अध्ययनको नतिजा
बागलुङ भकुण्डे गाउँका मगरहरुका चिन्तनमूलक मगर जातिको बारेमा आधारित भई संस्कृती र लोक जीवनका बारेमा यस अध्ययनको मुख्य मुख्य नतिजालाई तल संक्षेपमा व्याख्या र विश्लेषण गरी अध्ययनको नतिजा तथा सोको विश्लेषणलाई यस खण्डमा विस्तृतमा उल्लेख गरिएको छ । मगर जातिका विभिन्न संस्कृति र चालचलनलाई दस्तावेजीकरण र भावी पुस्ताका लागि संरक्षण र उपयोग गरिएको छ । ज्ञानको श्रोतका रुपमा बचावट गरिएको छ ।
गाउँ पुजा गर्ने विधि
हरेक वर्ष वैशाख, जेठ महिनाको शनिबारको दिनमा पुजा गर्ने सरसल्लाह पछि हरेक घरबाट भेटी, चामल, धुप लिएर पुर्णपानी चउरमा जम्मा हुने गर्दछन् । पुजारी मान्छे चोखो खाने र उपासु बस्ने चलन छ । प्रत्येक घरबाट दुई जोर धजा झाँक्रीको लागि र दुई जोर धजा लैजाने चलन छ । राँगो, बोका, भाले, पोथी लगायतले पुजा गर्ने गरिन्छ । सो गाउँ पुजामा लागेको सम्पुर्ण खर्च रकम जम्मा गरेर दामासाहीले हरेक घरधुरीलाई बाँडने चलन छ । बोका, कुखुराको मासु समेत बराबर बाँड्ने चलन छ । नेवार समुदाय र दलित विश्वकर्मा समुदायले राँगोको मासु काटेर बाँड्ने चलन थियो । मगर जातिले राँगो नखाने चलन पहिले भएपनि अहिले मगर समुदायले समेत राँगो खाने चलन बढेकोले राँगोबाट समेत गाउँ पुजा गर्ने प्रचलन बसेको छ । ( थापा, गन बहादुर) पानीको मुलमा झाँक्रीको थान बनाई पुजा गर्ने चलन छ । पानीको मुलको संरक्षण, प्रकृति पुजकको रुपमा असिना नपरोस् र खेतीपाती राम्रोसँग लगाउने वातावरण बनोस् भन्दै उज्वल भविष्यको कामना गर्ने गरिन्छ । आकासे पानीको माग गर्ने र पुजा गर्दा गर्दै आकाशबाट समेत पानी पर्ने गरेको भनाइ बुढापाकाहरु बताउँछन् (थापा मगर, लालबहादुर वर्ष ६९) ।
गाउँ पुजा बली प्रथा र पुजा सामाग्री
गाउँ पुजामा झाँक्री पुजाको लागि साँघर र मसानको लागि बाँसेको भाले बली दिइन्छ । साथै बोका बली माइ पुजाका लागि र कुखुराको भाले वा पोथी काटेर पुजा गर्ने प्रचलन नहेको छ । फिरन्ता माईको पुजा समेत भन्ने गरिन्छ । पुजा गर्ने पुजारी उपासु अघिल्लो दिन बस्नुपर्ने नियम छ । प्रत्येक घर धनीको जेष्ठ मानिस उपासु बस्नुपर्ने बाध्यता छैन । उपासुले चोखो खाना खानु पर्ने नियम छ । धुप बत्ती, धजा झाँक्रीको लागि, माईको लागि दुई वटा जोडा धजा, चामल गच्छेअनुसार, घिऊ, फलफुल पनि इच्छा अनुसार प्रसादको रुपमा लिएर जाने प्रचलन रहेको छ । बली चढाएको साँघर, बोका, कुखुराहरु जनही रुपमा घरधनी अनुसार दामासाहीले बाँडेर प्रसादको रुपमा प्रत्येक घर घरमा लैजाने प्रचलन छ । दामासहीले पुजाआजाको खर्च उठाउने प्रचलन रहेको छ । इन्द्रेणी गाउँका दलित विश्वकर्माहरुले धुपको सट्टा पैसा पुजा सामाग्रीमा सहभागी जनाउने चलन छ ।
गाउँ पुजामा सहभागी टोलहरु
बागलुङ भकुण्डे गाउँका माझर, पुर्णपानी, समुन्नेडाँडा, नाथुराजा, चउर, इन्द्रेणी टोल, धौलेचउर, दोकान, चौडिला, मौरीभिर, इधारा, चम्चामुनी, डाँडाटोल, तारमीटोल, पुछार, खोलापारी, ढुंगेटोल, बुढोघर, खाल्टा, नयाँबारी, सतभैया टोलका मानिसहरुले सामुहिक रुपमा गाउँ पुजा प्रकृति पुजक र पानीको मुहान संरक्षण गर्ने मनसायले पुजा गर्दछन् । जसमा नेवार, दलित विश्वकर्मा, मगर जातिका मानिसहरुले पुजा गर्दछन् । मगर जातिभित्रका सिंजाली, रामजाली, तारमी, सलामी, बुढाथोकी थरका मगरहरुले पुजाआजामा सहभागी हुन्छन् । (थापा मगर, टिकाराम, वर्ष ६८) । सहभागी टोलका गाउँपुजामा सबैलाई सामुहिक रुपमा अनिवार्य रुपमा सहभागी हुन र धुपबत्ती लिएर आउनका लागि खबर गरिन्छ । दामासाहीले भागबण्डा गरेर पुजाआजाको खर्च हिसाब मिलान गरिन्छ । एक घरका एक जना अनिवार्य उपस्थिती भनिए पनि कुनै घरका दुईतीन जना सहभागी हुन्छन् भने कुनै घरका मानिसहरु छिमेकीहरुलाई धुपबत्ती लगिदिन व्यस्तताका कारणले अनुरोध गर्ने चलन छ ।
झाँक्री पुजा गर्ने
पानीको मुल भएको स्थानमा झाँक्रीको पुजा ठुलो रुख समेत भएको स्थानमा गरिन्छ । बिहान सबेरै ४, ५ बजेतिर मानिसले पिउने, खाने शुद्ध पिउने पानी लिन जाने गर्दथे । उज्यालो भएपछि धेरै मानिसहरुको जमघट र दिउँसोको समयमा गाईवस्तु, राँगोले कुवाको पानी पिउने भएकोले फोहोर हुने भएकोले बिहान पिउने पानी लिन गाग्री लिएर जाने गर्दथे । तर आजभोलि झाँक्री पुजा गर्ने स्थानमा ट्याङ्की निर्माण गरेर पानीको मुललाई संरक्षण गरी एक घर एक धाराको निर्माणको प्रक्रियामा रहेको छ । झाँक्री पुजाले पानीको संरक्षण र प्राण भर्ने पानीका पुजासँग जोडिएको छ । कोही कसैलाई पेट दुख्ने, टाउको दुख्ने, बान्ता हुने भएमा लामा, झाँक्रीको हेराउँदा झाँक्री लागेको छ भनी देखाएमा सो बिरामी व्यक्तिलाई झाँक्रीलाई उठाएमा सन्चो हुने विश्वास गरिन्छ । सन्चो भएमा बली पुजा समेत गर्ने प्रचलन छ ।
खुशी हुन र पिडा भुल्न पुजा
गाउँघरमा मानिसहरु दिनहुँ काममा व्यस्त हुने, खेतीपातीको काममा वैशाख जेठको महिनामा खडेरीले पानीको अभाव पर्ने भै आकाशे पानीको कामना स्वरुप गाउँ पुजा स्वरुप झाँक्री पुजा गर्ने कार्य सामुहिक र एकता भावले गरेपछि पुजाको दिनमा आकाशबाट समेत पानी पर्ने गरेको जनविश्वास छ । आकाशबाट पानी परेको उपलक्ष्यमा झाँक्री पुजा राम्रो भएकोले खुशी हुने चलन छ । (थापा मगर, टिकाराम) । खेतीपाती राम्रो हुने आशामा सिंचाईको सुविधा नभएको पहाडी भेगमा राम्रो खेतीपाती हुने विश्वास गरिन्छ । पानी परेपछि कृषि उत्पादन बढी हुने भएकोले अनिकाल नपर्ने पिडाबाट मुक्त हुने भएकोले खुशीयाली व्यक्त गर्दछन् ।
सामुहिकता र एकता प्रदर्शन
प्राकृतिक पानीको मुल श्रोत उपभोग गर्ने मानिसहरु बीचको गाउँ पुजामार्फत सामुहिकता र एकताको भावना प्रकट गरिन्छ । गाउँ टोलका सबै घरलाई अनिवार्य सहभागीताको लागि अनुरोध गरिन्छ । (थापा मगर, गन बहादुर) । कसैको घरमा मरु परेको, सत्को परेको भएमा मात्र गाउँ पुजामा सहभागीको लागि अनिवार्य गरिदैन । गाउँ पुजामा एकआपसमा भलाकुसारी र छलफलले भातृत्व विकास, बन्धुत्व प्रवद्र्धन र सामुहिक निर्णयमा विकास गरेको पाउन सकिन्छ । प्रकृति पुजक तथा भुमे पुजाको एक प्रकारको पुजा भएको मान्न सकिन्छ । तर, भुमे माईको पुजा भनेर मुलाबारी वनको शिरमा गर्ने चलन रहेको स्थानीयहरु बताउँछन् । गाउँ घरका नयाँ नयाँ जानकारी र खबरहरु सामुहिक रुपमा आदानप्रदान हुने माध्यम हुने छ । एकआपसको सम्वादले समाजका गतिविधीहरु बारेमा जानकारी लिने प्रचलन हुन्छ ।
मानिस र पशुपालनको पानीको प्रमुख श्रोत
भकुण्डे गाउँको बिचमा पानीको मुल नभएकोले एक मात्र पानीको मुल झाँक्री पुजा गर्ने र गाउँ पुजा गर्ने स्थानमा भएकोले जिवन जिउने र गाईवस्तुको लागि पानीको प्रमुख श्रोत भएकोले पुजाआजा गरिएको बताउँछन् । (थापा, डम्मर बहादुर, वर्ष ६७) । सबेरै सफा पानी भर्ने काम मानिसहरुको लागि र दिउँसो पानी भैसी, गाई ,गोरुको लागि गर्ने प्रचलन थियो । पछि गाईवस्तुको लागि ताल, पोखरी बनाउने प्रचलन विकास भयो । अहिले पानीको वैकल्पिक श्रोत सौरेको मुहानको पानी संकलन गरी खानेपानी प्रयोग गर्ने गर्दै आएको अवस्था छ । प्रत्येक घरमा धारा जडान गर्ने र पानीलाई संरक्षणको लागि ट्याङ्की निर्माण गर्ने कामको थालनी भएको छ । आजकल पहिले जस्तो भैसी, गाई, गोरु पाल्ने चलन हराउँदै गएकोले पोखरी सुक्दै र हराउँदै गएको छ ।
पुजा गर्दागर्दै पानी पर्ने मान्यता
गाउँ पुजाको दिनमा पुजा गर्दा गर्दै पानीका देवता खुशी भएर आकाशबाट पानी पर्ने गरेको भनाइ प्रशस्त मात्रामा पाइन्छ । पानी परेपछि पुजारीको पुजा सफल भएको मान्यता राखिन्छ । खेतीपाती राम्रो हुने खडेरीको समयमा अति आवश्यक पर्ने माग्नका गाउँलेहरु गाउँ पुजा प्रचलन रहेको छ । पुजा गर्दा गर्दै पानी परेका पछि गाउँलेहरु खुशी हुने र अर्को पटक समेत गाउँ पुजा गर्नुपर्ने धारणा व्यक्त गरेको पाइन्छ (लाल बहादुर थापा, ६९) । पुजा स्थल नजिकै पानीको मुल समेत भएकोले सोको पानी पिएर जिउने आधार भएकाले समेत गाउँ पुजा गर्ने प्रचलन बसेको पाइन्छ । पुजा स्थलमा खुल्ला चउर समेत रहेको छ । चउरमा गाईवस्तु जम्मा हुने स्थलको रुपमा चिरपरिचत रहेको छ ।
मगर बाहेक अन्य जाति समेत सहभागी हुने
मगर जातिका सिंजाली, रामजाली, सलामी थरका बाहेक सामुहिक पुजा भएकाले नेवार समुदाय र दलित समुदाय विश्वकर्मा जातिका मानिसहरु समेत सहभागी हुने गर्दछन । साथै गाउँ पुजामा विश्वकर्मा जातिले घ्यु धुपको बदलामा नगद पैसा नै चढाउने गर्दछन् । चोखो निष्ठा हुने चिजहरु मात्र सहभागिता जनाउने गर्दछन् । नेवार समुदाय र विश्वकर्मा समुदायका मानिसहरु पुजारी हुन पाउँदैन । मगर जातिहरुको प्रकृति पुजा प्रणालीमा खेतीपाती राम्रो होओस्, प्राकृतिक देवी प्रकोप नपरोस्, मानव जगतको भलो र संरक्षण होओस् भनेर गाउँ पुजा गर्दछन् । गाउँ पुजामा मगरहरु प्रकृति पुजक भै मानवमैत्री वातावरण होओस् भन्ने काम चाहाना र कामना व्यक्त गर्ने गरिन्छ ।
पुजामा सहभागीलाई बन्देज
गाउँ पुजामा कुनै घरमा एक वर्षसम्म मृत्यु भएको घरबाट सहभागी र सुत्केरी भएको छ भने सुतक बार्ने अवधी भएमा पुजामा सहभागी हुन बन्देज गरिएको हुन्छ । पुजाको खर्च लागतमा सहभागी गराउने चलन छैन । त्यस पुजामा सहभागी हुन छुटेका मानिसहरुले अर्को वर्षको पुजा सहभागी हुनु पर्ने हुन्छ । गाउँ पुजामा सहभागी हुनका लागि हुनका वल्लो घर र पल्लो घर हुँदै गाऊँ पुजामा सहभागी हुन समाचारहरु दिने चलन छ । सुतक र झुठोमा परेका घरपरिवारले गाउँ पुजा गर्न चाहेमा शुभ दिन पारेर मनोकामना पुरा होओस् भनेर छुटै दिनमा पुजा गर्ने प्रचलन छ ।
भाकल गरेर पुजा समेत छुटै गर्ने
गाउँ पुजा गर्ने स्थानका गाउँलेहरुले यदि पेट दुखेमा, टाउको दुखे, ज्वरो आएमा झाँक्री लामाहरुलाई अक्षेता हेराउने समयमा झाँक्री लागेको छ भनेर भाकल पुजा, पैसा उठाउने गरेको पाइन्छ । झाँक्री पुजा गर्न भाकल भएमा साँघर, कुखुराको भालेको बली पुजा गर्ने चलन समेत छ । सो उपचारात्मक पुजा बाहेक लाहुरे हुने पाऊँ भन्दै, रोजगारी हुन पाऊँ भन्दै र सु–स्वास्थ्यको कामना स्वरुप भाकल पुजा गर्ने प्रचलन रहेको छ । सामुहिक पुजाले गाउँभरिका मानिसहरु सहभागी भएपनि एकल पुजा गर्ने समयमा भने एकल परिवारको मात्र सहभागी हुने गरेको पाइन्छ ।
आदिवासी मगर समुदायको भुमे पुजा, प्रकृती पुजाका बारेमा जानकारी भएपनि गाउँ पुजा बारमा भकुण्डे, पुर्णपानीको चौरमा गर्ने परम्पराबारे छलफल र फोन वार्ता भएको छ । मगरहरुले सुर्य, चन्द्र, पृथ्वी, जल, वायु, चट्याङ आदि प्रकृतिलाई सृष्टि रचनाको देववर्गीय प्रतिकका रुपमा स्थापित गरेको पाइन्छ । मगरहरुका पितृपूजा, कुलपुजा, बराह पुजा, भुमे पुजा, माइ पूजा, रुखको पूजा, बाजे बराज्यूको पुजा, सिद्ध देवता, देवाली पुजा, झाँक्री पुजा गर्ने प्रचलन रहेको छ । त्यस स्थानमा गाउँ पुजा गर्ने नेवार समुदाय र थकाली समुदायका मानिसहरु बसाइ सराइ सरेर शहरी स्थानमा सबैभन्दा पहिलो गरेका छन् । त्यसपछि मात्र मगरहरु समेत बागलुङ बजार, पोखरा, काठमाडौं, बुटवल, भैरहवा, नारायगढतिर बसाइसराइ गरेको छलफलबाट जानकरी भयो ।
निष्कर्ष
गाउँ पुजामा सबै गाउँभरिका मानिसहरुको समान सहभागीता हुने भएकोले पानीको मुलको पुजा सँगसँगै झाँक्री पुजा र प्रकृती पुजाको तरिकाले माइ पुजा समेत जोडेर गर्ने गरेको पाइन्छ । बाक्लो मगर जातिको बसोबास स्थल भएपनि आडमा भएका दलित विश्वकर्मा समुदाय र नेवार समुदायका मानिसहरु समेत गाउँ पुजामा सहभागी हुने गरेको पाइन्छ । पछिल्लो चरणमा मानिसहरुको बसाईसराईको तिव्र गतिका कारण गाउँमा युवाहरुको कम उपस्थिति रहेको कारण गाउँ पुजा वर्षेनी गर्ने परम्परामा अनियमित र कमी आएको छ । पानीको मुलमा संरक्षण र संकलनको लागि टयाङ्की निर्माण गरिएको अवस्था छ । गाउँ बस्तीका वरीपरिका खेतीयोग्य जग्गाहरु समेत बाँझो जग्गामा परिणत भएका छन् । बागलुङ बजारबाट भकुण्डे गाउँसम्म मोटरबाटो सहज तरिकाले निर्माण भएकोले बजारबाट किनेर खाने प्रचलन बढेको छ । पानीको मुललाई आगामी पुस्ताको लागि संरक्षण गर्ने र शुद्ध पिउने पानीको रुपमा बचाइ राख्ने काम चुनौतीको रुपमा रहेको छ । पानीको गाउँमा वैकल्पिक श्रोत नभएकोले खडेरी परेमा मुख्य एकमात्र पानीको श्रोत गाउँ पुजा गर्ने स्थलमा रहेको छ ।
पानीलाई मानिसहरुको लागि मात्र नभै पशुपालनको लागि समेत बहुत उपयोगी हुन्छ । अहिले भकुण्डे गाउँका केही टोलहरुमा ‘एक घर एक धारा’को निर्माण भएको, गाईभैसी पाल्ने प्रथामा कमी आएको, महिलाहरुको मात्र उपस्थिती अधिक भएको कारणले गाउँ पुजालाई निरन्तरता दिनमा कठिनाइ भएको छ । युवा पुस्तामा धार्मिक कार्य, कला संस्कृति, पराम्परा संरक्षणमा लगाव घटदै गएको होकी भन्ने आँकलन गर्न सकिन्छ । साथै बाह्य संस्कृतिको प्रभाव र दबावका कारण गाउँ घरमा चल्दै आएका संस्कृति लोपउन्मुख हुदै जानु कसैका लागि पनि राम्रो मानिदैन । राज्य, प्रदेश, स्थानीय सरकारबाट समेत चासो र चिन्ता लिएर पुराना कला संस्कृति बचाउनेतर्फ, प्रमाणीकरण गर्ने र अभिलेखीकरण गर्नेमा शिलशिलाबद्ध तरिकाले लाग्नुपर्छ । साथै गाउँ पुजा जस्तै अन्य संस्कृति र चालचलनहरु जोगाउनमा लाग्नु पर्दछ । बागलुङ भकुण्डेका मगरहरुले गर्ने गाउँ पुजाको विधि, प्रक्रिया, महत्वलाई जोगाइ राख्न अनिवार्य भएको छ । किनकी पर्यटनको पुर्वाधार, सामुहिकतामा विश्वास र एकताको मनोबल निर्माण गर्ने स्थलका रुपमा विकास र प्रवद्र्धन गर्न सकिन्छ ।




