बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कक्षाकोठामा ३५ वर्ष : बेजोड अनुभव कृति

कक्षाकोठामा ३५ वर्ष : बेजोड अनुभव कृति


  • लक्ष्मीकिशोर सुवेदी
  • असार २० २०८३, शनिबार

गत वैशाख १८ बिहान ४२ वर्षअघिदेखि निरन्तरको साथी गोविन्द लुइँटेलको फोन आयो । अपराह्नतिर भेट गर्ने भयौँ । उसले नवप्रकाशित पुस्तक दियो, ‘कक्षाकोठामा ३५ वर्ष’ । पल्टाएर हेरेँ, रातो मसीले लेखेको रहेछ– प्रिय साथी लक्ष्मीकिशोर सुवेदीमा सप्रेम समर्पण ।

त्यति प्रिय वाक्यका साथ उसकै हातबाट पुस्तक पाएर म अनुगृहीत भएँ, तर धन्यवाद भनिनँ । खुसी प्रकट गरेँ, बधाई दिएँ ।

धरानमा हामी सँगै पढ्थ्यौँ । त्यति बेलै कुनै प्रसंगमा उसले मलाई भनेको थियो– तिम्रोे र मेरो बीचमा सरी (क्षमा) र थ्याङ्क्स (धन्यवाद)को ठाउँ छैन ।

पुस्तकको नामले नै ध्यानाकर्षण गरेको भए पनि तपसिलका केके काममा अलमलिएर पढ्न केही ढिलो भयो । ढिलै भए पनि म उसको पुस्तकमा प्रतिक्रियाहीन बस्न सक्ने कुरै थिएन । फोन गरेर अन्तरंग ढंगले केही प्रतिक्रिया जनाएँ ।

कस्ता पुस्तक रुचिकर हुन्छन् ? यो निकै जटिल प्रश्न हो । यसमा सबैका लागि समान र ठोस जवाफ हुने कुरै भएन । मान्छेको रुचिमा तर्क हुँदैन । मेरो पनि रुचिको खास क्षेत्र छ, यसमा अलिक बढी र अन्य विधामा विषयानुसार पुस्तक पढ्छु ।

कुनै पुस्तक पढ्दै जाँदा त्यसको एक तर मुख्य पात्रका रूपमा आफूलाई भेट्दा कस्तो होला ? मेरो उत्तर सोझो छ– त्यो पुस्तकको कथा आफ्नै हुन्छ, पढाइ गज्जबको हुन्छ ।

मानिसलाई सबभन्दा बढी मनपर्ने कथा कुन हो ? त्यसको पनि सोझो उत्तर छ– आफ्नै कथा ।

‘कक्षाकोठामा ३५ वर्ष’ पढ्दै जाँदा हरेक पृष्ठमा मैले आफूलाई भेटेँ, कतै त प्रत्येक वाक्यमा भेटेँ । गोविन्दले ३५ वर्ष स्कुलमा पढायो । निजी र सामुदायिक दुवैमा पढायो । शिक्षणको यो लामो अवधिमा उसले जे अनुभव गर्‍यो, जे भोग्यो त्यसकै कथा लेखेर पुस्तक बनायो ।

शिक्षकका रूपमा उसको अनुभव र भोगाइ उसको मात्रै कथा होइन, मेरो पनि हो अनि ऊ र मजस्ता सबै शिक्षकको हो । हामीले पढाएका–सिकाएका तमाम विद्यार्थीको कथा हो । यो कथा तिनका अभिभावकको पनि हो ।

शिक्षाका अभियानी, नीतिनिर्माता, प्रशासक, अनुगमनकर्ता र शिक्षा सरोकारवाला सबैका लागि उपयोगी साझा कथा हो ।

कुनै न कुनै रूपमा विद्यालय पुग्ने–भोग्ने र सरोकार राख्ने प्रत्येक व्यक्तिले ‘कक्षाकोठामा ३५ वर्ष’भित्र आफूलाई पाउँछ । आफूलाई कुनै न कुनै पात्रका रूपमा पाउँछ । हातमा भएको पुस्तकमा आफ्नै यथार्थ कथा पढ्न पाउँदा कसको मन पुलकित नहोला र ! मेरो पनि भयो ।

विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षा प्रशासक र यस्तै कुनै सरोकारवालाका रूपमा विद्यालय नपुगेको को नै छ र !

हामी धरानको हात्तीसार क्याम्पसका सहपाठी विद्यार्थी थियौँ । भुसे चुलोमा धुवाँ निकाल्दै एउटै भाँडोमा भात पकाएर खान्थ्यौँ । सँगै बस्थ्यौँ । तैँले पकाएको भन्दा मैले पकाएको मिठो भन्दै आफूलाई गतिलो देखाउने प्रयास गर्थ्यौं ।

राजनीति, साहित्य र समाजका विषयमा अनेक तर्कवितर्क गर्थ्यौं । कहिलेकाहीँ एकार्कासँग ठुस्किएर एक्लाएक्लै क्याम्पस जान्थ्यौँ । दिनभरिमा ठुस्कान सकिन्थ्यो अनि अँगालो हाल्दै डेरातिर फर्किन्थ्यौँ ।

खुसीले सँगै उफ्रेको, शिवरात्रिमा भाङ खाएर लट्ठिएको, घरबाट ल्याएको चामल बेचेर सिनेमा हेर्न कुदेको यस्ता अनेक सम्झनाहरू ‘कक्षाकोठामा ३५ वर्ष’का साथ भेल बनेर ओइरिए ।

मैले भन्नैपर्छ- लामो संगत गर्दै एउटै बाटोमा ३५ वर्ष हिँड्दा पनि मैले त्यो बाटोमा गोविन्दले जसरी मिहिन नजरले हेरिनँ क्यारे ! उसले जे लेख्यो त्यो सबै म र मजस्ता सबै शिक्षकले देखेको, भोगेको र व्यहोरेको कुरा हो, तर त्यो अनुभव अक्षरमा ढालेर पुस्तकमार्फत सबैका लागि पस्किने काम गर्‍यो गोविन्दले । यसनिमित्त ऊ बधाईको पात्र छ ।

धरानमा हामी विज्ञानका विद्यार्थी थियौँ । त्यसमा हाम्रो प्रतिस्पर्धा थिएन, थियो त साहित्यतर्फको पुस्तकमा । मेरो ध्यान पुस्तकालयबाट गोविन्दले कुन पुस्तक लगेछ भन्नेमा हुन्थ्यो, उसको पनि ठ्याक्कै त्यही हुन्थ्यो । निःसन्देह त्यो प्रतिस्पर्धामा उही अगाडि थियो ।

शिक्षण पेसाको लामो यात्रामा सँगसँगै हिँड्दा गुज्रिएका दृश्य र पल उसले विस्तारित र गहिरो नजरबाट हेर्‍यो र देख्यो, फरक कोणबाट पर्गेल्ने काम गर्‍यो ।

म र मजस्ता अनेकन् साथीले देखेर पनि वास्ता नगरेका, भोगेर पनि आन्तरिकीकरण गर्न नसकेका अनेक घटनाहरूमा गम्भीर चिन्तन गरेर छ्याङ्ङ बनाइदियो । यसमा ऊ बधाईको हकदार छ ।

म गर्वसाथ भन्न सक्छु- ऊ हिजो पनि अगुवा थियो र आज पनि अगुवा नै भयो ।

एक सय उनन्सय पृष्ठको ‘कक्षाकोठामा ३५ वर्ष’ कृतिभित्र एक्काइसवटा अनुभवनिबन्ध छन्, तर ती सबै कक्षाकोठाको वरिपरि घुमेका छन् ।

शिक्षकले पढाउने कि सिकाउने ? प्रधानाध्यापक, शिक्षक विद्यार्थी र अभिभावक कस्ता हुनुपर्छ ? निजी र सामुदायिक विद्यालयबीचको भिन्नता के हो ? शिक्षाको गुणस्तर के हो ?

शिक्षकको मर्यादा कस्तो हुनुपर्ने हो ? शिक्षकको काम र विद्यार्थी चाहना, शिक्षकको चाहना र विद्यार्थीको कामका बीचका कति गाहिरा खाडल छन् ? ती खाडल पुर्न केके गर्नुपर्ला ?

गोविन्दले यी प्रश्नहरूमा गहन विमर्श गरेर सरल ढंगले विश्लेषण गरेको छ । उसले धेरै विषयमा निष्कर्ष दिएको छ । पाठक र शिक्षा सरोकारवालाहरूका लागि थुपै्र प्रश्न पनि दिएको छ ।

विद्यालय शिक्षाको विकासका लागि ढिलोचाँडो समाज र राष्ट्रले ती सबै प्रश्नको उत्तर खोज्नुपर्नेछ ।

पुस्तकबाट निष्कर्ष निस्किन्छ– विद्यार्थी र उसका समस्या उसकै ठाउँबाट नबुझेसम्म विद्यार्थीलाई सही बाटोमा डोर्‍याउन सकिँदैन । विद्यार्थीको चाहनाको प्रवाहमा नबगीकन उसको प्रवाह परिवर्तन गर्न सकिँंदैन । विद्यालय र शिक्षकका मर्का यथार्थपरक ढंगले नबुझेसम्म शिक्षामा अपेक्षित सुधार गर्न सकिंँदैन ।

गोविन्दको ठम्याइ छ– शिक्षकको स्वाभिमान र मर्यादा कसरी उठाउने भन्ने प्रश्नमा समाज गम्भीर भएर घोत्लिन र समाधान निकाल्न अत्यावश्यक छ ।

शिक्षकको मर्यादाका प्रसंगमा पुस्तकमा मार्मिक कुरा उल्लेख भएको छ । गणतन्त्र भारतका राष्ट्रपति बनेका पूर्वशिक्षक सर्वपल्ली राधाकृष्णनको प्रसंगमा आचार्य रजनीशको भनाइको भाव यसरी साभार गरिएको छ– पूर्वशिक्षकहरू ठूला पदमा पुगेर शिक्षण पेसाको मर्यादा बढ्दैन, बरु ठूला पदमा पुगेर निवृत्त भएका मानिस शिक्षक हुन आए भने शिक्षण पेसाको मर्यादा बढ्छ ।

के हाम्रो देश नेपालमा यस्तो सपना देख्न सकिएला ?

यो त परको कुरा भयो । अरू पेसाबाट शिक्षणमा आउन सक्ने वातावरण मात्र निर्माण भए पनि अवस्था अहिलेको भन्दा राम्रो हुने थियो ।

पुस्तकमा विद्यालयको शैक्षिक सफलता र गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सहकार्य र सन्तुलनको आवश्यकतामा जोड छ । यस्तो परिस्थिति सिर्जना हुन नसक्नुप्रति गोविन्दले चिन्ता प्रकट गरेको छ ।

‘सम्झनाका विद्यार्थी’ शीर्षकमा विविध कारणले शिक्षा प्रवाहबाट उछिट्टिएका वा उछिट्टिन बाध्य पारिएका विद्यार्थीको सम्झना गरिएको छ । सफल विद्यार्थीका प्रसंग पनि छ ।

विद्यार्थीको नतिजा र सफलताप्रति वर्तमान समाजको बुझाइ यथार्थपरक नभएको उसको निष्कर्ष छ । अनि, उसले यसमा चिन्ता प्रकट गरेको छ ।

सार्वजनिक विद्यालयमा रहेका अधिकांश विद्यार्थीको आर्थिक–सामाजिक परिवेशप्रति आँखा चिम्लेर नतिजाको जिम्मा शिक्षकको पोल्टामा मात्रै हालेर समाज, राज्य र यसका निकायले शिक्षकहरूप्रति अन्याय गरेका छन् भन्ने उसको निष्कर्षमा मेरो विमति छैन । शिक्षकको सामार्थ्यबाहिरको जटिलताको समाधान शिक्षकबाट खोज्नु हुँदैन भन्ने तर्कमा मेरो सहमति छ ।

‘कक्षाकोठामा ३५ वर्ष’ विद्यालयका प्रधानाध्यापक र शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा अभियन्ता, नीतिनिर्माता सबैका लागि उपयोगी छ ।

शिक्षण कार्यको लामो अनुभवका क्रममा आफूले देखेका, भोगेका र मनन गरेका घटना–व्यवहारबाट झरनाझैँ वेगमा बगेको लेखनशैली बेजोड छ, लालित्यपूर्ण छ ।

त्यसैले शिक्षा सरोकारका हरेक व्यक्तिले यसभित्र आफूलाई पाउँछ भन्ने मेरो निष्कर्ष छ । यसमा प्रत्येक सरोकारवालाले आफ्नो सबलता, कमजोरी र विशिष्टताको दर्शन पाउँछ ।

गोविन्द मेरो प्रिय साथी हो । यसकारणले मैले उसको पुस्तकको यो बयान गरेको होइन, हृदयको कुरा गरेको हुँ । पढेर हेर्नुहोस्, थाहा पाउनुहुनेछ ।

प्रिय गोविन्द ! शिक्षण पेसाबाट औपचारिक रूपमा निवृत्त जीवन लेखन झन् फराकिलो क्षेत्र ओगटेर निरन्तर अघि बढोस् ।

(सुवेदी नेपाल शिक्षक महासंघका अध्यक्ष हुन् ।) 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->