बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

होली रङ्गीन बनोस्, रोगी नबनोस्

होली रङ्गीन बनोस्, रोगी नबनोस्

चाडपर्व मनाउँदा कसैलाई हानि नपुग्ने तरिकाले, सबैले रमाइलो मान्ने गरी खुसीयालीका साथ मनाउनुपर्नेमा कहिलेकाहीँ चाडपर्वका नाममा कसैले पिडा भोग्नुपर्ने र कोही अरुलाई पीडा दिँदा रमाउने संस्कृति कदापि राम्रो होइन ।


  • डा. नरनाथ पाण्डे
  • फाल्गुन १८ २०८२, सोमबार

हाम्रो घरआँगनमा होलीको उमङ्ग फेरि यसवर्ष पनि आएको छ । एक आपसमा रङ्ग दलेर, मिठा मिठा खाद्य पदार्थ खाएर साथीसँगीसँग रमाउँदै खेल्ने र वर्षभरिका तनाव घटाउने पर्व नै होलीपर्व हो । विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक रुपले पनि होलीपर्वको व्याख्या गर्ने गरिन्छ र विभिन्न स्थानमा विभिन्न तरिकाले यो पर्व मनाउने गरिन्छ । खासगरी नेपालका सबैजसो भुभागमा र भारतका हिन्दू समुदायले रङ्गीन पर्वका रुपमा यो पर्व मनाउने चलन छ । जे होस् नेपालीहरूको महान् पर्व जुन हिमाल, पहाड, तराई जताततै मनाइने पर्वको रुपमा होलीलाई हेर्ने गरिन्छ । यो पर्व नेपालमा पहाडी क्षेत्रमा फागुन पूर्णिमाको दिनमा र तराई क्षेत्रमा भोलिपल्ट गरी दुईदिनसम्म मनाउने गरिन्छ भने काठमाडौं उपत्यकामा सातदिनसम्म विशेष पूजाआजा र चिरदहन गरी मनाउने चलन छ । फागुन पूर्णिमाका दिन पहाड र तराईमा फरक फरक दिनमा सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ । होली एउटा यस्तो पर्व हो जसले भाइचाराको सम्बन्ध बढाउने र कुनै रिसइबि मनमा नराखी हाँसेर मनाउने गरिन्छ । यस पर्वमा खासगरी सबै परिवारबीच वा आफ्ना साथीहरूबीच रमाइलो गरी होलीको विशेष गीत समेत गाउँदै ठाउँअनुसार नाचगान समेत गरी मनाइन्छ । स्वास्थ्यका दृष्टिकोणले हेर्दा जाडोयामको बिदाइसँगै होलीपर्व आउने भएकोले र यसै बेलामा हावाहुरी चल्ने तथा धुलो उड्ने मौसमकोसुरुवात हुने भएकोले अबिरजात्रा गर्दै मनाइने यस पर्वमा पनि हामीले आफ्नो स्वास्थ्यलाई चाहिं ख्याल गर्नैपर्छ ।

होली कसरी र कहिलेदेखि मनाउन थालिएको हो भन्ने सन्दर्भमा कुरा कोट्याउँदा वैदिक कालमा प्रवेश गर्नुपर्ने हुन्छ र किम्बदन्तीको सहारा लिनुपर्ने हुन्छ । किम्बदन्ती अनुसार त्रेतायुगमा हिरण्यकश्यपु नाम गरेको राक्षसले शक्तिको आडमा आफूलाई भगवान् भनेर पूजा गर्न लगाउने अहङ्कारी स्वभावको थियो । तर उसको छोरा प्रल्हाद भने बाबुको यो भनाइ अस्वीकार गरी भगवान भनेका विष्णु हुन् भनी विष्णुको भक्ति गर्ने गर्दथे । आफ्नै छोराको यस्तो व्यवहार सहन नसकि प्रल्हादलाई मार्न भनेर निकै जुक्ति अपनाउँदा पनि मार्न नसकेपछि उसले आफ्नो बहिनी होलिकालाई प्रल्हाद मार्न लगायो । होलिका यति शक्तिशाली थिईन् कि उनलाई आगोले पनि जलाउन नसक्ने शक्ति प्राप्त थियो । सोही शक्तिको दुरुपयोग गर्दै जब प्रल्हादलाई काखमा राखी आगो लगाउने हिरण्यकश्यपुको विचारमा उनी सहमत भईन् तब प्रल्हादलाई होलिकाको काखमा राखी मार्न खोजियो । तर अचम्म के भयो भने त्यो आगोले जलेर होलिका भष्म भईन् भने प्रल्हादलाई आगोले पनि जलाउन नसकेपछि विष्णुभक्त प्रल्हादसँग हिरण्यकश्यपुले हार मान्यो र पछि नरसिंह अवतार लिई भगवान् विष्णुले हिरण्यकश्यपुलाई बध गरेको भनिन्छ । किम्बदन्ती अनुसार होलिका जलेर भष्म भएको यसैदिनलाई असत्य माथि सत्यको जीत भएको दिनको स्मरणमा उत्सवका साथ, खुसीयाली र अबीरजात्रा गरी होलीपर्व मनाउन थालिएको पाइन्छ । त्यसैले होलीपर्वको अघिल्लो दिन होलिकाको वा असत्यको प्रतीकस्वरुप चिरदहन गरी अर्को दिन रमाइलोपूर्वक अबीरजात्रा गरी होलीपर्व मनाउने चलन छ ।यसैगरी कतिपय कथाहरूमा द्वापरयुगमा भगवान् श्रीकृष्णले पुतना राक्षसलाई स्तनपान गर्दा मारेर धेरै बच्चाहरूलाई जोगाई सत्यमाथि असत्यको विजय भएको दिनका रुपमा होलीपर्व मनाउन थालिएको हो भन्ने पनि पाइन्छ । जे होस् किम्बदन्ती जे जस्तो भए पनि यो पर्व साथीभाइ बीचको मित्रता बढाउने दिन हो भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ, जुन होलीपर्व मनाउनुको सन्देश पनि हो ।

अब होलीपर्वमा दलिने रङ्गहरू र स्वास्थ्यका बारेमा केही चर्चा गरौं । होलीपर्वमा बढीमात्रामा विभिन्न रङ्गहरूको प्रयोग हुनेगर्छ । एक अर्कामा रङ्ग दलेर, रङ्गहरू उडाउँदै खुसीपूर्वक मनाइने पर्व भएकाले नै होलीलाई विशेष रङ्गहरूको रङ्गीन पर्व समेत भनिन्छ । विभिन्न रङ्गहरूलाई यत्तिकै दलेर, उडाएर, पानीमा घोलेर, अण्डामा घोलेर जस्ता आदि तरिकाले एकअर्कोमा छ्यापेर वा दलेर होलीपर्व मनाइन्छ । तर हामीले दल्ने रङ्गहरूमा चाहिँ हामीले ध्यान पु¥याएका हुँदैनौं । बजारमा विभिन्न गुणस्तरका रङ्गहरू पाइने गर्छन् । कुनै रङ्गहरूमा बालुवा, माटो, पिठो आदि मिसाइएको हुन्छ भने कुनैमा हानिकारक रसायनहरू र सिसा समेत मिसाइएको हुन्छ । जसको प्रयोगबाट हाम्रो स्वास्थ्यमा जोखिम निम्तने गर्छ । त्यसकारण रङ्गहरू छनौट गर्दा वा हामीले प्रयोगमा ल्याउने रङ्ग निकै गुणस्तरीय हुनुपर्दछ । गुणस्तरहीन रङ्गहरूको प्रयोग गर्नाले हाम्रो शरीरको छालालाई निकै नराम्रो असर गर्दछ ।गुणस्तरहीन रङ्गहरूको प्रयोगले कसैलाई एलर्जी हुने, छाला सुक्खा हुने, खटिरा आउनसक्ने, टाउको दुख्ने, नाक मुख भित्र पसेमा असर पु¥याउने, खोकी लाग्ने, आँखामा परेमा असर गर्ने आदि हुनसक्छ । यो बाहेक जथाभावी जसलाई पायो त्यसलाई जिस्काउन र आफूले रमाइलो गर्ने भनी रङ्ग दलिदिने विकृति पनि देखिएको छ । यतिमात्र नभई जाँडरक्सी वा लागुपदार्थको सेवन गरी नशामा लट्ठ पर्दै हिँड्ने र नचाहिने क्रियाकलाप समेत गर्ने प्रचलन बढ्दै जानु र चाडपर्व वा साँस्कृतिक परम्परालाई परिष्कृत गर्दै लैजानुपर्नेमा झन् बढी दुषित बनाउन खोज्ने प्रवृत्ति बढ्दै गइरहेको देखिन्छ जुन अति नै अपाच्य रहेको छ । चाडपर्व मनाउँदा कसैलाई हानि नपुग्ने तरिकाले, सबैले रमाइलो मान्ने गरी खुसीयालीका साथ मनाउनुपर्नेमा कहिलेकाहीँ चाडपर्वका नाममा कसैले पिडा भोग्नुपर्ने र कोही अरुलाई पीडा दिँदा रमाउने संस्कृति कदापि राम्रो होइन । यस्ता अरुलाई पीडा दिने र आफूमात्र खुसी हुने व्यवहार होलीपर्वमा अलि बढी विकृतिका रुपमा देखिने गरेको छ जुन दुर्भाग्यपूर्ण छ । त्यसकारण आपसी सल्लाहमा खुसीयालीका लागि मात्र रङ्गहरूको प्रयोग गरी रमाइलो गरौं तर चाडपर्वका नाममा जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप नगरौं । यस्ता क्रियाकलाप कानुनको दृष्टिमा समेत अपराधी क्रियाकलाप हुन् । यसका अलावा आफू मात्र होइन कि अरुको मनलाई पनि रङ्गाउने गरी होली मनाउने परम्पराको सुरुवात गरौं । सभ्य तरिकाले सामाजिक र सांस्कृतिक अनुशासनका साथ होली मनाऔं, खुसीयाली गरौं तर स्वास्थ्यलाई ख्याल राखौं । अस्तु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->