नेपाली समाजमा दशमी भनेकै दशैं भन्ने बुझिन्छ । दशैं नेपाली समाजको ठूलो चाड हो । वर्षमा ४ किसिमका दशैंहरु अर्थात् नवरात्र हामी मनाउँछौं । खासगरी आश्विन शुक्ल अष्टमीमा मनाइने बडा दशैं र चैत्र शुक्ल अष्टमीमा मनाइने चैत्राष्टमी अर्थात् चैते दशैंलाई भव्य रुपमा मनाउने चलन रहेको छ । अषाढमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघमा मनाइने शिशिरकालीन नवरात्रलाई सामान्य रुपमा नै मनाइने गरिन्छ । यो नवरात्रलाई गुप्त नवरात्र पनि भनिन्छ । यी ४ वटा दशैंहरुको आ–आफ्नो महत्व छ । यो अवसरमा शक्ति स्वरुपा दुर्गा भवानीको आरधाना र पुजा पाठ गरिन्छ ।
असुर शक्तिमाथि दैविशक्तिको विजय अर्थात् असत्य माथि सत्यको जित र धार्मिक रुपमा दुर्गा भवानी प्रतिको श्रद्धा, आस्था र विश्वासका रुपमा चैते दशैं अर्थात् चैत्र शुक्ल अष्टमी मनाइने गरिन्छ । रामचन्द्रले रावणमाथि विजय पाएको र वनवास सकेर अयोध्या फर्केको क्षण भएको विश्वास गरिन्छ । त्यस सन्दर्भलाई जोडेर चैते दशैंलाई विजय उत्सवको रुपमा समेत लिइन्छ ।
भनिन्छ कुनै समय चैते दशैंलाई नै ठूलो दशैं मानिन्थ्यो रे । तर यो समयमा सुख्खा, गर्मी, खडेरी, हावाहुरी, मौषम बदलीका साथै दशैंको गरिष्ठ भोजन आदीबाट मानिसहरु बिरामी परेकाले ठूलो दशैं असोजमा सारियो । अर्थात् आश्विन शुक्ल अष्टमीलाई बडा दशैं मान्न थालियो भने चैत्र शुक्लअष्टमी अर्थात् चैते दशैंलाई सानो दशैं मान्न थालियो भन्ने पनि छ । सायद यसै कारणले पनि होला चैते दशैंको त्यो महत्व निरन्तर रहेको बिश्वास आम नागरिकमा छ । यस क्षेत्रमा चैते दशैंको रौनक बडा दशैंको भन्दा कम छैन । बागलुङ कालिका मन्दिरमा सर्बाधिक दर्शनार्थिहरुको उपस्थिति रहने दिन नै चैत्राष्टमीको दिन हो ।
अष्टमी तिथी देवीको पुजा पाठ गर्नका लागि विशेष दिन हो । यो दिन देवीलाई पुजा पाठ गरेमा आटेको ताकेको पुग्ने बिश्वास छ । देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देवी स्त्रोतहरू पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाइतुल्याई खाई रमाइलो गरी चैते दशैँ मनाइन्छ । अशोकको फूल खाने गरिन्छ । फूल खाँदा रोगव्याधी नष्ट हुने आम विश्वास छ ।

बागलुङ कालिका मन्दिरको कुरा गर्दा चैत्राष्टमी मेलाको नाम संगसंगै आउने गर्दछ । तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले १५९१ सालमा पाल्पाका राजा मणि मुकुन्दसेनकी राजकुमारीसँग विवाह गर्दा राजकुमारीले दैनिक पुजा गरिआएकी कालिका देवीलाई दाइजो ल्याएको र पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राज दम्पतीले यहाँ मन्दिर स्थापना गरी पूजापाठ गर्न थालेको इतिहास छ। कालिका देविको मन्दिर स्थापना गरी खड्ग समाति आएका चक्र पवारलाई पुजारी बनाइयो । त्यस बेला लुङगाउंका मगरहरुले देवीको डोली बोकेका थिए ।
नवरात्रभर नौ देवीहरू क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको बिशेष पुजा पाठ गरिन्छ । नवरात्रको प्रथम दिन घटस्थापना द्वारा सुरुवात गरिन्छ । पहिलो दिन विधिवध जमरा राखिन्छ । देवी शक्तिको आह्वान गर्न पूजापाठ, जप, ध्यान, व्रत, उपासना, अनुष्ठान, जागरण द्वारा दुर्गा शक्तिको आह्वान गरिन्छ । दैनिक कालिगण्डकीको जलले पुजारीले स्नान गरी देवी मन्दिरमा पनि स्नान गराइन्छ । कालिका मन्दिरमा बिशेषत अष्टमीको बिहान सवेरै सरकारी पुजा बलि सहित शिषेश रुपमा हुन्छ । दिउसो मन्दिरको अगाडी रहेको मौलोमा ४ वडा खड्का दाजुभाईहरुले खड्ग समाती पुजा गर्छन, जहां सरकारी रांगो बलि दिइन्छ । सोही समयमा लुङगाउंका मगर दाजुभाईहरु सुगुरसहित सरकारी पुजामा सहभागि हुन्छन । साँझ कालरात्री पुजा हुन्छ । महानवमीको बिहान चण्डीकाली मन्दिरमा बिशेष पुजा गरिन्छ ।
कालिका मन्दिरको स्थापनासंगै चैत्राष्टमी मेला अस्थित्वमा आएको बताइन्छ । तत्कालिन राजपरिवारले यो अवसरमा कालिका मन्दिरमा पुजा आजा गर्ने र आफ्ना नागरिकहरुसंग भेटघाट गर्ने गर्दथे । यसै गरी चैत्राष्टमी मेलालाई जोडेर धेरै पटक बागलुङ महोत्सवहरु पनि आयोजना भएका छन । यो मेलाको आफ्नै मैलिकता, महत्व र इतिहास छ । चैत्राष्टमी मेला नेपालको महत्वपूर्ण र ठूलो मेला मध्ये पर्दछ । यो मेला ऐतिहासिक, धार्मिक, सास्कृतिक एवं प्राकृतिक हिसावले निकै महत्व राख्ने मेला हो । चैतेदसैँका अवसरमा खुला राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगिता, छेलो लगायतका प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । ख्याति प्राप्तदेखि स्थानिय कलाकारहरुले सांगितिक प्रस्तुति एकल र सामूहिक रुपमा प्रस्तुत गर्ने गर्दछन । यो समयमा चन्चलादेवीको रथ बाजागाजा, भजन किर्तन र लोक गित सहित बागलुङ बजार परिश्रमा गराइन्छ ।
चैते दशैंको सन्दर्भमा प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका मन्दिरमा बिशेष मेला लाग्ने गर्दछ । यो मेला देशकै ऐतिहासिक र महत्वपुर्ण मेला हो । धेरै बर्ष पहिला चैत्राष्टमी मेलाको खास रौनक बागलुङ बजारस्थित लालिगुराँस चोक क्षेत्रको खेतमा १५ दिन लाग्थ्यो । जहाँ देशका विभिन्न जिल्लाहरुबाट उत्पादन गरिएका स्थानीय तथा घरेलु सामाग्रीहरुको ठूलो संख्यामा किनबेच हुन्थ्यो । यो समयमा नरनारीहरु लोक तथा दोहोरी गितमा झुम्मिने गर्दथे । पछिल्लो समय कालिका भगवती गुठीले चैत्राष्टमी मेलाको आयोजना गर्दै आएको छ । कालिका मन्दिरमा देश तथा बिदेशबाट दर्शनार्थिहरुको लाखौंको संख्यामा उपस्थिति रहने गर्दछ ।
कला संस्कृति, आर्थिक बिकास, पर्यटन, स्थानिय उत्पादन, व्यापार तथा रोजगारीका लागि कालिका मन्दिर र चैत्राष्टमी मेला हामीले दुर्गा भवानीबाट पाएको अमूल्य बरदान हो । यसको उचित व्यवस्थापन, संरक्षण, प्रबद्र्धन र प्रचार प्रसार गरी उल्लेख्य लाभ लिन सक्ने गरी समन्वयात्मक रुपमा योजना बनाउन जरुरी छ । यसैगरी धार्मिक आस्था, कला संस्कृति, स्थानिय उत्पादन, व्यापार र पर्यटन विकासलाई चैत्राष्टमी मेलाले जोड्न सक्छ । यो मेलाले मौलिक संस्कृति, सँस्कार, परम्परा र आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान दिन सक्छ ।
यो समयमा पवित्र कालिगण्डकी नदीसहित बागलुङमा रहेका ढोरपाटन शिकार आरक्ष, बलेवा भैरवस्थान गाजा र मुलाबारी, पन्चकोट, शालग्राम संग्रालय, बिहुंकोट, घुम्टे, ५६७ मिटर लामो गण्डकी गोल्डेन झुला लगायतका सम्पदाहरुलाई जोडेर धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुको प्रचार गर्न सके यस क्षेत्रले उल्लेख्य लाभ लिन सक्ने प्रचुर सम्भावना छ ।
(लेखक खड्का बागलुङ नगरपालिकाका नगर उपप्रमुख एवं कालिका भगवती गुठीका पुर्व अध्यक्ष हुन् ।)




