नेपालमा अहिले निर्वाचनको परिणामले उत्साह थपिएको छ । वर्षौंदेखि सत्ताको बागडोर सम्हालेका शिर्ष नेताहरू पराजयको सिकार भएका छन् । राजनैतिक दलहरूले समानुपातिक मतको आडमा संसदमा अस्तित्व खोज्नु पर्ने भएको छ । सदाकाझै चुनाव जितेर मन्त्री, प्रधानमन्त्री बन्ने महत्वाकांक्षी सपना देखेका नेताहरुको अहिले ‘रातको निद न दिनको भोक’ भएको छ । देशमा चरम बेतिथी, भ्रष्टाचार र सत्ता गठबन्धनको खेलभित्र निसास्सिएका जनताले निर्वाचनमा घण्टी बजाएपछि पुराना दल र नेताको दुर्दुहाही भएको छ भने नयाँ र वैकल्पिक मानिएका दलहरुमा उत्साह भरिएको छ ।
एकातर्फ त लाग्छ, समानुपातिक निर्वाचन प्रणाली नहुदो हो त कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीलाई टर्च बालेरै खोज्नु पर्ने अवस्था आउथ्यो होला । यद्यपि प्रत्यक्ष र समानुपातिक दुई निर्वाचन प्रणालीका जन्मदाता तिनै पुराना दललाई समानुपातिक प्रणालीले दह्रो आड दिएको छ । अहिलेको यो अवस्था आउनुमा पनि उनै पुराना दलहरु कै कार्यशैली हो । विकासका काममा ढिलासुस्ती, युवाहरूको विदेश पलायन, परनिर्भरता र भ्रष्टाचार जस्ता कामको थालनी यिनै पुरातन दलकै बाहुबलबाट उत्पन्न भएको हो । पुराना नेता सबै खराब नहोलान्, नीति नियम र सिद्धान्तले अवस्य हार खाएका नहोलान् । परन्तु पुराना दलले आफ्ना दलभित्रको पुरानो नैतिकतालाई त्याग्न नसक्दा जनता आजित बनेको यथार्थ हामीसामु छ । राणा शासनदेखि राजतन्त्रको बहिर्गमन, दस वर्षे जनयुद्ध हुँदै संविधान निर्माण, संघिय शासन पद्धतिका पहरेदार बनेका पुराना दललाई लत्याएर जनताले साढे ३ वर्षअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई देशको बागडोर सम्हाल्ने जिम्मेवारी दिएका हुन् । जनताले थमाएको यो जिम्मेवारी रास्वपाले के ? कसरी ? पूरा गर्छ हेर्नै बाँकी छ ।
प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणनाले रास्वपा बहुमतको बाटो हुँदै करिब दुई तिहाईतर्फ लम्किएको छ । लोकतान्त्रिक व्यवस्थालाई भद्दा मजाक बनाएका परम्परागत दल र दलका शीर्ष नेतामाथि जनताले तीर चलाएका छन् । लोकतान्त्रिक व्यवस्थालाई नातावाद र परिवारवादको घुम्टोभित्र लुकाएर आफ्ना कार्यकर्ताको भरणपोषणमा रमाइरहेका नेतालाई यतिबेला मतदाताले सोत्तर पारेका छन् ।
२०६२÷०६३ को जनआन्दोलनबाट उदायमान भएको तत्कालीन माओवादीले पुराना दल र जनताकै भरमा विजयको उद्घोष ग¥यो । राजाको निरंकुश शासनमा पिल्सिएका कांग्रेस, एमालेभन्दा पृथक छु भनेर जातीय, वर्गिय र समावेशिताको नारा लगायो । जनताका न्यूनतम आवश्यकता समेत पूरा नभएको, भ्रष्टाचार बढेको, उद्योगहरु बन्द गरेर वेरोजगारी बढाएको भनेर आफ्नै पक्षमा जनमत उराल्यो । जनताले उसैको मलजल गरे । पुराना दलको उछितो काँड्दै चुनावमा सहभागी भएको माओवादीलाई जनताले संसदीय राजनीतिमा अब्बल बनाए । कांग्रेस, एमाले र राप्रपा जस्ता पुराना दललाई जनताले नै भूमिकाविहिन बनाए । आज त्यही अवस्था सिर्जना भएको छ । रवि–बालेनको मिलन नै पुराना दलको लागि अभिशाप सिद्ध भएको छ । पार्टी स्थापनाको ६ महिनामै अप्रत्याशित जित हासिल गरेको रास्वपाले संसद भवन भित्रैबाट जनताको मन जितेको हुनुपर्छ । सरकारमा टिक्न नदिनु, सभापति रवि लामिछानेको मुख थुन्न खोज्नु र चौतर्फी घेराबन्दी गर्नुलाई जनताले रुचाएका रहेनछन् । अर्कोतर्फ अप्राकृतिक गठबन्धन पनि यो मत परिणामको कारक हुनसक्छ । देशमा उत्पन्न राजनीतिक अस्थिरता, भ्रष्टाचार, गरिबी, वेरोजगारी र शिक्षित युवायुवतीहरुको पलायनताले पनि यसलाई मलजल गरेको बुझिन्छ ।
एउटा राजा फ्याकेर सयौं राजाहरुको उदयमा चित्त बुझाएका नेपाली जनताले योग्य शासक कहिल्यै पाएनन् । राणा र राजाले खाए भनेर राजनीतिमा होमिएका कांग्रेस, एमालेले वर्षौं शासन गरे राजा छदा राजासंगै च्याखे थापे, माओवादी आयो उसैसंग च्याखे थापे । उद्योगधन्दा कलकारखाना बन्द गरेर देशलाई परनिर्भर बनाए भन्ने भनाइ दशकौंदेखि चल्दै आयो । तर पनि उनीहरु सुध्रिएनन् । माओवादीको जन्म पनि उनीहरुकै सिद्धान्तमा आधारित भयो । गाउँदेखि सहरसम्म यिनै दलका नेता कार्यकर्ताको भलाइ भयो । नेताहरू कै रुप फेरियो । घर फेरिए । बसाइँ फेरियो । लवाइ खवाइ अनि चालढाल फेरियो । परन्तु जनताको आशा र देशको मुहार फेरिएन । सार्वजनिक ऋण थपिदै गयो । जनता आजित भए । अन्ततः अहिले आएर जनताले घण्टी बजाए ।
पुराना दलहरूले सत्तालाई म्युजिकल चेयर सम्झेर दुरुपयोग गरिरहँदा जनताको न्यायालयले निर्वाचनको आडमा दह्रो झापड दिएको छ । सत्तालाई रोजीरोटी बनाएका पुराना दलहरूले आफू अनुकूल नभए सत्ता गठबन्धन भत्काउने र जोड्ने खेलका लागि बिचौलियातन्त्रलाई समेत शिरोपण गरे । सत्तामा लिप्त पुरानालाई ढाडस दिने कोहि थियो भने रवि थियो । अन्तरमुखी स्वभाव नै भए पनि बालेनलाई जनताले रुचाएका थिए । आफ्नै दलभित्र फरक मत राख्नेलाई समेत देख्न नसक्ने शिर्ष नेताहरूले रवि बालेनमाथी यो वा त्यो बहानामा प्रहार गरिरहे । आफ्नो दलभित्र हुकुमी शासन चलाएका ओली, देउवा र प्रचण्डले रास्वपाभित्र पनि हुकुम जमाउन खोजे, टुटफुट र वैमनस्यताको जाल फ्याके । मेयरको पदबाटै युवाहरूको क्रेज बटुलेर शक्तिशाली बनेका बालेनका काममा भाँजो हाल्न सक्तो लागे । परन्तु रवि जेलमै बसे पनि थाकेनन् । बालेनले कहिल्यै हार खाएनन् । यहिं वैचारिक द्वन्द र षड्यन्त्रका बीच उनीहरुले पुराना राजनीतिक दलप्रति वितृष्णाको आधारभूमि खडा गरे । आज त्यहिं भूमिमा जनमत संगालेर उत्सव मनाए ।
यता रविको उदयसंगै सत्तारोहणको दाउपेचमा अल्झिएका नेताहरुको विष्फोट सुरु भो, यसअघिको चुनावबाटै ‘भाइ फुटे गवार लुटेको’ शैलीमा भ्रष्टाचारका काण्ड र अनियमिताको भण्डाफोर चल्यो । एकले अर्को, अर्कोले अर्को गर्दै सबै नेताहरूलाई भ्रष्टाचारको सूचीमा उभ्याए । जोगिन र जोगाउनकै लागि सत्ताको बोलवाला चल्यो । तैचुप मै चुपको सरकार बन्यो । पुराना दलहरूले चुनावी मैदानमा मात्रै जनताको अस्तित्व स्वीकार गरे । उनीहरुका मागलाई चुनावी सभामा मात्रै बोलिए । पुस्तौंदेखि उठाइएका मुद्दालाई नजरअन्दाज गरेर सत्ता प्राप्तिको भुल्भुलैयामा रमाएका नेतालाई नयाँले नमिठो चोट दिए । सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र नयाँ राजनीतिक संस्कार बसाउने रविको उद्घोषमा बालेनको उपस्थितीले रास्वपालाई बल पुग्यो । … र त्यसपछि घण्टी बज्यो ।
कांग्रेस, एमाले र माओवादीमा नगण्य सावित भएका नेताहरुले पुरानो अनुभव, सीप र राजनीतिक संस्कार बिसाउने चौतारी रास्वपा बनाए । नेपाली राजनीतिमा नयाँ आशा बोकेर आएका रवि–बालेन सबैको रोजाइमा परे । विदेशिएका नेपाली हुन या वेरोजगार युवायुवतीहरु सबै सबैले रास्वपालाई वैकल्पिक शक्ति मान्न थाले । माओवादीको दसवर्षे जनयुद्धबाट आक्रान्त जनता संविधान सभाको निर्वाचन पश्चात् देशले निकास पाउनेमा विश्वस्त थिए । परन्तु पुराना नेताहरुको रवाफका अगाडि जनता निराशा थिए । त्यही समयमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय गर्यो । जुन निर्णय युवापुस्ताका लागि युद्धको उद्घोष बन्यो । फलस्वरूप भदौ २३ र २४ गते युवाहरु विद्रोहमा उत्रिए । यहीँबाट सुरु भएको नयाँ र पुरानाहरु बिचको विद्रोहलाई नेपाली जनताले निर्वाचनमा सावित गरिदिए… र त्यसपछि घण्टी बज्यो ।
दर्जनौं युवायुवतीको हत्यालाई सरकार आफैंले स्वीकार गर्न नसक्दा भागाभागको स्थिती बन्यो । सरकारकै विरुद्धमा नारा लगाउनेहरुले सार्वजनिक र निजी सम्पत्तिमा आगो लगाए । देश जलिरहदा सत्तासिन नेताहरू शरीर जल्नेमा चिन्तित बने । अप्राकृतिक गठबन्धन गरेर सुशासनको नारा लगाउने कांग्रेस एमालेका नेताहरुले देशउपर आफ्नो रक्षालाई महान ठाने, फलस्वरूप नेपाली जनताले सरकारको दोष देखे । … अनि घण्टी बजाए ।
आफू सत्ता च्युत हुनुको पीडाबाट कांग्रेस–एमाले बाहिर आइ नपुग्दै ओली र देउवाले फेरि गठबन्धनको राग अलाप्न थाले । सत्ताच्यूत भएका ओलीले पार्टीभित्र हुकुमी शासनलाई निरन्तरता दिइरहे । महाधिवेशनको आडमा घमण्डलाई मैदानमै उतारे । प्रधानमन्त्री र गृहमन्त्री स्वयंले जेन्जी विद्रोहलाई आजन्म नस्विकार्ने ढोल पिटे । माओवादी केन्द्र बाठो भो “साप पनि मरोस्, लठ्ठी पनि नभाँचियोस्’’को सिद्धान्त अबलम्बन गरेका प्रचण्डले तत्काललाई कार्यसमिति भंग गरि संयोजकको विल्ला भिरेर विद्रोहप्रती सहानुभूति देखाउदै शुद्धीकरणको बाटो समाए । जेन्जीको धरपकडमा परेका देउवाले हार नमान्ने संकेत देखाएपछि गगन र विश्वप्रकाशले विशेष महाधिवेशनको जाल थापे । घाइते बाघ जोगाउने कि जोगिने शैलीमा देउवाले महामन्त्रीद्वयलाई पार्टी निष्कासन सम्मको च्याखे थापे । परन्तु देउवा ओराली लागेको मृगकै चालमा पुगे । गगनले महाधिवेशन जितेर बदलिएको कांग्रेसको नेतृत्व त गरे तर वर्षौसम्म निराशाको जञ्जिरमा बाँधिएका जनताले निर्वाचनमा रवि बालेनकै उदयलाई मान्यता दिएर घण्टी बजाए ।
हुनतः नयाँ र पुरानामा के कति फरकपन आउँछ हेर्नै बाँकी छ । रवि बालेनले लिएको नीति नवीन देखियो, उनीहरुले कसैलाई गाली गरेनन् । यो राजनीतिक संस्कार ठिक छैन भनेर युवापुस्तामाझ लोकप्रिय बनेका यी दुईको मिलनले विदेशिएका नेपालीसहित थकित वृद्धवृद्धाहरुको मन तान्यो । कलकारखाना बन्द गरेर शासन चलाएको एकलौटी आरोप खेपेका पुराना दलका अगाडि रवि–बालेन देउता बनेर उभिए । जनतालाई के देखाए, जनताले के देखे, समाजका सम्भ्रान्त परिवारसहित निम्न मध्यम वर्गका भुईंमान्छेसम्म रास्वपातिरै आकर्षित बने । …र त्यसपछि घण्टी बज्यो ।




