लेखको आरम्भ
मगर जाति नेपालमा आदिवासी, मुलबासी हो । साथै, समाजशास्त्रीय मानवशास्त्रीय अध्ययनका हिसाबले समेत आदिवासी जनजाति हो । नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय र बहुविविधता मुलुुकभित्र मगर धेरै जनसंख्या भएको आदिवासी जातिमा पर्दछ । मगर जातिको विभिन्न चालचलन, कला संस्कृति, चाडपर्व, उत्पादन प्रणालीबारे डिजिटल प्रणाली र कृत्रिम बौद्धिकताको वर्तमान युगमा हराउँदै गएको र लोपोन्मुख अवस्थामा रहेकोले प्रकृति पुजक मगर समुदायको भुमे पुजा, बराह पुजा, प्रकृति पुजक, माइ पुजा, भैलेनी पुजा, झाक्री पुजा, कुलदेवता पुजा, देवाली पुजा र गाउँ पुजाबारे थप ऐतिहासिक कार्यलाई दस्तावेजीकरणसहित अभिलेखीकरण गर्ने कार्यलाई अभियानको रुपमा लिनु आवश्यक छ । साथै, बसाईसराई बढ्दो रुपमा, परसंस्कृतिकरणको प्रभावले स्थानीय कला संस्कृति र परम्परा भोलिका दिनमा हराउने हो कि भन्ने चिन्ता आदिवासी, जनजाति बौद्धिक बहसमा औपचारिक रुपमा गरिन्छ । बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे, अर्वाउदी गाउँका मानिसहरु सामूहिक रुपमा पानीको मुहान भएको स्थानमा ठुलो रुख समेत भएकोमा झाक्रीको पुजा समेत गर्ने, सामूहिक रुपमा गाउँ पुजा (प्रकृती पुजा) गरेर खडेरीमा खेतीपातीका लागि पानी माग्ने प्रचलन रहेको छ । वैशाख, जेठ महिनामा शरिबार वा मंगलबारको दिन पुजा गरेमा प्रकृती खुशी भै पानी पर्ने विश्वास र खेतीपाती गर्ने कुषकहरु खुशी भै जिवन अमृतको रुपमा काम गर्ने जनविश्वास रहेको छ । पानीको इन्द्र देवतालाई खुशी बनाउन पञ्च बलीसँग पुजा गरेर भगवानसँग पानी माग गर्ने परम्परा हालसम्म पनि कायम छ ।
मगर जाति विश्वभरि फैलिएर बसेका छन् । नेपालमा जनसंख्याको हिसाबले तेश्रो जाति र जनजातिको हिसाबले पहिलो जातिको रुपमा देशका विभिन्न स्थानमा बसोबास गर्छन । मगर गण्डकी प्रदेशको स्याङजा, तनहुँ, बागलुङ जिल्लामा अधिक मात्रामा बस्छन् । मगर भाषाहरुमा काइके भाषा, खाम भाषा, ढुट भाषा बोल्छन् । बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा अधिक मात्रामा मगर समुदायको बसोबास रहेको छ । यहाँका मगर समुदायमा मगर भाषा बोल्न आउँदैन । एकपटक मगर भाषा ढुट सिकाउने र सिक्ने काम भएपनि निरन्तर रुपमा अगाडी बढन सकेन । मगर समुदायको बसोबासको थरहरुमा रामजाली, शर्बुजा, सलामी, सिंजाली, पुलामी, तारमी, राना, थापा, कालफठुटे मगरहरुको बाहुल्यता रहेको छ । त्यसको अलावा दलितमा विश्कर्मा कामी समुदाय, सार्की समुदायका बोसेल, रुचाल, बोहोरा, किसानहरु बसोबास गर्छन् । त्यसैगरी क्षेत्री समुदायका रायमाझी, अधिकारी, भण्डारी, खत्री क्षेत्री, शाही, मल्ल, चापागाई, जैसी, रिजाल, पौडेल थरका ब्राहाम्ण जातिका मानिसहरु बस्छन् । पुर्वमा पैंयुपाटा र अमलाचौर, पश्चिममा तित्याङ, उत्तरमा कालीगण्डकी नदी र गुठी टोल, दक्षिणमा रायडाँडा गाउँ पर्छ । मगर जातिको जन्म संस्कार, विवाह, मृत्यु सस्कार, खेतीपाती लगायतका विषयमा नयाँ पुस्ताले जानकारी र शिक्षा लिनुपर्ने अवस्था आएको छ ।
अध्ययन विधि
प्रस्तुत लेख गुणात्मक अनुसन्धान विधिअन्तर्गत विवरणात्मक अनुसन्धान ढाँचामा आधारित भई प्राथमिक तथा द्धितिय तथ्याङकको श्रोतबाट सुचना, जानकारी र तथ्याङक संकलन गरी सोको विश्लेषण गर्दै अध्ययनको नतिजा तयार गरिएको हो । लेखक समेत याम बहादुर थापा मगर बागलुङ नगरपालिका १० भुकण्डे, अर्वाउदीको गाउँ पुजा गर्ने स्थलको स्थानीय बासिन्दा भएकोले आफनो अवलोकन, अनुभव र स्व–अध्ययनको ज्ञान समेत संलग्न गरिएको छ । अध्ययनको क्षेत्र र सारलाई निचोडमा पु¥याउनको लागि अग्रज, अगुवा र सर्वसाधारण मगरहरुसँग ह्रावटएप, अन्तवार्ता, टेलिफोन, म्यासेन्जर, भाइबरबाट संवाद गरी तथ्य र जानकारी प्राप्त गरेको थियो । साथै, मगरमा गाउँ पुजा, प्रकृति पुजा, भुमे पुजा संस्कृतिसँग सम्बन्धित प्रकाशित भएका विभिन्न अनलाइनका अनुसन्धानात्मक लेख, रचनाहरु द्धितिय श्रोतबाट आवश्यक सूचना तथा तथ्याङक संकलन गरी व्याख्या विश्लेषणबाट मन्थन र विचार विमर्शबाट आएका निचोडलाई यो आलेखमा प्रस्तुत गरिएको छ । लोकवार्तालाई अभ्यास गर्ने मगरहरुको घनाबस्ती भएकोमा स्थलगत अध्ययन तथा अवलोकनमा केन्द्रित भएको अवस्था छ ।
बागलुङ भकुण्डेको चिनारी
विविधतामा एकताको पहिचान बोेकेको नेपालमा बागलुङ झोलुङ्गे पुलको जिल्ला समेत भनेर चिनिन्छ । नेपाल एक हिमाल, पहाड र तराई भु–बनोट रहेको विशाल छिमेकी मुलुकहरु चिन र भारतको बिचमा रहेको एक सार्वभौम मुुलुक हो । यस भु–बनोट अनुसार बागलुङ एक पहाडी जिल्ला हो । यो जिल्ला गण्डकी प्रदेशअन्र्तगत पर्दछ । (साविकको धवलागिरी अञ्चलका जिल्लामध्ये एक बागलुङ जिल्ला हो । यो अक्षांशीय हिसाबले २८ डिग्री १५ मिनेट उत्तरी अक्षांशदेखि २८ डिग्री ३७ मिनेट उत्तरी अक्षांशसम्म र देशान्तरीय हिसाबले ८३ डिग्री पूर्वी देशान्तरदेखि ८३ डिग्री ३६ मिनेट पूर्वी देशशान्तरसम्म १,७८४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ । वि.स. २०७८ सालको जनगणना अनुसार जनसंख्या पुरुष २६,०८० र महिला ३०,०२२ गरी कुल ५६,१०२ रहेको छ । लोक्ताको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले परिचित यस जिल्ला नेपालभित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ । बागलुङ कालिका भगवती मन्दिर, नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन, गाजाको दह, घुम्टेको लेक, गल्कोट दरबार, पञ्चकोट धार्मिक स्थल, बलेवा भैरव मन्दिर, बागलुङ भकुण्डे सङग्राहलय, रुद्रमान स्मृति पार्क, भकुण्डे भ्यु टावर, बराहताल मन्दिर, शालिग्राम सङग्रालय, टेउवा मुर्ति सङग्रालय, दरमखोला, स्वर्णिम झोलुङ्गे पुल, शहिद स्मृती पार्क, बाङगेचौर खेल मैदान, अतिथि होमस्टे भकुण्डे, सोले डाँडा जस्ता महत्वपुर्ण सम्पदाले यसको पहिचानलाई अझ शिखरमा पुरयाएको छ । चैतेदशै मेला, हनुमान नाच, लाखे नाच जस्ता सांस्कृतिक पर्वहरु, रुद्र ताल, गाजाको दह, नील दह जस्ता प्रमुख ताल एवं कुण्डहरु, यानीमाया, सालैजो, सोरठी नृत्य, घाुँटु नाच लगायतका लोकसंस्कृतिको धनी यस जिल्लाका प्रमुख व्यापारिक महत्वका ठाउँहरुमा बागलुङ बजार, बुर्तिवाङ, हटिया, शेरा, खार, हरिचौर, खरबाङ आदि हुन् । यस जिल्लामा मुख्य रुपमा ब्राहम्ण, क्षेत्री तथा मगर जनजातिहरुको बसोबास रहेको छ । मुख्य पेशा कृषि रहेको र यस जिल्लामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको हुँदा विप्रेषण भित्राउने प्रमुख जिल्लाहरु मध्येमा पनि चिनिन्छ ।
बागलुङको नामाकरणको सम्बन्धमा लुङगाउँ र बउलुङ गाउँको नजिकै रहेका बागलुङ बजारको सेरोफेरोको ठाउँबाट बागलुङ शब्दको उत्पत्ति भएको हुन सक्छ । भोटे भाषाका अनुसार बाङ्गो अर्थ उच्च र लुङ्गो अर्थ केही समथर भन्ने बुझिन्छ । मगर भाषामा बाङको अर्थ पहरा र लुङको अर्थ ढुंगा भन्ने बुझिन्छ । यहाँ मगर जातिले वि.स. १५९१ मा प्रसिद्ध कालिका भगवतीको मुर्ति डोलामा राखेर ल्याएका थिए । उक्त मुर्ति पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विसुवा देवीले पर्वते राजा प्रतापी नारायण मल्लसँगको विवाहमा दाइजो स्वरुप ल्याएकी थिइन् । भगवतीको डोला हाल स्थापित मन्दिर स्थलबाट अगाडी नबढेपछि उक्त मुर्तिलाई सोही स्थानमा स्थापित गरिएको सुन्नमा आएको छ । ( राजभण्डारी, २०७३)
यस जिल्लाको सिमानालाई हेर्दा पूर्वमा पर्वत, पश्चिममा रोल्पा र रुकुम, उत्तरमा म्याग्दी र दक्षिणमा प्युठान र गुल्मी पर्दछन् । नेपालको संविधान, २०७२ जारी भएपछि राज्यको नयाँ पुनःसंरचना अनुसार बागलुङमा ६ गाउँपालिका र ४ नगरपालिका तथा ४ प्रादेशिक निर्वाचन क्षेत्र र २ संघिय निर्वाचन क्षेत्र कायम गरिएको छ । ४ नगरपालिकाअन्र्तगत बागलुङ, जैमुनी, गल्कोट र ढोरपाटन नगरपालिका रहेका छन् । ६ गाउँपालिकाअन्र्तगत बरेङ, काठेखोला, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिका रहेका छन् । कालीगण्डकीको तिरदेखि ढोरपाटनको शिरसम्म फैलिएको बागलुङ १,७८४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यो जिल्लालाई नेपालभित्रको सानो नेपाल भनेर चिनिन्छ । (जि.वि.स. बागलुङ, वस्तुगत विवरण, २०७१)
जिल्लाको नाम बागलुङ रहनुमा थुप्रै किम्वदन्तीहरु पाइन्छन् । संस्कृत भाषा विज्ञान अनुसार व्याघ्रालुनातीति (व्याघ्राको अर्थ बाघ लुनातीतिको अर्थ छेदने वा काट्नु हो ।) अर्थात् कुनै समयमा यहाँ बाघै रहन्थे र तिनीहरुबाट मानिसहरु बढी असुरक्षित हुने भएको हुँदा एकथरिका बलिया जाति व्यक्तिले तिनलाई मार्ने वा काट्ने काम गर्दथे भन्ने बुझिन्छ । बाघलाई काट्ने गरेको अर्थबाट यस ठाउँको नाम बाघलुङ रहन गएको हो । बागलुङ शब्द शुरुमा ब्याघ्रलु वा ब्याघ्रलुङ् हुँदै बागलुंगबाट पनि वर्तमान समयमा बागलुङ भएको हो । ( छोटा, २०४८)
कुनै समयमा यस ठाउँमा बाघहरुको ताँती हुनुको कारण यहाँको जनजीवन अति नै भयाबह थियो र त्यस्तो डरलाग्दो वा दयनीय अवस्थालाई देखेर त्यस बेलामा मगराती जातिका बलिया व्यक्तिहरुको समुहको सक्रियतामा ती बाघहरुलाई छेदने र काट्ने वा मास्ने जस्ता कामहरु गरेको हुँदा बाघहरुलाई मास्ने गरेको अर्थमा यस ठाउँको क्षबाघलुञ वा व्याघ्रलुङ रहन गई अपभ्रंस भई बागलुङ रहन गएको पाइन्छ । (जि.वि.स. बागलुङ, वस्तुगत विवरण, २०७१)।
त्यस्तै बाघ प्रचलित खस भाषा हो । क्षलुङ अर्थ लस्कर वा ताती, प्रतिबद्ध वा लामको अर्थलाई जनाउँछ । त्यस समयमा बाघहरुको लस्कर लाग्ने थलो भएकोले बाघलुङ रहन गएको र पछि बागलुङ रहेको हो भन्ने भनाई पनि रहन गएको छ । तिब्बती भाषामा बाघको अर्थ केही केही उठेको खण्ड र क्षलुङको अर्थ केही केही मैदान वा समथरलाई बुझाउँदछ । यसर्थ, बागलुङको भौगोलिक बनावटलाई हेर्ने हो भने कतै उठेको मैदान वा समथर जमिनको भाग भएकोेले पनि यस ठाउँको नाम बागलुङ रहन गएको हो भन्ने पुष्टी हुन्छ । (जि.वि.स.बागलुङ, वस्तुगत विवरण,२०७१) ।
बागलुङको ऐतिहासिक पृष्ठभुमि
सोह्र हजार नामले प्रसिद्ध यो जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्यअन्र्तगत पर्दथ्यो । जुन समयमा कोट कोटबाट भुरेटाकुरे राजाहरुले राज्य चलाउँथे । ती कोटमध्ये यस जिल्लाअन्र्तगत पर्ने गल्कोट, बिहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट प्रसिद्ध मानिन्थ्यो । १४ औ शताब्दीमा जुम्लाका राजाहरुले आफना राज्य विस्तार गर्ने क्रममा वि.स. १४२९ तिर मलेबम जुम्लाको राजगद्दीमा बसेपछि पूर्वतर्फका धेरै राज्यहरु जिते । बागलुङ जिल्लाका निसेल, भुजेल भन्ने ४००० पर्वत इलाकामा त्यस बेला मगरहरुको रजाई थियो । जुन समयमा रुकुममा मलेबमका छोरा पिताम्बर र नाति जैतुबलले शासन चलाएका थिए । मगर राजाहरुले यस जिल्लाको राज्य प्रभावकारी रुपमा सञ्चालन गर्न रुकुमको राजधानी गोथाममा गई राजा जैतुबमका ८ भाई राजकुमारमध्य एक भागे । राजाको जेठो छोरा बाहेक बाँकी भाइमा राजेर लाने आज्ञा दिएकाले रातीको सुतेको ठाउँमा हेर्न जाँदा माइला राजकुमार आनन्द बमको शिरतिर बढेको देखि उनलाई पिठ्युमा बोकेर भुजेलहरुले पर्वतमा ल्याए । पर्वतेहरुले यी राजालाई तीन नामले पुकार्दथे । गोथामबाट ल्याएको गोथम्ब पिठ्युमा बोकेर ल्याएकोले पिठम्ब र आउने राजकुमारको नाम आनन्द भएकोले आनन्द भने । राजाका साथमा मुडुला कार्की, रुचाल तथा पौडेलहरु पनि आएको किम्बदन्ती छ । वि.स.१५५० तिर आनन्दबम सोलेपार पर्वतका राजा बने । त्यो बेलासम्म गल्कोट, बिहुँकोट चन्द्रकोटअन्र्तगत थिए ।
आनन्दबम र चन्द्रबम पछि बिम्ब नामको दिलिपले आफनो शासनकालमा बिहुँकोट, गल्कोट र ताकमलाई विजय गरी आफनो राज्यलाई ४००० पर्वतबाट १४००० पर्वत पु¥याए । उनले राज्यमा सुव्यवस्था ल्याउन आफ्ना माइला भाइलाई डाँडाकोट, साहिँला भाइलाई बिहुँकोट र कान्छा भाइलाई गल्कोट राखेका थिए । राजा दिम्ब वर्षायाममा ढोरना र हिउँदमा ताकममा बसी राज्य चलाउँथे । ह्रयामिल्टनको भनाई अनुसार गल्कोट एउटा सानो राज्य थियो, जहाँ ३००० घरहरु थिए । राजाको दरबार टाकुरामा थियो र त्यस दरबारको वरिपरि ५०० खरका झुपडीहरु थिए । यहाँ तीन ओटा तामा र एक फलाम खानी थियो । खानीहरुमा केही आधिकारिक व्यक्तिहरुले मात्र काम गर्न पाउँदथे । राजाको वार्षिक आम्दानी वार्षिक ३,५०० थियो । यहाँका राजाले बिना कुनै युद्ध नै गोर्खालाी राजाका अगाडी आत्मसर्मपण गरेका थिए । यस गल्कोट राज्यको बारेमा इतिहासकार कर्क प्याट्रिकले पनि लेखेका छन् । उनको भनाइ अनुसार, ‘गल्कोट एउटा ठुलो शहर थियो र गल्कोट नामको एउटा ठुलो किल्ला थियो । यो गल्कोट चौबिसी राजाहरुमध्ये एक थियो । एक वंशावली अनुसार राजा डिम्बका पालामा गण्डकी र कर्णाली प्रदेशका राजाहरुले दिल्लीका बादशाह कहाँ पाँच–पाँच वर्षमा सिर्तो लैजाने गर्दथे । त्यस सिर्तोमा आफना राज्यमा पाइने कस्तुरीको विना, बाज, डाँफे, मयुर, चितुवाको छाला, पश्मिनाको पछ्यौरा आदि हुन्थे । राजा डिम्बले पनि युवराज नागबमलाई वि.स.१५३० तिर दिल्ली पठाए । बादशाहबाट “मल्ल” भन्ने पदवी दिईएको हुँदा युवराज नागबम त्यसबेलादेखि नागबम मल्ल भए । यिनैको पालामा जितेको मादीखोला पूर्वको डाँडाकोटलाई त्यहाँका क्षेत्रीहरुले मल्ल राज्य भनी नाउँ राखे जुन पछि राजभक्ति देखाएकोले मल्ल राज्यको नामले प्रसिद्ध छ । राजा डिम्ब १२० वर्षसम्म बाँचेका थिए भन्ने जनश्रुति छ । यिनले ८४ वर्षको उमेरमा आफना जेठा छोरा नागबम पनि अस्वस्थ भएकोले एक मात्र नाति प्रतापी नारायणलाई वि.स. १५९० तिर पर्वतको राज्य सुम्पे । यिनको शासन कालमा यहाँ प्रशस्त मात्रामा जङ्गल भएकोले पशुपालन र अन्य धेरै काममा महत्वपुर्ण स्थान थियो । नुन र सुन भोटतिरबाट पैठारी हुन्थ्यो । प्रतापी नारायण मल्लले राजा हुने बित्तिकै पाल्पाली राजा मुकुन्द सेनकी छोरीसँग विवाह गरे । पाल्पाली राजाले सदरमुकाम बागलुङ बजार कृष्ण गण्डकी र काठेखोलाको दोभाननिर एउटा हात्ती सुँडे आकारको रमणीय वनमा निर्मित मन्दिरमा कालिका भगवती देवीको नामले प्रसिद्ध छ । देवीको साथमा पाल्पाबाट खड्ग समाती आउने खड्का क्षेत्रीलाई पूजारी बनाए । राजा प्रतापी नारायणले स्थापना गरेको यस मन्दिरको पुर्व ढोका खोल्नु हुँदैन भन्ने किम्बदन्ती अझै पनि प्रचलित छ । यस मन्दिरको पूजा खर्चको निमित्त राजाले गुठी राखी दिएका थिए । राजा प्रतंरापी नारायणको पाल्पासँग वैवाहिक सम्बन्ध पछाडि चौविसी राज्य पाल्पा र पर्वत बलिया राज्य भए । यिनको करिब ३० वर्षको शासनकाल पछाडि आफना जेठा छोरा किराती बम मल्ललाई गल्कोट माहिला राजबम मल्ललाई पर्वत र कान्छा याणबम मल्ललाई कास्कीको राज्य सुम्पी आफु काशीबास गए । पृथ्वी नारायण शाह नेपालको एकिकरणको अभियानमा गुल्मी, अर्घाखाँची, प्युठान, पर्वत कब्जा गरी अन्त्यमा बलेवा हुँदै बागलुङ समेत नेपाल अधिराज्यमा गाभियो ।
नेपालको गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे गाउँलाई अध्ययन क्षेत्रको रुपमा लिएको छु । समग्र बागलुङ मगर जातिको अधिक बसोबास भएकोमा गनिन्छ । भकुण्डे गाउँ पनि अधिक मात्रामा मगर समुदायहरुको बसोबास भएको गाउँमा पर्दछ । भकुण्डेमा मगर बाहेक उपाध्याय रिजाल बाहुन, चापागाई जैसी बाहुन, रायमाझी, भण्डारी, अधिकारी क्षेत्री, मल्ल, ठकुरी, शाही, रोका, क्षेत्री, शेरचन, नेवार समुदायहरु बसोबास गर्दछन् । मगर जातिमा रामजाली, सिंजाली, तारमी, राना, शुर्वाजा, सलामी, पुलामी, थापा मगरहरुको बसोबास गर्छन् । विभिन्न, उपथरका मगरहरु भएपनि लाहुरे हुने प्रयोजनका लागि थापा मगर लेखाउने नै प्रचलन रहेको पाउन सकिन्छ । मगर भाषाहरु मध्ये मगर ढुट, काइके भाषा, खाम भाषाहरु नेपालका रोल्पा, रुकुम, स्याङजा, तनहुँ, पाल्पा, बागलुङ जिल्लाको पश्चिममा बोले पनि भकुण्डेका मगरहरु बोल्दैन । विगतमा मगर ढुट सिकाउने प्रयास भएपनि निरन्तर रुपमा आम मगर समुदाय स्तरमा प्रयोग हुन सकेन । आगामी दिनहरुमा मगर भाषालाई सिकाउन र दैनिक बोलीचालीमा प्रयोजनमा ल्याउन जरुरी भएको छ । मुलाबारीको डाँडामा भ्यु टावर, भुमे मन्दिर, हिराताल खेलमैदान, बराहताल दह, भैरवस्थान मन्दिर, मनोरम हिमश्रङखलाहरु, स्व. रुद्रमान गुरुङ स्मृति पार्क, रामजाली थापा मगरको कुल मन्दिर, सिंजाली मगरको कुल मन्दिर, पुर्नपानी गाउँ पुजा गर्ने झाक्रीथान, चमेरे गुफा, कुर्थुमको लेक, भकूण्डे बोर्ड, ठुलो खुकरी निर्माण स्थल महत्वपुर्ण स्थान भएकाले प्रख्यात गाउँ भकुण्डे पर्दछ । (मगर अध्ययन, २०८१ ) साथै पुर्णपानी, समुन्ने डाँडा, सतभैया, खरबारी, माझर, चउर, नाथुराजा, नयाँबारी, धौलेचउर, दोकान, चौडिला, चम्चामुनी, ढुंगेटोल, पुछार, इधारा, खाल्टा, तारमी टोल, इन्द्रेणी टोलका सबै मगर र दलित विश्वकर्मा समुदायका मानिसहरु गाउँ पुजाआजामा सहभागी हुन्छन् ।
नेपालको नयाँ संविधान २०७२, राज्यको पुनःसरचना अनुरुप गण्डकी प्रदेशअन्र्तगत बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. १०, भकुण्डेको कुल क्ष्ँोत्रफल १०.७८ वर्ग कि.मी. रहेको छ । यसको पुर्वमा पैयुपाटा, पश्चिममा रायडाँडा, उत्तरमा बागलुङ बजार र तित्याङ र दक्षिणमा रायडाँडा पर्दछन् । यो वडा समुन्द्री सतहको ६५० मिटरदेखि २३५० मिटरसम्मको उचाइमा अवस्थित छ । यो वडा (साविकको गा.वि.स.) २८º ३’ उत्तरदेखि २८º४’ उत्तरी अक्षांशसम्म र ८३º९’ पूर्वदेखि ८३º१०’ उत्तरी अक्षांशसम्म र ८३º९’ पूर्वदेखि ८३º१०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस वडाको धेरै जसो भु–भाग पुर्वी उत्तर मोहोडामा फर्किएको छ । (भकुण्डे गा.वि.स.को वस्तुगत विवरण, २०७०) । क्रमश…




