म्याग्दी, १५ जेठ- म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविले जिल्लामै पहिलो पटक शैक्षिक महोत्सव आयोजना गरेको छ । ‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ बुधवार (आज) देखि सुरु भएको महोत्सव १८ गतेसम्म जारी रहने छ ।
महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार आउदै गएको बताउनुभयो । उहाँले पछिल्लो समय निजि विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको बेलामा सामुदायिक विद्यालयमा पनि अध्यापनको शैली परिवर्तन गर्नुपर्ने, विद्यार्थी अभिभावक, र शिक्षहरुले समेत यस बिषयमा गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताउनुभयो । बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले बेनी बजारका सामुदायीक विद्यालयमा विद्यार्थीके चाप भएपनी गाउँघरका विद्यालयमा विद्यार्थीको संख्यामा कम भएको बताउदै नगरपालिकाले त्यस्ता विद्यालयहरुको लागि आगामी आर्थिक बर्षमा बिशेष कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकरीले देशमा दक्ष जनशक्ति उत्पादन कम भएको भन्दै सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सकेमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो । अहिले म्याग्दीमा रहेको निजामती कर्मचारीमा समेत जामुनखर्क विद्यालयमा अध्ययन गरेका बढी भएको भन्दै विद्यालयलाई शैक्षिक गुणस्तर अझै बलियो बनाउन आग्रह समेत गर्नुभयो । शैक्षिक महोत्सवमा जिल्ला स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, खुला कविता प्रतियोगिता संगै युवा र विद्यार्थी केन्द्रित उत्प्रेरणामुलक कक्षा, प्रतिभा प्रदर्शन, प्रेरक व्यक्तित्वसंगको साक्षात्कार संगै शैक्षिक क्षेत्रसंग सम्बन्धित कार्यपत्र प्रस्तुतीकरण, टिप्पणी र शैक्षिक बहसमुलक कार्यक्रम समावेश गरिएको प्रअ सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।
विद्यार्थी, युवा र अभिभावकमा शैक्षिक जागरण ल्याउने र विद्यार्थीहरुमा नयाँ खोज र सोचको विकासको लागि महोत्सव सहयोगी बन्ने अपेक्षा गरिएको छ । बृहत शैक्षिक बहसमा डा. कर्ण बानियाँले संघिय शासन प्रणालीमा स्थानीय तहमा शिक्षा सम्बन्धि अधिकार र म्याग्दीको शैक्षिक अबस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेे विद्यालयले जनाएको छ । महोत्सवमा प्रतियोगितात्मक कार्यक्रम संगै शिक्षा, साहित्य, कला, संस्कृति र विज्ञान तथा प्रविधिसंग सम्बन्धित सामाग्री प्रर्दशनको लागि निशुल्क स्टलको समेत राखेर प्रर्दशनिमा राखीएको छ ।





