बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नगर क्षेत्रमा नै खानेपानीको हाहाकार

नगर क्षेत्रमा नै खानेपानीको हाहाकार

मोटरसाइकलबाट पानी बोक्नुपर्ने बाध्यता


  • ध्रुबसागर शर्मा
  • चैत्र ३० २०७५, शनिबार
demo pic

म्याग्दी, ३०  चैत – म्याग्दीको बेनी नगरपालिका वडा नं ६ बास्बोटका जनता वर्षौदेखि काकाकुलको नियति भोगेर बाँच्न बाध्य भएका छन् । पशु चौपायाँ र करेसाबारीलाई मात्रै होइन तीर्खा लागेको बेला स्थानीयले धित मरुन्जेलसम्म पानी पिउन समेत पाउँदैनन् ।जिल्ला सदरमुकाम बेनी बजारदेखि करिब १ घण्टाको दुरीमा रहेको बास्बोट गाउँमा पानीको स्रोत नहुँदा मोटरसाइकलबाट पानी बोकेर खान स्थानीय बाध्य भएका छन् । बेनपा ६ का एकपाते,बाँस्बोट,पिपलबोट र खेताघर बस्तीका ४० घरधुरीले बर्षौदेखि पानीको समस्या झेल्दै आएका हुन् ।
बाँस्बोटका दुर्गाप्रसाद पौडलेलले नियमित मोटरसाइकलमा पानी बोकेर पानीको गर्जो टार्ने गरेका छन् । दुग्ध व्यावसायी समेत रहनुभएका पौडेलले बिहान र बेलुका गरी दैनिक दुई पटक मोटरसाइकलमा अग्नी खेत र बेनीबाट नै पानी बोकेर समस्या समाधान गर्ने गरेको बताए ।
‘ मिल्क क्यान (दुध बोक्ने भाँडो)मा पानी बोकेर पशु चौपायाँ र हामीले खाने गरेका छैं, पौडेलले भने ‘गाउँमा पानीको स्रोत छैन,वर्षौंदेखि यसरी नै चलाइरहेको छौं ।
मोटरसाइकल लगाएतका सवारी साधन भएका व्यक्तिहरुले ती साधनमार्फत पानी बोकेर गुजारा चलाउने भएपनि साधन नभएका व्यक्तिहरु राती अवेरसम्म लाइन लागेर पानी भर्न बाध्य छन् । गाउँमा रहेको एउटा सानो धारोमा सिंगो वस्तीका वासिन्दा निर्भर रहनुपर्दा ठूलो समस्या भएको एकपाटेकी मनरुपा पौडेलले बताए ।
‘अरु समय सधैं भीडमात्र रहने हुँदा मैले राती सवै सुतेपछि पानी बोक्ने गरेकी छु,पौडेलले भनिन् ‘गाउँको प्रमुख समस्या नै खानेपानीको हो,पानीको मूल नहुँदा २४ घण्टै पानीको जोहोमा लाग्नु पर्ने बाध्यता छ । एक गाग्री पानीको लागि घण्टौं लाइनमा बस्नु पर्ने बाध्यताले गर्दा स्थानीय आजित भएका छन् भने कतिपय त बसाइ सराइ गरेर अन्यत्र जाने सुरसार समेत गरिरहेका छन् ।
गाउँ आसपासमा रहेका पानीका मुहान समेत सुक्न थालेपछि स्थानीयलाई आधा÷एक घण्टाको दुरीमा पानी लिनका लागि ग्यालिन र गाग्री बोकेर जानु पर्ने वाध्यता रहेको स्थानीय अगुवा भोयनाथ पौडेलले बताए ।
गाउँ आसपासमा पानीका कुनै स्रोत नभेटिएपछि बेनी नगरपालिका ५ को चिप्लेटी र पुलाचौरमा पानीको स्रोत भएको खेत नै किनेर खानेपाीको समस्या समाधान गर्ने योजनामा वेनपा ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँ छन् । ‘स्थानीयको समस्या समाधान गर्न निरन्तररुपमा पहल गरेपनि त्यो सफल नभएकोले अव पानीको स्रोत भएको खेत (जग्गा) नै किनेर भएपनि यहाँका वासिन्दाहरुको समस्या समाधान हुन्छ, वडाअध्यक्ष बानियाँले भने ।
पानीको स्रोत भएको खेत नै किनेर भएपनि खानेपानीको समस्या समाधान गर्नका लागि बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारसंग पहल गरिरहेको वडाअध्यक्ष बानियाँले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->