म्याग्दी, ५ असार – धौलागिरि हिमालको प्रतिविम्ब (फोटो) स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका–१, निस्कोटमा अवस्थित बराहताल संरक्षणको पर्खाइमा रहेको छ । साविक निस्कोट गाविसको ९ नम्बर वडामा पर्ने तथा निस्कोट गाउँको शिरानमा रहेको बराहताल आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धनको पर्खाइमा रहेको हो ।करिब २ रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ । समुन्द्री सतहदेखि झण्डै २ हजार २ सय मिटरको उचाइमा अवस्थित रहेको ताल र तालको आसपासबाट विभिन्न हिमश्रृङ्खलाहरु देखिन्छ । त्यहाँबाट संसारको सातौं तथा नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छे«, मानापाथी लगायतका आधा दर्जन बढी मनोरम हिमश्रृङ्खलाहरुको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । तालनजिकै एउटा तामाको घैंटो (चिन्नो) पनि रहेको छ ।घना वनजङ्गल र केही गाउँवस्तीको बिचमा रहेको तालमा वनजङ्गल र हिमालहरुको प्रतिबिम्ब (छाँया) निक्कै आकर्षक अनि मनमोहक देखिन्छ । स्थानीयका अनुसार ताल झण्डै २० मिटरभन्दा बढी गहिरो रहेको बताइएको छ । पर्यटकीय महत्व बोकेको बराहताल संरक्षणका लागि यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीमा पुग्न पदमार्ग निर्माण गरेको जनाएको छ ।यसैगरी चालु आर्थिक वर्षमा निस्कोट गाउँदेखि बराहतालसम्म पुग्नका लागि पर्यटन पदमार्ग निर्माण तथा तालको संरक्षणलगायत आवश्यक कार्यक्रम गर्न पाँचलाख रुपैयाँ बजेट विनियोजन गरिएको मालिका–१ निस्कोटका वडा सचिव छविलाल उपाध्यायले बताए ।वनजङ्गलको बिच भागमा रहेको ताल भए पनि त्यसमा कुनै पनि पातपतिङ्गरहरु नभएको र बिहान सबैरै २ ओटा जलहाँस जलक्रिडा गर्न आउने तालको विशेषता भएको सचिव उपाध्यायको भनाई छ । तालको उचित संरक्षण र विकास तथा प्रचारप्रसार गर्न सकेको खण्डमा निस्कोट गाउँमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु समेत भित्राउन सकिने प्रशस्तै सम्भावना रहेको स्थानीयहरु बताउँछन् । बागलुङको ताराखोला धुरी जोडिने पर्यटन रुटमा पर्ने तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने वडा सदस्य दिलकुमार पुनले जानकारी दिए ।उनका अनुसार तालको विकास सँगसँगै निस्कोट गाउँको शिरमा भ्यु–टावरको निर्माण गर्न सकिने सम्भावना पनि रहेको छ । गाउँको शिरबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँहरुको आकर्षक र मनमोहक दृश्य देखिने हुँदा भ्युटावर बनाउनुपर्ने उनको भनाई छ ।





