आज मानिसको सबैभन्दा नजिकको साथी मोबाइल भएको छ । पहिले मानिसहरु बिहान उठ्नेबित्तिकै भगवान् सम्झिन्थे, अहिले मोबाइल, यस्तो लाग्छ, मोबाइलले नै हाम्रो जीवनको रिमोट कन्ट्रोल सम्हालेको छ । घर हुँदा होस् या पर हुँदा सन्तानभन्दा प्यारो मोबाइल छ । मोबाइल बिना आजकाल कोही पनि पुर्ण हुन सक्दैन । कसैको हातमा मोबाइल छैन भने उसलाई कुनै संकट परेको छ बुझिहाले हुन्छ ।
दिनभरको थकान बिसाउन पाएको छैन । दिउँसो संगै भएकाले फोन गर्छन् । के छ खबर ? खाना खानुभो ? के भन्नु दिनमा घरकाको फोन, साँझ–बिहान अर्काको फोन सुत्न नपाउँदै ट्यार्र बच्छ । निद्रादेवीको कोख रित्तो हुन्छ । फोन उठायो । सुत्नै लाग्या छु भन्दा पनि खाना खानुभो ? भन्ने ध्वनी गुन्जिन्छ । सुन्दै रिस उठ्ने खाना नखाइ को सुत्छ ? भन्न मन लागेपनि बोलिहाल्न नहुने यस्तै छ फोन जिन्दगी ।
मेरो जीवनमा एसएलसी ताका मोबाइलले प्रवेश पाए हो । त्यतिबेला धेरै मान्छेमा मोबाइलको सोख थियो । मोबाइल बोक्ने मान्छे देख्दा पनि छेउमा जाउँजाउँ लाग्थ्यो । आज त्यहिं मोबाइल चलाएको मान्छेलाई देख्दा पनि कन्सिरी तातेर आउँछ । हिजोआज त्यहिं मोबाइलको स्विच अफ गर्दा पनि गाली खानु पर्छ । अन गर्दा पनि गाली खानुपर्छ । गाली खानकै लागि मोबाइल चाहिएला भन्ने त कहिल्यै कल्पना गरिएन । मोबाइलकै कारण कत्ति प्रेमिप्रेमिकाको ब्रेकअप भयो । कतिको डिभोर्स नै भयो । आज आइपुग्दा हाम्रा बालबालिकाले सानै उमेरदेखि मोबाइलकै कारण गाली खाने गरेका छन् । पहिलेका केटाकेटी बाहिर डुल्थे । बाआमा ढुक्कले काम गर्थे । अहिलेका केटाकेटी घरै बसेर मोबाइल हेर्छन् । बाआमाका गाली खान्छन् ।
पहिले मोबाइललाई सबैभन्दा ठूलो सम्पत्ति ठानिन्थ्यो । अहिले त्यहिं मोबाइलले श्रीसम्पत्ति उडाएको छ । शुभ समाचार होस् या अशुभ । फोनको घण्टी पर्खिदा आज मान्छे आफैं मोबाइलको दास भएको छ । काम गर्ने कामदार होस् या हाकिम, भर्खरै जन्मेको बच्चा होस् या पढ्दै बढ्दै गरेको बालकले होस् । मोबाइलमा टिङ्ग घण्टी बज्यो भने आँखा तान्नुपर्ने भएको छ ।
पहिले मान्छेहरूको भेटघाट हुन्थ्यो । कुराकानी चल्थ्यो, अहिले भेटेर पनि मोबाइलमै कुरा गर्छन् । एउटै आसनमा बसेका दुई जना एकअर्कालाई म्यासेज पठाउँदै बस्छन् । पत्निले पनि पतिलाई खाना खान आउ भनेर म्यासेज गर्छिन् । कुनै दिन यो पनि आउँला भात थप्दिउ भनेर म्यासेज बज्ला । हिजो मुख चल्थ्यो आज हातका औंला चल्छन् । मोबाइलको सबैभन्दा ठूलो चमत्कार भनेको यहिं होला बोल्नै नपर्ने । हुनतः बुढापुरानाले दुई कानले प्रशस्त सुन्नु । एउटा मुखले थोरै बोल्नु भन्थे, हो रहेछ । आजको मानिस बोल्नै छाड्या छ । पहिले फोटो खिच्न लाज लाग्थ्यो, अहिले फोटो नखिचे लाज मान्नुपर्छ । खाने कुरा आउनासाथ खाइँदैन, पहिले फोटो खिचिन्छ । यस्तो लाग्छ, पेटभन्दा पहिले मोबाइललाई खाना खुवाउनुपर्छ ।
अर्को रमाइलो कुरा त के छ भने, मोबाइलले मानिसलाई सबै विषयमा विज्ञ बनाइदिएको छ । फेसबुक, म्यासेन्जर र टिकटक हेरेर वैद्य, डाक्टर, परामर्शकर्ता हुँदै इन्जिनियर र राजनीतिज्ञसम्म बन्न सकिन्छ । कसैले सामान्य टाउको दुखेको छ भनेर स्टाटस लेख्यो भने कमेन्टमा दर्जनौं डाक्टरको उत्पत्ति हुन्छ –‘यो औषधि खानुहोस्, तुरुन्त निको हुन्छ ।’स्वस्थ्य लाभको शुभकामना त कति कति । आजभोलि घर बेच्नेदेखि पसलको विज्ञापन गर्ने सम्मको काम मोबाइलले गर्छ । कसको घरमा के पाक्यो । को कहाँ छ । कस्को छोरोछोरी के कस्ता छन् । बिहेबारीको काम समेत मोबाइलले गर्छ । टिकटकले त सबैलाई कलाकार नै बनाइदिएको छ । टिकटक खोल्यो कि घर गाउँका सबैसबै नाचगान र अभिनयमा मस्त देखिन्छन् । नापजाँच गर्नुपरे भैसीकै फोटो राखेपनि तौलिने क्षमता नेपालीमा छ । वस्तुको नाम, घर जग्गा बिक्रीदेखि जन्म–मृत्युका सूचना पनि यहिँ पाइन्छ । राम्रोभन्दा नराम्रोलाई धेरै रुचाउने हामीहरुले आजभोलि फेसबुकबाटै हो राजनैतिक वितृष्णा जगाएको, कसैलाई गाली गर्नु छ भने नेताको फेसबुक स्टाटस हेरे पृथ्वीमा उत्पन्न भएका अपशब्द भेटिन्छन् । अन्यथा गतिलो र राम्रो कुराले कसैको मोबाइलमा ठाउँ नै पाउदैन ।
मोबाइलले सम्बन्धहरू पनि अनौठा बनाइदिएको छ । पहिले प्रेमपत्र लेखिन्थ्यो, अहिले फोनले नै सर्वस्व स्विकार्छ । तिमी बिना बाँच्न सक्दिन भन्नकै लागि घण्टौं धाइ लाएर जानुपथ्र्यो । आज जे कुरा मनमा आउँछ । फोन ठोके भइहाल्छ । अन्यथा भूमिकै बाध्नु परेपनि म्यासेन्जरले काम गर्छ । अनि ब्रेकअप हुन पनि त्यत्ति ठूलो घटना घट्नु पर्दैन । भनेको समयमा फोन नगरे, आएको म्यासेज नहेरे वा म्यासेज हेरेर रिप्लाई नगरे सम्बन्ध टुंगिइ हाल्छ । आज घरमा परिवार त भेटिन्छन् तर सबैको नजर आफ्नै मोबाइलमा हुन्छ । यदि कसैले मोबाइल छुटाएर आयो भने ऊ घरबाट बहिष्कृत हुन्छ । पहिले प्रेमपत्र लेख्न हप्तौँ लाग्थ्यो,अहिले मोबाइलबाटै हुँदा नहुँदा भावनात्मक पिक्चर पठाएर पत्रको रुप प्रदान गरिन्छ । लाग्छ, अब त प्रेम र ब्रेकअप पनि ‘अनलाइन’ बाटै हुन्छ ।
यति हुँदाहुँदै पनि मोबाइल हाम्रो जीवनको अपरिहार्य हिस्सा बनेको छ । पढाइदेखि कमाइसम्म, मनोरञ्जनदेखि जानकारीसम्म सबै मोबाइलमै सीमित भएको छ । कहिलेकाहीँ मोबाइललाई साइडमा राखेर मानिससँग सिधै कुरा गर्दा अनौठो मान्नुपर्ने भएको छ । मान्छेले अरु संगको कनेक्सन टुटोस् नटुटोस् मतलब गर्दैन । परन्तु मोबाइल संगको कनेक्सन नटुटोस् भन्ने चाहन्छ ।
आजको युगलाई यदि कुनै एउटा वस्तुले चिनाउँछ भने त्यो मोबाइल हो । पहिले मानिसले घडी हेरेर समय थाहा पाउँथे, अब मोबाइलले कति समय खेर गयो भनेर दुख बिसाउँदो छ । मोबाइल आज केवल सञ्चारको साधन मात्र होइन, यो त मान्छेको वैकल्पिक आत्मा बनेको छ ।
उज्यालो नहुँदै भगवान् सम्झिने मानिस अहिले मोबाइल सम्झिन्छन् । संसार हेर्नुभन्दा पहिले मोबाइल हेर्छ । पहिले काग कराएपछि उज्यालो भएको बुझ्थे । आज अलार्म बजोस् नबजोस् । मानिसको नयाँ देवता नै मोबाइल भएको छ । जसलाई दिनमा दर्जनौँ पटक दर्शन गरिन्छ । चलाउन मिले मज्जाले चलाइन्छ । चलाउन नमिल्ने भए बजाएर भए पनि सुनिन्छ । ती दुवै कार्य नभए खल्तीमै भए पनि छामेर बसिन्छ । त्यसैले त मोबाइलले मानिसलाई निकै ‘स्मार्ट’ बनाएको छ । तर मलाई शंका छ – मानिस स्मार्ट भयो कि मोबाइल ?
एक्काइसौं शताब्दीको मानिस यस्तो बन्या छ कि भान्सामा चामल सकिएको पत्तो पाउँदैन परन्त मोबाइलको चार्ज सकिन्छ कि भनेर डराउँछ, आफ्नो ऊर्जा सकिँदै गएको कुरामा ध्यान दिँदैन । मोबाइल आफैमा नराम्रो वस्तु होइन, यसले संसारमा ज्ञानको ढोका पनि खोलेको छ । मोबाइलले नै संसारलाई साँघुरो बनाएको छ । विश्वका जुनसुकै जानकारी हात हातमा अट्याउँछन् । यो सबल पक्ष हो । यद्यपि समस्या मानिसमा देखा पर्दो छ । अघिअघि मोबाइल थिएन शब्दकोश खोजेर पढिन्थ्यो । अत्यावश्यक ज्ञान कण्ठस्थ गरिन्थ्यो । आज मोबाइलमा जे खोज्यो त्यहिं पाइन्छ । जस्ले गर्दा मानिसको बुद्धि घट्दै छ । गुगलमा सबथोक पाइने भएपछि मानिसले सोच्न छोड्यो । विद्यार्थीले पनि मोबाइल बिना आफूलाई अधुरो ठान्दै छन् ।
कुनै दिन, मोबाइल सम्पन्नताको परिचायक थियो । आज मोबाइल छ – निद्रा हराम, भोक, शोक र अरुको चिन्ता हराम जीवन कायापलट छ । सन्तोष होइन मस्तिष्क तनाबले भरि छ । चौबिसै घन्टा मोबाइलको फेरो लगाउनेहरुको पैसा र ब्याट्री मात्रै होइन आयु र दृष्टि पनि रित्तिदो छ । यहिं यन्त्र हो हाम्रा परिवार, आफन्त, इष्टमित्र, जिम्मेवारी र समग्र जीवन नै ध्वस्त बनाउने । त्यसैले समीक्षा यहीँबाट सुरु गरौं, मूल्याङ्कन गरेरै अगाडि बढौं । कस्का गित, टिकटक र सिरियल हेरेर मानिस सफल भएको छ । कनिकुथी जीवन चलाउन धौधौ भइरहेका बेला मानिसलाई मोबाइलले चलाउनु जायज होइन । मोबाइल अन, तनाब अन, यो मोबाइललाई बिसाउन मात्रै के पाइन्छ अँध्यारो नहुँदै पनि निद्रा आउँछ । सुतेर हाइ काड्दै मोबाइल चलाउने जमानामा मेरो कुराले के छोला र ? हामी त अरुलाई मोबाइल चलाउनु हुँदैन भनेर घुक्र्याउछौं, सम्झाउछौं र थक्र्याउछौं । परन्तु त्यहिं मोबाइलको भरमा मनोरञ्जन गर्छौं । दिन काट्छौं । रिस उठ्दा वा खुशी हुँदा मोबाइलमै शान्ति खोज्छौं । कल्पनाको संसार जता घुमाए पनि मोबाइल बिना आजको भान्सा दालबिनाको भात जस्तै हुन्छ । जे सोचे पनि, जहाँ पुगे पनि जे गरे पनि मोबाइल बिनाको जीवन अधुरो छ । थकाइ मार्नुस् या फ्रेस हुनुस्, शान्ति निद्राउपर मोबाइलमा छ ।
सामाजिक सञ्जालले मानिसलाई जोड्नु पर्ने थियो । तर आज यहिं प्रविधि र सञ्जालले मानिसको दुरी बढाएको छ । फेसबुक, टुइटर र म्यासेन्जर लगायतमा हजारौँ साथी छन्, तर मानिस एक्लो छ । फेसबुकमा लाइक, कमेन्ट, स्वास्थ्य लाभ, शुभकामना र बधाइ दिने धेरै छन् । तथापि मन बुझ्ने हितैषी कोही छैन । मोबाइलले पारिवारिक सम्बन्धमा पनि ठूलो असर पारेको छ । पहिले परिवारका सदस्यहरूसँगै बसेर खाना खान्थे, दुखसुखका गफ गर्थे । अहिले सबैजना मोबाइलसंगै खाना खान्छन् र मोबाइलसंगै सुत्छन् । अनि मोबाइलसंगै उठ्छन् । श्रीमानले श्रीमती छोराछोरीलाई बोलाउँछिन् । उनीहरु ‘एकछिन’ भन्छन् । तर त्यो एकछिन कहिल्यै आउँदैन । आमाले छोराछोरीसँग कुरा गर्न खोज्छिन्, तर उनीहरु ‘च्याट’मा व्यस्त हुन्छन् । यता श्रीमानले पस्केको भातभन्दा पहिला मोबाइललाई ग्राह्यता दिदा श्रीमती अत्तालिन्छिन् । कतिका श्रीमतीले टिकटकलाई जीवन मान्दा परिवार नै चौपट भएका छन् ।
आज मानिसहरू देखे जति सबै कुरा फोटो खिचेर राख्छन् । तर हेर्ने समय कहिल्यै जुट्दैन । हजारौं खर्चिएर बनाएको बिहेको भिडियो जस्तो, स्वास्थ्य प्रतिकुलता त्यस्तै आँखा नदेख्नेदेखि हातखुट्टा बाउडिन्जेलसम्म घाँटी दुख्नेदेखि, निद्राको सर्वस्व हुन्जेल मानिसले पत्तो पाउँदैन । त्यसैले त मोबाइलले मानिस स्वार्थी, एक्लो र निरस भएको छ । सबै कुरा मोबाइलमा राख्ने प्रवृत्ति बढेसंगै मानिसले आफ्नो मनभन्दा पनि मोबाइललाई सुरक्षित बनाउँदो छ । मोबाइलका यति धेरै नकारात्मक पक्ष हुँदाहुँदै पनि सबल पक्ष अनगिन्ती छन् । दोष मानवीय क्रियाकलापको हो । मोबाइल एउटा साधन हो, तर हामीले त्यसलाई साध्य मानेका छौँ । हामीले मोबाइललाई नियन्त्रण गर्नुपर्ने हो, तर अहिले मोबाइलले हामीलाई नियन्त्रण गरिरहेको छ । मोबाइलले हाम्रो दैनिकीलाई सहज, सरल र प्रभावकारी बनाउनु पथ्र्यो । टाढा भएका आफन्त इष्टमित्रसँग सजिलै फोन, म्यासेज र भिडियो कल गरेर प्रत्यक्ष कुराकानी गर्न मिल्ने सजिलो सञ्चार बन्नुपथ्र्यो । सूचना, समाचार, मनोरञ्जन र अध्ययन सामग्रीका साथमा अनलाइन कक्षा, अडियो, भिडियो र युट्युब जस्ता एपबाट शिक्षा लिन सकिने साधन बन्नुपथ्र्यो । मोबाइलकै प्रयोगबाट इमेल पठाउन, सजिलै फोटो र भिडियो खिच्न, सुरक्षण र भण्डारण गर्न सक्नुपथ्र्यो । परन्तु मोबाइल अनिद्रा, शिरदर्द र आँखामा समस्या उत्पन्न गराउने साधन भएको छ । मोबाइलकै लतले आम मानिसमा चौतर्फी असर पुर्याउँदो छ । फेसबुक र टिकटक जस्ता एपले समयको बर्बादी गराएका छन् । अनावश्यक रूपमा भिडियो, गेम वा सोशल मिडिया चलाउँदा महत्वपूर्ण काम छुट्दै छन् । भने शुन्य एकाग्रतामा मानिसले निरन्तरता खोज्दै छ । सामाजिक दुरी बढेर पारिवारिक सम्पर्क खल्लो बन्दैछ । फलस्वरूप आजको मानिस मोबाइलको दास भएर बाँचेको छ । त्यसैले बेला बेलामा मोबाइललाई पनि बिसाउने माध्यम डिजिटल व्रत सुरु गर्ने समय आएको छ । यसर्थ मोबाइललाई दोष दिनुभन्दा पनि यसको सही प्रयोग गर्न सिक्नुपर्छ । यदि हामीले समयको सही व्यवस्थापन गर्न सक्यौँ भने मोबाइल हाम्रो साथी बन्न सक्छ । अन्यथा महान शत्रु बन्छ । मोबाइल आजको आवश्यकता हो, लत होइन । यसलाई साधन बनाऔं । जीवनको केन्द्रबिन्दु नबनाऔँ ।




