बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तपाईंको भोट कस्लाई ?

तपाईंको भोट कस्लाई ?


  • माधव चापागाईं
  • फाल्गुन ११ २०८२, सोमबार

अहिले निर्वाचनको मौसम चलिरहेको छ । नेताहरू नागरिकसँग बोल्न, हाँस्न र उनीहरुको मन जित्न उद्दत छन् । उनीहरुको ढोग, नमस्कार, अभिवादन र सामिप्यताले जनता प्रफुल्लित छन् । स्थानीयदेखि सङ्घिय नेताहरुको घरदैलोले लाग्छ जनताले अभिभावक पाएका छन् । व्यापार व्यवसाय, कृषि र विभिन्न पेसामा आबद्ध मानिसहरूसङ्गको भेटघाटमा सबैका मुद्दाले निकास पाउनेमा विश्वास दिलाइदै छ । उम्मेदवारहरू सर्वसाधारणको घर, आँगन र पिँढीको बसाइँ, हार्दिकताले पूर्ण अभिव्यक्ति र गरिब दुखीहरुसङ्गको खानपानले जनतामा उर्जा थपिदै छ । जनताले यो वातावरण र माया क्षणिक छ भन्ने बिर्सिएर उनीहरुको सद्भावलाई स्वीकार गर्दैछन् । यस्तो अवस्थामा तपाईंको भोट कस्लाई ?

भावनामा न बहकिनुहोस् । छोटो मीठो स्वार्थमा नपर्नुहोस् । सम्झनुहोस् विपिको समाजवाद काङ्ग्रेसले भेट्न सकेन । कम्युनिष्टहरुले माओ, लेनिन र माक्र्सवाद भित्र्याउन सकिरहेका छैनन् । राप्रपाले राजाको श्रीपेच खोज्दैमा मख्ख छ । रास्वपाले सभापति रविकै छवि जोगाउन सकिरहेको छैन । पहाडी भेगमा वर्चस्व कमाउने पार्टीमा राजमोको ब्रान्ड बागलुङमै सिमित छ । के यो परिवेशमा जनताले नेतृत्व चिन्न सक्लान् ? या वर्षौं अगाडिका थाँती मुद्दामा अडिएर मुक्तिको बाटो रोज्लान् ? जेन्जी आन्दोलनको नाममा हत्या गरिएका ती कलिला युवायुवतीहरुको आत्मा शान्तिको कामना गर्लान् । या त घोषणापत्रको महत्वाकांक्षी आश्वासनमा फस्लान् ?

यस्तो बेला देशलाई निकास दिने बेला हो । जनताको अमुल्य अभिमतबाट स्थायित्व प्राप्तिको रेखाचित्र कोरिने बेला हो । कसैको बहकाउ र लोभचक्करमा फस्ने समय यो होइन ।मतदाता सचेत बन्नुपर्छ । अन्यथा विगतमा देखिएको निराशाले स्थायित्व पाउने छन् । देशले अझै गम्भीर अवस्थाको सामना गर्नेछ । सोझा जनताले फूलमाला लिएर नेताहरूको स्वागत गरिरहदा देशलाई यो वा त्यो व्यक्ति कत्तिको आवश्यक छ चेत्नु पर्छ । मुस्कुराउँदै सेल्फी मात्र खिच्ने कि ? उचित निर्णय गर्ने ? कति जनता दुइचार रुपैयाँमा बिक्दै होलान् ? कतिले डरको जीवन काट्दै होलान् ? त कतिले उनीहरुका चिप्ला कुरालाई शिरोपण गर्दै होलान् । यस्तो बेला नागरिकले आफ्नो कर्तव्य सम्झिनु पर्छ ।

वाहा वाही ! हजुरहजुर ! ज्युज्यु ! भनेर उमेदवारहरुको पछि लाग्नु जायज नहोला । एक दुई छाक मासुभात र रित्ता आश्वासनमा पाँच वर्षे नेतृत्व नचुनौं । उनीहरुसङ्ग रमाउने काम बन्द गरेर प्रश्न गरौं । सम्बन्धित उमेद्वार, संलग्न पार्टीको सिद्धान्त र उसका एजेन्डालाई मनन गरौं । घोषणा पत्रको आडमा भोट दिने काम एक दिनको होला तर त्यो भोटले वर्षौं देशमा शासन गर्नेछ । वर्चस्व कमाउँनेछ । यसर्थ पनि भोट किन र कस्लाई दिने ? भोट दिएर हाम्रो जीवनमा के कस्तो परिवर्तन आउँछ ? देशले के पाउछ ? सोच्नै पर्छ ।

विगतमा उनीहरूले गरेका बाचाहरू किन पूरा भएनन् ? भनेर जिज्ञासा मात्रै नराखौं किन पूरा नगरेको ? भनेर कार्वाही गरौं । हामीकहाँ निर्वाचनलाई परम्परागत पर्व मानेर नाचगाना र भोजभतेरलाई स्विकार्ने दुषित प्रचलन छ । परिणामत: हामी नै चुनावमा भाग लिन्छौं, भोट हाल्छौं, कसैलाई जिताउँछौं र मख्ख पर्छौं । यसरी ज्युँदो स्वाभिमानलाई भोटमा बदलेर राजनीतिको खेलमा तमासा बन्नु जायज छैन नै । जहाँ प्रश्न, विचार, एजेन्डा हुँदैन त्यहाँ मात्रै रमाइलो र तमासा हुन्छ । नेपाली जनताले वर्षौं भोगिरहेको यथार्थ र नेपाली राजनीतिको स्वरुप अनि हाम्रो असन्तुष्टिको कारण पनि यही हो । प्रश्न गरौं, हिजो समाजसेवाका नाममा भोट माग्दा तपाईंले जिताएको नेता कस्तो अवस्थामा थियो र आज कस्तो रवाफिलो जीवन काटिरहेछ । भ्रष्टाचारका नाममा देशमा उत्पन्न चर व्यथितिमा कुन दल र कसले जिताएको नेता परिरहेको छ त्यसमा ध्यान दिनु जरुरी छ ।

आजको परिवेशमा मतदाताले उम्मेदवारसँगको आफ्नो परिचय, परम्परागत र पुस्तौंनी साइनो एवं अरुले चलाएका अशुद्ध अफवाह, मिठो बोलीवचन, झण्डा र चुनाव चिह्नका आधारमा भोट हाल्दै छन् । यसर्थ हामी भोट हाल्ने कुरामा दयालु र उदार बन्नु अभिशाप बन्न सक्छ ।

निर्वाचन राजनीतिक परिघटनाभित्र नागरिकको सार्वभौम अधिकार अभिव्यक्त गर्ने मुख्य स्थान हो । मतदानले राजनीतिक संकल्प, एक बाचाबन्धन एवं मतदाता र उम्मेदवारबीचको सम्झौता गराउँछ । तर हाम्रो भोट उम्मेदवारलाई दिएको विश्वास नभएर दलीय राजनीति एवं आडम्बरी प्रतिस्पर्धामा गड्दै गयो । निर्वाचनमुखी प्रतिस्पर्धा, आश्वासनको राजनीति, भावनात्मक प्रतिज्ञापत्र, बाचापत्र र करारनामाहरुले आज पनि जनता झुक्याउने प्रचारबाजीचल्दै छ । चुनावमा जित्नेलाई सत्ता, शक्ति र सम्पत्ति मिल्छ । नागरिकलाई आश्वासन मात्रै, दलहरुका फुस्रा बाचा र प्रतिबद्धताहरु सडे गले र जनताका घर आँगनमै विलिन बने । तर उमेदवारहरुको नैतिकता र जबाफदेहिता कतै भेटिएन । तसर्थ राजनीतिको विश्वसनीयता, जबाफदेहिता र निष्ठा गुम्दै गएको छ । यस कारण प्रस्फुटन हुने राजनैतिक एजेन्डाहरू कमजोर बने । उम्मेदवारहरू चुनावी बाचा र प्रतिबद्धताहरुप्रति उदासीन बन्दा राजनैतिक मुल्य घट्दै गयो ।

दलहरू सधैं जसो व्यक्तिवादी र स्वार्थी बने । सर्वसाधारण जनतालाई यो वा त्यो बहानामा लडाउने काम भयो । आफ्नै दाजुभाइ, बाबुछोरा र श्रीमान श्रीमती लडाउने फुटाउने र टुक्र्याउने काम भयो । तैपनि जनताले दलहरूका विभिन्न आन्दोलनहरुमा साथ दिए । पटकपटकका निर्वाचनमा भाग लिए । परन्तु नागरिकले भ्रष्टाचार, व्यथिती र कुशासन बाहेक केही पाएनन् । लोकतन्त्र भने नेतातन्त्र सुरुभो, एउटा राजा फ्याकेर सयौं राजा उभिए । संघीयताका नाउँमा कर उठाउने पालिका खोलिए । यो वा त्यो बाहनामा जनताको पैसा असुल्ने प्रबन्ध मिलाइयो । बिचौलियाको बिगबिगी चल्यो । राजनैतिक भागबन्डामा मन्त्रालयको न्वारान गरियो । ७५३ स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र सङ्घिय सरकार, सांसदहरु, राष्ट्रिय सभा हुँदै आलोपालो सरकारका मन्त्रीहरुसम्मले जनताको करमा रजाइँ गरे । उद्योग धन्दा कलकारखाना बन्द भए । विश्वविद्यालयहरु राजनीतिका अखडा भए । युवा पलायनले देश वृद्धाश्रम भयो । मान्छे हिड्ने जमानामा पुल भएनन् । आज मान्छे गुड्ने र उड्ने बेलामा पुल बने । तुहिन हटाउन गाह्रो परेका ठाउँ ओझेलमा परे । शक्तिशाली मन्त्री, नेता कार्यकर्ताको बस्तीमा पिच र ढलान बाटो बन्यो । घर देख्नकै लागि भ्युटावर बनाइए । सङ्घियताले करारमा कार्यकर्ता भर्ती केन्द्र बने । समानुपातिक प्रणालीका भरमा छोरीज्वाईं, श्रीमती, साली र आफन्तीलाई संसद भवन छिराइयो । सवारी खर्च, मर्मत, पेट्रोल र उद्घाटनमुखी जीवन शैलीमा लाखौं खर्चियो । ताम्रपत्र र शिलालेखको विरोध गर्नेहरूले स्वर्ण अक्षरमा कीर्ति खोजिरहे । देश कंगाल बन्दै गयो । विदेशी ऋणले शिखर चुम्दो छ । आयातित वस्तुको विकल्पमा चुल्हो नबल्ने भो, शैक्षिक बेरोजगारी र बसाइँसराइले गाउँ रित्ता भए । नेपालको यो अवस्था हुनुमा नेताको दोष छैन ? के यो राजनीतिक अपराधका लागि नेताहरूले सजाय भोग्नु पर्दैन ? जनतामाथी गरेको विश्वासघातका लागि दल र नेताहरू न्यायको कठघरामा उभिनुपर्दैन ?

म आफैं जान्ने भएदेखि हाम्रो गाउँमा शुद्ध प्युने पानीको मुद्धा उठेको थियो । आज पनि त्यो मुद्दा जहाँको तहि छ । करिब आधा दर्जन चुनाव आए । दर्जनका दर्जन नेता कार्यकर्ताले घर आँगन भरियो । सुने, नसुनेका होइनन् पटकपटक सुने टिपे र भोट कमाए परन्तु हाम्रो धारामा कहिल्यै पानी आएन । तर आज पनि उनीहरु त्यही मुद्दाका भरमा चुनाव जित्ने दाउमा छन् । गाउँलेहरुले भोट दिदै गए । उनीहरु सत्तामा पुगिरहे । आज आएर विचार गर्दा भोटकै आडमा उनीहरुको खानदान नै सहरिया भयो । हाम्रो दुख र अभाव जस्ताकोतस्तै, यसर्थ हाम्रो भोट दिने परम्परागत शैली कुल पुजा गर्या जस्तो भयो । त्यसैले भोट दिँदा विचार गरौं । ससाना समस्याभन्दा पनि आजको आवस्यकता भनेको युवा पलायन, बेरोजगारी, अस्थिरता र भ्रष्टाचार हो । सबै मतदाताले यहि कुरा उठाउ सम्झौता गरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->