बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पूर्व प्राथमिक तहमा अपनाइने शिक्षा प्रणालीको अवधारणा

पूर्व प्राथमिक तहमा अपनाइने शिक्षा प्रणालीको अवधारणा


  • लाल बहादुर नेपाली
  • चैत्र २४ २०८२, मंगलबार

बाल्यकालीन शिक्षा हरेक देश, परिस्थिती र समयानुकुल फरक धारणा हुन् । जुन सबैलाई एकै प्रकारले लागु गर्दा सिकाई र कक्षाकोठा व्यवस्थापन लगाएतका पक्षहरु, भाषा र समाज, सामाजिक तथा साँस्कृतिक परिवेशको विविधताका कारण सि.पि.एस., ई.सि.सि.ई, सि.पि.आर.एस. वा ई.सि.डि. जस्ता सैद्धान्तिक परिकल्पनाहरु र तिनको व्यवहारिक परियोजनमा भिन्नता आउनु स्वभाविक हो । विषेशतः सामाजिक, आर्थिक र शैक्षिक परिपाटीले सिकाईलाई प्रत्यक्ष वा परोक्ष असर पारिरहेका हुन्छन् । त्यसकारण पनि विभिन्न सिद्धान्तहरु विभिन्न समाज र परिस्थितीमा फरक ढंगबाट मुल्याङ्कन गरि फरक सिकाई बातावरणमा लागु गर्न भने नसकिने होइन् तर पनि नेपालका विभिन्न विद्यालयहरुको भ्रमण, अन्तरक्रिया, र अनुभवहरुबाट पनि यो कुरालाई नकार्न सकिन्न कि बालबालिकाहरुको समग्र विकासलाई सबै शैक्षिका संस्थाहरुले अङगिकार गरेका छन् । तर, फरक सिद्धान्तहरुको प्रयोगबाट जसमा बालमनोविज्ञानको अभाव र विभिन्न समस्याहरु अझै पनि यथावत नै छन् । अघिल्ला लेखहरुमा मैले एक विषय विषेशको वा सिद्धान्त विषेशको मात्र अध्ययन गरेका थिए । तर, यहाँ समग्रमा सबैको अध्ययन र मुल्याङकनको जमर्को गरेको मात्र हो ।

बाल्यकालीन हेरचाह तथा शिक्षा (ई.सि.सि.ई.), सिर्जनात्मक समस्या समाधान (सि.पि.एस.) भन्नाले जन्मदेखि करिब आठ वर्षसम्मका बालबालिकाको समग्र विकासका लागि अपनाइने एक व्यापक दृष्टिकोणलाई जनाउँछ । जसको मुख्य ध्यान औपचारिक विद्यालय शिक्षाभन्दा अघिको अवधिमा केन्द्रित हुन्छ । तर बाल्यकालीन हेरचाह तथा शिक्षा (ई.सि.सि.ई.), सिर्जनात्मक समस्या समाधान (सि.पि.एस.)मा तात्वविक फरक छन् । जसमा ई.सि.सि.ई.को अवधारणामा सिकाईभन्दा बाल विकासमा जोड दिइएको छ भने सि.पि.एस.मा पूर्ण रुपमा सिकाई केन्दि«त अवधारणालाई प्राथमिकता दिइएको छ । ई.सि.सि.ई.ले शिक्षा, हेरचाह, स्वास्थ्य, पोषण र मनोवैज्ञानिक विकासलाई एकीकृत गरी बालबालिकाको सर्वाङ्गीण विकास (होलिस्टिक डेभ्लपमेन्ट) सुनिश्चित गर्दछ । ई.सि.सि.ई.लाई सम्पूर्ण शिक्षा प्रणालीको आधारका रूपमा व्यापक रूपमा स्वीकार गरिएको छ गर्न पनि सकिन्छ । किनभने यसले बालबालिकाको संज्ञानात्मक क्षमता, भावनात्मक स्थिरता, व्यवहार र सिक्ने क्षमतालाई सुरुवाती चरणमै आकार दिन्छ । नेपालजस्ता देशहरूमा ई.सि.सि.ई. प्रायः प्रारम्भिक बाल विकास (ई.सि.डि.) केन्द्रहरू, विद्यालयसँग सम्बन्धित पूर्व–प्राथमिक कक्षाहरू तथा समुदायमा आधारित बाल हेरचाह कार्यक्रममार्फत सञ्चालन गरिएको छ भने विभिन्न संस्थागत विद्यालयहरुमा पनि यसको धारणालाई प्राथमिकता दिइएको छ । जसले केहि तात्वविक भिन्नता ल्याएका छन् भने स्रोत र साधन सम्पन्न विद्यालयहरुमा त यसको असर अति नै उत्तम देखिएको छ । यी शिक्षा प्रणालीहरुमा राष्ट्रिय संरचनाले सामान्यतया तीनदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्छ । यद्यपि यसभन्दा साना बालबालिकाको हेरचाह प्रायः परिवार वा अनौपचारिक प्रणालीभित्रै हुने गर्छ तर केही शैक्षिका संस्थाहरुमा भने त्यसको स्वरुपलाई नै परिवर्तन गरिएको पनि पाइयो । जसले सिकाई वा समग्र विकासका पक्षहरुलाई नै अवरोधका रुपमा प्रस्तुत गरेको छ ।

ई.सि.सि.ई. र ई.सि.डि.को अवधारणा प्रारम्भिक बाल्यकाल मस्तिष्क विकासको अत्यन्त महत्वपूर्ण चरण हो भन्ने बुझाईमा आधारित छ र यी दुवै सिद्धान्तहरुमा धेरै समानता पनि छन् । यहाँ अरु सिद्धान्तहरुमा पनि समानता नभएका भने होइनन् । वैज्ञानिक तथा शैक्षिक अनुसन्धानहरूले देखाएका छन् र देखाउँछ कि यस अवधिमा बालबालिकाले प्राप्त गर्ने अनुभवहरूले उनीहरूको जीवनभरको सिकाई, स्वास्थ्य र व्यवहारमा गहिरो प्रभाव पार्छ । त्यसैले ई.सि.सि.ई.र ई.सि.डि.ले केवल बालबालिकालाई विद्यालयका लागि तयार पार्ने कुरा मात्र होइन । यो उत्पादक, स्वस्थ र सामाजिक रूपमा जिम्मेवार जीवनको आधार निर्माण गर्ने प्रक्रिया हो । नेपालमा पनि नीति, सरकारी कार्यक्रम तथा अन्तर्राष्ट्रिय संस्थाहरूको संलग्नतामार्फत ई.सि.सि.ई.र ई.सि.डि. क्रमशः महत्वपूर्ण बन्दै गएको छ, तर सहि र वास्तिविकता भने फरक छ । पछिल्ला दुई दशकमा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा भर्ना हुने बालबालिकाको संख्या उल्लेखनीय रूपमा बढेको छ । सरकारले शिक्षालाई अनिवार्य गरे सँगै यो अझ उचाईमा पुगेको त छ नै र यसले अभिभावक र समुदायमा बढ्दो सचेतनालाई संकेत गर्दछ । तर, पनि जेनेरेसन ग्यापका कारण प्रभावकारी भने नभएकै हो । त्यो विद्यालयहरुमा र समाजमा हुने सामाजिक व्यवहारहरुमा प्रशस्त मात्रमा देखिन्छ ।

ई.सि.सि.ई.र ई.सि.डि.को मुख्य विशेषतामध्ये एक यसको समग्र (होलिस्टिक) दृष्टिकोण हो । परम्परागत शिक्षा प्रणालीले मुख्य रूपमा शैक्षिक उपलब्धिमा ध्यान दिने भएपनि ई.सि.सि.ई.र ई.सि.डि.ले शारीरिक, संज्ञानात्मक, भावनात्मक र सामाजिक विकासलाई एकैसाथ जोड दिन्छन् । बालबालिकालाई कण्ठस्थ गर्नेभन्दा खेल, अन्तरक्रिया र अन्वेषणमार्फत सिक्न प्रोत्साहित गरिन्छ । नेपालजस्ता सन्दर्भमा, जहाँ शिक्षा प्रणालीलाई परीक्षामुखी र रटानामा आधारित भनेर आलोचना गरिन्छ, यस्तो दृष्टिकोण विशेष रूपमा महत्वपूर्ण हुन्छ । ई.सि.सि.ई. र ई.सि.डि.ले बालकेन्द्रित शिक्षण पद्धति परिचय गराउँदछन्, जसले बालबालिकामा सानै उमेरदेखि जिज्ञासा, सिर्जनात्मकता र आलोचनात्मक सोचको विकास गर्न सहयोग पु¥याउँछन् ।

ई.सि.सि.ई.र ई.सि.डि.का फाइदा व्यापक र बहुआयामिक छन् । यसको एक प्रमुख लाभ संज्ञानात्मक विकासमा पर्ने प्रभाव हो । प्रारम्भिक बाल्यकालमा मस्तिष्क तीव्र रूपमा विकसित हुन्छ र बुद्धिमत्ता, स्मरण शक्ति तथा समस्या समाधान गर्ने क्षमतामा प्रभाव पार्ने स्नायु जाल (न्युरोन कनेक्सन्) निर्माण हुन्छन् । गुणस्तरीय ई.सि.सि.ई. कार्यक्रमहरूले यस्ता प्रक्रियालाई सुदृढ बनाउने उत्तेजनात्मक वातावरण प्रदान गर्छन् । कथाकथन, चित्र कोर्ने, गीत गाउने र अन्तरक्रियात्मक खेलजस्ता गतिविधिहरूले बालबालिकामा भाषिक क्षमता, गणनात्मक सीप र तार्किक सोच विकास गर्न मद्दत गर्छन् । यी आधारभूत सीपहरू पछिल्लो शिक्षाका चरणहरूमा सफलताको लागि अत्यन्त महत्वपूर्ण हुन्छन् तर यी सबै सिद्धान्तहरुलाई व्यवहारमा ल्याउनका लागि आवश्यक जनशक्ति तयार गर्न भने शिक्षामा अझ धेरै लगानी र जन विश्वासको खाँचो छ । जसले सरकारी र निजी क्षेत्रलाई एकबद्ध गरि समान दृष्टीकोणबाट गति लिन सकोस् ।

ई.सि.सि.ई.र ई.सि.डि.को अर्को महत्वपूर्ण लाभ विद्यालय तयारी (स्कुल रेडिनेस) हो । प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी बालबालिकाहरू सामान्यतया औपचारिक विद्यालय शिक्षाका लागि बढी तयार हुन्छन् । उनीहरूले सुन्ने, निर्देशन पालना गर्ने, साथीसँग अन्तरक्रिया गर्ने र संरचित वातावरणमा अनुकूल हुने जस्ता आधारभूत सीपहरू विकास गर्छन् । नेपालमा धेरै बालबालिकाहरू कुनै पूर्व सिकाई अनुभव बिना नै प्राथमिक विद्यालयमा प्रवेश गर्ने भएकाले ई.सि.सि.ई.र ई.सि.डि.ले यो अन्तर घटाउन महत्वपूर्ण भूमिका खेल्छन् र खेल्न सक्दछन् । यसले विद्यालय छोड्ने दर घटाउँछ र शैक्षिक उपलब्धि सुधार गर्छ ।

ई.सि.सि.ई.र ई.सि.डि.ले सामाजिक र भावनात्मक विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउँछ । साना बालबालिकाहरूले अरूसँग कसरी घुलमिल हुने, स्रोतहरू बाँड्ने, विवाद समाधान गर्ने र आफ्ना भावनाहरू उचित रूपमा व्यक्त गर्ने सीप सिक्छन् । यी सीपहरू स्वस्थ सम्बन्ध निर्माण र समाजमा प्रभावकारी रूपमा काम गर्नका लागि आवश्यक हुन्छन् । आधुनिक डिजिटल समाजमा जहाँ सामाजिक र भावनात्मक सोच र शिक्षाको अभाव छ वा साना बालबालिकाहरुमा नैतिक शिक्षाको अभाव छ यदि प्रभावकारी रुपमा ई.सि.सि.ई. र ई.सि.डि.लाई लागु गर्न सकियो भने र तालिम प्राप्त जनशक्ति परिचालन गर्न सकियो भने मात्र पनि भविष्यका लागि हुने शैक्षिक लगानी खेर जादैन । नेपालजस्तो बहुसांस्कृतिक देशमा ई.सि.सि.ई. र ई.सि.डि.ले विभिन्न समुदायका बालबालिकाबीच अन्तरक्रिया बढाएर समावेशीकरण र सामाजिक सद्भाव प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका हुन सक्छ ।

स्वास्थ्य र पोषण ई.सि.सि.ई. र ई.सि.डि.का अभिन्न अंग हुन् – विशेष गरी विकासोन्मुख देशहरूमा । नेपालका धेरै ई.सि.सि.ई.र ई.सि.डि. कार्यक्रमहरूले आधारभूत स्वास्थ्य सेवा, पोषण सहयोग र सरसफाई शिक्षा पनि समावेश गर्छन् । ग्रामीण तथा सीमान्तकृत समुदायहरूमा, जहाँ बालबालिकाहरू कुपोषण वा स्वास्थ्य सेवाको अभावबाट प्रभावित हुन सक्छन्, यो अत्यन्त महत्वपूर्ण हुन्छ । प्रारम्भिक चरणमै यस्ता समस्याहरू समाधान गरेर ई.सि.सि.ई. र ई.सि.डि.ले बालबालिकाको समग्र स्वास्थ्य सुधार गर्छ र सिक्ने क्षमतामा वृद्धि गर्दछ तर विभिन्न नाम र उपनाम तथा व्यापारिक प्रयोजनका लागि खोलिएका संघ र संस्थाहरुको गिरोहले यसलाई गलत प्रयोजनका लागि उपयोग गर्दै आएका छन् र त्यो पनि विद्यालयहरुमा प्रशस्त मात्रामा देखिन्छ ।

ई.सि.सि.ई.र ई.सि.डि.को अर्को महत्वपूर्ण फाइदा समानता प्रवद्र्धन र सामाजिक असमानता घटाउने क्षमतामा निहित छ । वञ्चित पृष्ठभूमिका बालबालिकाहरू प्रायः सिकाईका स्रोत, सहयोगी वातावरण र शैक्षिक अवसरबाट वञ्चित हुन्छन् । ई.सि.सि.ई. र ई.सि.डि.ले प्रारम्भिक सिकाई अवसर प्रदान गरेर यस्तो असमानता कम गर्न सहयोग गर्दछन् । अनुसन्धानहरूले देखाएका छन् कि गुणस्तरीय प्रारम्भिक शिक्षा पाएका बालबालिकाहरू भविष्यमा शैक्षिक रूपमा सफल हुने, राम्रो रोजगारी पाउने र समाजमा सकारात्मक योगदान गर्ने सम्भावना बढी हुन्छ । तर नेपालमा अझै पनि धनी र गरिबबीच ई.सि.सि.ई.र ई.सि.डि.को पहुँच र गुणस्तरमा ठूलो अन्तर रहेको छ भने सामुदायीक क्षेत्रलाई जनमानसले विश्वास नगर्ने र निजी क्षेत्रमा तालिम प्राप्त जनस्रोतको अभावका कारण विधिपूर्वक लागु गर्न सहज छैन् ।

ई.सि.सि.ई.र ई.सि.डि.का दीर्घकालीन आर्थिक फाइदाहरू पनि महत्वपूर्ण छन् । प्रारम्भिक शिक्षामा गरिएको लगानीले मानव संशाधन विकासमा उच्च प्रतिफल दिन्छ । गुणस्तरीय प्रारम्भिक शिक्षा पाएका व्यक्तिहरू बढी उत्पादनशील, नवप्रवर्तनशील र आर्थिक रूपमा सक्रिय हुन्छन् । नेपालजस्तो विकासशील देशका लागि ई.सि.सि.ई.र ई.सि.डि. सुदृढ बनाउनु भविष्यमा दक्ष जनशक्ति निर्माण गरी राष्ट्रिय विकासमा योगदान पु¥याउने माध्यम बन्न सक्छ भने समग्र सामाजिक विकासमा पनि ।

यद्यपि यस्ता महत्वपूर्ण फाइदाहरू हुँदाहुँदै पनि नेपालजस्ता देशहरूमा ई.सि.सि.ई.र ई.सि.डि. कार्यान्वयनमा विभिन्न अवरोधहरू छन् । प्रमुख चुनौतीमध्ये एक अपर्याप्त बजेट र लगानी हो । सरकारले ई.सि.सि.ई. र ई.सि.डि.को महत्व स्वीकार गरे पनि यस क्षेत्रमा पर्याप्त स्रोत विनियोजन हुन सकेको छैन भन्ने पुराना अध्ययनले देखाएको छ । आशा छ अबको सरकारले यो क्षेत्रमा प्रायाप्त लगानी र निगरानीका साथ शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राख्ने छ । धेरै ई.सि.सि.ई. र ई.सि.डि. केन्द्रहरू न्यून सुविधासहित सञ्चालन भइरहेका छन् । ती सबै स्तोरन्नती हुनेछन् र शिक्षाको गुणस्तरमा सकरात्मकता ल्याउनेछन् ।

अर्को ठूलो समस्या प्रशिक्षित तथा योग्य शिक्षकहरूको अभाव हो । साना बालबालिकालाई पढाउनु विशेष सीप र ज्ञान आवश्यक पर्ने काम हो, तर नेपालका धेरै ठाउँमा ई.सि.डि. केन्द्रहरूमा पर्याप्त तालिम नपाएका सहजकर्ताहरू कार्यरत छन् । यसले शिक्षण प्रक्रिया प्रभावकारी हुन नसक्ने र ई.सि.सि.ई.को सम्भावित लाभ सीमित हुने अवस्था सिर्जना गर्छ । अझै पनि कम शैक्षिक योग्यता र तालिमको अभावमा यी अवधारणहरुलाई व्यवहारिकता प्रदान गर्न सकिएको छैन भने सामाजिक संरचना र भुगोल पनि महत्वपूर्ण अवरोधका रुपमा रहेका छन् । अनि पूर्वाधार सम्बन्धी समस्या पनि गम्भीर छ । विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रमा रहेका धेरै ई.सि.सि.ई.र ई.सि.डि. केन्द्रहरूमा सुरक्षित कक्षाकोठा, खेलमैदान, शिक्षण सामग्री र सरसफाइ सुविधाको अभाव हुन्छ । कतिपय केन्द्रहरूमा सिफारिस गरिएको भन्दा धेरै बालबालिका राख्ने गरिन्छ, जसले सिकाई वातावरणलाई प्रतिकूल बनाउँछ ।

भौगोलिक तथा आर्थिक असमानताले पनि समस्या जटिल बनाएको छ । नेपालको विविध भौगोलिक अवस्थाले दुर्गम क्षेत्रमा ई.सि.सि.ई. केन्द्र स्थापना र सञ्चालन गर्न कठिन बनाउँछ । त्यस्ता क्षेत्रमा बालबालिकाहरू प्रारम्भिक शिक्षाबाट वञ्चित हुने सम्भावना बढी हुन्छ । साथै, गरिबी पनि ठूलो अवरोध हो, किनकी धेरै परिवारहरूले बालबालिकालाई ई.सि.सि.ई. कार्यक्रममा पठाउन सक्दैनन् । भाषिक र सांस्कृतिक विविधताले पनि चुनौती प्रस्तुत गर्छ । नेपालमा धेरै भाषा र जातीय समूहहरू छन्, जसका कारण सबैलाई समेट्ने एकरूप पाठ्यक्रम लागू गर्न गाह्रो हुन्छ । बालबालिकाले आफ्नो मातृभाषा भन्दा फरक भाषामा पढ्दा सिकाइमा समस्या हुन सक्छ ।

अर्को समस्या निजी र सामुदायिक÷सरकारी ई.सि.सि.ई.र ई.सि.डि. बीचको गुणस्तर अन्तर हो । निजी संस्थाहरूले प्रायः राम्रो सेवा प्रदान गर्छन्, जसले धनी परिवारका बालबालिकालाई फाइदा पु¥याउँछ, जबकी गरिब परिवारका बालबालिकाहरू कमजोर सेवामा निर्भर रहन बाध्य हुन्छन् । यसले असमानता बढाएको छ । यो समस्या साना कक्षाहरुमा मात्र नभई देशको समस्या पनि हो । अभिभावकको सचेतना र सहभागिता पनि महत्वपूर्ण कारक हो । धेरै समुदायहरूमा अभिभावकहरूले प्रारम्भिक शिक्षाको महत्वपूर्ण रूपमा बुझेका हुँदैनन् र छैनन् पनि । जसले बालबालिकाको सहभागिता र घरको सहयोगमा असर पारेको छ ।

नीति कार्यान्वयन र समन्वयमा पनि समस्या देखिन्छ । विभिन्न नीति र योजनाहरू भए पनि तिनको प्रभावकारी कार्यान्वयनमा कमजोरी छ । सरकारी निकाय, स्थानीय तह र गैरसरकारी संस्थाहरूबीच समन्वयको कमीले सेवा प्रवाहमा समस्या ल्याएको छ । विश्वव्यापी चुनौतीहरू जस्तैः महामारी, आर्थिक संकट र प्राकृतिक विपत्तिहरूले पनि ई.सि.सि.ईर्..र ई.सि.डि.प्रणालीलाई थप प्रभावित पार्छन् र कतिपय अवस्थामा मुख्य कारक नै हुन् । यस्ता परिस्थितिहरूले शिक्षा पहुँच घटाउँछन् र बालबालिकाको विकासमा नकारात्मक असर पार्छन् । उदाहरणका लागि नेपाली युवाहरुको जेन–जी आन्दोलन अहिले बालबालिकाको सिकाईका लागि एक राजनैतिक अवरोध र अवसर दुबै बनेको छ ।

यी चुनौतीहरूका बाबजुद नेपालमा ई.सि.सि.ई. र ई.सि.डि.सुधारका प्रयासहरू भइरहेका छन् यो सत्य हो र हुन पनि जरुरी छ । सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा पहुँच विस्तार, गुणस्तर सुधार र समावेशी अभ्यासहरू प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । खासमा यो शिक्षा क्षेत्र विकासका लागि अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्य हामीलाई जरुरी नै होइन कि यदि हो भने हाम्रो पहिचानलाई गुमाउनु हुदैन । शिक्षक तालिम, पाठ्यक्रम विकास र समुदायको सहभागिता बढाउने प्रयासहरूले सकारात्मक प्रगति देखाएका त छन् तर समयसापेक्ष चल्न र चलाउन जरुरी छ ।

भविष्यमा ई.सि.सि.ई. र ई.सि.डि. को सफलताका लागि यी चुनौतीहरू समाधान गर्नु आवश्यक छ । प्रारम्भिक शिक्षामा लगानी वृद्धि, शिक्षक तालिम सुधार, पूर्वाधार सुदृढीकरण र समावेशी अभ्यासहरू प्रवद्र्धन महत्वपूर्ण कदमहरू हुन् । सरकार, समुदाय र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य सुदृढ गर्नु पनि आवश्यक छ । यदि सरकार आफैमा सक्षम होइन भने । ई.सि.सि.ई. र ई.सि.डि शिक्षा प्रणालीको अत्यन्त महत्वपूर्ण अंश हो, जसले जीवनभरको सिकाई र विकासको आधार तयार गर्छ । यसको फाइदा व्यक्तिगत स्तरबाट समाजसम्म फैलिन्छ र भविष्यका लागि पनि चिन्तन योग्य अवधारणा छ र हो । नेपालजस्ता देशहरूमा ई.सि.सि.ई. र ई.सि.डि.ले शिक्षा प्रणाली रूपान्तरण गरी सक्षम, आत्मविश्वासी र जिम्मेवार नागरिक उत्पादन गर्न ठूलो भूमिका खेल्न सक्छन् । तर, यसको पूर्ण सम्भावना प्राप्त गर्न पहुँच, गुणस्तर र समानतासम्बन्धी चुनौतीहरू समाधान गर्न आवश्यक छ । ई.सि.सि.ई.र ई.सि.डि.लाई प्राथमिकता दिँदै त्यसमा पर्याप्त लगानी गरेमा नेपालले आफ्ना बालबालिका र समाजका लागि उज्ज्वल र समानतामूलक भविष्य सुनिश्चित गर्न सक्छ ।
जय शिक्षा । जय नेपाल ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->