बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

द्वन्द्वको चपेटामा सधै नेपाल प्रहरी

द्वन्द्वको चपेटामा सधै नेपाल प्रहरी

प्रहरी नेतृत्वलाई नै दोषी करार गर्ने हो भने बल प्रयोग, कफ्र्यु आदेश लगायतका कानुनी अधिकार अन्यत्र दिनु हुँदैन ।


  • टिका बहादुर कार्की
  • फाल्गुन २९ २०८२, शुक्रबार

राज्य शासनसत्ताविरुद्ध भैरहने आन्दोलन र द्वन्द्वपश्चात आन्दोलनकारीको माग सम्बोधन हुन्छ । अनि क्षतिपूर्ति र नयाँ अवसरको उपयोग गर्दै आन्दोलनरत पक्ष राजनितिक रुपमा शासन सत्ताको वागडोर समाल्दै अगाडि बढ्छ । तर प्रहरी भने सँधै आन्दोलनकारीको तगारो बनेर उनीहरुसँग भिड्दै, पिल्सिदै, तङ्ग्रिदै जानु उसको नियति हुन्छ । सन्दर्भ, नेपाल प्रहरीको हो ।

नागरिकको जीउधनको रक्षा र अमनचयन कायम गर्न सधै समाजको अग्रभागमा खटिइरहेको नेपाल प्रहरी हो । प्रहरी ऐन २०१२ लागु भई प्रहरीको वैधानिक अस्तित्वमा आएपछि पञ्चायत विरुद्ध २०४६ सालको जनआन्दोलन, २०५२–६२ को १० वर्ष माओवादी जनयुद्ध, २०६२÷६३ को जनआन्दोलन र २०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन जस्ता ठुला राजनितिक आन्दोलनमा पटक पटक पिल्सिदै फेरि उठ्दै, तङ्ग्रिदै आज पर्यन्त समाजको अभिन्न अङ्ग बन्न पुगेको छ नेपाल प्रहरी ।

२०८२ साल भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारी सहित केही प्रहरीले मुठभेडमा ज्यान गुमाउनु पर्यो । धेरै घाइते हुनु प¥यो । कुनै आन्दोलन वा विशेष परिस्थितिको सूचना विश्लेषण गर्दै समग्र सुरक्षा संयन्त्र परिचालन तथा आवश्यक व्यवस्थापन गर्नु पर्नेमा यस विषयमा उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनबाट प्रष्ट हुन सक्ला । तर, समाजका विविध क्रियाकलापमा घुलमिल भैरहेको जनपद प्रहरी (नेपाल प्रहरी) सँग स्थिति नियन्त्रणमा लिन अधिकांश ठाउँमा हतियार लगायत आवश्यक श्रोत साधन सहितको टिम रहिरहनुपर्ने हो ।

कानुनत बल प्रयोग गर्ने आदेश दिनु पर्ने प्रमुख जिल्ला अधिकारीको भूमिका कस्तो रह्यो ? तत्काल ड्युटीमा खटिएका प्रहरीमाथि नै आक्रमण भै सार्वजनिक महत्वपूर्ण संरचनामाथि क्षति पुग्दा सिमित संख्यामा खटिएका प्रहरीबाट स्थिति नियन्त्रणमा लिन संभव थियो, थिएन भन्ने विषय सर्वत्र जानकारीमा रहकोले संबन्धित विज्ञको राय सुझाव लिएर छानविन प्रतिवेदन आएको भए तत्काल प्रहरी नेतृत्वको हैसियतमा रहेका कमान्डर प्रतिदोषारोपणको निरुपण हुन सक्ला, अन्यथा एक्लो बृहस्पति झुट्टा मान्नु पर्ने हुन्छ । प्रहरी नेतृत्वलाई नै दोषी करार गर्ने हो भने बल प्रयोग, कफ्र्यु आदेश लगायतका कानुनी अधिकार अन्यत्र दिनु हुँदैन ।

आफ्नो हतियार, लत्ताकपडा लगायत बन्दोवस्तीका अत्यावश्यक सामानको क्षतिपछि बचेका र घाइते प्रहरी कस्तो स्थितिमा पुनः कर्तव्य पालनका लागि तयार भएको विषयमा नवनियुक्त प्रहरी प्रमुख (आईजिपी) दान बहादुर कार्कीको ‘म खरानीबाट उठेर आएँ आमा’ भन्ने गीत रचनाबाट भावुकता प्रष्ट हुन्छ । क्षतिग्रस्त प्रहरी भवनको पूननिर्माण गरी प्रहरीलाई स्वागत सहित हस्तान्तरण गर्ने मानवीय करुणाका धनी स्थानीय जनता, प्रहरीको आन्तरिक मनोबल खस्किन नदिन संगठन प्रमुखसहित मातहत अधिकृतहरुबाट भएका प्रयास र कर्तव्यपालनबाट विमुख नभई राष्ट्र सेवामा दत्तचित्त वफादार प्रहरी अधिकृत तथा जवानबाट प्रस्तुत कार्यक्षमताका कारण जेलबाट फरार हजारौ कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणमा लिन सफल भयो ।

सुरक्षा निकायहरुको सौहार्दपूर्ण उच्च समन्वयबाट सरकारले २०८२ साल फाल्गुण २१ गते घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगको व्यवस्थापन र सम्माननीय प्रधानमन्त्री लगायत जिम्मेवार सम्पूर्ण पदाधिकारीको निर्देशनमा रहेर परिस्थितिको उच्च व्यवस्थापन तथा निर्देशनका लागि सर्वत्र प्रशंसा सुन्न पाउँदा संकटपूर्ण संक्रमणकालीन राजनितिक परिवेशलाई संंवैधानिक ट्रयाकमा ल्याउन जनतासँग अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्नु हुने सबै प्रहरीप्रति उच्च सम्मान छ ।

जेनजी आन्दोलनबाट व्यवसायिक संरचना ध्वस्त हुनु, प्रहरीका हातहतियार लुटिनु, ब्यारेक जलाइनु, जेलबाट कैदी बन्दी फरार हुनु, यी सबै सुरक्षा चुनौतीका विषयमा व्यवसायीहरुको मनोबल यति अस्तव्यस्त भएको थियो कि ‘प्रहरीको मनोबल गिरेको यस विषम परिस्थितिमा कसरी व्यवसाय गर्ने’ भन्ने दुविधामा रहँदैगर्दा खरानी टक्टकाउँदै प्रहरी आफ्नो लयमा फर्किनासाथ व्यवसायिक प्रतिष्ठानहरु पुन संचालनमा आउन सम्भव भयो । अनि ईतिहासमा एउटा शान्तिपूर्ण निर्वाचन सम्भव भयो । ईतिहासदेखि आजपर्यन्त विविध संक्रमणकालीन द्वन्द्वका भूमरीमा पिल्सिएर पनि दीवंगत प्रहरीप्रति,
‘अपेक्षा फलको छैन सधै कर्तव्य चिन्तन,
आहुति प्राणको दिने तिमिमा अभिनन्दन’
भावुक सम्मान व्यक्त गर्न मन लाग्दछ । सदा कर्तव्यमा समर्पित नेपाल प्रहरीको आत्मबल गिरेर किकर्तव्यविमुख भएर होइन, डटेर परिस्थितिको सामना गर्दै आएको छ । नेपाल प्रहरी अझ थप सफलताको लागि जनस्तरबाट प्रकट भएको विश्वासलाई आत्मबल मानेर अगाडि बढ्नु पर्छ । प्रहरी सेवालाई चुस्त र प्रभावकारी बनाउन आवश्यक साधन, श्रोत, सेवा, सुविधा, तालिम र वृत्ति वकासका प्रतिस्पर्धी अवसर नेपाल सरकारबाट सृजना भैरहन आवश्यक छ ।

शान्ति सुरक्षा, अपराध अनुसन्धान, विपद उद्धार तथा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, तथा बजेट स्थानीय निकायमा बिनियोजन हुने तर सचेतना लगायतका सामाजिक विकृती, विसंगती नियन्त्रण, विपद व्यवस्थापनका कार्यक्रमहरु नेपाल प्रहरीबाट कुशलता पूर्वक पुरा गर्दै आएको अवस्था छ । यस परिस्थितिमा नेपाल प्रहरीबाट सञ्चालन हुँदै आएका थुप्रै कार्यसफलता तथा व्ययभार बहन गर्दै आएको नेपाल प्रहरीलाई सुविधा समपन्न बनाउन आवश्यक श्रोतसधान र जनश्शक्ति व्यवस्थापनमा बर्तमान सरकारको ध्यान जानुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->