संघीय शासन पद्धति
के हो संघीयता ? यसको सैद्धान्तिक पक्ष हेर्दा एक शब्दमा अथ्र्याउने गरिएको छ– ‘एक ठाउँमा बस्ने र विभाजन हुनबाट बचाउने ।’ विभिन्न भिन्न राज्यहरू मिलेर एउटा छाता बनाउने र त्यसअन्तर्गत रहेर आफूले आफूलाई शासन गर्ने शासन प्रणाली संघीयता हो । हरेक संघीय इकाई आफ्नो मामलामा आपसमा स्वायत्त हुने र साझा हितका मामलामा आपसमा अनुबन्धित रहने पद्धति नै संघीयता हो ।
संघीय राज्यमा के हुनुपर्छ ? भन्नेबारे जे.एस.मिलले चारवटा आधार पेस गरेका छन् । (क) जातीय सहानुभूति (ख) भाषाको सम्मान (ग) साझा राजनीतिक एजेन्डा (घ) एक–अर्कामा कसैले नहेप्ने नीति ।
‘…..सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ ।’ (नेपालको संविधान–२०७२ प्रस्तावनाबाट)
नेपालको संविधानले व्यवस्था गरेको शासकीय स्वरूपबमोजिमबाट अहिले संघीय इकाईहरू सञ्चालनमा रहेका छन् । संसदीय शासन प्रणाली, मन्त्रिपरिषद्मा कार्यकारी अधिकार, संवैधानिक राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री, निर्वाचक मण्डलबाट निर्वाचित राष्ट्रपति, संघीय प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्ति, प्रादेशिक सभामा बहुमत प्राप्त दलको नेतालाई मुख्यमन्त्री प्रादेशिक प्रमुखले नियुक्ति गर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित स्थानीय नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ।
माथि उल्लेखित संघीयताका सैद्धान्तिक पक्षहरू हुन् । अतः संघीयतामा समृद्ध कसरी ? भन्ने विषय अहिलेको बहस केन्द्रित गर्नु जरुरी छ । एकात्मक राज्यको ठीकविपरीत शासन नै संघीयता हो । एकात्मक सत्ताको समूल अन्त्य गरी समानुपातिक, समावेशी र सहभागीमूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने उद्देश्यका साथ संघीयता कार्यान्वयनमा लिइएको छ ।
सरकारसँग, मुद्रा, प्रतिरक्षा, सन्धि कार्यान्वयन, अन्तर्राष्ट्रिय व्यापार, प्रमुख भौतिक पूर्वाधार, आमसुरक्षा, भन्सार, करहरू, सुपर्दगी, युद्धको घोषणा र परराष्ट्र नीतिका अधिकार रहेका छन् । त्यसबाहेक प्रदेश सरकारसँग शिक्षा, स्वास्थ्य सेवा, सार्वजनिक स्वास्थ्य, कृषि, खनिज, वनजंगल, पानी, महानगरीय मामिला, फौजदारी कानुन, प्रहरी र केही करहरू संघ र प्रदेश सरकारबीच बाँडफाँड गर्ने तरिकाहरू हुन् । संघीयताका सैद्धान्तिक पक्षहरू केलाएपछि ‘संघीयतामा समृद्धि’ विषयमै प्रवेश गरिएको छ । समृद्धिको हकमा बहस गर्दा हामीले हाम्रै प्रदेश गण्डकीमै केन्द्रित हुनेछौँ ।
गण्डकी र समृद्धिको बहस
मुलुककै सबैभन्दा गहिरो नदी हो गण्डकी । सात सहायक नदीले गण्डकीलाई पूर्णता दिएको छ । ३ सय ३८ किलोमिटर लम्बाइ र २६ हजार वर्ग किलोमिटर जलप्रवाह भूमिमा गण्डकी नदी फैलिएको छ । चीन, नेपाल हुँदै भारतसम्म फैलिएको गण्डकी नदीलाई भारतमा गण्डकले चिनिन्छ ।
गण्डकी नदी नाम कसरी रहन गयो भन्ने विभिन्न कथन पाइन्छन् । सिंगो गण्डकी नदी हिन्दू धर्मालम्बीहरूको पवित्र तीर्थस्थल भएकाले सोहीबमोजिम मिथक र भनाइहरू धर्मशास्त्रहरूमा व्याख्या गरेको पाइन्छ । मुख्यतः हिन्दू धर्मशास्त्रका आख्यानअनुसार विष्णु भगवान्को गण्ड अर्थात् गालाबाट पसिनाका रूपमा बगेकाले गण्डकी भनिएको छ । गण्डकी नदीको बगरमा भेटिने शालिग्राम ढुंगा र तराई चुरे क्षेत्रवरपर सातै गण्डकीको नदी जोडिँदा त्यहाँ पाइने कुशले पनि केही तथ्य नजिक पुग्न सकिन्छ ।
शालिग्राम अर्थात् पवित्र शीला ढुंगा र कुश हिन्दू धर्मका लागि पूजापाठमा अनिवार्य चाहिने सामग्री हुन् । भगवान विष्णुका रूपमा शालिग्रामको पूजा गरिन्छ । प्रागैतिहासिक कालमा पाइने शंखेकिराको आकारबाट बनेको भन्ने भेटिन्छ । यद्यपि यसको वैज्ञानिक रूपमा पुष्टि गरेको त्यस्तो तथ्य भेटिन्नँ । अहिलेसम्म हिमालय पर्वतमा पाइने शालिग्रामलाई विष्णुका प्रतीकका रूपमा पुजिन्छ । बरु, श्लोक, हिमवत्खण्डहरूमा विष्णु भगवान्कै चरित्रलाई अख्यान गरिएको पाइन्छ ।
पौराणिक कथामा भनिएको छ– ‘भगवान् शिवले जालन्धर नामक असुरलाई युद्धमा हराउन सकेका थिएनन् । शिव अप्ठेरोमा परेपछि विष्णुले जालन्धरलाई हराउन शिवलाई मद्दत गरेका थिए । जालान्धर नहार्नुमा उनकी पत्नी वृन्दाले पतिप्रतिको विश्वास थियो । वृन्दाले आफ्नो सतित्व बचाएर राखेकाले जालन्धरले अपार शक्ति आर्जन गरेका थिए । जसको शक्तिका कारण शिव हार खाइरहेका थिए । विष्णुले जलान्धरले शक्ति आर्जन गरेको जुक्ति थाहा पाए । विष्णुले जाल रचे । उनले जलान्धरको रूप धारण गरी वृन्दाको सतीत्व हरण गरे । जब वृन्दाको सतीत्व लुटियो त्यहीवेला जलान्धर शक्तिविहीन बने । त्यही मौकामा जलान्धरलाई शिवले वध गरे । वृन्दाले आफ्नो सतीत्व लुटिएको थाहा पाइन् । सतीत्व लुटिएको थाहा पाउँदा पति जालन्धर गुमाइसकेकी थिइन् । पति वियोगमा परेकी वृन्दाले भगवान् विष्णुलाई श्राप दिएकी थिइन् । विष्णुलाई वृन्दाले शीला, रूख, झारपात, घाँस भएर जीवन व्यतीत गर्नुपरोस् भनेर श्राप दिएकी थिइन् । विष्णुलाई श्राप लाग्यो । कालन्तरमा विष्णुले शालिग्राम, पीपल, तुलसी र कुश भएर जन्म लिनुप¥यो । अन्ततः विष्णुले जे धारण गरेर जीवन व्यतीत गर्नुप¥यो जो हिन्दू धर्मको आराध्यका लागि नभई नहुने सामग्रीका रूपमा चलनमा आए ।’
अर्को कथनअनुसार– ‘गण्ड वा गण्डक ऋषिले पहिले स्नान गरी तपस्या गरेका हुनाले गण्डकी नाम रहन गएको’ भनिएको छ । गण्डकी उत्पत्तिबारे हिन्दू धर्ममा बढी वर्णन गरिए पनि बुद्ध धर्मावलम्बीहरूको पनि गण्डकीको मूल स्रोत अर्थात् मुहानवरपर उत्तिकै महिमा देखिन्छ । मुख्य गरी हिन्दू धर्मावलम्बीहरूले मुक्तिक्षेत्रका रूपमा मान्छन् । गण्डकी स्नान, पिण्ड अर्पणले त्यसका आधारहरू बलिया छन् । यता बुद्धमार्गीहरूले गण्डकीको मुहानलाई २४ तान्त्रिक स्थानमध्ये एक मान्छन् । तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात् सयपानीका रूपमा बौद्धमार्गीहरूले तान्त्रिकको एक अंश मान्छन् । त्यही पानी अर्थात् गण्डकी नदीको मुहानलाई भनिएको भन्ने अर्र्काे तर्क कथन पनि छ ।
यी अनेकन ऐतिहासिक तथ्यमा रहेको गण्डकी नदीलाई यसअघि १४ अञ्चलमध्ये गण्डकी अञ्चल नामाकरण गरिएको थियो । २०७२ असोज ३ गते जारी नेपालको संविधान कार्यान्वयनसँगै संविधानले ४ नम्बर प्रदेशको अल्पकालीन नाम दिएको थियो । प्रदेश सभाको २०७५ असार २२ गतेको बैठकबाट नेपालको संविधानले व्यवस्था गरेबमोजिम ४ नम्बर प्रदेशलाई सबै एतिहासिक तथ्यसहित साविकको धौलागिरि अञ्चल र साविक लुम्बिनी अञ्चलअन्तर्गत पर्ने नवलपरासी जिल्ला पूर्वसहित यस प्रदेशको नामाकरण गण्डकी गरिएको हो । हाल पूर्वी नवलपरासीलाई नवलपुर नमुना जिल्लाका रूपमा हालै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटनसमेत गरिसकेका छन् ।
गण्डकी प्रदेशको निर्माण
नयाँ संविधान जारीसँगै दुई थप गरिएका जिल्लामध्ये एक यसै प्रदेशमा पर्दछ । नवलपरासी पूर्व अल्पकालीन नाम पाएको कान्छो जिल्लाले यतिबेला नवलपुर नाम पाइसकेको छ । कुल ११ जिल्लामध्ये कास्की, लमजुङ, गोरखा, तनहँु, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, मुस्ताङ र बाग्लुङ रहेको छ । यस प्रदेशमा एक महानगरपालिका, २५ नगरपालिका, ५९ गाउँपालिका रहेको छ ।
क्षेत्रफलका हिसाबले २१ हजार ५ सय ४ वर्ग किलोमिटरमा फैलिएको गण्डकी प्रदेशले नेपालको कुल क्षेत्रफलको १४ दशमलव ६६ प्रतिशत स्थान ओगटेको छ । उत्तरी छिमेकी राष्ट्र«« चीनको तिब्बत र दक्षिणमा भारतको बिहारसम्म सीमा जोडिएको छ । यो प्रदेश पूर्वमा प्रदेश ३, पश्चिममा प्रदेश ५ र कर्णाली प्रदेशसँग सिमाना जोडिएको छ । गण्डकी प्रदेशमा कुल जनसंख्या २४ लाख १३ हजार ९ सय ७ रहेको छ । जसमध्ये महिला १३ लाख १२ हजार ९ सय ४९ र पुरुष ११ लाख ९ सय ५८ जना रहेका छन् ।
आर्थिक विकासमा गण्डकी प्रदेशः
सन् १७९० को दशकतिर फ्रान्सिस बुकानन ह्यामिल्टनले गण्डकी प्रदेशको मुख्य सहर (हाल गण्डकी प्रदेशको राजधानी)बारे गरेको वर्णले गण्डकी प्रदेश कति आत्मनिर्भर थियो ? भन्ने विषयलाई पुष्टि गर्छ । ‘निकै ठूलो सहर…जुन एउटा बजार हो जहाँ व्यापारीहरू नेपाल (काठमाडौँ), पाल्पा मालेबुम एन्ड कम्पनीबाट आउँछन् र यस्तो गरिब देशमा पनि यहाँबाट निकै ठूलो मात्रमा कर उठ्छ ।’ डा. हर्क गुरुङ मैले देखेको नेपाल (पोखरा सेरोफेरो पृष्ठ ११८)
त्यस्तै राणाकालको आखिरी तीन दशकबारे नालिबेलीसहितको ‘त्यस बखतको नेपाल’मा सरदार भीमबहादुर पाँडेले पनि कपडा, छालाका सरसामान, राडीपाखी सबैभन्दा बढी गण्डकी किनारमै उत्पादन हुने गरेको तथ्य उल्लेख गरेका छन् ।
चौधौँदेखि अठारौँ शताब्दीसम्म मध्यकालीन नेपालको गण्डकी पश्रवण क्षेत्रमा उदाएका चौबीसी राज्यको बैभवले पनि गण्डकी प्रदेशको आर्थिक, राजनीतिक चेतनामा आत्मनिर्भर भएको पुष्टि हुन्छ ।
सात गण्डकीका मुहानहरूले भरिपूर्ण यस प्रदेश स्वभाविक रूपले जलविद्युत् उत्पादन बढी देखिन्छ । अन्य प्रदेशभन्दा जलविद्युत् उत्पादन र निर्माणाधीन परियोजनाहरू जारी रहेकाले ६ प्रदेशमध्ये गण्डकी प्रदेश जलविद्युत् उत्पादनमा सबैभन्दा अगाडि देखिएको छ । यस प्रदेशबाट हाल ४ सय ७६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । दर्जन बढी जलविद्युत् परियोजना निर्माणाधीन छन् ।
बुढीगण्डकी जलविद्युत् आयोजना, बेगनास तालमा पम्प स्टोरेज आयोेजना, तनहुँ जलविद्युत् आयोजना, सुपर दोर्दी–ख जलविद्युत् आयोजना, मोदी(ख), राहुघाटलगायत दर्जन बढी जलविद्युत् परियोजनाहरू निर्माणाधीन प्रक्रियामा रहेका छन् । ती परियाजनाहरूको सर्भे भइसकेका छन् । गण्डकी प्रदेशमा बगेका नदी र जलाशयबाट उत्पादन हुने जलविद्युत् सम्पन्न हुँदा यस प्रदेशमा १० हजार बढी मेगावाट क्षमता जलविद्युत् हुने प्रक्षेपण गरिएको छ । जलाशययुक्त आयोजनाको क्षमता ८ हजार ८ सय ५८ मेगावाट रहेको ऊर्जा मन्त्रालय र जल तथा ऊर्जा आयोगको नदी बेसिन र जलाशययुक्त आयोजनासम्बन्धी प्रतिवदनमा उल्लेख गरिएको छ । त्यसमध्ये यस प्रदेशको कुल जलविद्युत् क्षमता १० हजार २ सय २८ मेघवाट पुग्छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा कसैलाई चिनाइरहनुपर्ने नाम होइन । पोखरामा ओइरिने पर्यटक र यहाँ बर्सेनि थप हुने होटेल, रेस्टुराँहरूको आकडाले पर्यटकीय स्थल भएको प्रस्ट्याउँछ । पोखरा पर्यटन परिषद्को तथ्यांकअनुसार प्रत्येक वर्ष पोखरामा मात्र ४० वटा होटेल थप हुने गरेका छन् । यसबाहेक पर्वत, स्याङ्जा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा, तनहुँ, लम्जुङ, नवलपुर, गल्कोट, बुर्तिबाङलगायत स्थानहरूमा लगातार साना ठूला होटेलहरू खुल्ने क्रम जारी रहेको छ ।
यी तथ्यहरूलाई हेर्दा औसतमा १५ सयवटा सुविधासम्पन्न बेडहरू थप हुँदै गइरहेको छ । पोखरा र यसको आसपासका होटेल, रेस्टुरेन्टलगायत पूर्वाधारमा २ खर्ब रुपैयाँ हाराहारीमा लगानी भइरहेको तथ्य अनुमान गर्न सकिन्छ । यी उल्लेखित तथ्यहरूलाई सीधै अनुमान लगाउन पोखरामा मात्रै वार्षिक ८ लाख बढी पर्यटकहरू घुमफिरका लागि आइरहेका छन् । हाल यस प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डका होटेलहरू मात्रै ४० वटा रहेका छन् । जसमध्ये प्रदेश राजधानीवरपर पाँचतारे होटेल २ वटा, तीनतारे होटेल १४ वटा, २ तारे र १ तारे गरी ४० वटा होटेल छन् । तीव्र गतिमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि यस क्षेत्रमा पर्यटकको आगमनको चाप ह्वात्तै वृद्धि हुँदै छ ।
स्काई डाइभिङ, प्याराग्लाइडिङ, जिप लाइनलगायतका साहसिक पर्यटकीय गतिविधिमा पनि यस प्रदेशमा ठूलो लगानी भएको छ । कालीगण्डकीमा निर्माण भइरहेका अग्ला, लामा, झोलुङे पुल, ढोरपाटन सिकार आरक्ष, गुरिल्ला ट्रेल, अन्नपूर्ण पदयात्रालगायतले पर्यटकको मन खिचेको छ । यसलाई थप व्यवस्थित गर्न प्रदेश सरकारले थोरै प्रचार–प्रसार र पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरे मात्रै पुग्छ ।
विकास सम्भावनामध्ये पर्यटक प्रमुख हो । एकैदिन २२ हजारजनालाई आतिथ्य दिन सक्ने सामाथ्र्य प्रदेश राजधानी पोखरासँग छ । प्रदेश राजधानीवरपर, रिसोर्ट, लमजुङ, गोरखा, बागलुङ, म्याग्दी जिल्लामा होमस्टे पनि उत्तिकै प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले यस प्रदेशमा पर्यटका लागि पूर्वाधार रहेको र निर्माण हुँदै गएको तथ्य देखिएको छ । अन्नपूर्ण पदमार्ग, मुस्ताङ, मनाङ, लमजुङ, ढोरपाटन सिकार आरक्ष, मुक्तिनाथ, मनकामना, गोरखालगायतका पर्यटकीय स्थान विश्वमै प्रख्यात छन् । यस प्रदेशका विभिन्न स्थानबाट देखिने हिमशृंखला, उच्च ताल, गुफा, नदी, आदिवासी, जातजाति, भाषाभाषी र सांस्कृतिक विविधताले गण्डकीका मुख्य पर्यटकीय आकर्षण गर्ने आधारहरू हुन् ।
गण्डकी प्रदेशमा औद्योगिक क्षेत्रको अवस्था
२०३१ सालमा कास्की जिल्लामा औद्योगिक क्षेत्रको निर्माण भएको हो । नेपाल सरकारबाटै स्थापना भएको औद्योगिक क्षेत्र कास्की पोखरामै अवस्थित छ । यो औद्योगिक क्षेत्र गण्डकी प्रदेशको एक मात्र औद्योगिक क्षेत्र हो । हाल प्रदेशमा एक मात्र पोखरा औद्योगिक क्षेत्र कास्कीमा छ । ५ सय १ रोपनी जग्गा अर्चेको औद्योगिक क्षेत्रमा ६९ वटा उद्योग सञ्चालनमा रहेका छन् । अहिले ६ वटा उद्योग निर्माण भइरहेका छन् । उद्योगमा हाल २ हजार २ सय ९८ जनाले रोजगारी पाएका छन् । दुग्ध, चाउचाउ तथा अन्य उपभोग्य वस्तुहरूको उत्पादन हुने गरेको छ । गोरखास्थित गोरखकाली टायर उद्योग हाल बन्द अवस्थामा रहेको छ ।
सडक पूर्वाधार र पहुँच
प्रदेशका विभिन्न स्थानहरूमा सहरी विकास तीव्रतासँगै त्यहाँ जोडिने सडकको पहुँच पनि बढ्दै गएको छ । प्रदेशको कुल सडक लम्बाइ १० हजार ८ सय ८० किलोमिटर पुगेको छ । कुल सडकमध्ये २ हजार ५ सय ४० किलोमिटर सडकमा मात्र बाह्रै महिना सवारीसाधन गुडाउन सकिन्छ । बाँकी ८ हजार ३ सय ४० किलोमिटर सडकमा केही महिना मात्र सवारीसाधन गुडाउन सकिने अवस्थामा छ ।
शिक्षा तथा स्वास्थ्य
साक्षरताको हिसाबले हेर्दा गण्डकी प्रदेश दोस्रो नम्बरमा रहेको छ । प्रदेश नम्बर ३ पहिलो देखिएको छ । प्रदेशको समग्र साक्षरता दर ७४ दशमलव ८५ रहेको छ । यो दर त्यसमध्ये पुरुष साक्षरता दर ८३ दशमलव ५४ रहेको छ भने महिला साक्षरता दर ६७ दशमलव ७२ छ । स्वास्थ्यतर्फ हेर्दा ११ जिल्लामा कार्यरत सरकारी विशेषज्ञ डाक्टर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अहेब र अनमीको दरबन्दी ३२ सय ५१ रहेको छ । तर, गण्डकी प्रदेशमा कुल ३४ जना विशेषज्ञ डाक्टरमध्ये ४४ प्रतिशत दरबन्दी रिक्त छ ।
कृषि र जमिन
हालको तथ्याङ्क हेर्दा प्रदेशमा ४ लाख १३ हजार ३ सय कृषक घरपरिवार रहेका छन् । उनीहरूसँग ८४ हजार २ सय ८६ हेक्टर जमिन सिञ्चित गर्न सकिने छ । जसमध्ये १ लाख २५ हजार ५ सय १२ हेक्टर जमिन सुख्खा छ । कुल जमिन २ लाख ९ हजार ७ सय ९८ हेक्टर छ । कृषि जमिनमध्ये ५३ हजार ९ सय २२ हेक्टर जमिनमा अन्नबालीका लागि प्रयोगमा ल्याइएको छ ।
सामाजिक विकासको सूचकाङ्क
मानव जीवनको सबैभन्दा महत्वपूर्ण मानिने खानेपानी हो । अहिले यस प्रदेशमा रहेका कुल ५ लाख ७७ हजार ६ सय ८२ घरधुरीमध्ये ४ लाख ६२ हजार २ सय ७७ घरधुरीले पाइपबाट आएको पानीलाई खानेपानीको मुख्य स्रोतका रूपमा प्रयोग गरिरहेका छन् । यस प्रदेशमा ८३ हजार ८ सय ४२ घरधुरीमा अझै चर्पी छैन ।
४ लाख ७६ हजार ८ सय ४१ घरधुरीले उज्यालो पार्नका लागि विद्युत्को प्रयोग गर्ने गरेका छन् । त्यस्तै, ५७ हजार ४ सय ४ घरधुरीले मट्टीतेल, १ हजार २ सय ३३ घरधुरीले बायोग्याँस र २९ हजार १ सय २४ घरघुरीले सौर्य ऊर्जाको प्रयोग गर्ने गरेका छन् ।
समृद्ध गण्डकी प्रदेशका आधारहरू
पर्यटन तथा जलविद्युत् यो प्रदेशको सबैभन्दा बढी सम्भाव्य क्षेत्रका रूपमा उदाएको छ । यस प्रदेशको राजधानी पोखरा तथा अन्नपूर्ण क्षेत्र नेपालको मात्रै होइन, विश्व पर्यटन मानचित्रमा नै चर्चित छन् । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलले यस क्षेत्रको पर्यटन विकासमा गुणात्मक प्रभाव पर्ने देखिन्छ ।
प्रदेशको समग्र अवस्था केलाउँदा समृद्ध नेपाल निर्माणमा अग्रणी स्थानमा गण्डकी प्रदेश रहने देखिन्छ । त्यससँगै आत्मनिर्भर अर्थतन्त्रका लागि प्रदेशभित्र रहेका सम्भावित विकासका पूर्वाधार निर्माण र भइरहेकालाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । कतिपय पूर्वाधार विकासका परियोजनाहरू संघले समेत प्राथमिकतामा पारेको छ । गण्डकी प्रदेशका सम्भावित परियोजनाहरूलाई नीतिगत रूपमा बजेट विनियोजन गरी सम्भाव्यताको अध्ययनको खाँचो देखिन्छ । प्रदेशभित्र रहेका सम्भावित योजनाहरू देहायबमोजिम हुन सक्छन् ।
कृषि
१. कृषि उत्पादनमा मुख्य जोड दिएपछि आयात विस्थापित गर्न सक्ने सम्भावना यस प्रदेशमा देखिन्छ ।
(क) नवलपुर नमुना जिल्ला पनि भएकाले धानबाली, कुखुरा, बंगुर, माछा उत्पादनका लागि सहुलियत ऋण दिई दाना उत्पादन, प्याज खेतीमा जोड दिने ।
(ख) गोरखा, लमजुङ, तनहुँ र स्याङ्जालाई सुन्तला पकेट क्षेत्रका रूपमा घोषणा गर्ने । जसका लागि बिक्रीवितरण, भण्डारण र चिस्यानका लागि प्रदेश सरकारले नै लगानी गरी निर्माण गरिदिनुपर्ने ।
(ग) तनहुँको बन्दीपुर, गोरखाको भुम्लीलाई केन्द्रीय राजधानीलाई केन्द्रित गरी मासु (विशेष गरी खसी) उत्पादनका लागि लगानी आकर्षित गर्नका लागि पूर्वाधार तर्जुमा गर्ने ।
(घ) कास्की, पर्वत, बागलुङमा ट्राउट माछापालनमा देखिएको आकर्षणलाई प्रवद्र्धन गर्दै जाने । यो माछाको मूल्य बढी भएकाले अन्य प्रदेशको सहरी क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्रीवितरणका लागि ब्रान्डिङ गर्ने । छोटो समयमा बढी मुनाफा दिने र सबैको पहुँचमा पुग्ने गरी अन्य जातका माछा उत्पादन गर्न नवलपुर जिल्लामा केन्द्रित हुने । त्यसबाहेक ढोरपाटन, बढीघाट, दरमखोला, म्याग्दी दरबाङ कालीखोला, मस्र्याङ्दी, कालीगण्डकी र मोदी खोलामा पाइने रैथाने माछा असलाको वृद्धिका लागि वैज्ञानिक अध्ययन गरी फार्मिङ गर्ने ।
(ङ) स्याउ उत्पादनका लागि मुस्ताङ, मनाङ र ढोरपाटन उपत्यकालाई विशेष ध्यान दिने । मनाङ र मुस्ताङमा हाल स्याउका परियोजना सञ्चालन भइरहेकाले लगानीकर्तालाई प्रोत्साहन गरी प्रदेश सरकारले समेत लगानीका लागि वातावरण निर्माण गर्ने । त्यस्तै मनाङ, मुस्ताङमा चौँरीलाई व्यवस्थित पालन गरी दूध, चिज, मासुका लागि उद्योग स्थापित गर्ने । त्यससँगै ती जिल्लामा भेडा, च्याङ्ग्रा, चेलुको उत्पादनमा जोड दिने । जसबाट ऊन र मासु प्रवद्र्धनमा जोड दिने । त्यस्तै राँगापालनका लागि बागलुङ, पर्वत, स्याङ्जाका माथि लेकमा फार्मिङका लागि परियोजना तय गर्ने । बागलुङको ढोरपाटन, गाजाको धुरी, ताराखोला, स्याङ्जा र पर्वतको पञ्चासेको धुरी, म्याग्दीको धौलागिरि गाउँपालिकामा राँगापालनका लागि अध्ययन गरी परियोजना तय गर्ने ।
पर्यटनः
१. पर्यटन विकासका लागि प्रदेशमा अहिलेसम्मका आँकडा माथि नै उल्लेख गरिसकिएको छ । त्यसमध्ये अहिले मूलतः गुरिल्ला ट्रेलको प्रचारप्रसार, ट्रेलमा हिँड्ने पर्यटकहरूका लागि पूर्वाधार विकास गर्नुपर्ने देखिन्छ ।
त्यस्तै ढोरपाटन सिकार आरक्षलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ । कुमारी माछापुच्छ«े हिमाल आरोहण तत्काल खुला गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यस्तै म्याग्दी भ्रुङ, दाना तातोपानी, कास्कीको घाचोक तातोपानीलाई व्यवस्थित गरी प्राकृतिक चिकित्सकीय उपचारका लागि पूर्वाधार तयारी गर्नुपर्ने देखिएको छ ।
हिन्दूहरूको धाम सबैभन्दा बढी यसै प्रदेशमा पर्ने भएकाले धार्मिक पर्यटकका लागि गुरुयोजना बनाई भारतका विभिन्न धार्मिकस्थल रहेका नगरहरूसँग सहकार्य गरी धार्मिक पर्यटक बढाउने ।
(क) त्रिवेणीधामलाई श्रीमद्भागवत्का लागि अध्ययन र तीर्थस्थलका रूपमा थप विकास गर्नुपर्छ । केही पूर्वाधारहरू तयार रहे पनि त्यसलाई प्रदेश सरकाले गुरुयोजना बनाई व्यवस्थित गर्नुपर्ने देखिन्छ ।
(ख) देवघाट, रिडी यी धामहरू अन्य प्रदेश सीमामा रहेकाले सम्बन्धित प्रदेशसँग सहकार्य गरी व्यवस्थित गर्नुपर्छ ।
(ग) लमजुङमा डा. हर्क गुरुङ अध्ययनकेन्द्र स्थापित गरिनुपर्छ । जुन अध्ययनकेन्द्रले समाजशास्त्र, मानवशास्त्रको अध्ययनमा जोड दिने गरी क्षेत्राधिकार दिनुपर्छ ।
(घ) गोरखा दरबारलाई थप व्यवस्थित गरी पृथ्वीनारायण शाहको वृत्तचित्रलाई थ्रिडी बनाउनुपर्छ । कतिपय लिखित इतिहास भएकाले त्यसलाई समेत व्यवस्थित गर्नुपर्छ । गोरखा बुङकोटलाई प्रथम सहिद लखन थापाको भिलेजका रूपमा विकास गर्नुपर्छ । लमजुङको घलेगाउँ सार्क राष्ट्रको नमुना पर्यटकीय गाउँ भएकाले परम्परागत शैलीका घर, निर्माण र त्यहाँसम्म पुग्ने बाटोघाटोलाई व्यवस्थित गर्नुपर्छ ।
(ङ) तनहुँ दमौलीस्थिति व्यास गुफालाई प्रचारमा ल्याई हिन्दूधर्मको सबैभन्दा बढी व्याख्या पाइने वेदका प्रवद्र्धक महर्षि व्यास जन्मेकाले त्यसलाई वेद अध्ययनकेन्द्रका रूपमा विकास गर्नुपर्छ । वेदको महिमाबारे अहिले विश्वका धेरै ठाउँमा अध्ययन भइरहेकाले त्यसको थप अनुसन्धानका लागि अध्ययन केन्द्रले सहयोग पु¥याउनेछ ।
(च) कालीगण्डकी जलविद्युत् परियोजनाले बनाएको निर्मित तालमा चल्ने फेरीलाई थप व्यवस्थित गरी सेतीदोभानलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्नेछ ।
(छ) म्याग्दी ओखरबोटमा तामाखानी रहेको सुरुङलाई व्यवस्थित गरी खानी उत्खननका वेला प्रयोग भएका विधि, कथाहरूलाई डकुमेन्ट्रीका रूपमा उतार्ने र सुरुङ यात्राको नाम दिएर पर्यटक भित्र्याउनुपर्छ ।
(ज) विश्वको सबैभन्दा उचाइमा रहेको तिलिचो ताललाई पर्यटकीयसँगै हिन्दू धर्मावलम्बी र बौद्धमार्गीहरूको संगमका रूपमा विकासका लागि प्रचारप्रसारमा जोड् दिनुपर्छ ।
(झ) २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखा बारपाकलाई भूकम्प म्युजियमका रूपमा निर्माण गर्ने । भूकम्प कसरी गयो भन्ने वैज्ञानिक रूपमा भू–गर्वविज्ञको प्रतिवेदन र त्यसपछि भएका क्षति, पुनर्निर्माण सबै तथ्यहरू संकलन गरी म्युजियमलाई डिजिटल फरमेटमा लाने ।
(ञ) कालीगण्डकीमा रहेको गलेश्वरलाई ज्योतिषी अध्ययनकेन्द्र बनाउने । ज्योतिष अध्ययनकेन्द्रको मुख्य आधार पर्वतको पाङलाई बनाउने । त्यससँगै बागलुङमा रहेको पञ्चकोट, पाण्डवहरूले खानी खाएकाले पाण्डवखानीको घुम्टेलेकलाई पर्यटकी स्थलका लागि पूर्वाधार तय गर्ने ।
(ट) मुस्ताङ र मनाङको उच्च हिमाली क्षेत्रमा स्की खेलका लागि स्थायी ठाउँ चयन गरी पूर्वाधार तय गर्ने ।
(ठ) ढोरपाटन उपत्यकालाई हाइअल्टिच्युट रंगशालाका रूपमा विकास गर्ने । क्रिकेट, फुटबल, भलिबललगायत खेलका लागि पर्याप्त भौगोलिक सहजता देखिएकाले पहल गर्ने ।
(ड) मुस्ताङमा भूपी शेरचन साहित्य सम्मेलन केन्द्रका रूपमा विकास गर्ने । त्यस्तै मुस्ताङमा थकाली समुदायको उद्गम थलो र बाह्रवर्षे मेला लाग्ने, चार चनहरूको मेन्द्हो (पितृ) चढाउने स्थल भएकाले थाक सात सय म्युजियम निर्माण गर्नुपर्ने । मुस्ताङमा तिब्बती शरणार्थीहरूको समेत बस्ती भएकाले बौद्ध दर्शन, थकालीहरूको ढुकुटी परम्परा त्यहीँबाट सुरु भएकाले समग्र अध्ययनका लागि थकाली म्युजियम बनाउने ।
उद्योगः
(क) गण्डकी प्रदेशका ठूला औद्योगिक क्षेत्रबारे माथि नै उल्लेख गरिएको छ । यद्यपि त्यसबाहेकका अहिले बन्द अवस्थामा रहेको गोरखाकाली टायर, नवलपुरको भृकुटी कागज उद्योगलाई तत्काल सुचारु गर्नका लागि प्रदेश सरकारको पहल हुनुपर्ने देखिन्छ ।
(ख) गण्डकीको नामाकरण र गण्डकी नदीको मुख्य मुहानबारे माथि नै उल्लेख गरिएकाले मुक्तिनाथ र कालीगण्डकीवरपर पाइने शालिग्रामलाई शिवलिङ्ग आकार दिने उद्योग निर्माण गर्ने । हिन्दू धर्मावलम्बीहरूको आराध्यका लागि शिवलिङ नभई नहुने भएकाले त्यसलाई व्याख्यासहित व्यापार प्रवद्र्धन गर्ने । गण्डकी नदीकिनारमा पाउने कुशलाई समेत उद्योगका रूपमा प्रयोग गर्ने । कुश हिन्दू धर्ममा नभई नहुने आराध्य सामग्री हो ।
(ग) अहिले मुस्ताङमा युरिनियम उत्खननको, म्याग्दीको ओखरबोट तामाखानी, ढोरपाटन लुकुरवनको फलामखानीको सम्भाव्यताबारे अध्ययन गर्नुपर्नेछ । बागलुङको ताराखोला, ढोरपाटन नगरपालिका र निसी गाउँपालिकामा कालो, सेतो ढुंगाको खानीलाई औद्योगिकीकरण गर्नुपर्ने । हाल ताराखोलामा सानो लगानीमा ढुंगाको उद्योग सञ्चालनमा रहेको छ ।
(घ) बागलुङको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसी गाउँपालिकामा ढलेका भुंगका रूख खेर गइरहेका छन् । उक्त खेर गइरहेको काठलाई सदुपयोग गर्न प्लाइउड उद्योगको सम्भावना बढी छ ।
(ङ) हालसम्म वनमा पाइने निगालोबाट डोको, नाम्लो, डालीहरू घरेलु रूपमा उत्पादन राम्रो व्यापारको काम बागलुङ, म्याग्दीबाट भइरहेको छ । यसलाई थप व्यस्थित गर्न बागलुङ र म्याग्दीमा निगालो खेतीलाई प्रोत्साहन गर्नुपर्छ । सरकारी जग्गा र खोलाको छेउमा निगालो खेतीका लागि सम्बन्धित पालिकासँग प्रदेश सरकारले समन्वय गर्नुपर्छ । निगालोको व्यस्थित खेतीसँगै त्यसबाट उत्पादन हुने सामग्रीका लागि नयाँ सीपका लागि दक्ष जनशक्ति उत्पादन गरी बजार व्यवस्थापन गर्नुपर्ने छ । त्यससँगै निगालोको घाँसबाट चौपाया पालनको समेत योजना बनाउने ।
(च) विश्व बजारमा नेपाली हस्तकला सामानको ठूलो माग रहेको छ । यस प्रदेशमा उत्पादन हुने हातेकागज, अल्लोका कपडा, विभिन्नखाले अन्य हस्तकलाका सामानहरूको निर्यातले विदेशी मुद्रा आर्जन गर्न सकिनेछ । यसलाई औद्योगिक रूपमा परिणत गर्न प्रदेश सरकारले पहल गर्नुपर्छ ।
उल्लेखित सम्भाव्यतालाई यहाँ सरसर्ती मात्र उल्लेख गरिएको छ । कतिपय स्थानहरूको सम्भावित स्थानहरू अध्ययन र अज्ञानताका कारण छुटेको हुन सक्छ । यी सम्पूर्ण अध्ययन अनुसन्धान गर्नका लागि दक्ष जनशक्ति उत्पादन र कार्यान्वयनमा लिनका लागि राजनीतिक दलका नेताहरूको इच्छाशक्तिमा पनि भर पर्छ । त्यसका लागि शिक्षा अनिवार्य हो । कतिपय ठूला परियोजनाबारे यहाँ उल्लेख गरिएको छैन । केन्द्रीय राजधानी, पाँच नम्बर प्रदेशको लुम्बिनीसम्म रेलमार्ग जोड्ने, सुरुङ मार्ग, केबलकारजस्ता केही महत्वाकांक्षी योजनाहरू यहाँ जानेर पनि उल्लेख गरिएको छैन । यहाँ प्रस्तुत गण्डकी प्रदेशको विकास सूचकाङ्क हेर्दा तत्कालै गर्न सकिने सम्भावित सम्भावनाहरू मात्र यहाँ पस्किएको हो ।
समृद्ध नेपाल निर्माणका लागि गण्डकी प्रदेशले विकासको सम्बन्ध जोड्नु नयाँ योजनासहित आउनुपर्ने देखिन्छ ।
त्यसैले, मध्यबिन्दुदेखि लोमान्थाङसम्म ।
बुढिगण्डकीदेखि कालीगण्डकीसम्म ।
अन्नपूर्णदेखि धवलागिरिसम्म ।
मनकामनादेखि ढोरपाटन उत्तरगंगा बराहसम्म ।
भन्ने मान्यतासहित यस प्रदेशको योजना सफल पार्न प्रदेश सरकारको पहलमा प्रदेशकै विकासमा प्रदेशकै जनता भन्ने मान्यतामा रहे सबै सम्भव छ ।





