म्याग्दी २६ बैशाख – नेपालका विभिन्न ठाउँमा स्थानीय तहका जनप्रतिनिधिहरुको व्यवहार,कार्यशैली र उनीहरुले लिनेगरेका सुविधाप्रति आलोचनात्मक टीका टिप्पणीहरु भैरहेका बेला म्याग्दीका एक जनप्रतिनिधिले भने आफूले पाउने सेवा सुविधाका अतिरिक्त अन्य आम्दानी समेत शैक्षिक क्षेत्रमा सहयोग गरेर उदाहरणीय बनेका छन् ।
जिल्लाको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले आफूले प्राप्त गरेको सेवासुविधा र व्यक्तिगत आम्दानीको रकम शैक्षिक संस्थालाई सहयोग गर्नुभएको छ । अध्यक्ष रोकाले गाउँपालिका भित्रका शिक्षण संस्थाहरुलाई आफू निर्वाचित भएदेखियता ११ लाख ५० हजार रुपैयाँ सहयोग गरेर उदाहरणीय वन्नु भएको हो । यसै क्रममा बुधवार गाउँपालिका केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसलाई दुइलाख रुपियाँ हस्तान्तरण गर्नुभएको छ ।
जनप्रतिनिधि भएवापत पाउने सरकारी सेवासुविधाबाट प्राप्त भएको रकम रोकाले शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।
समुदायद्धारा सञ्चालित उक्त क्याम्पसलाई अध्यक्ष रोकाले यसअघि ६ लाख रुपियाँ सहयोग गरिसक्नुभएको छ । अध्यक्ष रोकाले गत मंसिरमा मंगला गाउँपालिका ५ सिरकुममा रहेको किसानी आधारभूत विद्यालयलाई तीन लाख ५० हजार रुपियाँ सहयोग गर्नुभएको थियो । समुदायबाट सञ्चालित शैक्षिक संस्थामा शिक्षकको तलब र भौतिक पूर्वाधारमा सहयोग पु¥याउन आफूले उक्त रकम सहयोग गरेको अध्यक्ष रोकाले बताउनुभयो ।
गाउँपालिका अध्यक्षको हैसियतमा प्राप्त गर्ने रकम शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छु अध्यक्ष रोकाले भन्नुभयो, ‘पाँचवर्षे कार्यकालमा मैले जेजति पारिश्रमिक वापतको रकम प्राप्त गर्दछु त्यो सवै शैक्षिक विकासका लागि सहयोग गर्ने छु ।’
अध्यक्ष रोकाले निर्वाचन ताका आफूले प्राप्त गर्ने सरकारी सेवासुविधाको रकम सामाजिक क्षेत्रमा खर्चिने घोषणा गर्नुभएको थियो । अध्यक्ष रोकाले गाउँपालिकाको रकम बाट चिया समेत नखाने गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । ‘कानुनी रुपमा पाउने सेवासुविधा पनि उहाँले लिन चाहनुहुन्न ।’ अधिकृत गौतमले भन्नुभयो ।
विधानअनुसार अध्यक्ष रोकालाई मानार्थ संरक्षक सदस्यता प्रदान गरिएको सञ्चालक समितिका अध्यक्ष पौडेलले बताउनुभयो । क्याम्पसमा ६० जना विद्यार्थी अध्ययनरत छन् ।





