आज नेपालको राजनीति नयाँ मोडमा पुगेको छ । भिन्नतामा आधारित हाम्रो राजनीतिक व्यवस्था, पद्धति र अभ्यासले नै नेपालको भावी दिशा निर्देश गर्छ । वर्तमान नेपाली राजनीतिमा पुराना फर्किने र नयाँ पुस्ताहरु सत्तारोहणमा तन्किएको अवस्था छ । यहिं अभ्यासमा आज रास्वपाको उदयोत्सव चल्या छ भने दशकौंदेखि सुशासनको नारा लगाउने दलहरू थन्किएका छन् । विस्मयको कुरा त निर्वाचन परिचालन समिति र क्रियाशिल सदस्य संख्याको गणनामा समेत भोट नखस्दा उत्पन्न भयो । जसका कारण पुराना दलको बलिदानी, पार्टी सिद्धान्त र रणनीतिलाई सदस्यहरुले नै डस्विनमा पु¥याए । फलस्वरूप पुराना बाजाको बिचल्ली र घण्टीको सर्वोदय भयो । यो नयाँ ध्वनिले मित्रराष्ट्रसम्म नै वर्चस्व कमाउँछ या स्वदेशमै सिमित बन्छ, भावी राजनैतिक परिदृश्यले देखाउला । राजालाई फ्याकेको गणतन्त्रमा कुनै पनि पार्टीको सामथ्र्य र ओज एकछत्र रहन सक्दैन भन्ने सन्देश दिएका पुराना नेताले आज त्यहीँ प्रतिकूल मौसमको सामना गरिरहेका छन् । नयाँको नौलो स्वरुप र फूर्तिफार्तीले नविनतामा चर्काएको छ ।
०६४ मा ओजिलो बनेको हँसिया हतौडालाई रुख र सूर्यले निर्वल तुल्याइरहँदा घण्टीको घन्काइभित्र तिनै चिह्न द्वितीय र तृतीयको भागदौडमा पुगे । राजाकै बहिर्गमनलाई हेर्दा पनि दुई दशकदेखि परिवर्तनका नायक बनेका नेताहरूको आवाज आज नौमती बाजाका अगाडि भजनकै लयमा छ । एकलौटी घण्टीको स्वरले देश तातिरहँदा पुरानाको गन्तव्य जमानत जफतदेखि लज्जास्पद हार हुँदै समानुपातिक प्रणाली नै संसद प्रवेशको आधार बन्यो ।
२००७ सालमा प्रजातन्त्रको बाजा बज्यो । काङ्ग्रेसले जस लिंदै साढे ७ दशकसम्म सधैँ सत्तालाई रङ्गमञ्च बनायो । २०१५ मा प्रजातन्त्रभित्रै समाजवादको ढोङ पिटियो । दल र निर्दलको नारा लगाइयो । पञ्चायती व्यवस्थामा पनि सुतो थापियो । एमालेले बुढाबुढीलाई भत्ताको धाक देखाएर भोट खोज्यो । बहुदलीय प्रजातन्त्रको नाराले जरा टेक्न नपाउँदै माओवादी जनआन्दोलनले चर्चा बटुल्यो । माओवादीले संघीयता र समावेशीताको आडमा राजा र हिन्दू राज्य मास्यौँ, भन्दै सत्ता सङ्घर्ष चर्कायो । दुई बिहे गर्नेदेखि तम्सुकमा ल्याप्चे ठोक्नेसम्मलाई समाजवादको लठ्ठीले हिर्काइयो । जनतालाई कुन सहि कुन गलत छुट्याउन धौधौ परिरहेका बेला जेन–जी आन्दोलनले सत्ताच्युत भएका दललाई मतदाताले जरैदेखि उखेले । आज देशलाई योगदान दिएको भनेर थोत्रा गाला बजाउनेहरुको कन्तबिजोक भएको छ । जनताले ठिक गरे या बेठिक समयले बताउला ।
गणतन्त्रमा उन्मत्त बनेका लोकतन्त्रप्रेमीहरुको नाराले जनतालाई पटकपटक सडकमा निकाल्यो । संघीयताको नाममा गाउँ, सहर र लोग्नेस्वास्नीसम्मलाई धार धारमा परिवर्तन गरायो । विपिको समाजवाद, मदनको जनवाद र प्रचण्डको धर्म निरपेक्षता र समावेशीकरणले नेपालमा रडाको मच्चियो । काङ्ग्रेस, एमाले प्रचण्ड पथमै लुप्त बने । घरघरमा सिंहदरबार, एउटा राजाको विकल्पमा संघ, प्रदेश र स्थानीय तहमा सयौं राजाहरूको उत्पत्ति भयो । संविधान निर्माण र घोषणाको दौडधुपमा लुट्नु लुटियो । आज खाने, भोलि खाने, पर्सि खाने गर्दा गर्दै २०७९ मा पुनः लोकतान्त्रिक गणतन्त्रको लोभ देखाइयो । मतको खोजीमा भिरपाखा चालियो । २०४८ देखि २०७९ सम्म अनेकानेक स्वरमा जनमुखी बाजा बजाइए । काङ्ग्रेसले अङ्गालेको समाजवाद र कम्युनिष्टहरुले पछ्याएको माक्र्स र लेनिनवादले विकासको उद्घोष गरे पनि कार्यकर्ता उपर सिद्धान्तले फुल्ने अवसर नपाउँदा पुराना पार्टी (बाजा) विलयको लयमा गए । पञ्चायत कालमा समेत अस्तित्व पाएका यी बाजाहरुले राजतन्त्र हुँदै सङ्घियता कार्यान्वयनसम्म आइपुग्दा आँधीबेरी र सुनामीकै तरह जनताको उपेक्षा ब्यहोर्नु पर्यो । यो दुखद हो ।
भर्खरै सम्पन्न चुनावमा पुराना र नयाँका एजेन्डा, मुद्दा, संकल्प, प्रतिबद्धता र घोषणामा जनताले नविनता खोजे । फलस्वरूप घण्टीले १८२ सिट पाउदा पुराना दलहरु विलिन भए । घण्टीको ध्वनिले मठमन्दिर मात्रै नभएर गाउँ, सहर, स्वदेश र विदेशसम्म राजनैतिक उछाल ल्यायो । ती आममतदातालाई वाचापत्र र घोषणापत्र पढ्ने चासो भएन । अन्ततः घण्टीले अस्वाभाविक तरङ्ग उत्पन्न ग¥यो । पुरानालाई फ्याक्ने र नयाँलाई हेर्ने रहर जाग्न÷जगाउन देश विदेशमा रहेका नेपालीको जुक्ति बुद्धिले काम ग¥यो ।
रवि बालेनलाई मिडियाले यतिसम्म पृष्ठपोषण ग¥यो कि भर्खर तोते बोल्दै गरेका बालकले पनि ‘बा’ भन्दा पहिले बालेन भने । ‘आमजनताको एउटै सोच घण्टीमा भोट’ भयो । विदेश पलायन भएका सन्तानको रोजाइ र उनीहरुकै भविष्य बनाउने आशाकैबिच बाबुआमाले चौतर्फी घण्टी बजाए । के अब रास्वपा सरकारले विदेशीएका सन्तान स्वदेश फर्काउला ? या नेपालमा रोजगारी सिर्जना गरी भत्किएका सपना पूरा गर्ला ? या त काङ्ग्रेस एमालेले बन्द गरेका कलकारखाना पुनः सञ्चालनमा ल्याउला ? हेर्नै बाँकी छ ।
पार्टीउपर व्यक्तिकै चर्चाले रास्वपामा बलिया बनेका बालेनको क्रेज चुनावपछि झनै बढेको छ । विज्ञहरुको युनिटबाट सफल मेयरको परिचय बनाएका उनले आफ्ना हरेक काममा नयाँपन लिएर उपस्थित हुने गरेको यथार्थताका माझ प्रधानमन्त्री बन्दा पनि नविनतालाई नै आत्मसाथ गरे । विदेशी दलाल भनेर अपव्याख्या गर्ने र भ्रम फिजाउनेहरुलाई बालेनले हिन्दुत्व के हो ? भनेर सपथ ग्रहण मै बुझाइदिए । ज्ञानेन्द्र शाहको विकल्पमा आएका बालेन्द्र शाहले सुरुवाती चरणमा कस्ता कार्य र निर्णय गर्लान् ? उनको रणनीति के छ ? यो सर्वत्र चर्चाको विषय बनेको छ ।
नेपालमा ऐतिहासिक अस्तित्व बोकेका हुँ भन्ने दल तथा तिनका नेताहरूले विगत लामो समयदेखि राजनैतिक बाजा बजाउँदै आएका हुन् । जेलनेलदेखि प्रवास र भूमिगत जीवनसम्म भोगेका नेताहरूले राजनीतिमा गरेको दुख बिर्सिसाध्य नहोला । यसर्थ उनीहरुको त्याग, तपस्या र साधनाप्रति जनताको सहानुभूति समानुपातिक बाजामा सिमित बन्या होला । पुस्तौंदेखि सुर र बेसुुरमा बाजा बजाइरहेका पार्टीहरुले चाहिनेभन्दा बढी बाजा बजाएर नै आज घण्टीको उदय भएको होला । नेपाली वैदिक परम्परामा घण्टी सत्कर्ममा बझ्ने गरेको इतिहास छ । निर्वाचनमा चौतर्फी घण्टी बज्नु र सपथ समारोहमा स्वस्तिवाचनदेखि शङ्खनादसम्मका वैदिक क्रियाकलाप समेटिनुले नेपालीहरुलाई आशावादी बनाएको बुझ्न सकिन्छ ।
मतपरिणाम पश्चात् आफ्ना विजयी सांसदलाई रास्वपा सभापति रवि लामिछानेले दिएको निर्देशनलाई लिएर पनि रास्वपाप्रती जनताको नयाँ विश्वास र आशा पलाएको छ । सभापति जस्तो जिम्मेवार पदमा बसेर आफ्ना नेताहरूलाई यसरी जिम्मेवार निर्देशन नेपालको राजनीतिमा विरलै दिइएको थियो । नेपालमा बा’हरुको अहंकारी साम्राज्यका अगाडि परिवर्तनको संवाहक बनेको घण्टीले के नयाँ नेपालको खाका ल्याउँला ? विगतको निर्मम सामन्ती युगलाई नै अङ्गालेर गणतन्त्र र लोकतन्त्रका जगमा प्रहार गर्ला ? युवा रोजगारको रणनीति ल्याएर देशमा आशाको दियो जलाउला ? लोकतान्त्रिक पद्धतिमा जनादेशलाई शिरोपण गर्नुको विकल्प रहेनछ । अन्यथा रास्वपालाई प्राप्त यो जनमत मान्नेवाला कोहि थिएनन् होला । पुरानाको दर्दनाक अवस्था, कुण्ठा र क्षोभकाबिच जेन–जी आन्दोलनले जनमत पाएको मान्ने या नमान्ने नयाँ सरकारको भावी कामले बताउँला ।
पछिल्ला वर्षहरुमा नेपालले भोगेको राजनैतिक अस्थिरतालाई उचित निकास दिन घण्टी बजेको बुझ्नु न्यायोचित नै हुन्छ । विदेश पलायन, प्राकृतिक सम्पदाको संरक्षण, खानी उत्खनन, धर्म, संस्कृति, मौलिक मूल्यमान्यता, मर्यादा र नैतिकताको पतन, इतिहास सापेक्षित नीति निर्माणको अभावका कारण देशमा घण्टी बजेको हुन सक्छ । पुराना बाजा नबज्नुमा पुरानै नेताको दोष हुनुपर्छ । जनताको मन जित्न आत्मसमीक्षा गरेर अगाडि बढ्नु पर्छ । परन्तु पुराना, पाका र खारिएका नेताहरुले नै अलोकतान्त्रिक बाटो समातेर नयाँ ध्वनिमा रमाउने आफ्ना कार्यकर्तालाई कार्वाही गर्छु भन्नू वितृष्णाको मार्ग हुनेछ । कुनै समय घण्टी बोकेका रबिभन्दा रुखको छहारी लागेका गगन निक्कै लोकप्रिय थिए । कालचक्रले आज गगन शितलतामै विद्रोही बने रविले आफ्नो तेज स्वदेशदेखि विदेशसम्म फिँजाए । यसअघि रास्वपाविहिन काठमाडौं ४ मा सुरक्षित भएका गगन आज आएर आफ्नै पूर्व कार्यकर्तासँग हार्नु प¥यो । प्रचण्डले समावेशिताको नाता लगाउन रोल्पा पुग्नु प¥यो । ओलीलाई महानगरकै हैसियत मुनिको सम्बोधन मिल्यो । बालेनको जयजयकार भयो । आजको घण्टी उदयको जस गगन र ओलीलाई नै जान्छ । अघिल्लो निर्वाचनमा रविको त्याग देखिएन । रविविरुद्ध घृणित राजनीति गरेर उपनिर्वाचन हुँदै प्रमाण अनि सम्पत्ति शुद्धीकरणको मुद्दासम्मले प्रतिशोधको भाषा उत्पन्न भयो । रविको संसदीय मर्यादामा अङ्कुश लाग्यो । कांग्रेस एमालेको दुइतिहाइ सरकारले अन्याय गरिरह्यो । त्यही अन्यायका सङ्घारमा जेन–जी विद्रोह भयो । फलस्वरूप आज रविको हाइहाई भयो । अति सर्वत्र वर्जयेत अर्थात् अति गर्नु खती हुन्छ भन्या झैं, गगन, ओलीको सत्तारोहणको यात्रा टुङ्गियो । बालेनको उदयले सारा नेपालीमा नयाँ उमङ्ग छायो । यसर्थ पनि सत्ता र शक्ति स्थायी हुँदैनन् । पाप धुरीबाट कराउँछ । एक न एक दिन सत्यको जित हुन्छ भन्ने भावको चरितार्थ भयो ।




