आजभोलि मानिसहरूले संवेदनहीनतालाई सर्वस्वीकार्य ठान्दै छन् । प्रविधिको प्रयोग, आत्मकेन्द्रित मुल्याङ्कन र अन्र्तमुखी स्वभावले मानिसलाई घमण्डी बनाएको छ । नाफामुखी जीवनशैली र लोभचक्करको दलदलमा फसेको वर्तमान अरुको अस्तित्व स्वीकार्ने पक्षमा छैन । आफ्नो उपस्थिति कहाँ ? कस्तो अवस्थामा ? मुल्यवान ठहर्छ । पत्तो छैन । सामाजिक प्राणी भइकन पनि असामाजिक क्रियाकलाप गर्नमा मानवीय मनहरु उद्द्त छन् । मानिस समाजमा अरूसँग सम्बन्ध बनाएर जीवन बिताउँदा पूर्ण हुनुपथ्र्यो । तर आज त्यही मानिस एक्लो र निरस जीवन व्यतीत गर्दै छ । एकतन्त्रीय स्वभाव, अर्काको देखासिकी, आडम्बरीपन र भ्रमकाबिच समाजले गति परिवर्तन गर्दो छ ।
अरूको दुःख सुखलाई आफ्नो जस्तै महशुस गर्नु मानवीय संवेदना हो । दोस्रो व्यक्तिमा उत्पन्न पीडा वा बेदनालाई समभावले हेर्नू र अनुभूति गर्नुलाई समवेदना भनिन्छ । अरूको दुःख बुझ्नु, सहयोग गर्नु र कसैलाई हानि नगर्नु नै मानव धर्म हो । मानव धर्ममा दया, माया, करुणा, सेवाभाव, शान्ति र अहिंसा जस्ता तत्वहरु हुन्छन् । दुःखद् परिस्थितिमा हरेक व्यक्तिले “मानव सेवा नै ईश्वर सेवा हो” भनेर सबैप्रति ममतामय व्यवहार गर्नु पर्छ । पीडित व्यक्तिलाई दुखद अवस्थाबाट बाहिर ल्याउनु नै मानिसको धर्म हो । दुखमा परेकोलाई देख्दा मनमा पीडा उत्पन्न हुनु, कसैको आँसु देख्दा मन दुख्नु र आवश्यक परे सहयोग गर्न अगाडि बढ्नु नै साँचो संवेदना हो । तर आजको समाजमा यस्तो भावना क्रमशः कमजोर हुँदै गएको छ ।
हाम्रो समाजमा समवेदनाका भाव विलिन बन्दै छन् । जब मानिसले सादा जीवन उच्च विचारको भावना त्याग्छ । तब संवेदनाले बाटो तताउँछ । आजको समाजको गहिरो पीडा नै संवेदनाहिनता हुन पुगेको छ । पहिले मानिसहरू एक अर्काको दुःखमा रोइदिन्थे, सुखमा रमाइदिन्थे । अरुको समस्या महशुस गर्थे । कसैको आँसु देख्दा मन आफैं भारी हुन्थ्यो । तर अहिले मोबाइल छ, समय छैन । सञ्जाल छ, सम्बन्ध छैनन् । स्रोतसाधन र सूचना यथेष्ट छन् तर संवेदना छैन । त्यसैले मानवीय सम्बन्धहरू दुर हुँदै छन् । मानिसहरु धनसम्पत्ति र प्रतिष्ठालाई पछ्याउँदैमा मस्त छन् । यसरी मानिस बिस्तारै कठोर बन्दैछ । संवेदनाको कमीले समाजलाई चिसो बनाउँछ । सम्बन्ध टुट्दै जान्छन् । फलस्वरूप मान्छे एक्लो हुन्छ । जहाँ मानिससँग मानिस हुँदैन, त्यहाँ मात्रै भीड हुन्छ । आत्मीयता हुँदैन । यसर्थ आज संवेदना दबिएको छ, थाकेको छ । घाइते छ ।
तथापि कसैले चुपचाप कसैलाई सुन्छ, कसैले नचिनेकालाई सहयोग गर्छ । कसैले ठिक छ ? भनेर सोध्छ । यिनै स–साना कामहरू संवेदनाका जीवित प्रमाण हुन् । मानवीयताको रक्षाका लागि यत्तिले मात्रै पुग्दैन । मानवीय संवेदना त्यतिबेला जोगिन्छ जतिबेला मानिसले अरुको दुखमा सर्वस्वसहित सहयोग गरोस् । तर हामी प्रविधि, सञ्जाल र व्यक्तिगत स्वत्वमा रमाइरहँदा आफ्ना भनिएकाहरुलाई समेत भुल्दै छौं । आत्मकेन्द्रीत प्रवृत्तिले आफ्नै वरिपरिका मानिसलाई समेत समय छुट्याउन असमर्थ छौं ।
छिमेकी बिरामी हुँदा नसोध्नु, सडकमा दुर्घटना हुँदा भिडियो खिच्नु वा पीडितभन्दा पहिले आफ्नै फाइदा सोच्नु, यी सबै संवेदना अभावका दृष्टान्त हुन् । जिउँदाको जन्ती मर्दाको मलामी भन्ने हामीहरु बाँचुन्जेल पनि आफ्नै स्वार्थमा तल्लीन छन् । यदि कोहि मान्छेको मृत्यु भयो भने पनि उसको परिवार र आफन्तको बिचल्लीमा रमाउँछन् । बाबुको मृत्यु भयो, छोराछोरी के गर्दै छन् ? श्रीमतीले के गर्लीन् । कसरी प्रस्तुत होलीन् । रोलान् कि नरोलान् ? कति रोलान् ? कसरी रोलान् ? अबका दिन के गरि कटाउलान ? भनेर रमिता हेर्ने प्रचलन हामी कहाँ छ । संवेदनाहिनताको दुनियाँमा यी क्रियाकलाप निन्दनीय छन् ।
पहिले समाजमा सहयोग र मेलमिलापको भावना बलियो थियो । कसैलाई समस्या परे सबै मिलेर समाधान गर्थे । सुख दुःख साटासाट हुन्थ्यो । तर अहिले म र मेरो परिवारभन्दा बाहिर कसैले सोच्दैन । यसले समाजलाई क्रमशः संवेदनाहीन बनाउँदै छ । तसर्थ मानवीय संवेदनालाई बढावा दिन बालबालिकालाई सानैदेखि नै सहानुभूति, सहयोग र सम्मानको मूल्य सिकाउनुपर्छ । अरूको कुरा ध्यान दिएर सुन्ने, पीडितलाई सहयोग गर्ने र सहिष्णु बन्ने आधार नै संवेदना हो । त्यसैले मानवीय संवेदना हराएको हाम्रो समाजमा संवेदनशीलताको बिज रोप्नु छ । हामी सबैले सानो प्रयास ग¥यौं भने समाज फेरि मानवीय, दयालु, र सुन्दर बन्न सक्छ ।
वि. सं. २०७९ साल माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा ७२ जनाको ज्यान गयो । दुर्घटना एक भवितव्य हो । यसलाई रोक्न कसैले सक्दैन । परन्तु उद्धार, उपचार र मानवीय सहयोगले संवेदनालाई आत्मसाथ गर्छ । त्यतिबेला केही संवेदनाहिन मानिसहरूको समूहले फोटो भिडियो खिचे । महिनौं दिनसम्म प्लेन दुर्घटनाको समाचार बनाएर रोजिरोटी खोजे, चर्को विरोध भयो । सामाजिक संजालदेखि युट्युबसम्म भ्युज बढाउने खेल खेलिए के यो सबै आवश्यक थियो ? अवस्य पनि थिएन । सूचनाको काम प्रहरी प्रशासनको रिपोर्टिङमा पत्रकारले गर्छन् । तर नेपालको हकमा पुराना, कमजोर र पिडादायी तस्वीरको सहारा लिएर आम मानिसहरू माझ अफवाह फैलाउने कार्य भइरहेको छ । यस किसिमका दुष्प्रचारबाट पीडित परिवारलाई कतिसम्म पीडा हुन्छ कस्ले बुझ्ने ?
माघ २९ गते बागलुङमा स्कुल बस दुर्घटना भयो । बसमा सवार घाइते विद्यार्थीहरुको उद्धार र उपचार चलिरहेकै समयमा क्षतविक्षत गाडीको फोटो, भिडियो र रगताम्मे बालबालिकाका तस्वीरले सामाजिक संजाल भरिए । प्रत्यक्षदर्शीहरु उद्धारमा जुट्नुको सट्टा फेसबुक लाइभमा उत्रिए । सहयोगी मनहरु उद्धारमा जुटिरहँदा असभ्य, संवेदनाहिन मानिसहरू रमिते बने । अस्पताल र विद्यालय प्रशासनले कुनै सूचना प्रकाशन नगर्दै मानिसहरूले भ्रामक सूचना दिनुले के जनाउँछ ? आफ्नो बच्चा काखमा च्यापेर दुर्घटनाका अपुष्ट सामाग्री सामाजिक संजालमा पोष्ट्याउँदा ती शिक्षक, अभिभावक, विद्यार्थी र आफन्तमा के बित्छ सोच्नु पर्दैन ?
त्यसै गरेर यहिं फागुनको पहिलो सुरक्षामा खटिने सुरक्षाकर्मी (नेपाली सेना) को गाडी दुर्घटना भएर २४ जना सेना घाइते भए । धादिङमा यात्रु वाहक बस दुर्घटना हुँदा बसमा सवार १९ जना यात्रुको मृत्यु भयो । दुर्घटना आफैंमा दुखद र अप्रिय घटना हो । यहि दुःखद् र विपत्तिको मौका छोपेर कतिले हातमुख जोर्ने काम गरिरहे । समाचार लेख्ने पत्रकारले सत्यतथ्य भन्दा बाहिर गएर कहिल्यै सूचना सम्प्रेषण गर्दैनन् । परन्तु अहिले सामाजिक संजाल प्रयोगकर्ताहरुले संवेदनाहीन गतिविधिहरु सञ्चालन गरिरहदा कस्ले कार्वाही गर्ने ? यो गम्भीर र चुनौतीको विषय छ । दुर्घटनामा देखिएका संवेदनाहीन गतिविधि र दृश्यले भने निकै सोचनीय बनाएका छन् । समाजका बौद्धिक, शिक्षिक, सचेत भनिएका नागरिकहरु नै यस्तो गतिविधिमा सम्लग्न हुने गरेको यथार्थ हामीसामु छ ।
आखिर मानिस सामाजिक सञ्जालको क्रेज बटुल्नकै लागि किन यति निर्दयी भएको ? जुनसुकै दुर्घटना किन नहुन तस्बिर र सूचनाहरु अफवाहको रुपमा फैलाउने प्रवृत्ति गलत छदैछ । घाइतेका परिवार कहाँ कहाँ कस्तो अवस्थामा छन्, अचानक सञ्जालमा घाइते भएका आफन्त र छोराछोरी देख्दा उनीहरुलाई कतिसम्म पीडा होला ? हामीले नै बुझ्नुपर्ने होइन र ? यसर्थ दुर्घटनाको लाइभ गर्ने, हतार हतार तथ्यहीन सूचना प्रवाह गर्नेहरु सचेत हुनु पर्छ । हामी मानवीय संवेदना रहित होइन उद्धारका कार्यमा निस्वार्थ खटिनु पर्छ ।
यी सबै दुर्घटनाप्रति दुःख र समवेदना व्यक्त गर्दै दुर्घटनामा परि ज्यान गुमाउनुहुनेप्रती हार्दिक श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना छ । जुनसुकै घटना घट्नु र पीडाको अवस्था सिर्जना हुनु भवितव्य हो वा अन्य कुनै कारण हो प्रहरीको अनुसन्धानबाट खुल्छ । अन्यथा सामाजिक संजालबाट सम्प्रेषित यस्ता संवेदनाहिन सामाग्रीले मानवीय मनमाथी आघात पुग्न सक्छ । तसर्थ सबै जना संवेदनशिल बनौं । सरकार, सरोकारवाला निकाय र आमनागरिक सम्मले गम्भीरतापूर्वक सोचौं ।




