बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मजबुत वामपन्थीधार किन कमजोर बन्दै ?

मजबुत वामपन्थीधार किन कमजोर बन्दै ?


  • आनन्दराज मुल्मी
  • चैत्र १४ २०८२, शनिबार

आजभन्दा १५० वर्ष अगाडी जब कार्लमाक्र्स र फ्रेडरिक एंगलले त्यसताकाको अर्थशास्त्रका सिद्धान्तहरुको व्याख्या गर्दै ‘दास क्यापिटल’ नामक पुस्तक प्रकाशन गरे तबदेखि नै नयाँ सिराबाट पूँजी र श्रमको व्याख्या सुरु भयो । पूँजीपति वर्ग र श्रमिक वर्गको परिभाषासहित वर्ग संघर्षको अपरिहार्यताबारे वैचारिक बहसको थालनी पनि सुरु भयो । कालान्तरमा कम्युनिष्ट पार्टीहरुको स्थापना हुने क्रममा यो वैचारिक दर्शनले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । श्रमिकको श्रम र किसानको भूमि बिना पूँजीमात्र उत्पादन उत्पादनको साधन हुन सक्दैन र उत्पादन बढाउन उनीहरुको सहभागिता अपरिहार्य हुन्छ भन्ने सिद्धान्त प्रतिपादित भयो । यही दर्शनलाई आधार मानेर सन १९१७ मा लेनिनले रूसमा सामन्तीविरुद्ध क्रान्ती गरेर सफलता प्राप्त गरेपछि कम्युनिष्ट पार्टी अस्तित्वमा आयो । लेनिनले स्थापना गरेको कम्युनिष्ट पार्टीले रुसलाई बिस्तार गर्दै सोभियत संघको रूपमा रूपान्तरण गरे । तर, ७५ वर्षपछि मिखायल गोर्भाचोभको पालामा सोभियत संघ छिन्नभिन्न भइ १३ वटा राष्ट्रमा परिणत भयो, साम्यवादी शासन अन्त्य नौलो प्रजातान्त्रिक व्यवस्थासहित फरक ढंगको शासन प्रणालीको सुरुवात भयो । यो सन १९१२ को वर्ष थियो । त्यही बेला नेपालमा पनि लामो एकतन्त्रीय व्यवस्था अन्त्य भइ बहुदलीय प्रणालीअन्तर्गत देश अगाडि बढ्दै थियो । रूसपछि चीनमा माओत्से तुङले रुसभन्दा केही फरक व्याख्यासहित साम्यवाद प्रयोगमा ल्याए । सन् १९४५ मा साम्यवादी व्यवस्था स्थापित गर्दै शासन शुरुवात गरे भने त्यसपछि क्रमशः किम उल सुङले उत्तर कोरियामा, होचि मिन्हले सन १९५४ मा भियतनाममा, सन १९५९ मा फिडेल क्यास्ट्रोले क्युवामा कम्युनिष्ट पार्टीमार्फत् एकदलीय शासन व्यवस्था शुरु गरेका थिए । त्यसपछि धेरै मुलुकहरूमा राजनीतिक रूपमा प्रतिस्पर्धा गरी शासन व्यवस्था आफ्नो हातमा लिने गरी वामपन्थी पार्टीहरू खोलिए । अर्को वर्ग प्रतिस्पर्धा हैन, संघर्ष र लडाइँ गरेरमात्र शासन कब्जा गर्नुपर्छ भन्ने मान्यता राखेर आफ्नै देशभित्र वा अन्य देशमा बसेर संघर्ष गर्नुपर्छ भन्ने मान्यता ती कम्युनिष्टहरुले बोकेका थिए । यसै क्रममा नेपालमा पनि कार्लमाक्र्स र फ्रेडरिक एंगल्सले तयार गरेको मेनिफेस्टोलाई नेपालीमा अनुवाद गर्ने कामको शुरुवात पुष्पलाल श्रेष्ठले गरेका थिए । राणा शासकले शहीद बनाएका ४ जनामध्ये गंगालाल श्रेष्ठका भाइ थिए,पुष्पलाल श्रेष्ठ । उनले भारतको कलकत्तामा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायण विलास र मोतीदेवीसँग मिलेर २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् । त्यही नेपाल कम्युनिष्ट पार्टी आजको अवस्थासम्म आइपुग्दा निर्वाचनमा प्रतिस्पर्धा गर्न १६ वटा विभिन्न नाममा र बाहिर रहेर ६÷७ वटा पार्टी गठन भएको पाइन्छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको पहल नेवार सभ्रान्त परिवारका मानिसबाट भएको थियो तर संस्थापक रहेका पुष्पलाललाई २०१४ सालमा महासचिव बाट हटाइसकेपछि आजसम्म कुनै पनि नेवार सो पदमा आसिन हुन सकेको छैन । त्यसपछि विभिन्न घटकहरु निर्माण हुँदै जाँदा नारायणमान बिजुक्छे र विष्णुबहादुर मानन्धर पार्टीका प्रमुखको रूपमा स्थापित भएका छन् । अनेकन घटक र समूहमा रहेका वामपन्थी दलहरूको नाम र प्रमुखको जानकारी पाउन समेत कठिन भइरहेको अवस्थामा वामपन्थी दलहरु २०१५ सालको आमनिर्वाचन, पंचायतकालीन समयमा जनपक्षीय उम्मेदवारको रूपमा अनि २०४६ सालको परिवर्तनपछि निरन्तर निर्वाचनमै प्रतिस्पर्धा गरेर स्थापित भएको पाइन्छ । अहिलेको अवस्थामा वामपन्थी दलहरुमध्ये नेकपा एमाले नै सबैभन्दा ठूलो शक्ति र संसद्मा धेरै प्रतिनिधित्व गराउने दलको रूपमा स्थापित रहेको पाइन्छ । नेकपा एमालेले २०४८ निर्वाचन मा फुलमत को २७.८% सहित २०,४०,००० मत प्राप्त गरी ६९ सांसदको प्रतिनिधित्व गराएको थियो ।

२०५१ सालमा ३२ प्रतिशत मतसहित २३,५२,००० र ८८ सांसद
२०५६ सालमा ३१.६ प्रतिशत र २७,२८००० मतसहित ७१ सांसद
२०६४ संविधानसभामा २०.३ प्रतिशत मत २१८३००० मत अनि १०३ सांसद
२०७० मा २३.६ प्रतिशत मत २२३९००० र १८५ सांसद
२०७४ मा ३३.२४ प्रतिशत मत ३१७३००० मत र १२१ सांसद
२०७९ साल ३६.७० प्रतिशत मत २८४५००० र ७८ सांसद
२०८२ मा १५ प्रतिशत १४५४००० २५ सांसद

२०६२÷०६३ को आन्दोलनपछि २०६४ मा संविधान सभाको लागि ३०९ सिटमा निर्वाचित हुन्छ भने त्यसताका आन्दोलनको नेतृत्व गरेको नेकपा माओवादीले सबैभन्दा वढी ३१,४४,००० मत प्राप्त गरी सबैभन्दा धेरै सिट प्राप्त गरेको थियो । त्यस निर्वाचनमा ११ विभिन्न वामपन्थी दल मिलाउँदा ६१, ६४,००० मत प्राप्त भएको थियो । जुन कुल मतको ५७.२४ प्रतिशत थियो । त्यसपछि दोश्रो संविधानसभा निर्वाचनमा १० वटा वामपन्थी दलहरुले कुल मते ४३.२७ प्रतिशत सहित ४०,९५००० मत प्राप्त गरेको थियो । २०७४ को आमनिर्वाचनमा कुलमत को ४८ प्रतिशतसहित ४९,३८,००० मत प्राप्त अनि २०७९ सालमा फूलमतको ४२.६ प्रतिशतसहित ४४,९९,००० मत प्राप्त आएको थियो । २०८२ सालमा ९ वटा वामपन्थी दलले संयुक्त रुपमा २१,८५,००० मत प्राप्त गरेका छन् । जुन कुल मतको २१.९५ प्रतिशत हुन जान्छ । उपरोक्त आँकडाहरू विश्लेषण गर्दा २०६४ सालको निर्वाचनमा नेकपा माओवादीले धेरै मत प्राप्त गरेकोबाहेक अन्य सबै चुनावमा वामपन्थी दलहरुमध्ये नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याइ ठूलो वामपन्थीको रुपमा आफूलाई उभ्याएको पाइन्छ ।

तर, २०८२ सालको निर्वाचनसम्म आइपुग्दा वामपन्थी दलहरुको मतमा उल्लेखनीय कमी हुन गएको देखिन्छ । यद्यपि, २०४८ – २०८२ भाद्रसम्म ३४ वर्षको अवधिमा वामपन्थी प्रधानमन्त्रीको रुपमा ६ जना नेताहरुले कार्यभार सम्हालिसकेका छन् । पहिलो वामपन्थी प्रधानमन्त्रीको रूपमा मनमोहन अधिकारी ले २८५ दिन, त्यसपछि पुष्पकमल दाहाल पटक–पटक गरी ७८५ दिन, माधवकुमार नेपाल ४०५ दिन, झलनाथ खनाल २०५ दिन, बाबुराम भट्टराई ५८५ दिन अनि केपी ओली पटक–पटक गरी २,०४५ दिन गरी जम्मा ४,३१० दिन याने १९ वर्ष ३ महिना नेपालको कार्यकारी प्रमुखको रुपमा कम्युनिष्टहरु सत्तामा रहेका छन् । वामपन्थी दलहरु सिद्धान्तनिष्ठ, संगठित संस्था तयार गर्न सक्ने क्षमता, आफ्ना कार्यकर्तालाई प्रशिक्षित गर्न तदारुकता देखाउने तथा अरुभन्दा जुझारु र आक्रमक शैली हुँदाहुँदै पनि किन क्रमशः लोकप्रिय मतबाट किन विमुख बने ? किन संसदमा प्रतिनिधित्व घट्दो छ ? कारणहरु खोजिएलान् तर धेरै कार्यकर्ताहरु अवसरबाट बञ्चित हुँदै गएको, पार्टीमा खटेको वा योगदानको मूल्याङ्कन नभएको भन्ने गुनासाहरु नै प्रमुख कारण हुन सक्ने आँकलन भइरहेको छ । त्यसमाथि वामपन्थी दलहरु आफ्नो मार्गदर्शन सिद्धान्तबाट विचलन भएको, सम्पत्ति जुगाड गर्न सबै खालका वैध÷अवैध काम गर्न प्रोत्साहन गर्नाले पनि जनमत घट्दै गएको कार्यकर्ताहरुको ठम्याइ छ । तुलनात्मक रूपमा वामपन्थी नेताहरुलाई दर्शन र सिद्धान्तमा समर्पित, उदाहरणीय सामान्य जीवन बिताउने व्यक्तिको रुपमा लिइन्थ्यो । अन्यायविरुद्ध आवाज उठाउन तल्लीन हुनु उनीहरुको अर्को विशेषता थियो । तर, वामपन्थी सरकारमा समावेश भइसकेपछि पटक–पटक नेतृत्वको आफूलाई फरक देखाउनबाट चुके । भ्रष्टाचारजन्य गतिविधिमा संलग्न हुन थाले । अन्य दलले नेतृत्व गरेको सरकारभन्दा भिन्न नदेखिँदा र सामान्य नागरिकको जीवनस्तर सुधारमा ध्यान नदिनु र अमूक मित्रराष्ट्रसँग बढी झुकाव राख्नुले पनि उनीहरुको मत घटेको अनुमान गर्न सकिन्छ । अरु त अरु ! ट्रेड युनियनको नाममा जे गरे पनि हुन्छ भन्ने मानसिकता अनि सरकार संचालन गर्ने अवस्थामा आफ्नै मनिस र अरु दलको मानिस भनेर असाध्य पूर्वाग्रह देखाइ भिन्न विचारका व्यक्तिलाई भित्रैसम्म पु¥याउने कारणले पनि वामपन्थीहरुप्रति नकारात्मक धारणा विकास हुन पुगेको हुनसक्छ । जे भएपनि बहुलवादमा सवैप्रकारका विचारसहित प्रतिस्पर्धा हुन जरुरी छ । एकाधिकार, निरकुंश वा अन्यको विचार नसुन्ने, अस्वीकार गर्ने प्रवृत्तिले मुलुकको हित गर्दैन् । जनताले कुनै बेला कसैलाई, कुनै बेला अरुलाई मत दिने वातावरण सिर्जना गर्दछन् भने आशा र भरोसाको आडमा जीवनयापन गरिरहेका हुन्छन् । त्यसैले एउटाबाट आशा र विश्वास नभए अर्कोबाट पाउने आशामा मत दिन्छन् । तसर्थ एउटै चुनावपछि सबै सकियो वा हामी तल प¥यो भन्ने लघुताभाष दलहरुलाई सुहाउँदैन । जनताको मन जित्न सके मत पुनः प्राप्त गर्न सकिन्छ ।

अन्य गैरवामपन्थी दलहरू भन्दा वढी नेतृत्व लिन सफल भएको वामपन्थी शक्ति २०८२ को मध्यावधि निर्वाचनमा किन कमजोर हुन पुग्यो भन्ने अध्ययनको विषय बनेको छ । ५७.४ मत प्राप्त गरेको शक्ति २१.९५% को स्थितिमा आइपुग्नुबारे गहन विचार– विमर्श र समीक्षा जरुरी छ । प्रत्येक निर्वाचनमा विभिन्न नामबाट सहभागी हुँदै आएका छन् । केही वामपन्थी दलहरुले सदावहार बहिष्कारका नारा दिँदै आएतापनि वामकर्ताहरुले मत हालेको र हाल्ने गरेको पुष्टि हुन्छ । वामपंथी दलहरू ०४८ पछि या त सत्ता पक्ष या त प्रमुख प्रतिपक्ष भूमिकामा रहेकै देखिन्छ । सत्तामा पुग्न, सत्ता टिकाउन को लागि अपवित्र गठबन्धन गरेको आरोपबाट पनि वामपन्थीहरु मुक्त छैनन् । एकैसाथ सडक र जंगलमा पनि आन्दोलन गरेको पाइन्छ । यस्तो राप र ताप भएको वामपन्थी शक्तिहरु आफ्नो मूल आधार ‘सर्वहारावाद’बाट नवसामन्तीको रूपमा रूपान्तरण भएको कसैबाट छिपेको छैन र उनीहरुप्रति भरोसा गुम्दै जानुमा प्रमुख कारण यही हुनसक्छ । अहिलेको अवस्थामा पनि आगामी दिनहरुमा सवै वामपन्थी दलहले स्वमूल्याङ्न गरी नेपालको राजनीतिक स्वरूपलाई अफ गतिशील सकारात्मक, समृद्ध र संस्कारयुक्त बनाउन ध्यान केन्द्रित गर्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->