मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखरा विमानस्थल निर्माणको गति र सन्देश

पोखरा विमानस्थल निर्माणको गति र सन्देश


  • Dhorpatan News
  • बैशाख १६ २०७६, सोमबार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जारी छ । विमानस्थल निर्माणको ३५ प्रतिशत निर्माणको काम सकिएको छ, त्यो पनि लक्ष्यभन्दा तीन महिना अगाडि नै । विमानस्थलको धावनमार्गको ढलान सकिएको छ । चालु आर्थिक वर्षमा बाँकी ५ प्रतिशत काम पनि सकिने विमानस्थल निर्माण पक्षले जनाएको छ । ढलान गरिएको रनवेमा अहिले आपतकालीन अवतरण गर्न सकिन्छ भने विमानस्थलभित्र ८ वटा भवनको निर्माण कार्य पनि थालिएको छ । राष्ट्रिय गौरवको आयोजना हो, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थल निर्माणको काम सन् २०१७ को नोभेम्बरबाट सुरु भएको हो । यही गतिले काम भए २०७७ सालको पुससम्म पोखरा विमानस्थल संचालनमा आउँछ । सन् २०२१ को जुलाई १० सम्म बनाइसक्ने गरी यो निर्माण कम्पनी सिएएमसिईसँग सम्झौता भएको हो । चीन सरकारको अनुग्रहमा त्यहाँको एक्जिम बैंकले दिएको ऋणबाट यो परियोजना निर्माण हुन लागेको हो ।

पोखरा विमानस्थलको लागि २०३१ सालमा जग्गा अधिग्रहण भएको थियो । जग्गा अधिग्रहणको लामो समयसम्म निर्माणको कुनै सुरसार भएन । नेपाल सरकारले यसको लागि लगानी जुटाउन सकेन । जग्गा अधिग्रहण भएको लामो समयसम्म विमानस्थल निर्माण हुन नसकेपछि पोखरेलीहरुले आन्दोलन नै गरे । यो आन्दोलनमा तत्कालीन गण्डकी अञ्चलका सबै जिल्लाहरुले ऐक्यवद्धता जनाए । पछि विमानस्थल निर्माणले गति लियो । चीन सरकार यो विमानस्थल निर्माणको लागि ऋण दिन तयार भयो । विमानस्थलको लागि तीन हजार १ सय ६रोपनी जग्गासँगै थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरियो । पछि थप ६० रोपनी जग्गा पनि अधिग्रहण गरियो । विमानस्थल निर्माणले गति लिएपछि पोखरेलीहरु खुुसी भएका छन् । विमानस्थल गण्डकी प्रदेशको ‘गेम चेञ्जर’ बन्ने यहाँका नागरिकहरुको अपेक्षा रहेको छ । पर्यटकीय राजधानी पोखराको पर्यटन प्रवद्र्धनको लागि यो विमानस्थल महत्वपूर्ण हुने नागरिकहरुको ठम्याई छ । हवाई सम्पर्क स्थापनामा नेपाल असाध्यै पछि रहेको छ । राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो छ । त्यहाँ पनि ठूला विमानहरु अवतरण हुन सक्दैनन् । हवाई सम्पर्कको कमीले नेपाल आउन चाहने पर्यटकहरुले समय र पैसा धेरै खर्च गर्नु परेको छ । यस्तोमा पोखरामा बन्ने यो विमानस्थले त्रिभुवन विमानस्थलमाथिको भारलाई कम गर्नेछ भने पोखरालाई अन्तर्राष्ट्रिय सहरहरुसँग सोझै जोड्ने छ । यो समग्र गण्डकी प्रदेशको लागि खुसीको विषय हो ।

अर्कोतर्फ, नेपालमा संचालित कुनै पनि आयोजनाहरु समयमा सम्पन्न हुन सकेका छैनन । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको समीक्षा गर्दा पनि राष्ट्रिय गौरवका आयोजनाहरु सुरु नै नभएको र काम थालिएका परियोजनाको गति समेत साह्रै सुस्त भएको सार्वजनिक गरेको छ । यस्तोमा पोखरा विमानस्थलको गतिले सरकारको नाक जोगाइदिएको छ । निर्माणमा संलग्न सिएमइसीको तदारुकताले यो सम्भव भएको हो । नेपाली परियोजनाको ठेक्का पाएका चिनिया कम्पनीहरुको बिगत खासै राम्रो नभएको बेला सिएएमसिई उदाहरणीय बनेको छ । राम्रो कम्पनीलाई ठेक्का दिइयो र काम गर्ने वातावरण बनाइदियो भने सोचेभन्दा छिटो काम हुने रहेछ भन्ने उदाहरण पनि यही विमानस्थल बन्न पुग्यो । सरकारले यो परियोजनाबाट शिक्षा लिनुपर्छ । काम सुरु भएको वर्षौसम्म पनि आयोजना सम्पन्न नहुने रोगबाट कसरी मुक्ति सम्भव छ भन्ने पोखरा विमानस्थलबाटै बुझ्नुपर्छ । यो वा त्यो बहानामा परियोजनाहरु लम्ब्याउने, त्यसको लागत बढाउने र विकासको गति सुस्त बनाउने काम अब तत्काल रोकिनुपर्छ । राज्यले राष्ट्रिय गौरवका आयोजना घोषणासँगै त्यसको निर्माण प्रक्रिया पनि द्रूत पार्नैपर्छ । पोखरा विमानस्थलको यो गति कुनै पनि बहानामा रोकिनु हुँदैन । सरकारले काम गर्ने वातावरण बनाइदिनुपर्छ अनि आवश्यक निर्माण सामाग्री सहजतासाथ जुटाइदिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->