म्याग्दी, १८ बैशाख – उत्तरी म्याग्दीको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने पाउद्धार देखि किन्दु जोड्ने सडक निर्माण भएको छ । सडक निर्माण भएसंगै राउण्ड अन्नपूर्णका पर्यटकीय गाउँ पाउद्धार र किन्दुमा पनि यातायातका साधनहरुको सुविधा पुग्ने भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्धारदेखि सुरु भएको सडक यसपाली झारवाङ हुदै किन्दु जोडिएको हो । पाउद्धार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिर क्षेत्रमा ट्याक खुलेपछि पाउद्धार किन्दु सिधा सडक सञ्जालमा जोडिएको अन्नपूर्ण गाउँपालकाका अध्यक्ष डमवहादुर पुनका स्वकीय सचिव सुरेन गुरुङले जानकारी दिए।
उनका अनुसार गाउँपालिकाले दुई चरणमा बिनियोजन गरेको २२ लाख रुपैयाँ अनुदान सहयोगमा ७५० मिटर भिरमा सडकको ट्याक निर्माण गरिएको हो । गत वर्ष गाउँपालिकाले बिनियोजन गरेको पाँच लाख रुपैयाँबाट पाउद्धार हुदै सेते प्लेटको भिरसम्म सडक पु¥याइएको थियो ।
गाउँपालिकाका अध्यक्ष डमवहादुर पुनका अनुसार पाउद्धारदेखि किन्दु जोड्ने सडकको दुरी पाँच किलोमिटर छ । सडक निर्माण भएपछि नेपाने, पाउद्धार, झारवाङ, किन्दु, स्वाँता, घोस्केखोर, फलाते, चित्रेका बासिन्दाहरुलाई सुबिधा पुगेको उनले बताए ।
यस सडकलाई पोखरेबगर–घार–शिख–चित्रे सडकको वैकल्पिक मानिएको छ । हाल प्रयोगमा रहेको सडक भन्दा छोटो पनि भएको उपभोक्ता समितिका अध्यक्ष टीकाराम तिलिजाले जानकारी दिए। स्थानीयबासीलाई आवत जावतका साथै गाउँमा उत्पादन भएको आलु लगायत कृषि उपज निकासी, निर्माण र खाद्यान्न सामग्री ढुवानीमा सहज हुने उनको भनाइ रहेको छ ।





