म्याग्दी २५ बैशाख- म्याग्दीको मंगला गाउँपालिका वडा नं १ पूर्णगाउँमा बुधवार दिउँसो ४ः३० बजे आगोलागि हुँदा एउटा घर जलेर नष्ट भएको छ ।
पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि नजिकै रहेको भरत केसीको घरमा आगोलागि भएको हो । घर नजिकै रहेको खरले छाएको कटेजबाट सल्केको आगो फैलिएर केसीको घरमा पुगेपछि घर जलेर नष्ट भएको त्यहाँबाट प्रत्यक्षदर्शी सिर्जना रेग्मीले जानकारी दिइन ।
रेग्मीले दिएको जानकारी अनुसार घरमा रहेका मौरीका घार र घरभित्रका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको एकिन विवरण प्राप्त भैसकेको छैन । अहिले स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । नजिकमा पानी नहुँदा आगो समयमा नै आगो नियन्त्रणमा लिन नसकिएको रेग्मीले बताइन ।





