बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सामाजिक सञ्जाल, विचार र हाम्रो मानसिक स्वतन्त्रता

सामाजिक सञ्जाल, विचार र हाम्रो मानसिक स्वतन्त्रता


  • विकल्प घर्ती मगर
  • चैत्र १६ २०८२, सोमबार

हामीलाई लाग्छ हामी सामाजिक सञ्जाल चलाइरहेका छौं, तर गहिरिएर सोच्ने हो भने सामाजिक सञ्जालले नै हामीलाई चलाइरहेको छ । हरेक दिन बिहान उठेदेखि राती निदाउने बेलासम्म हामी मोबाइलको स्क्रिनमा बाँधिएका हुन्छौं । हामी के सोच्ने, के मन पराउने, कसलाई समर्थन गर्ने, कसलाई विरोध गर्ने–धेरै कुरा सामाजिक सञ्जालकै सामग्रीले निर्धारण गरिरहेको छ ।

आजको पुस्ताले ज्ञानको मुख्य स्रोत नै सामाजिक सञ्जाललाई बनाएको छ । यो आफैँमा गलत होइन, तर प्रश्न यो हो–के हामीले पाउने सबै जानकारी सत्य, सन्तुलित र निष्पक्ष छ ? यदि कुनै नियोजित उद्देश्यले कुनै समूह वा व्यक्तिको चाहनाअनुसार मात्र हामीलाई सूचना दिइयो भने हाम्रो विचार कता जान्छ ? हामीले कसरी बुझ्ने कि हामीले पाएको ज्ञान सत्य हो वा प्रभाव पार्न बनाइएको ? सामाजिक सञ्जालमा हामीले देख्ने धेरै कुरा ‘छनोट गरिएको सत्य’ हुन्छ–हामीलाई देखाइने त्यही हो, जसले ध्यान तान्छ, क्लिक बढाउँछ, प्रतिक्रिया बटुल्छ । यो क्रममा सनसनीपूर्ण समाचार, विवादित विचार र भावनात्मक सामग्री बढी फैलिन्छन् । यसले हाम्रो सोच्ने तरिका, निर्णय गर्ने शैली र दृष्टिकोणलाई बिस्तारै बदल्दै लैजान्छ । हामीले व्यक्तिप्रति धारणा बनाउने तरिका पनि यही माध्यमले तय गर्न थालेको छ । कसैलाई “राम्रो” वा “नराम्रो” ठान्ने निर्णय धेरैजसो हामीले आफ्नै अनुभव र तर्कले होइन, मोबाइलमा देखिएको कथाले बनाइरहेका छौं । कसैले नकारात्मक छवि पायो भने उसलाई सधैं नकारात्मक दृष्टिले हेर्न थालिन्छ, सकारात्मक छवि बनाइयो भने उ सधैं सही ठहरिन्छ । यो प्रवृत्तिले व्यक्तिको वास्तविकता ओझेलमा पार्छ । चलचित्रको उदाहरण पनि यस्तै छ । फिल्ममा देखिने नायक र खलनायक पात्र मात्र हुन्, तर कहिलेकाहीँ दर्शकले उनीहरूलाई वास्तविक जीवनकै प्रतिरूप जस्तै हेर्न थाल्छन् । सामाजिक सञ्जालले पनि त्यस्तै गर्छ—कसैलाई निरन्तर नायक वा खलनायकको रूपमा प्रस्तुत गरिदियो भने हामी त्यसैमा विश्वास गर्न थाल्छौं, वास्तविकता जाँच्ने प्रयास नै नगरी ।

आजको बहस र छलफल पनि सीमित हुँदै गएको छ । हामी आफ्नै जीवन, समाज वा भविष्यका गम्भीर विषयभन्दा सामाजिक सञ्जालमा चलेका ट्रेन्ड र विवादमै बढी समय खर्चिन्छौं । बहस गहिरो हुँदैन, छिटो भावनामा बग्ने, पक्ष–विपक्षको कट्टरता देखिने तर तथ्य र समाधान खोज्ने अभ्यास कम देखिन्छ ।

बौद्धिक र गम्भीर सोच राख्ने धेरै मानिसहरू सामाजिक सञ्जालबाट टाढिँदै गएको देखिन्छ । कारण सरल छ–गालीगलौज, व्यक्तिगत आक्रमण र स्वस्थ बहसको अभाव । यसले विचारको विविधता घटाउँछ र एउटै किसिमको सोचलाई मात्र ठूलो देखाउने वातावरण बनाउँछ । परिणामस्वरूप, हामी बिस्तारै एउटै ढाँचामा सोच्न बाध्य हुन्छौं । मिडियाको शक्तिबारे धेरै चर्चा हुन्छ । भनाइ छ–मिडियाले निर्दोषलाई दोषी र दोषीलाई निर्दोष देखाउन सक्छ । यो कुरा आजको डिजिटल युगमा झन् प्रासंगिक देखिन्छ । सामाजिक सञ्जालमा एउटा कथन, एउटा भिडियो वा एउटा ट्रेन्डले जनमतलाई सजिलै मोड्न सक्छ । यो शक्ति सकारात्मक रूपमा प्रयोग भयो भने समाजलाई अघि बढाउँछ, तर गलत उद्देश्यमा प्रयोग भयो भने भ्रम, विभाजन र गलत धारणालाई बलियो बनाउँछ । हामीले यो पनि सोच्नुपर्छ–के हामी आफ्नै सोचमा स्वतन्त्र छौं वा एल्गोरिदम र भाइरल सामग्रीले निर्देशित गरिरहेको छ ? हामीलाई के हेर्ने, के पढ्ने, केमा रिसाउने र केमा खुशी हुने भन्ने कुरा कतै अरूले तय गरिरहेका त छैनन् ? यसको अर्थ सामाजिक सञ्जाल त्याग्नुपर्छ भन्ने होइन । यो माध्यमले ज्ञान, अवसर, सम्बन्ध र अभिव्यक्तिको ठूलो सम्भावना पनि दिएको छ । तर हामीले यसको प्रयोग कसरी गर्छौं भन्ने कुरा निर्णायक हुन्छ । सचेत प्रयोग, तथ्य जाँच्ने बानी र फरक–फरक दृष्टिकोण सुन्ने क्षमता बिना हामी सजिलै भ्रमित हुन सक्छौं ।

अब समय आएको छ कि हामीले सामाजिक सञ्जाललाई मात्र सूचना होइन, सोच्ने सामग्रीका रूपमा हेर्ने तरिका बदलौं । देखिएको कुरामा तुरुन्तै विश्वास गर्नुको सट्टा प्रश्न गरौं, स्रोत जाँचौं, फरक मत बुझौं । बहसलाई द्वेष होइन, बुझाइ बढाउने माध्यम बनाऔं । यदि हामीले यस्तो सोच विकास गर्यौं भने सामाजिक सञ्जाल हाम्रो मालिक होइन, हाम्रो सहयोगी बन्न सक्छ । नत्र भने हामीले नबुझेको अवस्थामा हाम्रो सोच, धारणा र निर्णय अरू कसैको नियन्त्रणमा रहिरहनेछ । हाम्रो मानसिक स्वतन्त्रता जोगाउने जिम्मेवारी अन्ततः हामी आफैंको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->