म्याग्दी १८ बैशाख – पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले सेवाग्राहीको घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
गाउँपालिकाको केन्द्रमा रहेका वैंकसम्म आउन नसक्ने अशक्त र बृद्धबृद्धाहरुको सुविधाको लागि गरिमा विकास बैंकमार्फत गाउँपालिकाले वडावडाका वस्तीवस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
मालिका गाउँपालिका ६ दिच्यामका ७८ वर्षिय ओमप्रसाद रोका विगतमा आफन्तको पिठ्यूमा बोकिएर सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि गाउँपालिकाको केन्द्र दरवाङमा आउनु हुन्थ्यो । तर, यस पटक गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका सहित गरिमा विकास वैङ्क दरवाङका प्रतिनिधिहरु घरमै गएर सामाजिक सुरक्षा भत्ताको रकम दिएपछि दङ्ग परे । रोकाले भने ‘बल्ल गाउँमै सिंहदरवार आएजस्तो भयो,विगतमा हामीले धेरै दुःख पाएका थियौं,अहिले हाइसन्चो भयो ।’
त्यसैगरी मालिका ७ विमका ७४ वर्षिय पलविर जुग्जालीले घरदैलोमा नै भत्ता पाउँदा आफूहरुलाई निकै सुविस्ता भएको छर भत्ता वापतको पुरै रकम वचत भएको बताए। विगतमा यातायातका साधनमा वा आफन्तसंग सामाजिक सुरक्षा भत्ता वुझ्नका लागि दरवाङ जाँदा आधा भन्दा बढि रकम यातायात र अन्यकुरामा खर्च हुने गरेको उनको भनाइ थियो ।
गाउँपालिकाकाले गरिमा विकास वैङ्क र प्रभु वैंकमा दरवाङ शाखासंग सम्वन्य गरेर गाउँपालिका भित्रका सात वटै वडामा पुगेर सेवा दिने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए।
भत्ता वितरणका लागि वडा वडामा पुगेका गरिमा विकास वैंक दरवाङका प्रवन्धक नारायणहरी शर्माले घरदैलोमा नै पैसा पाउँदा बृद्धबृद्धाहरुको अनुहारमा खुसी देखिएको बताउँदै भविष्यमा पनि भत्ता वितरणलाई थप प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरे । उनका अनुसार गरिमा विकास वैंकले मालिका १ निस्कोटमा ११२ जना, वडा नं ५ देविस्थानमा २ सय ३१ जना,वडा नं ६ दरवाङमा ६९ र वडा नं ७ विममा १३७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाको वडा नं २,३ र ४ मा भने प्रभु वैंकले वितरण गर्ने गरेको गाउँपालिकाका अध्यक्ष रोकाले बताए ।





