बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

१५ औँ अन्तर्राष्ट्रिय महिला दिवस र नारीवादी आन्दोलनका सवालहरू

१५ औँ अन्तर्राष्ट्रिय महिला दिवस र नारीवादी आन्दोलनका सवालहरू


  • डा. नरनाथ पाण्डे
  • फाल्गुन २४ २०८२, आइतबार

अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को सन्दर्भ
अन्तर्राष्ट्रिय महिला दिवस वा नारी दिवस (International women’s day) मार्च ८ तारिख तदनुरुप यसवर्षको फागुन २४ गते ११५ औं दिवसका रुपमा संसारभर मनाईंदै छ । सदाका वर्षमा झैं यसपटक पनिRights, Justice, Action For All Women and Girls: अर्थात् सबै महिला र केटीहरूको लागिः अधिकार, न्याय र कार्य भन्ने संयुक्त राष्ट्रसंघ (UNO) को मूल विषयलाई केन्द्र बनाई विश्वभर लगायत नेपालमा समेत अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै छ । यसैगरी विश्व महिला दिवस (IWD) अभियानको विषय पनि Give To Gain अर्थात् दिनुहोस् र लिनुहोस् भन्ने रहेको छ । यी दुवै धारणा अनुसार यसवर्षको नाराको अर्थ संसारभरका सबै महिलाहरू कतै न कतै कुनै न कुनै रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले दोस्रो नागरिक सरह भएकै छन् । उनीहरू आफ्नो अधिकार प्राप्तिका लागि बोल्न र एकजुट हुन नसकिरहेको परिस्थिति हुनसक्छ । त्यसकारण उनीहरूका हरेक पक्षमा अधिकार सुनिश्चितताका लागि, महिलाहरूलाई समेत समान किसिमको न्याय प्रदान गर्नका लागि, लैङ्गिक समानताका लागि र यसका लागि आजैदेखि काम गर्नका लागि सशक्त हुन प्रेरित गर्नु रहेको छ । जबसम्म महिलाहरूले आफ्ना हक अधिकार, समान व्यवहार, समान किसिमको न्याय व्यवस्था र यसको कार्यान्वयन गरी आत्मनिर्भर बन्न सक्दैनन् तबसम्म महिलामाथि गरिने र हेरिने दृष्टिकोणमा सुधार आउन नसक्ने भएकाले अहिलेको महिला दिवसका अवसरमा यस्तो नारा तय गरिएको हो ।

त्यसैगरी महिलाहरूले आफ्ना हक अधिकार प्राप्त गर्नका लागि र पुरुषकै तुलनामा एकसाथ हिंड्नका लागि पुरुषहरूबाटै सहयोग हुनुपर्छ । महिलामाथि समान व्यवहार गर्न र अधिकार प्राप्त गर्न जब पुरुषहरूबाट प्रेरित गरिन्छ, तब मात्र हामी राम्रो संसारको निर्माण गर्न सक्छौं । त्यस्तै, जब महिलाहरू आफैं अधिकार प्राप्तिका लागि अग्रसर हुन्छन्, त्यहाँ सान्दर्भिकता र सशक्तीकरणको भावना समेत उत्पन्न हुन्छ भन्ने रहेको छ । आजको यस दिवसले सामूहिक रुपमा महिलाहरूलाई हरेक पक्षमा हक अधिकार दिन, न्याय प्रदान गर्न र समान बनाउन सबैले सबैलाई प्रेरित गरौं र महिलालाई पनि पुरुष सरहकै स्थानमा राखौं भन्ने उद्देश्य राखेको छ । महिलाहरूलाई सशक्तीकरण गराउने अभियानका लागि महिलालाई समान अवसर मात्र होइन कि हरेक क्षेत्रमा अधिकार, न्यायोचित व्यवहार र समावेशीको अवसर समेत दिनुपर्छ वा संसारभर यो मान्यतालाई सबैले अङ्गाल्नु पर्छ भन्ने यस वर्षको महिला दिवसको नाराको अर्थ हो भन्ने लाग्छ ।

आखिर संसारको आधा आकाश ढाक्ने महिलाहरूलाई संसारमै किन यसरी पछाडि पारियो र पुरुषको तुलनामा महिला पुग्न सकेनन् ? अहिले किन महिला समानता, महिला अधिकार, सशक्तीकरण र समावेशीका कुराहरू अघि आए भन्ने सन्दर्भमा बुझ्नका लागि नारीवाद सम्बन्धी अध्ययन मननको आवश्यकता छ । अन्तर्राष्ट्रिय नारी दिवसका दिन नारीवाद के हो, नारी प्रतिको दृष्टिकोण संसारमा के कस्तो छ भन्ने जस्ता कुराहरूमा बहस हुनुपर्ने भएकाले यो आलेखमा चर्चा गरिएको छ ।

महिलाहरूलाई अधिकार प्रदान गर्न, सशक्तीकरण बनाउन, समान र समावेशी बनाउन निम्न बुँदाहरूमा ध्यान दिनुपर्ने हुन्छ–
–महिलालाई आर्थिक जिम्मेवारी र सशक्तीकरणको मौका दिने,
–महिलाको क्षमता अनुसार नोकरी तथा अन्य व्यक्तित्व विकासमा सहभागी गराउने,
–नेतृत्वमा, निर्णयकर्ताका रुपमा र व्यवसायमा समेत समावेश गराउने,
–सम्पत्ति तथा भौतिक निर्माणमा पनि सहभागी गराउने,
–आफ्नो स्वास्थ्यको बारेमा आफैं निर्णय गर्नसक्ने अवस्था सृजना गर्ने,
–खाद्य सुरक्षा तथा कृषि उपजमा निर्णय गर्ने अवसर दिने,
–गुणस्तरीय शिक्षा तथा तालिममा पहुँच पु¥याउने,
–खेलकुदका क्षेत्रमा उच्च सहभागिताका लागि हौसला र प्रेरणा दिने,
–रचनात्मक, कलात्मक र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने र
–अन्य कुनैपनि क्षेत्रमा महिला सहभागिताका लागि सम्बोधन गर्ने ।

यसरी प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको अर्थ महिलालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक र लैङ्गिक समानता प्राप्त गर्न सफल बनाउनु हो वा त्यस्तो अवस्था कायम गराउनु हो । तर पितृसत्तात्मक परिवार प्रथाका कारण नेपालमा मात्र नभई संसारका धेरै देशमा महिलालाई दोस्रो दर्जाको नागरिक मानिन्छ र महिला अधिकारलाई पछाडि राखिएको छ । त्यसकारण संसारमा नारीवादी आन्दोलनको सुरु भएको हो । यसरी नारीवादी आन्दोलनकोे सुरुवात भएको दिनलाई अर्थात् मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय नारी दिवस भनेर मनाउने प्रचलन छ । संसारमा नारीवादको इतिहास धेरै लामो छैन । यो १९ औं शताब्दी देखि मात्र सुरु भएको हो । प्रथम महिला अन्तर्राष्ट्रिय दिवस सन् १९११ देखि मनाउन थालेको पाइन्छ तापनि संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्ष घोषणा गरेको र १९७७ देखि मात्र औपचारिक रुपमा अन्तर्राष्ट्रिय महिला दिवस भनेर मनाउन थालेको हो ।

नारीवाद र यसको इतिहास
अंग्रेजी शब्द ँझष्लष्कm (फेमिनिज्म्) को नेपाली रुपान्तरण नारीवाद भन्ने हुन्छ । समाजमा प्राचीनकालदेखि प्रचलनमा रहेको लिङ्ग केन्द्रित पुरुष विचारधाराका साथै पितृसत्तात्मक धारणा र व्याख्याप्रति प्रश्नचिन्ह खडा गर्दै पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परागत मूल्य र विरोधका साथै नारीको हक, हित र समानताको पक्षधर मतलाई नारीवाद भनिन्छ ।

नारीमुक्ति आन्दोलनको इतिहास र वर्तमान
पश्चिमी मुलुकहरूमा नारीमुक्ति आन्दोलनको सुरुवात अठारौं शताब्दीमा नै भएको पाइन्छ । सन् १७९२ मा सर्वप्रथम मेरी उलस्टोनक्य्राफ्ट्, सन् १८६९ मा मार्गरेट फुलर, सन् १९२० मा रिबेका बेस्ट् तथा भर्जिनिया उल्फ, सन् १९४९ मा साइमन दी बुभा जस्ता आदि महिला साहित्यकारहरूको योगदानबाट सशक्त बनेको पाइन्छ । खासगरी सन् १९७० पछि नारीवादी दृष्टिकोणलाई प्रख्यात महिला साहित्यकारहरूले साहित्यका माध्यमले फरक मोडमा पु¥याएको पाइन्छ । नारीवादी सोंचको विकास निम्न तीन चरणहरूमा भएको पाइन्छ–

१. नारीजातीय चरण (Feminine stage)
यो सन् १८४० देखि १८८० को अवधिको चरण हो । यस चरणमा पितृसत्तात्मकताको विरोध नगरी भाले परम्परा र सौन्दर्यशास्त्रको अनुकरण गर्दै घरेलु तथा सामाजिक पृष्ठभूमिमा नारीको चित्रण गरिएको पाइन्छ ।

२. नारीवादी चरण (Feminist stage)
सन् १८८० देखि १९२० सम्मको यस चरणमा नारीहरूले पितृसत्तात्मकताको विरोध गरी भाले मूल्यमान्यताको उपेक्षा गरिएको पाइन्छ ।

३. नारी चरण (Female stage)
सन् १९२० देखि हालसम्मको यस चरणमा नारीहरूले स्वायत्त नारी परिप्रेच्छको जोडदार वकालत गरेका छन् र आफ्नो पहिचानको खोजी गरेका छन् । साथै पितृसत्तात्मक सोचका कमीकमजोरीको पर्दाफास गरी अन्तमा परिवर्तन गर्ने उद्धेश्य यस चरणमा राखेको पाइन्छ ।

संसारका खासगरी मुस्लिम देशहरूमा अझैपनि नारीहरूलाई गरिने व्यवहार, राजनितिक हक, अधिकारको बाँडफाँड जस्ता कुराहरूमा विभेद नै गरेको पाइन्छ । ईरानको इस्लामिक राज्यमा इस्लामिक सिद्धान्तअनुसार महिलालाई दोस्रो दर्जाको नागरिक मानिन्छ । महिलाहरु सर्वोच्च पदमा पुग्न नपाउने, केही न्यायिक भूमिकामा महिलालाई प्रतिबन्ध लगाउने, पारिवारिक कानुनमा असमान नियम लागु गर्ने र महिलालाई पूर्णरुपमा स्वतन्त्र नागरिकको अधिकार नदिइ सार्वजनिक नैतिकता र पवित्रतासँग जोडेर हेर्ने गरिन्छ । यसैगरी हाल तालिबानी सरकारले अफगानिस्तानमा महिलालाई गरेका व्यवहारहरूको त जस्ता शब्दमा घृणा गरेपनि कमै हुन्छ । २००४ सालमा बनेको लिखित संविधानलाई निलम्बन गरी शासन सत्ता हातमा लिएको तालिबानी सरकारले विश्व महिला दिवसकै अभियानको सेरोफेरोमा हालसालै मात्र महिलाविरुद्ध कडा कानुनहरु बनाइ लागु गरेको छ । जुन संसारकै सबैभन्दा क्रुर अवस्था हो । उक्त कानुनमा महिलालाई प्राथमिक शिक्षा पछिका शिक्षाको अवसरमा पूर्ण प्रतिबन्ध, पेसामा प्रतिबन्ध, पुरुष अभिभावक बिना यात्रा तथा सार्वजनिक स्थानमा जान प्रतिबन्ध, अनुमतिबिना घरबाट निस्कन प्रतिबन्ध, आवाज निकाल्न र अनुहार देखाउन प्रतिबन्ध लगाइएको र यस्ता कानुनको उल्लंघन गरे हड्डी भाँचिदासम्म पिट्न पाइने र धर्म त्याग गरेमा त आजीवन कुटपिट सहित काराबासको सजायँ हुनेजस्ता अत्यन्तै अशोभनीय कानुन लगाइएको छ । जसले गर्दा महिला अधिकारकर्मीलाई चुनौति समेत थपिएको छ ।

संसारका धेरै देशमा अझै पनि महिलाले चुनावमा भोटसम्म हाल्ने अधिकारको लागि लडाईं लड्नु परिरहेको छ । महिलाहरूप्रति हेर्ने दृष्टिकोण जबसम्म परिवर्तन हुँदैन, तबसम्म महिलाहरू यसरी नै पीडित भइरहनुपर्ने अवस्था छ ।

नेपालमा नारीहरूको अवस्था
नेपालको सन्दर्भमा महिला हक, अधिकार र स्वतन्त्रता प्राप्त गर्नपनि महिलालाई निकै आन्दोलन गर्नुपरेको इतिहास छ । महिलालाई दोस्रो दर्जाको नागरिक मानी घरको चुलो चौकोमा, बच्चाको स्याहार सुसारमा, अनुत्पादनशील कार्यमा, परिवारको सेवा सुषुश्रामा मात्र सिमित राख्ने अवस्थाबाट बिस्तारै मुक्ति पाउन थालेको संकेत देखापर्दैछ । यी लगायत महिला भएको कारण गर्भमै भु्रण नष्ट गर्ने, जन्मेपछि फरक दृष्टिले हेर्ने, किशोरी तथा बाल्यकालमा बलात्कार गर्ने, सानै उमेरमा बिहे गरिदिने, दाइजोका कारण मर्नुपर्ने, बंश परम्परा धान्न बच्चा जन्माउनुपर्ने, श्रीमान् छउन्जेल श्रीमान्को नियन्त्रणमा रही श्रीमान् मरेपछि छोराको नियन्त्रणमा रहनुपर्ने, प्रजनन् समस्याहरू बोकी बाँच्नुपर्ने र उचित उपचार नगर्ने, छाउपडी प्रथा मान्नुपर्ने, बुढेसकालमा बोक्सीको आरोप सहनुपर्ने जस्ता आदि अनगिन्ती समस्याहरू नेपालमा पनि छन् । जुन कुराहरू कोट्याइरहँदा यहाँ स्थान अभाव होला तर यति चाहिं भन्नैपर्ने हुन्छ कि नेपालमा महिलाहरूले अन्य देशको तुलनामा अलि बढी राजनीतिक अधिकार प्राप्त गरिसकेका छन् । नेपालमा हाल महिलालाई हरेक निकायहरूमा आरक्षणको व्यवस्था, संविधानमा राजनीतिकरुपमा ३३ प्रतिशतको अधिकार, दक्षिण एशियामै पहिलो पटक पूर्णरुपले प्रजनन् वा गर्भपतनको अधिकार जस्ता निकै महत्वपूर्ण प्रगति हासिल गर्न नेपाली नारीहरू सफल भएका छन् । ती अधिकार प्राप्त भएकै कारण आज नेपालको राज्यसत्तामा महिलाहरूको तुलनात्मक रुपमा राम्रो उपस्थिति रहेको छ तर पर्याप्त छैन । नेपालमा नारीले राष्ट्रपतिको पदमा बसी २ कार्यकाल बिताउनु, सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुनु र जेनजी आन्दोलन पछि बनेको सरकारमा नेपालकै पहिलो महिला प्रधानमन्त्रीका रुपमा नियुक्त हुनु पनि नेपाली महिलाहरूको कम उपलब्धि हो भन्न मिल्दैन ।

अन्तमा ,
प्रकृतिले महिलालाई पुरुषको दाँजोमा शारीरिक रुपमा केही कमजोर अवश्य बनाएको छ र महिनैपिच्छे हुने शारीरिक समस्या, प्रजनन्को जिम्मा, स्तनपान गराउनुपर्ने बाध्यता जस्ता आदि कारणले महिलालाई केही पछि पारेको छ । अन्यथा महिलामा पुरुषको जस्तो मानसिक क्षमता, सामाजिक सहभागिता र सृजनशीलता आदि अब्बल नै हुनेगर्दछ । शारीरिक संरचनागत समस्याको फाइदा उठाइ महिलालाई पुरुषले भेदभाव गर्नु र समान सहभागिता गराउन आनाकानी गर्नु केवल पुरुषको स्वार्थी भावना र पितृसत्तात्मक सोंचको मात्र उपज हो । महिला पुरुष दुवै बराबरी हुन्, लिङ्गकै आधारमा कोही पनि ठुलो र सानो हुने होइन, समताका आधारमा दुवैले समान हक र अधिकार पाउनुपर्छ भन्ने कुरामा सबैले हेक्का राख्नु आवश्यक छ । यस्तो सोंचको विकासको लागि समेत नारी दिवस मनाउनु सान्दर्भिक छ । यसरी मार्च ८ तारिख भनेको विश्वभरका महिलाहरूको लागि विशेष दिन हो । जुन दिनमा महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूको विश्लेषण गरी विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यो दिन महिला दिवसको रुपमा मात्र सीमित नरहोस् र यो दिनले महिला समानता, अधिकार, सशक्तीकरण र समावेशीताका लागि गति अघि बढाउने उत्सव ल्याउन आह्वान गरोस् । नारी दिवसको अवसरमा विश्वभरका सबै नारीहरूलाई धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->