अन्तर्राष्ट्रिय नारी दिवस नारीका संघर्ष, उपलब्धी र सम्भावनाको उत्सव हो । यसले हामीलाई विगतका पीडालाई सम्झँदै वर्तमान सुधार गर्न र उज्ज्वल भविष्य निर्माण गर्न प्रेरणा दिन्छ । समाजमा समानता, सम्मान र सशक्तीकरणको प्रतीकका रूपमा नारी दिवसलाई लिइन्छ । नेपाली समाज सदियौंदेखि नारीहरुको सम्मानमा झुकाव राख्ने गरेको समाज हो । तथाकथित समाजमा विकृत रुपदेखिनु सरकार र आम सर्वसाधारणको दुर्भाग्य हो । परन्तु धर्मशास्त्रले नारीलाई देविका रुपमा पुजा गरेर सम्मानको बोध गराएको भुल्नु हुँदैन । नीतिशास्त्रले ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ जहाँ नारीको पुजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भनेर अथ्र्याएको छ । नारीलाई देवी मान्नु, कन्या पुजन गर्नु, पाउको जल खानु, उनैलाई अघि लगाएर साइत गर्नु, छोरीचेलीको खर्च लिनु पाप हो । उनीहरुको मानो खानु हुँदैन भन्नू नारी सम्मानका ज्वलन्त उदाहरण हुन् ।
मैले यो भनिरहँदा विगतमा नारीलाई शिक्षाको पहुँचबाट बाहिर किन राखियो ? बाह्य जगतमा किन स्वतन्त्रता दिइएन ? भन्ने प्रश्न उठलान् । हाम्रो धर्मले नारीलाई ममतामयी, दया र मायाकी खानीका रूपमा अथ्र्याएको छ । ‘माता गुरुतरा भूमेः पिता उच्चतरस्तथा, मातृदेवो भवः, पितृदेवो भवः ।’ आमा पृथ्वीभन्दा पनि महान् हुन्छिन् । त्यसैले आमा र बाबालाई देवता समान मान्नुपर्छ । साक्षात ईश्वरको दर्शन चाहानु हुन्छ भने सबैभन्दा आमाको सान्निध्यमा जानु भन्ने भाव यहाँ अभिव्यक्त छ ।
पहिले पहिले नारीहरुलाई बाह्य जगतका यावत् कार्यमा लाग्न रोकिएको नभएर सुरक्षित राखिएको हुनुपर्छ । तत्कालीन परिवेश कृषिमा आधारित थियो । ढुङ्गा माटोमा खेल्नुपर्ने, दैनिक कठोर मिहिनेत गरेर गुजारा चलाउनु पर्ने परिस्थितिका बिच नारीको शारीरिक अवस्था हेरेर घरायसी काममा सिमित बनाइएको हुनुपर्छ । सृष्टि प्रक्रिया धान्नुपर्ने हुनाले प्रसव पीडा र मासिक धर्मका बखत शारीरिक तन्दुरुस्तीलाई मध्यनजर गरेर नै उनीहरु घरभित्र रोकिएको बुझिन्छ । परचक्रीको दृष्टिदोषबाट छोरीचेली जोगाउन होस् या कोमल हृदयलाई बाहिरी कठोर दैनिकीबाट मुक्ति दिन किन नहोस् तत्कालीन समयमा नारीहरुको सुरक्षा र संरक्षणलाई विशेष रूपमा हेरिएको बुझ्न सकिन्छ । उदाहरणका लागि सन्तानोत्पात्तिको समयमा पुरुष स्वयं मलाम जान र काटमारमा सहभागी हुन वर्जित छ । यो समयमा यस्ता दुषित कार्यमा समावेश हुँदा मानवीय मन र गर्भको शिशुलाई समेत असर पर्ने हुनाले महिलाहरूलाई रोक लगाइएको बुझ्न सकिन्छ । जसलाई आधुनिक विज्ञानले पनि पुष्टि गरेको छ ।
आजको दिनसम्म आइपुग्दा नारीहरुको परिवर्तित जीवनस्तरले शिखर चुम्दो छ । नेपाली समाजमा नारी अधिकारका उल्लेख्य आवाज उठाइएका छन् । जुन स्वागतयोग्य छन् । परन्तु आफ्नै देश, समाज, समुदाय र परिवारबाटै नारीहरु असुरक्षित छन् । हत्या, हिंसा, बलात्कार र दुव्र्यवहारका घटनाहरु आइरहेका छन् । धर्मले नारीलाई “नारीणां हि महत् भाग्यं देवतानामपि दुर्लभम् । यत्र नार्यः पूज्यन्ते तत्र श्रीः स्थिरा भवेत् ।’ भनेर स्त्रीहरूको स्थान अत्यन्त महान् हुन्छ । जहाँ स्त्रीहरूको सम्मान गरिन्छ, त्यहाँ लक्ष्मी (समृद्धि) स्थिर भएर बस्छिन् भनी समाजलाई नारी सम्मानमा एकजुट गराएको छ ।
हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । यो दिवस महिलाको अधिकार, संघर्ष, योगदान र उपलब्धीलाई सम्मान गर्ने विशेष अवसर हो । समाजको आधा हिस्सा ओगट्ने महिलाहरूबिना कुनै पनि राष्ट्रको समग्र विकास मात्रै नभएर नेपालको हकमा कसैको चुल्होमा आगो बल्ने अवस्था छैन । नारीलाई अघि लगाएर शुभकार्य गर्ने नेपाली समाजले स्त्री बिनाको जीवन कल्पना गर्नै नसक्ने अवस्थामा छ । त्यसैले त शास्त्रमा गौरीशंकर, सिताराम, लक्ष्मीनारायण र राधाकृष्ण भनेर आध्यशक्तिका रूपमा नारीलाई पुजिन्छ । वैदिक समाजमा पुरुषहरु लोभचक्करमा फस्थे, समाजमा विकृत कार्य गथ्र्ये । तर नारीहरु सधैं सहनशीलतामा रहेर सन्तान, पतिको रक्षार्थ योद्धा बनिरहे । पितृसत्तात्मक समाज भनेर हिन्दु समाजप्रति औंला ठड्याउनेहरुले बुझ्नु पर्छ । ढुङ्गा बोक्न, दलिन बोक्न र लास बोक्न महिलालाई अघि नसारिएको सम्मानका खाँतिर हो । ताकी उनीहरुलाई कुनै अप्ठ्यारो नपरोस् । मर्नु परे हामी मर्छौ । स्त्रीसुलभ हृदयलाई दुखित तुल्याउनु मर्दलाई सुहाउँदैन भन्ने भाव तत्कालीन पुरुषमा थियो । अर्को कुरा सन्तानको रेखदेख र पालनपोषणमा मातृवात्सल्यको अभाव हुन्छ । यसर्थ पनि मर्ने मार्ने र युद्धमा नारीलाई पछि राखिएको हो । अझै सरल भाषामा बुझौं हाम्रो समाज अझै पनि स्त्रीप्रति अथाह सद्भाव राख्ने समाज छ । ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।’ सम्पूर्ण प्राणीहरूमा मातृरूपले विराजमान देवी (नारी)लाई बारम्बार नमस्कार । यहाँ नारीलाई सृष्टिकी जननी र शक्ति स्वरूप देवी मानिएको छ । नारी सृष्टिकर्ता हुन् । नारी देवी हुन् । नारीबिना यो संसार अधुरो रहन्छ । नारीमा त्यो गुण हुन्छ जुन गुणले आफू भोको रहेर सन्तान र परिवारको खुशीमा पटुकी कस्न सक्छ । उनीहरु मेरोमा भन्दा हाम्रो भावमा सुख खोज्छन् । त्यसैले त हाम्रो समाजमा एकको दुई नहुनुलाई अभिशाप मानिन्छ । जस्को घरमा श्रीमती छैन त्यो पुरुषलाई समेत अपसकुनको बिल्ला भिराइन्छ । विधवा नारीको भन्दा विधुर पुरुषको परिचय र जीवन असन्तुलित हुन्छ । हुन पनि एकल पुरुषले प्रगतिको कुनै चाह राख्दैन । ‘साहसं षड्गुणं चैव कामश्चाष्टगुणः स्मृतः ।।’ स्त्रीमा पुरुषमा भन्दा छ गुणा बढी साहस हुन्छ । जुन साहस र पराक्रमका कारण नारीले नै प्रगतिको बाटो समाएर पुरुषलाई उचाइमा पुर्याउँछन् । सामान्य रुपमा बुझ्ने भने पनि नारी सर्वशक्तिमान हुन्छन् । एक्लो पुरुषभन्दा एक्लि नारीले तुलनात्मक रुपमा खुशी जीवन व्यतीत गर्ने सामथ्र्य राख्छिन । उदाहरण लागि विवाहित महिलालाई हेरौं । छोटो अवधिमा पनि पुरै समाजलाई चिनेर परिवार चलाउने साहस लिन्छन् । त्यसैले नारीहरु महान छन् ।
नीतिले ‘न गृहं गृहमित्याहुर्गृहिणी गृहमुच्यते ।’ घरलाई केवल भवन मात्र भनिँदैन, घरकी स्त्री (गृहिणी) नै वास्तविक घर हुन् । यसै कारण त नारीलाई परिवारको आधारस्तम्भ मानिएको छ । पतिपत्नीको सामिप्यता, सौहाद्र्रता, इच्छा, चाहना र कठोर परिश्रमले घर बन्छ । सन्तान सुख मिल्छ । जग्गा जमिन, धनदौलत, गाडी र ऐशआराम मिल्छ । यसर्थ पनि नारी पुज्य छिन् । त्यसैले नारी दिवस केवल आधुनिक उत्सव मात्र होइन । परम्पराको निरन्तरता हो । निरन्तर संघर्षको सम्झना मात्रै होइन, पुरुष उपरको उच्चताको प्रतीक हो नारी दिवस, आधुनिक नारी दिवसले समानता र न्यायका मुद्दाहरु उठायो तर पुरुष प्रदान समाज भनिएको वैदिक समाजले दिएको नारी सर्वोच्चतालाई आत्मसाथ गर्न सकिरहेको छैन । त्यसैले त आज पति÷पत्निका बिच को ? ठूलो भनेर युद्ध चर्किएको छ । छोराछोरीको देखदेख, पालनपोषण र शिक्षादिक्षा कस्ले गर्ने भनेर विवाद उत्पन्न भएको छ । घरभित्र आदर, सम्मान र माया हराएको छ । स्वनिर्णय र अधिकारमुखी जीवनशैलीले परिवारभित्र आतङ्क मच्चिएको छ । जीवनभर एक अर्काको परिपुरक बन्ने भनेर कसम खाएको विषय कथामा सिमित छ । के नारी दिवस यसैका लागि हो ? या त परिवार, समाज र राष्ट्रका लागि समान उत्तरदायित्वका लागि ? बुझ्नु पर्ने बेला भएको छ ।
१९ औँ शताब्दीमा समाजसेवी क्लारा जेट्किनद्वारा प्रवद्र्धित यो दिवसले शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीतिक सहभागितामा महिलाको पहुँच बढाउन महत्वपूर्ण योगदान दिएको छ । अभियानले महिलाहरुमा पनि पुरुषसरह क्षमता र प्रतिभा रहेको औंल्याउँछ । यद्यपि नेपालको हकमा अझै पनि धेरै महिलाहरू विभेदको सिकार बनिरहेका छन् । समाजमा लैङ्गिक असमानता जिवित छ । महिलाहरु घरेलु हिंसा, यौन दुव्र्यवहार, बालविवाह, मानव बेचबिखन र कार्यस्थलमा भेदभावजस्ता समस्याबाट पीडित छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरू अझै पनि विकासका पुर्वाधारबाट वञ्चित छन् ।
नारी सशक्तीकरणले महिलालाई आत्मनिर्भर, आत्मविश्वासी र निर्णय गर्न सक्षम बनाउँछ । शिक्षाले चेतना, रोजगारीले आर्थिक सबलता र अधिकारले सामाजिक सम्मान दिलाउँछ । जब महिला सशक्त हुन्छन्, तब परिवार, समाज र राष्ट्र सशक्त हुन्छ । शिक्षित आमा देशको भविष्य निर्माण गर्ने प्रमुख आधार हुन् । त्यसैले आमालाई शिक्षित र स्वस्थ बनाउनु पर्छ । समाजमा महिलाप्रतिको सम्मान, समान अवसर र न्याय सुनिश्चित गर्न र समानताको विगुल फुक्न यो दिवस विशेष ठहर्छ ।
पुरुष र महिला एकअर्काका प्रतिस्पर्धी होइनन्, सहयात्री हुन् । दुवैको सहकार्यबाट मात्र खुशी परिवार र समाज निर्माण सम्भव हुन्छ । त्यसैले लैङ्गिक समानता केवल महिलाको मुद्दा नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी हो । यसर्थ यो दिवसलाई एक दिवसिय कार्यक्रममा सीमित नराखी महिला सक्रियतामा केन्द्रित गर्नु पर्छ । जातिगत र दलगत महिला संगठनहरु खोलेर तिनै सङ्गठनहरुले नारी अधिकारलाई नियन्त्रणमा लिइनु हुँदैन । नारीमैत्री नीतिहरुलाई न सरकारले अबलम्बन गर्न सकेको छ । न त महिला अधिकारकर्मी र संघ सङ्गठनले न्याय दिन सकेका छन् । महिला अधिकारका नाममा यी संगठनहरुले घरबाहिर पुरुषलाई गाली गलौच गर्ने, अशिक्षित नारीहरु तिनै भाषणबाट प्रेरित भएर परिवारमा अशान्ति मच्चाउने प्रवृत्ति बढ्दो छ । अर्कोतर्फ यदि न्याय दिइन्थ्यो भने निर्मला पन्तको हत्यारा पत्ता लाग्थ्यो । यो घटनामा मात्रै पनि महिलाहरु एकजुट हुन सकेको भए गाउँ सहरमा असन्तुष्टिको आगो बल्थ्यो । सम्झनुस् महिलाहरु विद्रोही बन्थे भने कुनै घरको चुल्होमा आगो बल्दैनथ्यो । निर्मलाको आत्माले शान्ति पाउँथ्यो । माया त्यागीको घरेलु हिंसा र सीता नेपालीको मुद्दाले निकास पाउँथे । अनि गंगा माया अधिकारी र मैना सुनारले न्याय पाउँथे ।
महिला अधिकार भनेर समानुपातिक समावेशी सिद्धान्त बोक्दैमा, महिलाहरू राजनीतिक तथा प्रशासनिक जीवनमा सहभागिता हुँदैमा र संसद् भवनभित्र ८÷१० जना नेताका श्रीमतीहरुले पाउ टेक्दैमा सबै महिलाका आँखा ओबाउदैनन् । यो स्पष्ट छ । नेपालमा नारी अधिकार छ तर न्याय छैन । समाजमा रहेका कुप्रथा र नारीमाथी हुने शारीरिक, मानसिक हिंसाको अन्त्य गर्न उचित निकास खोजिनु पर्छ । समग्र क्षेत्रमा महिलाको पहुँच सुनिश्चित गर्न तल्लो तहबाट लाग्नु पर्छ । विश्वभर छरिएर रहेका महिलाहरुको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धीमा वृद्धि होस् । लैङ्गिक असमानता र हिंसाहरु निर्मूल होउन् । शुभकामना ।।




