म्याग्दी, १२ बैशाख -वैदेशिक रोजगारीका लागि ६ वर्षअघि मलेसिया गएका म्याग्दीका एक व्यक्ति बेपत्ता भएपछि परिवार चिन्तित भएको छ ।
म्याग्दीको मंगला गाउँपालिका– ५ अर्मनको सिमल डाँडा बस्ने २६ वर्षिय विरबहादुर विश्वकर्मा ६ बर्षदेखि बेपत्ता छन् । विरबहादुरले मलेसिया गएको नौ महिनाको अवधिमा घरमा दुई लाख रुपैयाँ पठाएका थिए । नौ महिना सम्म सम्पर्कमा रहेका विश्वकर्माको त्यसपछि हाल सम्म कुनै अत्तोपत्तो नभएको विरबहादुरका बुबा बल बहादुर विश्वकर्माले बताए ।
घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न आफ्नो मुलुक छाडी ६ वर्षअघि २०७० सालमा मलेसिया जानुभएका विरबहादुर लामो समयसम्म घर नफर्किए पनि घरपरिवारमा उनी आउने आशा भने मरेको छैन ।
विश्वकर्मालाई आफ्नै पुुसाजु भीमप्रसाद सुनार र सागर खत्री (एजेन्ट) मार्फत विदेश पठाइएको थियो । गरिब एवम् विपन्न परिवारका तीन भाई मध्यका विरबहादुर माईला हुन् ।
विश्वकर्मा सम्पर्क्िवहीन भएपछि उनको परिवारको बिचल्ली भएको छ । विश्वकर्माका बुबा बल बहादुर विश्वकर्माले छोरालाई खोजिदिन सरोकारवालासँग आग्रह गरेका छन् ।





