बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

“रावण” को जन्मस्थान पौलस्त्य आश्रमलाई उजिल्याउने प्रयास भएन (फोटो फिचर)

“रावण” को जन्मस्थान पौलस्त्य आश्रमलाई उजिल्याउने प्रयास भएन (फोटो फिचर)


  • ध्रुबसागर शर्मा
  • जेष्ठ २१ २०७६, मंगलबार

म्याग्दी, २१ जेठ -धार्मिक पर्यटनको हिसावले विश्वकै ध्यानाकर्षण गर्न सक्ने सम्भावना बोकेको म्याग्दीको एक महत्वपूर्ण स्थान प्रचारप्रसार,भौतिक पूर्वाधार र सम्वन्धित निकायको वेवास्ताका कारण संसारमा चिनिनबाट वञ्चित बनेको छ ।
लङ्काका राजा रावण जन्मिएका क्षेत्र भनेर श्रीमद्भागवत महापुराणमा समेत उल्ल्लेख गरिएको पौलस्त्य पुलहाश्रम क्षेत्र गुमनाम रहेको छ । पुलहाश्र म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पुलाडाँडा नजिकै पछैमा पर्छ । यही ठाउँमा रामायणमा वर्णन गरिएका विर,पराक्रमी र तत्कालिन अवस्थाका महान वैज्ञानिक रावणको जन्म भएको थियो भनेर श्रीमद्भागवत महापुराण लगाएतका विभिन्न धार्मिक ग्रन्थहरुमा वर्णन गरिएको छ ।
रामायणमा ‘खल’ पात्रको रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवम् हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावका कारण गुमनाम रहेकोमा स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन् ।
म्याग्दीको बेनी नगरपालिका–५ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलको रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको हो ।
श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थलमध्ये एक मानिन्छ ।
श्रीमद्भागवत महापुराणमा कुरू क्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलको रुपमा उल्लेख गरिएको छ ।
पुराणप्रसिद्ध तीन ऋषि पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ । पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको मन्दिरका पुजारी पं लिलाधर पौडेलले बताए ।
सत्ययुगमा पुलह र पौलस्त क्रृषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लागेको समयमा पानी पर्न थालेको र क्रृषिद्धयले इन्द्रसंग प्राथना गरेर यज्ञ सम्पन्न भएपछि मात्र पानी पार्न भनेपछि धेरै समयपछि मात्र पानी परेको कुरा शास्त्रमा वर्णन गरिएको अर्का पुजारी तारा पौडेलको भनाइ रहेको छ ।
रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रमनै भएको पुराणमा उल्लेख गरिएको छ । पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’ लाई विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
त्यसैगरी पौलस्त्य क्षेत्र विकास समितिका उपाध्यक्ष रामवहादुर बानियाँका अनुसार पुलहाश्रम क्षेत्रमा रहेको पुलहाश्रम छेवैको ओढारमा अहिले पनि त्यतिबेला होम गरिएका धान र जौका चरुहरु भेटिने गरेका छन् । ओढार भित्र यज्ञका अवशेषको रुपमा रहेका चरुहरु भेटिनुले पनि यो ठाउँका महत्वलाई उजागर गरेको पौल्स्त्य क्षेत्र विकास समितिका उपाध्यक्ष वानियाँको भनाइ रहेको छ । पुलहाश्रमलाई ऋषिआश्रमका रूपमा विकास गर्ने, रावणको नाभि गाडेको भनिएको ठाउँमा ‘रावण कुटी’ बनाउने, रावण खेलेको भनिएको ‘राउन्नेको पाटो’लाई रावण पार्कमा रूपान्तरण गर्ने, बेनी–पछै केबुलकार बनाउने, पुलस्त्य पुलहाश्रम क्षेत्र (साविकका पुला, घतान, अर्थुङे, पात्लेखेत, झीं, पाखापानी, सिंगा, कुहुं, ज्यामरूककोट, भकिम्ली, मल्लाज आदि) लाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी भारत, नेपाल र श्रीलंकामा प्रचारप्रसार गर्ने हो भने पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना रहेको छ ।
म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै बेनीको शिरमा रहेको पौलस्त्य पुलहाश्रम मन्दिरमा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुनु, मन्दिरको बारेमा प्रचारप्रसारको कमी, विकासका पूर्वाधार निर्माणमा बजेटको अभाव, सरोकारवाला निकायको वेवास्ता जस्ता कारणले गर्दा मन्दिर ओझेलमा पर्न गएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाको उच्च महत्व बोकेको मन्दिर विकासका गतिले पछाडि परेको छ ।
सदरमुकाम बेनीबजारको हुलाकचोक भएर करिब डेढ घण्टाको पैदलयात्रा र ४५ मिनेटको सवारीसाधनको यात्रामा पुग्न सकिने भए पनि पुलहाश्रमले खासै गति लिन सकेको छैन । पौलस्त्य ऋषिका नाति रावण जन्मिएको भनेर चिनिए पनि पुलहाश्रम मन्दिर आसपासका ठाउँमा भौतिक संरचनाको अभाव देखिन्छ । पौलस्त्य पुलहाश्रम मन्दिरका विषयमा जति चर्चा र परिचर्चा हुने गरेको छ, त्यो अनुसार मन्दिरको प्रचारप्रसार तथा विकासका पूर्वाधारहरु नबन्दा मन्दिर मन्दिरमा मात्रै सीमित हुन पुगेको आँकलन गरिएको छ ।
विश्वका प्रमुख १५ ओटा धार्मिक तीर्थस्थलहरुमध्ये एक मानिने पौलस्त्य पुलहाश्रमको विषयमा पुराणहरुमा समेत उल्लेख गरिएको पाइन्छ । पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको भन्ने ढुङ्गा (पत्थर) समेत रहेको छ । तर, पनि मन्दिर ओझेलमा परेको हुँदा स्थानीयवासिन्दाले चिन्ता व्यक्त गरेका छन् । विगतमा मन्दिर व्यवस्थापन समितिले महायज्ञ लगाएर त्यसबाट सङ्कलित रकमले केही पूर्वाधार थप पनि अरु काम हुन सकेन । धार्मिक पर्यटनको पर्याप्त सम्भावना रहेको पौलस्त्य मन्दिरको विकासका लागि बेनी नगरपालिकामार्फत आवश्यक जोड दिइएको भन्दै उपप्रमुख सन्जु बरुवालले प्रदेश सरकारले पनि यसको विकासमा आर्थिक सहयोग गरेको बताइन् । यता बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँले वडाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रचारप्रसारमा जोड दिएको बताउँदै पर्यटन प्रवद्र्धनका लागि वडाबाट आवश्यक सिफारिससहित योजना माग गरिएको बताए ।
पौलस्त्य मन्दिरमा पुग्नका लागि बेनीदेखि पक्की पदमार्ग समेत निर्माण थालिएको छ । राउण्ड धौलागिरी बेसक्याम्पसम्म पु¥याउने लक्ष्य राखिएको पदमार्ग धार्मिकस्थल पौलस्त्य पुलहाश्रम हुँदै अगाडि बढाउनका लागि निरन्तरता दिइने भएको छ । पौलस्त्य आश्रम गिठिनी सामुदायिक वन क्षेत्रमा पर्ने पौलस्त्य पुलहाश्रम मन्दिर नजिकै चालु वर्षमा सङ्घीय सरकारको पाँचलाख रुपैयाँको बजेटमार्फत पर्यापर्यटनको कार्यक्रम परेको छ ।पौलस्त्य पुलहाश्रम मन्दिरबाट सदरमुकाम बेनीबजार, लभ्लीहिल, पर्वतको मल्लाज क्षेत्र, मिलनचोक बजार, माछापुच्छ«े, अन्नपूर्ण, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् ।

पौलस्त्य मन्दिरमा दैनिक रुपमा पुजाआजा हुँदै आएको छ । पछिल्लो समय यस मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटकहरुको चहलपहल बढेको छ । धार्मिक पर्यटनको विकासका रुपमा पौलस्त्य मन्दिरको विकास गरी अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ ।
श्रीमद्भागवतजस्तो विश्वप्रशिद्ध पुराणमा उल्लेख गरिएको यस्तो विश्वकै अति पवित्र तीर्थस्थलमध्येको एक तीर्थस्थल म्याग्दीमा रहनु म्याग्दीका लागि सौभाग्य भएको र यसको समुचित रुपमा विकास गर्ने हो भने म्याग्दीले प्रशस्तै आर्थिक लाभ लिनसक्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->