फागुन २१ मा तय भएको आमचुनाव आवश्यक थियो वा थिएन भन्ने बहस गौण ठानेर, कस्ता उम्मेदवार चुनावी मैदानमा छन् भन्ने कुरालाई प्राथमिकता दिनु आजको आवश्यकता हो । पाकिस्तानी मुस्लिम संस्थाले तराईका विभिन्न मुस्लिम उम्मेद्वारलाई खुल्ला रुपमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्न गरेको प्रतिबद्धता र रास्वपा जस्ता नयाँ पार्टीको केही नेतालाई अमेरिकी युथ काउन्सिल, युरोपेली युनियन र बारबरा फाउन्डेसन जस्ता अन्तर्राष्ट्रिय संस्था तथा भारतीय रअले खुल्ला रुपमा गरेको समर्थनले राज्य नागरिकको चाहनामा भन्दा उपरिया शक्तिको इच्छा र स्वार्थमा चल्न विवश छ भन्ने देखिन्छ । यो विषयले राज्य संयन्त्र बाह्य शक्तिको हस्तक्षेपको चंगुलमा नराम्रोसंग जकडिएको भान हुन्छ ।
बहुदलीय व्यवस्थाको नाममा स्थापित गणतन्त्रले आज राष्ट्रलाई अर्कैको अधीनस्थमा लगेको यथार्थले आम नागरिक झस्कनु स्वभाविक हो । किनकी राज्यले नै दोषी ठहर गरेका तस्कर, माफिया, भ्रष्टाचारी, देशद्रोहका गतिविधिमा संलग्न र जातीय अतिवाद बोकेका पात्रहरू बाह्य शक्तिको आडमा निर्लज्ज रूपमा सत्ताको दाबेदार बनेका वा पुग्न तरखरमा छन् । २०४८ साल यताका चुनावी परिणाम वा त्यसको प्रतिफल हामीले भोग्दै आएको तितो सत्यले उजागर गरिसकेको छ । दलहरू देशलाई आर्थिक, सामाजिक, रुपान्तरण होइन, वैरीको मिसनका हिमायती बनेर बदनाम राजनीतिलाई आत्मसात गर्दै दुष्कर्ममा फस्नु नौलो कार्य रहेन । तथापि यही प्रवृत्ति जारी रहँदा पनि जनता भने राज्य र राष्ट्रियताभन्दा माथी नेता र दल राखेर व्यवस्था टिकाउन तल्लिन छन् ।
यस अर्थमा जनता सार्बभौमसत्ता अधिकारको केन्द्र होइन, अपराधीहरूको संरक्षण कवच बन्ने गरेको छन् । स्पष्ट रुपमा एल्गोरिदमको शिकार बनेर विवेक शून्य अवस्थामा छन् भन्दा अत्युक्ति हुँदैन । यहाँ हामीले गम्भीर विवेचना गर्ने समय आएको छ । कुनैपनि देशहरू एकैपटक असफल हुँदैनन्, अपराधको राजनीतिले अभिन्न अंगमा प्रभाव जमाउँदै जान्छ, जनतामा अपराधबाट प्रभावितलाई आफ्नो हिफाजत देख्ने चेतनाको विकास हुन्छ । अतः अपराधले नै राजनीति सञ्चालन गर्दै सत्ताको बागडोर सम्हाल्न पुग्छन् । अनि बिस्तारै राज्य आर्थिक र प्रशासनिक रुपले असफल बन्दै जान्छ । आज विश्वका धेरै देशहरू यही चक्रको शिकार बनेको छन् । शुरूवाती प्रक्रिया सामान्य देखिएता पनि अन्ततः ड्रग्र्सको नशामा फसेको जस्तै मानिसको जीवन जस्तै अनिष्टकार हुन्छ । उदाहरणका रुपमा विश्वका केही देशलाई लिन सकिन्छ ।
सन् १९८० को दशकसम्म मेक्सिकोमा लागुऔषध तस्करी सीमित रूपमा सञ्चालन हुन्थे । तर कमजोर न्याय प्रणाली, राजनीतिक संरक्षण र अमेरिकी बजारको उच्च मागका कारण १९९० पछि ड्रग्स कार्टेलहरू अत्यन्त शक्तिशाली बने । अमेरिकातर्फ कोकिन, हेरोइन, मेथाम्फेटामिन र पछि फेन्टानिलसम्मको आपूर्ति तीव्र भयो, जबकी अमेरिकाबाट अवैध हतियार मेक्सिको भित्रिन थाले । अर्थात “ड्रग्स उत्तरतर्फ, हतियार दक्षिणतर्फ” भन्ने श्लोगन नै स्थापित भयो । नेपाल र भारतको खुला सिमाना भारतीय बजार र नेपालको राजनीति वृतान्तलाई हेर्दा आजको मेक्सिको र भोलिको नेपाललाई दाज्नु उपयुक्त देखिन्छ ।
सन २००६ मा तत्कालीन राष्ट्रपति फेलिप काल्डेरनले सेना परिचालन गर्दै “ड्रग्सविरुद्धको युद्ध” गरे देखिन आधिकारिक तथ्यांक अनुसार लाखौँ मानिस प्रभावित भए र सन् २००६–२०२६ बीच मात्र ३ लाखभन्दा बढी नागरिकले ज्यान गुमाएको छन् । सन् २०१२ मा तत्कालीन राष्ट्रपति इनरिक्यु पेना नाइटोले कडा कारबाहीको प्रतिबद्धता जनाए, तर हिंसा पूर्ण रूपमा नियन्त्रणमा आउन सकेन । आज पनि शक्तिशाली कार्टेलहरू (जालिस्को नयाँ जेनेरेशनका नेता एल मेन्चो) लगायत केही मारिए पनि अनेकौं कार्टेलहरु सरकारसँग प्रत्यक्ष टकरावमा छन् । आर्थिक शक्ति, राजनीतिक प्रभाव र अन्तर्राष्ट्रिय मागको संयोजनले राज्यलाई जुनसुकै अवस्थामा लैजान सक्छ ।
हाम्रो छिमेकी भारतमा पनि १९७०–८० को दशकमा हाजी मस्तानले तस्करी र माफियागिरी गरेर राजनीतिमा प्रवेश गरेको यथार्थलाई भुल्नु हुदैन । उनले सुन तस्करीबाट विशाल सम्पत्ति आर्जन गर्दै राजनीतिक दल र कलाकारलाई प्रभावमा पारेर फिल्म उद्योग र व्यापार, राजनीतिक पहुँच जमाएका थिए । उनी सडकमा निस्किदा हजारौं मान्छे उनको पछि जयजयकार गर्दै लाग्थे । आज नेपालको राजनीतिक माहोल, तस्करी माफियागिरी र उम्मेद्वारको भिड देख्दा लाग्छ, नेपालमा पनि हाजी मस्ताना एल मेन्चोहरुकै अधिनमा नेपाली राजनीति घुमेको छ । यिनीहरु प्रत्यक्ष वा परोक्ष रुपमा राज्य र बाह्य शक्तिद्वारा संरक्षित छन् ।
त्यस्तै युरोपेली देश इटलीमा कोसा नोस्ट्रा माफियाले सन् १९५०–७० सम्म राज्य संरचनालाई नै प्रभावित पारेको थियो । माफिया र राजनीतिक साँठगाँठमा निर्माण ठेक्का, सिमेन्ट आपूर्ति, थोकबजार र “प्रोटेक्शन मनि, चन्दा असुली उनीहरुको नियन्त्रणमा थियो । १९६० को दशकदेखि अमेरिकी व्यापारीसँग समन्वय गर्दै “ फ्रेन्च कनेक्सन” सँग जोडिएको हेरोइन तस्करमा सिसिलियन समूह (माफिया र नेता) सक्रिय भएर ७० को दशकसम्म एउटा तस्करको साम्राज्य नै खडा गरे । १९६२–६३ को फस्ट माफिया वार÷साइकुली कार बम वस्फोटमा दर्जनौं तस्कर र सुरक्षाकर्मीहरू मारिएका थिए । यसको असर ८० को दशकसम्म परेको थियो । राजनीति र आर्थिक विकासमा तस्कर र माफियाले स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म पहुँच ठेक्का, कर्मचारी नियुक्ति, अदालत र प्रशासन समेतलाई प्रभावमा पारेर आफ्नो धन्दा चलाउने गर्दथे । हत्याहिंसा, अपराध सामान्य थियो । राज्यको कानुन माफियाको निर्देशनमा चल्थ्यो भन्दा अन्याय हुदैन ।
कमजोर राज्य प्रणाली, फितलो कानुन, राजनीतिमा बाह्य हस्तक्षेप, एनजिओ आइएनजिओद्वारा राज्य नियन्त्रण र माफिया र तस्करीहरुले राजनीतिलाई मुठीमा लिँदा भोलिका दिनमा नेपालको अवस्था पनि मेक्सिको, कोलम्बिया, ब्राजिल, म्यान्मार अफगानिस्तान, एक्वाडोर, भेनेजुयला, पेरु, ग्वाटेमाला, बेल्जियम, नेदरल्यान्ड टर्की जस्ता देशहरुको जस्तै तस्कर र माफियाको संजालले राज्यलाई अपराधीकरणको ढाँचामा बदल्ने यथार्थलाई नकार्न सकिदैन ।
अहिले नेपाली राजनीति वृतमा देखिएका प्रवृत्तिहरूलाई मुल्यांकन गर्दा माफिया र तस्करहरुले राज्य संचालन गर्ने र कानुनलाई नै आफ्नो मातहत वा स्वार्थमा पार्ने गरेको देखिन्छ । सायद म गलत छैन भने यो प्रणाली र व्यवस्था अनि माफिया तथा तस्कर विरुद्धको अभियान जेन्जी आन्दोलन थियो । जेन्जी आन्दोलन भनिए पनि एनजिओ आइएनजिओ र राजनीतिक माफिया तस्करहरूले नै आन्दोलनलाई आफ्नो स्वार्थ बमोजिमको प्रतिफलमा उतार्न सफल भए । जस्लाई तत्काल अनुसन्धान गरेर कारबाही गर्नु पर्ने थियो । तर त्यो गरिएन, त्यसैले उनीहरु नै नयाँ वा पुरानो दलको आडमा राजनीतिमा प्रवेश गर्दै अनुसन्धान रोक्ने क्षमता प्रकट गर्दैछन् ।
प्रशासनिक नियुक्तिमा प्रभाव पार्दैछन् । आफ्नो अवैध धन्दालाई बारम्बार झुट बोल्दै मिडिया र जन दबावको आडमा चोख्याउने धन्दामा लागेको छन् । तत्कालको विध्वंसलाई नजर अन्दाज गर्नु, कार्की आयोगलाई थाती राखेर चुनावमा होमिनु, नागरिकको भावनालाई एल्गोरिदमले परिबन्धनमा पार्नु र एउटा पक्षलाई दानवीकरण गर्दै अर्को पक्षलाई नायक बनाउनु विदेशीद्वारा राज्यको कानुनलाई नै प्रभावित पार्नुले राज्य कमजोर अवस्थाबाट गुज्रिएको भान हुन्छ । अनि त भोलिका हाम्रो सन्तति गोर्खाली बहादुरको विरासतलाई पन्छाएर तस्कर र माफियाको उपमा भिरेर जिउन बाध्य हुनुपर्ने त हैन भन्ने भयले मन मस्तिष्कमा सन्नटा छाएको छ ।
जय मातृभूमी ।




