म्याग्दी २४ बैशाख – पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वासिन्दाहरु आधा जीव र आधा वनस्पतीको रुपमा परिचित बहुमूल्य यार्सागुम्बा खोज्नका लागि गाउँ छोडेर हिमालतर्फ उक्लेका छन् ।गाउँबाट एकदिनको बाटो हिडेर स्थानीय गुर्जा हिमालको आसपासका क्षेत्र र खर्कमा गएका गुर्जाबाट स्थानीय गोर्खा छन्त्यालले जानकारी दिनुभउको छ । छन्त्यालका अनुसार गुर्जा हिमाल आसपासका पुरानबुकी,नाउरे,थारखोला,बौरबास,दोथेवास लगाएतका क्षेत्रमा स्थानीयले १० देखि १५ दिनसम्म बसेर यार्सा संकलन गर्ने गर्छन् । गत मंसिरदेखि फागुन अन्तिम सातासम्म उच्च हिमाली क्षेत्रमा भएको हिमपातका कारण जमेको हिउँ पग्लेपछि स्थानीय यार्सा संकलनका लागि हिमालतिर लागेका हुन् ।यसपाली राम्रोसंग हिमपात भएको र यार्सा पाइने खर्कमा मानिस तथा जंगली जनावरहरुको पनि ओहोरदोहोर नभएकाले विगतका वर्षहरुमा भन्दा बढि यार्सा संकलन गर्न सकिने अनुमान स्थानीयले गरेका छन् । छन्त्यालले दिएको जानकारी अनुसार गुर्जावाट २३ जनाको एक समूह यार्सा संकलनका लागि गएको छ ।स्वदेश तथा विदेशमा राम्रो बजार रहेको यार्सा संकलनमा पछिल्ला केही वर्षयता विद्यार्थीलाई रोक लगाइएको छ । अभिभावकसंगै विद्यार्थी पनि यार्सा संकलनका लागि जाँदा गाउँमा रहेको सामुदायिक विद्यालयमा एक महिनासम्म पठनपाठन अवरुद्ध हुने गरेको थियो । बैशाखको दोस्रो सातादेखि जेठ महिनासम्म गुर्जा,मुदी लगाएतका उच्च हिमाली क्षेत्रका वासिन्दाहरु यार्सा संकलनका लागि लेकमा जाने प्रचलन नै रहेको छ ।जलवायु परिवर्तनका कारण पछिल्लो समय अपेक्षा गरे अनुसार यार्सा संकलनमा समस्या हुने गरेको स्थानीयले बताए । गतवर्ष यार्सा पाइने क्षेत्र हुँदै ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमालको आरोहणमा गएका पाँच जना कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगिको हिमआँधीका कारण ज्यान गएको थियो ।एक किलो यार्सामा ३ हजार ५ सयदेखि ४ हजार सम्म बुटी हुने र प्रतिकिलो १ लाख भन्दा बढी मूल्य पर्ने डिभिजन बन कार्यालयले जनाएको छ ।





