म्याग्दी, १६ चैत – विभिन्न किसिमका विपत्ति र दैवि प्रकोपका बेला ब्यवस्थापन तथा उद्धार गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्टिय कार्य समितिले नेपाली सेनाको श्रीबक्स गुल्मलाई उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।
(मोना) ले ५० हजार रुपैया बराबरको सिट हार्नेस, कलाम्वीङ डोरी, फिगर, क्यारविना लगायतका सामाग्री सहयोग गरिएको थियो । मोना आइसिसीका सल्लाहकार सुवासकुमार श्रेष्ठ, कोषाध्यक्ष राम खड्का र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नेपाली सेना श्रीबक्स गुल्मका सेनानी राजन दाहाललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
मोना आइसिसीको सचिवालय बेनीमा आयोजना गरिएको उद्धार सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख श्रेष्ठले रोजगार, ब्यवसाय र पढाइको शिलशिलामा विभिन्न देशमा पुगेका म्याग्देलीहरुले जिल्लाको विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य र विकास लगाएतका क्षेत्रमा सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको बताए । उनले मोनाले सहयोग गरेको उद्धार सामाग्रीले जिल्लामा भैपरी आउने विपद् ब्यवस्थापनका लागि सहयोग पुग्ने विचार व्यक्त गरे ।





