अन्ततः स्वामीजीले देहत्याग गरे । त्यसो त उनले आफ्ना शिष्यहरूलाई भेला पारेर आफ्नो देहत्यागको समय निकट रहेको जानकारी दिँदै हप्ता दिनअघि नै भनेका थिए, ‘यो मेरो अन्तिम देह हो । यसपछि मेरो आत्मा परमात्मामा लीन हुनेछ ।’
हुुन पनि स्वामीजीको निष्ठा, कर्तव्यपरायणता, विनम्रता र करुणाभाव जति उच्च कोटीको थियो, त्यति नै उनी व्यावहारिकता, ज्ञान र भक्ति साधनाका लागि उदाहरणीय थिए ।
उनलाई कर्मयोग, ज्ञानयोग र भक्तियोगका त्रिवेणी नै भन्थे मानिस । उनका लागि सबै आफ्ना थिए, पराई कोही थिएनन् । यत्तिको व्यक्तिले पनि मुक्ति प्राप्त नगरे कसले गर्छ भनेर शिष्यहरू स्वामीजीको भनाइमा विश्वस्त थिए ।
स्वामीजीको आश्रममा ज्ञानेश्वर प्रायः गइरहन्थ्यो । तर, त्यो दिन कामविशेषले आश्रम जान नपाएकाले स्वामीजीको निधनबारे भोलिपल्ट मात्रै उसले थाहा पायो ।
अन्तिम दर्शनबाट वञ्चित भएकोमा उसलाई थकथक लाग्यो । पछि बुझ्दाखेरि थाहा भयो, रातको नौ बजेतिर स्वामीजीको निधन भएको रहेछ ।
सम्पूर्ण शिष्य र शुभचिन्तकहरू शोकको सागरमा डुबेको बेला ज्ञानेश्वर यसबाट अछुतो रहने कुरो थिएन । बाहिरबाट हेर्दा सबै उस्तै शोकाकुल देखिए पनि ज्ञानेश्वरको शोक भने अलि बेग्लै थियो । अरूको शोक एक सच्चा सन्तसँगको बिछोडलाई लिएर प्रकट भएको थियो भने ज्ञानेश्वरको शोकमा स्वामीजीको देहत्यागको घडी र शास्त्रीय वचन विरोधाभाषी भएकाले सन्देह समेत थपिएको थियो ।
स्वामीजीले आफ्नो मुक्तिबारे बताइरहँदा ऊ स्वयम् उपस्थित थियो । कृष्णपक्ष, सूर्य दक्षिणायन, निष्पट्ट रातको समय – ठिक यस्तो क्षणमा स्वामीजीले देहत्याग गरेका रहेछन् ।
श्रीमद् भगवद्गीतामा यस्तो समयमा शरीर त्याग्नेलाई स्वर्गलोक प्राप्ति, आफ्नो शुभकर्मको फलको भोग र तत्पश्चात् पुनर्जन्म प्राप्त हुन्छ भनी ज्ञानेश्वरले पढिआएको थियो ।
यसै कारण एउटा प्रश्नले उसलाई छाडेन– त्यसो भए स्वामीजीलाई कसरी मुक्ति प्राप्त हुन्छ ? उसको बुझाइअनुसार स्वामीजीको भनाइ र गीता वचनमध्ये एउटा झुटो हुनु अवश्यम्भावी भयो ।
ज्ञानेश्वरको यो दुबिधा किनारा लाग्न नपाउँदै पन्ध्र दिनपछि एउटा अर्को घटना भयो । उसका छिमेकी पण्डित सदानन्दले नब्बे वर्षको उमेरमा संसार छोडे– शुक्लपक्ष, सूर्य उत्तरायण, घमाइलो दिनको करिब एक बजेको समयमा ।
दुई दिनअघि मात्रै ज्ञानेश्वरको हजुरआमाको श्राद्ध गर्न आउँदा पुरेत बाजे भन्दै थिए, ‘ती सदानन्द पण्डित पनि कस्ता द्वैध चरित्रका रहेछन् ! ह्वाँ भने दुनियाँभरि पुराणवाचन गर्दै हिँड्छन्, यसो गर्न हुन्छ, उसो गर्न हुन्न भनी सिकाउँछन्, तर आफ्नो घर बनाउँदा मसँग लिएको सापटी तिर्ने कुरा निकाल्यो कि बहाना मात्रै गर्छन् ।’
यसरी ज्ञानेश्वरले सदानन्दको बारेमा अर्को नयाँ कुरो थाहा पायो । छिमेकी भएकाले सदानन्दको एउछा घरायसी विवादको बारेमा ऊ पहिलेदेखि नै जानकार थियो ।
भाइ वेदानन्दको अंशभागमा परेको जग्गा ऊ अफिसबाट सरुवा भएर जुम्ला गएको बेला सदानन्दले आफ्नो नाममा दर्ता गरेपछि घरको कुरो अदालत पुगेको थियो ।
साँझ सदानन्दका जहान र छोराहरूलाई बोलाउन आएका पुरेत बाजेसँग ज्ञानेश्वरको भेट भयो । उनलाई देख्नेबित्तिकै ज्ञानेश्वरको मनमा रहेको जिज्ञासा प्रकट भइहाल्यो–
ज्ञानेश्वर : हैन गुरु, सदानन्द पण्डितले त मुक्ति पाए होलान्, हगि ?
पुरेत : केको मुक्ति ! मेरै ऋण तिर्नका लागि भए पनि यिनले पुनर्जन्म लिनुपर्छ ।
ज्ञानेश्वर : उनको मृत्युको घडी शुक्लपक्ष, सूर्य उत्तरायण, घमाइलो दिनको समय छ त ! फेरि, उनी आफैँ पण्डित पनि ।
पुरेत : खै ! मैले जानेसम्म त उऋण नभई कसैको मुक्ति सम्भव छैन ।
ज्ञानेश्वर : त्यसो भए स्वामीजीको बारेमा के भन्नुहुन्छ नि ?
पुरेत : यही जन्मको मात्रै लेखाजोखा गर्दा त स्वामीजीको मुक्ति अवश्य हुनुपर्ने हो । तर, उहाँका पूर्वजन्मको हिसाबकिताबका बारेमा त परमात्मालाई मात्रै थाहा छ । त्यसकै खेल हुनुपर्छ यो मामिलामा ।
ज्ञानेश्वरलाई पुरेत बाजेका तर्क पूर्वाग्रही र अपूर्ण लागे । उसले एउटा निष्कर्षचाहिँ के निकाल्यो भने, लोकको बुझाइमा खोट छ, ती परिस्थितिअनुकूल अर्थ लगाउँछन् र आफू तार्किक भएको देखाउन खोज्छन् ।
तर, त्यो निष्कर्षले उसको जिज्ञासा मेटिएन, बरु झन् बल्झियो ।
स्वामीजीको पैँतालिसौँ दिनको दिन उनका शिष्य, भक्तजन र शुभचिन्तकहरू आश्रममा जम्मा भएका थिए । ज्ञानेश्वर पनि त्यहाँ उपस्थित थियो ।
साँझ प्रसाद ग्रहणपछि फर्कनै लाग्दा ज्ञानेश्वरलाई बोलाएर आश्रमका प्रधान शिष्यले स्वामीजीको कोठाभित्र लगे । सिरानीसँगैको सानो टेबुलमा राखिएको एउटा कापी दिँदै भने, ‘यसमा स्वामीजीले आफ्नै हातले लेख्नुभएका टिपोटहरू छन् । देहत्याग गर्नुअघि उहाँले यो तपाईंलाई दिन भन्नुभएको थियो ।’
यति भनेर ती शिष्यले उक्त कापी ज्ञानेश्वरको हातमा थमाए अनि दुवै बाहिर निस्किए । स्वामीजीको स्मरण गरेर ती शिष्यलाई धन्यवाद दिँदै ज्ञानेश्वर घरतिर लाग्यो ।
त्यो कापीभित्र के लेखिएको होला भन्ने कल्पना गर्दागर्दै बाटो कटेको पत्तै भएन उसलाई ।
उत्सुकता मेट्न हातमुख धोई बिछ्यौनामा बसेर ऊ कापीका पाना पल्टाउन थाल्यो । पहिलो पृष्ठमै सुन्दर हस्तलेखन थियो, ‘प्रिय ज्ञानेश्वरलाई सप्रेम भेट ।’
स्वामीजीले आफूलाई यत्रो स्नेह गर्नुहुँदो रहेछ भनेर अहिलेसम्म अनभिज्ञ भएकोमा ऊ चुकचुकायो । प्रत्येक पानामा केही न केही जीवनोपयोगी हरफहरू थिए ।
अन्तिमतिर एउटा लेख रहेछ । ‘मुक्ति र पुनर्जन्म’ शीर्षकको उक्त लेखमा भगवद्गीताको दुईवटा श्लोकको व्याख्या गरिएको थियो ।
‘ओहो यो कस्तो संयोग !’ ऊ गुनगुनायो । उसलाई ‘के खोज्छस् प्यासी कुवा’जस्तो भयो । जुन प्रश्नले उसलाई गत डेढ महिनादेखि पिछा छोडेको थिएन, त्यहाँ त्यसैको निराकरण गरिएको रहेछ ।
उसले त्यसलाई दोहोर्याइतेहर्याइ अद्योपान्त पढ्यो । ‘शुक्लपक्ष/कृष्णपक्ष, दिन/रात, उत्तरायण/दक्षिणायन, पण्डितजस्ता शब्द त विम्बको रूपमा पो प्रयोग गरिएका रहेछन्, मचाहिँ शब्दको पछाडि दौडिरहेको रहेछु !’ ज्ञानेश्वरले मनमनै भन्यो ।
लेखको बिट यसरी मारिएको थियो, ‘यो व्याख्या मेरो आफ्नो नभएर मेरो मानवीय यात्रामा सधैँ पथप्रदर्शन गरिरहनुहुने मेरा परमहंश गुरुको हो । उल्लेखित कुरामा मलाई रत्तिभर सन्देह छैन ।’
यति पढिसकेपछि ज्ञानेश्वरले स्वामीजीको भनाइ र गीता वचनबीच पूर्ण तादात्म्य देख्यो । हिजोसम्म उसको मनमा रहेको दुबिधा तत्काल हटेर गयो । र, मन प्वाँखझैँ हलुंगो भयो ।
कतिखेर आँखा लागेछ, ब्युँझिँदा चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका रहेछन् ।





