्षण र जीवन मूल्यप्रति प्रतिवद्धता हुनु नै मुख्य दायित्व रहेको छ । कुलपुजाबाट सन्ततीले आफनो संस्कार र कर्तन्वप्रति झुकाव राख्दै वंश, थर र परम्पराको संरक्षण हुनमा टेवा पुर्याएको हुन्छ । सबै दाजुभाइहरु बीच परिचित भै हातेमालो गर्नमा ढिला गर्नुहुदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->