हाम्रो घरआँगनमा होलीको उमङ्ग फेरि यसवर्ष पनि आएको छ । एक आपसमा रङ्ग दलेर, मिठा मिठा खाद्य पदार्थ खाएर साथीसँगीसँग रमाउँदै खेल्ने र वर्षभरिका तनाव घटाउने पर्व नै होलीपर्व हो । विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक रुपले पनि होलीपर्वको व्याख्या गर्ने गरिन्छ र विभिन्न स्थानमा विभिन्न तरिकाले यो पर्व मनाउने गरिन्छ । खासगरी नेपालका सबैजसो भुभागमा र भारतका हिन्दू समुदायले रङ्गीन पर्वका रुपमा यो पर्व मनाउने चलन छ । जे होस् नेपालीहरूको महान् पर्व जुन हिमाल, पहाड, तराई जताततै मनाइने पर्वको रुपमा होलीलाई हेर्ने गरिन्छ । यो पर्व नेपालमा पहाडी क्षेत्रमा फागुन पूर्णिमाको दिनमा र तराई क्षेत्रमा भोलिपल्ट गरी दुईदिनसम्म मनाउने गरिन्छ भने काठमाडौं उपत्यकामा सातदिनसम्म विशेष पूजाआजा र चिरदहन गरी मनाउने चलन छ । फागुन पूर्णिमाका दिन पहाड र तराईमा फरक फरक दिनमा सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ । होली एउटा यस्तो पर्व हो जसले भाइचाराको सम्बन्ध बढाउने र कुनै रिसइबि मनमा नराखी हाँसेर मनाउने गरिन्छ । यस पर्वमा खासगरी सबै परिवारबीच वा आफ्ना साथीहरूबीच रमाइलो गरी होलीको विशेष गीत समेत गाउँदै ठाउँअनुसार नाचगान समेत गरी मनाइन्छ । स्वास्थ्यका दृष्टिकोणले हेर्दा जाडोयामको बिदाइसँगै होलीपर्व आउने भएकोले र यसै बेलामा हावाहुरी चल्ने तथा धुलो उड्ने मौसमकोसुरुवात हुने भएकोले अबिरजात्रा गर्दै मनाइने यस पर्वमा पनि हामीले आफ्नो स्वास्थ्यलाई चाहिं ख्याल गर्नैपर्छ ।
होली कसरी र कहिलेदेखि मनाउन थालिएको हो भन्ने सन्दर्भमा कुरा कोट्याउँदा वैदिक कालमा प्रवेश गर्नुपर्ने हुन्छ र किम्बदन्तीको सहारा लिनुपर्ने हुन्छ । किम्बदन्ती अनुसार त्रेतायुगमा हिरण्यकश्यपु नाम गरेको राक्षसले शक्तिको आडमा आफूलाई भगवान् भनेर पूजा गर्न लगाउने अहङ्कारी स्वभावको थियो । तर उसको छोरा प्रल्हाद भने बाबुको यो भनाइ अस्वीकार गरी भगवान भनेका विष्णु हुन् भनी विष्णुको भक्ति गर्ने गर्दथे । आफ्नै छोराको यस्तो व्यवहार सहन नसकि प्रल्हादलाई मार्न भनेर निकै जुक्ति अपनाउँदा पनि मार्न नसकेपछि उसले आफ्नो बहिनी होलिकालाई प्रल्हाद मार्न लगायो । होलिका यति शक्तिशाली थिईन् कि उनलाई आगोले पनि जलाउन नसक्ने शक्ति प्राप्त थियो । सोही शक्तिको दुरुपयोग गर्दै जब प्रल्हादलाई काखमा राखी आगो लगाउने हिरण्यकश्यपुको विचारमा उनी सहमत भईन् तब प्रल्हादलाई होलिकाको काखमा राखी मार्न खोजियो । तर अचम्म के भयो भने त्यो आगोले जलेर होलिका भष्म भईन् भने प्रल्हादलाई आगोले पनि जलाउन नसकेपछि विष्णुभक्त प्रल्हादसँग हिरण्यकश्यपुले हार मान्यो र पछि नरसिंह अवतार लिई भगवान् विष्णुले हिरण्यकश्यपुलाई बध गरेको भनिन्छ । किम्बदन्ती अनुसार होलिका जलेर भष्म भएको यसैदिनलाई असत्य माथि सत्यको जीत भएको दिनको स्मरणमा उत्सवका साथ, खुसीयाली र अबीरजात्रा गरी होलीपर्व मनाउन थालिएको पाइन्छ । त्यसैले होलीपर्वको अघिल्लो दिन होलिकाको वा असत्यको प्रतीकस्वरुप चिरदहन गरी अर्को दिन रमाइलोपूर्वक अबीरजात्रा गरी होलीपर्व मनाउने चलन छ ।यसैगरी कतिपय कथाहरूमा द्वापरयुगमा भगवान् श्रीकृष्णले पुतना राक्षसलाई स्तनपान गर्दा मारेर धेरै बच्चाहरूलाई जोगाई सत्यमाथि असत्यको विजय भएको दिनका रुपमा होलीपर्व मनाउन थालिएको हो भन्ने पनि पाइन्छ । जे होस् किम्बदन्ती जे जस्तो भए पनि यो पर्व साथीभाइ बीचको मित्रता बढाउने दिन हो भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ, जुन होलीपर्व मनाउनुको सन्देश पनि हो ।
अब होलीपर्वमा दलिने रङ्गहरू र स्वास्थ्यका बारेमा केही चर्चा गरौं । होलीपर्वमा बढीमात्रामा विभिन्न रङ्गहरूको प्रयोग हुनेगर्छ । एक अर्कामा रङ्ग दलेर, रङ्गहरू उडाउँदै खुसीपूर्वक मनाइने पर्व भएकाले नै होलीलाई विशेष रङ्गहरूको रङ्गीन पर्व समेत भनिन्छ । विभिन्न रङ्गहरूलाई यत्तिकै दलेर, उडाएर, पानीमा घोलेर, अण्डामा घोलेर जस्ता आदि तरिकाले एकअर्कोमा छ्यापेर वा दलेर होलीपर्व मनाइन्छ । तर हामीले दल्ने रङ्गहरूमा चाहिँ हामीले ध्यान पु¥याएका हुँदैनौं । बजारमा विभिन्न गुणस्तरका रङ्गहरू पाइने गर्छन् । कुनै रङ्गहरूमा बालुवा, माटो, पिठो आदि मिसाइएको हुन्छ भने कुनैमा हानिकारक रसायनहरू र सिसा समेत मिसाइएको हुन्छ । जसको प्रयोगबाट हाम्रो स्वास्थ्यमा जोखिम निम्तने गर्छ । त्यसकारण रङ्गहरू छनौट गर्दा वा हामीले प्रयोगमा ल्याउने रङ्ग निकै गुणस्तरीय हुनुपर्दछ । गुणस्तरहीन रङ्गहरूको प्रयोग गर्नाले हाम्रो शरीरको छालालाई निकै नराम्रो असर गर्दछ ।गुणस्तरहीन रङ्गहरूको प्रयोगले कसैलाई एलर्जी हुने, छाला सुक्खा हुने, खटिरा आउनसक्ने, टाउको दुख्ने, नाक मुख भित्र पसेमा असर पु¥याउने, खोकी लाग्ने, आँखामा परेमा असर गर्ने आदि हुनसक्छ । यो बाहेक जथाभावी जसलाई पायो त्यसलाई जिस्काउन र आफूले रमाइलो गर्ने भनी रङ्ग दलिदिने विकृति पनि देखिएको छ । यतिमात्र नभई जाँडरक्सी वा लागुपदार्थको सेवन गरी नशामा लट्ठ पर्दै हिँड्ने र नचाहिने क्रियाकलाप समेत गर्ने प्रचलन बढ्दै जानु र चाडपर्व वा साँस्कृतिक परम्परालाई परिष्कृत गर्दै लैजानुपर्नेमा झन् बढी दुषित बनाउन खोज्ने प्रवृत्ति बढ्दै गइरहेको देखिन्छ जुन अति नै अपाच्य रहेको छ । चाडपर्व मनाउँदा कसैलाई हानि नपुग्ने तरिकाले, सबैले रमाइलो मान्ने गरी खुसीयालीका साथ मनाउनुपर्नेमा कहिलेकाहीँ चाडपर्वका नाममा कसैले पिडा भोग्नुपर्ने र कोही अरुलाई पीडा दिँदा रमाउने संस्कृति कदापि राम्रो होइन । यस्ता अरुलाई पीडा दिने र आफूमात्र खुसी हुने व्यवहार होलीपर्वमा अलि बढी विकृतिका रुपमा देखिने गरेको छ जुन दुर्भाग्यपूर्ण छ । त्यसकारण आपसी सल्लाहमा खुसीयालीका लागि मात्र रङ्गहरूको प्रयोग गरी रमाइलो गरौं तर चाडपर्वका नाममा जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप नगरौं । यस्ता क्रियाकलाप कानुनको दृष्टिमा समेत अपराधी क्रियाकलाप हुन् । यसका अलावा आफू मात्र होइन कि अरुको मनलाई पनि रङ्गाउने गरी होली मनाउने परम्पराको सुरुवात गरौं । सभ्य तरिकाले सामाजिक र सांस्कृतिक अनुशासनका साथ होली मनाऔं, खुसीयाली गरौं तर स्वास्थ्यलाई ख्याल राखौं । अस्तु




