म्याग्दी, ३० बैशाख – म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा विद्यालयको स्तरोन्नतिका लागि अक्षयकोष स्थापना भएको छ ।
विद्यालयको शैक्षिक विकाससँगै कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ । माथिल्लो कक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन र अध्यापन गराउने शिक्षकको व्यवस्थापनका लागि अक्षयकोषको अवधारणा ल्याइएको अक्षयकोषका सचिव एवं विद्यालयका शिक्षक शिव बानियाँले जानकारी दिए ।
अक्षयकोष दर्ता गरेको १ महिनाको अवधिमा मात्रै हालसम्म १३ लाख २४ हजार नौसय १८ रुपैयाँ सङ्कलन भैसकेको छ । अक्षयकोषमा व्यक्तिगत रुपमा भूतपूर्व वडा अध्यक्ष ८५ वर्षीय ज्येष्ठनागरिक दधिलाल पौडेलले सबैभन्दा धेरै एकलाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी देउपूर्ने आँटी सामुदायिक वन पुलाचौरबाट पाँचलाख रुपैयाँ सहयोग भएको छ । एक करोड रुपैयाँ पु¥याउने लक्ष्यसहित सुरुवात गरिएको अक्षयकोषबाट प्राप्त व्याजले विद्यालयको शैक्षिक विकासमा खर्च गरिने अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले बताए ।
अक्षयकोष अनावरण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले समयको परिवर्तन र माग अनुसार प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । उहाँले विद्यालयको विकासमा सरोकारवाला सबै एक भएर लाग्नुपर्ने बताउँदै शैक्षिक विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् ।





