समय कटाउन कहिलेकाहीँ हामी यसो गफाडी पसलमा पुग्छौँ । त्यहाँ पसलेको कारोबारमा हान्ति नपु¥याइ अनेक गफ चल्छन् । विशेषतः चिया पसलमा यसो हुने गर्छ । त्यहाँ आ–आफ्ना अनुभवका कुरा त भइनै हाल्छन् । साथसाथै घरटोल छरछिमेक गर्दै देश–विदेशका कुरा चल्छन् । सरकार बनाउने र ढाल्नेदेखि सम्बन्धित देशको व्यवस्थाले यसो ग¥यो उसो ग¥यो हुँदै अनेक गफमा समय बित्छ । नेपालदेखि भारत, बेलायत, अमेरिका, जापान र चीन हुँदै त्यस्ता गफले एक घन्टामै पृथ्वीको फन्को मार्छन् । सामान्य काम गरेर जीविकोपार्जन गर्ने व्यक्तिदेखि विश्वविख्यात दार्शनिक र बडेबडे नेताका गफ हुन्छन् । मैले पनि यदाकदा यस्ता गफाडी पसलमा चलेका गफ सुन्छु र सुनाउँछु पनि । लेख्नेका लागि त खुराक पनि मज्जैले पाइन्छन् यस्ता गफाडी पसलमा । मैले पनि गफमा गफ मिसाउँछु । गफैगफमा आफ्ना अनुभूतिका कुरा गर्दा कतिपयले हाँमा हाँ गर्दै मानेका छन्– ‘ठ्याक्कै मेरो मनको कुरा भन्यौ यार तिमीले ! कसरी भन्यौ नि मेरो भाइ !’ भन्दै मेरा मनका कुरामा धेरैले सहमति जनाउँछन् ।
उनीहरूलाई त्यसरी सुनाउने मनको कुरा के हुन्थ्यो भने, कसैकसैको रूपरंग जिउडाल हाउभाउ देख्दा पनि भाउन्न भएर भएर आउने । त्यसैत्यसै एलर्जी नै हुने । इरिटेड बनाउने । वास्तवमा त्यो मान्छेसँग भेटघाट बोलचाल सवाल–जवाफ केही नभईकन पनि रिसको पारो चढेर आउने मान्छे पनि हुँदा रहेछन् भनेर सुनाउँथेँ । मैले यिनै र यस्तै कुरा गर्दा खुब मेल खान्थ्यो ती पसलका कतिपय गफाडीहरूसँग । अनि म छक्क पर्थें । मलाई मात्र यस्तो हुने होइन रहेछ अरूको जीवनमा पनि यस्तो हुँदो रहेछ भन्ने ठानेर मेरो जीवन यात्रा सहज रूपमा चलाउने यत्नरत हुन्छु । सायद तपाईंहरूको जीवनमा पनि त्यस्ता मान्छेहरू नआएका नहोलान् । अन्त कतै नभेटे पनि टिभी स्क्रिनमा त्यस्ता अनुहार खुबै भेटिन्छन् । टिभीमा ती अनुहार देख्नेबित्तिकै टिभी नै फुटाउँझैँ लाग्छ । भलै तपाईंको अन्तरमनमा रहेका त्यस्ता अनुहारलाई जन्जीरले बाँधेर राख्नुभएको किन नहोस् अर्थात्, तपाईंको जीवनयात्राको मार्गमा पनि त्यस्ता पात्रहरू पक्कै फेला परेका हुन सक्छन् । छन्, छैनन् यहाँलाई नै जिम्मा लाउँछु ।
यस्तै भाउन्न भएर आउँछ एउटा राजनीतिक शब्द मेरो मनमा । त्यो शब्द हो– ‘संघीयता’ । हुनतः अरू शब्द पनि छन् । यहाँ सन्दर्भ यसैको आएकाले पहिलो बन्यो । संघीयताको बारेमा चर्चा सुरु हुँदा मलाई यो शब्दसँग सामीप्यता हुनै सकेन । तिनै अपरिचित मान्छेजस्तै संघीयता शब्दसँग मेरो ¥याङ–ठ्याङै आएन । यो शब्द सुन्दै मेरो मन बटारियो । उसै त सानो देश त्यसमाथि देशै विग्रह पार्ने संघीयताजस्तो पिलो पालेर देशले कति सहन गर्न सक्ला भन्ने मनमा उठ्यो । हुनतः ऊ बेला कलेजमा राजनीतिशास्त्रको अध्ययन गर्दा धेरै देशका संविधान र तिनको संवैधानिक विकासको बारेमा हल्काफुल्का संघीयताको बारेमा सुनेको थिएँ । भारत, अमेरिका र रुसलगायतका ठुल्ठूला देशमा संघीय पद्धतिको बारेमा पढाइ हुन्थ्यो । यसकारण सोभियत संघ बनेको रहेछ । यसकारण अमेरिकाजस्तो विशाल देशले संघीयता धानेको रहेछ । यसकारण विशाल भारत अखण्ड रहन सकेको रहेछ । यस्तै–यस्तै पढिएकै हो । तर, त्यस्तो कारण हामीकहाँ छँदै थिएन, ता कि हामीले संघीयता अपनाउनु जरुरी हुन्छ अथवा छ ! यसो भएर पनि होला संघीयता शब्द मेरो देशको सन्दर्भमा मलाई भाउन्न भएर आउँछ । एलर्जी नै हुन्छ । अहिले त मलाई मात्र होइन, अधिकांशलाई यस्तो हुने गरेको गफ चल्न थालेको छ । मनको कुरा जन्जीरले बाँधेर मनमै कस्न बाध्य हुनु अर्कै कुरा भयो ।
अब फेरि माथिकै कुरा जोडौँ । नचिनेको नबोलेको नभेटेको व्यक्तिलाई उसैउसै औडाहा भए पनि भेट्दा शीतल स्वभावका पनि हुँदा रहेछन् भने कतिपय सोचेजस्ता वा भनौँ अझै भाउन्न हुने खालका पनि भेटिएका छन् । त्यस्ता मुखै हेर्न मन नलाग्नेहरू पनि भेटेपछि देखौँदेखौँ भइरहने र घनिष्ठ मित्र बनेका छन् । जीवनको दुःख सुखको साथी बनेका पनि छन् । होला, त्यस्तै मित्र पो हो कि संघीयता ठानेर धेरैले अजमाउन खोजेजस्तै मैले पनि अजमाउन बाध्य भएँ । त्यस्तो बाध्यता ममाथि थोपरियो । संघीयतासँग चिनापर्ची भेटघाट उठबस विगत चार वर्षदेखि भइनै रहेको छ । उसलाई मैले मेरो दुःखसुखको साथी बन्छ कि भन्दै परिचयपछि पर्खिबसेको छु । तर, खोइ किन हो किन यसले खासै मेरो मन जित्ने प्रयत्नै गर्दैन । कतै आफ्नै थातथलो खलबलाउँछ कि भन्ने डरैडर पो लाग्छ । मेरो घनिष्ठ मित्र बन्ला भन्दा पनि महादुस्मन लागिरहेछ । हुनतः अझै परीक्षणमै छ भन्छन् यसका योजनाकारहरू । जुन बिउ रोपेको हो त्यही बिरुवा उम्रन्न कि भन्ने चिन्ता लिन थालिसके । तैपनि समग्र देश समृद्ध हुने भनेको संघीयताको माध्यम नै हो भन्ने भ्रम छर्न प्रशस्त समय खर्चिन छाडेका होइनन् । मलाई भने उसको रूपरंग हेलमेल भेटघाट चिनजान जे गरे पनि भाउन्नै भइरहन्छ । मन अशान्त भइरहन्छ । र, फेरि गफाडीको स्टेसनमा पुग्छु । यो गफाडी दुनियाँमा रमाउने चिया पसलका गफाडीहरूले कत्तिको मन पराउँछन् त यो संघीयतालाई भन्दै सोध्न पुग्छु । गफाडीहरू पनि थरीथरीका हुन्छन् त्यहाँ । संघीयताकै नुनपानी खाने कर्मचारी पनि त्यहाँ भेटिन्छन् । उनले त संघीयतासँग मीत लगाउन पर्ने झन् चर्को स्वरमा संघीयतालाई तथानाम बोले । अरे ! नुनकै सोझो चिताउनुपर्ने कर्मचारी सबभन्दा बढी रिसाउने ? म आश्चर्यमा परेँ । उसले मुर्मुरिएर भन्यो– ‘यो संघीयताको विरोधमा लाग्नोस् हामी पूरै साथ दिन्छौँ । हामीले नै पहिला व्यवस्था ढाल्न मद्दत गर्यौं । हामीले नै गणतन्त्र ल्याउन सहयोग गर्यौं । लौ अहिले त हामीलाई नै पेलेको पेल्यै गर्छन् । इज्जत मानसम्मान मर्यादा भन्ने हाम्रो कर्मचारीतन्त्रमा हुनै छाड्यो । यी नेताका दास हौँ र हामी ! यिनै नेताले हामीलाई सदाचारी भने यिनैले भ्रष्टाचारी भन्दै छन् । यिनै नेताले नहुने काम हुने गराइ भन्छन् । माफियासँग मिलेर कमाउँछन् । उल्टै हामीलाई दोष दिन्छन् । कर्मचारी भ्रष्टाचारी– भ्रष्टाचारी कर्मचारी भन्दै थेगो बनाउँछन् । ल लाग्नोस्, यो संघीयता मात्रै होइन, यिनले ल्याएका सबै भत्काइदिन्छौँ । चिया पसलमा गफ दिने होइन, जानुस् सडकमा । हामी साथ दिन्छौँ ।’ यति सुनेपछि मलाई लाग्यो संघीयतासँग भाउन्न हुने अरू पनि रहेछन् ।
कर्मचारीको कुरा सुनेपछि त चिया पसले पनि झन् भाउन्निँदै भन्न थाले– ‘हो, हो मलाई नि मनपरेको छैन । एउटा चियाको किट्ली बसालेर र दुईचार प्याक बिस्कुट राख्ने गाउँको सानो पसलेले पनि ‘पान नम्बर’ राख्न प¥यो रे । पाँच हजारको दोकान छैन चार हजार कर ! नाफाजति उनैलाई बुझाउन पर्ने रे । गाउँका स्याललाई सिंह बनाउन हाम्रै पसिना बुझाउन पर्ने ? यस्तो चालाले हाम्रो समृद्धि कहिल्यै होला ? यस्तो संघीयता किन चाहियो हामीलाई ?’ पसलेका कुराले संघीयताका प्रतिको मेरो चिडचिडाहटमा थप पुष्टि ग¥यो ।
यसपालिको एसइईमा ए प्लस ग्रेडमा उत्तीर्ण भएको नातिको खुसियाली मनाउन नपाउँदै के पढाउने ? कहाँ पढाउने ? जस्ता चिन्ताले घेरिएका बालाई पनि यो संघीयतादेखि साह्रै दुखेसो रहेछ । संघीयता आएपछि त घरआँगनमै राजधानीको जस्तै पढाइ हुने आशामा बसेका उनलाई नातिले काठमाडौंमै गएर पढ्नुपर्ने भएकाले चिन्तित थिए । उतै पढ्न थाल्यो भने अब घर फर्केरै आउन्न । छोरो बिदेसिए पनि नाति साथमा होला भन्ने उनको आशामा पानी फेरिन थालेको थियो । उनले सोचे भनेजस्तो नहुने भयो । नातिका बाजे यी वृद्धलाई पनि यही संघीयतासँग चर्को रिस बढ्दो थियो । उनले उपस्थित सबैका सामुन्ने हावामा लोप्पा लाउँदै भने– ‘इस् संघीयता ! यस्तो तालले पनि समृद्धि आउँछ ?’
गफाडी पसलमा चित्रबहादुरको पार्टीका मान्छे पनि नहुने कुरै भएन । उनले यी सबै सुनेर खुब हाँसिरहन्थे । उनले सबैलाई खिसी गर्थे र भन्थे– ‘भोट हाल्ने बेलामा संघीयता रोज्यौ अहिले किन पछुताउने !’ हालै चित्रबहादुरले भनेको कुरा पनि उनले त्यहाँ राख्न भ्याए र भने– ‘हेर अब संघीयताले देश टुक्रिन्छ । देश जोगिन्न । दुई नम्बर प्रदेश भारतले आधार इलाका बनाइसक्यो । संघीयता भालुको कम्पारो भयो । संघीयता ल्याउनेलाई निल्नु न ओकल्नु भयो । अब राजतन्त्र फर्कन सक्छ ।’ यिनले सबैलाई बल्ल खाउ भन्दै खुच्चिङ गर्थे । म हाँसे मात्रै ।
अर्को गफाडीतिर फर्कें । ऊ रहेछ जनप्रतिनिधि । नगरपालिकाको वडा सदस्य । ‘संघीयता कस्तो लाग्यो त जनप्रतिनिधि ज्यू ?’ सोधेँ । ‘यस्तो पनि गणतन्त्र हुन्छ ? यस्तो पनि संघीयता हुन्छ ? अब यो धेरैदिन जान्न । खत्तमै भयो देश । योभन्दा त ‘उही’ ठीक थियो ।’ मेरो प्रश्नमा प्रतिप्रश्न गर्दै संघीयता मात्रै नभएर व्यवस्था नै ठीक नभएको बतायो । फेरि सोधेँ– के हो ‘उही’ भनेको ? के भो गणतन्त्रलाई ? ऊ बेला त बाह्र हात उफ्रिन्थ्यौ गणतन्त्र र संघीयता चाहियो भनेर ! चुनाव पनि जितेकै छौ । जनप्रतिनिधि बनेर तलबभत्ता पचाएकै छौ । हैन के भो तिम्लाई ? मेरो प्रश्नको जवाफ यति छिटो दिए छक्कै परेँ । उनले आफ्नै अनुहारमा लोप्पा लाउँदै भने– ‘इ–इ खाइस् ! बुद्धि पुगेन ऊ बेला । अरूको लहैलहैमा लागियो । अहिले देशै बर्बाद हुने हो कि भन्ने डर लागेको छ । आफ्नै पार्टीले सिद्धान्तै फे¥यो । अरूको पुच्छर बन्यो । मभन्दा माथिकाले कति–कति खान्छन्, आफूलाई जाबो तलब मात्रै । अब आर्मीले हात हाले हुन्छ यो देशमा !’ ओहो ! म त छाँगोबाट खसेजस्तो भएँ उसका कुरा सुनेर । सम्झेँ– पञ्चायत खाने पञ्चै थिए । बहुदल खाने बहुदले नै थिए । अहिले गणतन्त्र र संघीयता खाने पनि यिनै गणतन्त्रमा तर मार्न नपाउनेहरू नै हुने भए ।
यो सबै सुनेपछि मलाई लाग्यो– चिनापर्ची नहुँदै मन नपरेको कतिपय कुरा वास्तवमै अप्रिय र निष्ठुर नै हुनेरहेछन् । ठूलो मान्छे भएर घरमै बस्नभन्दा गफाडी जक्सनमा पुग्दा यथार्थ र वास्तविक चित्र देखिने रहेछ । यदि मैले मनमनै मन नपरेका अनुहार र शब्द लुकाई राखेको भए कहाँ सुनिन्थे यी सब ! संघीयता नै अरुचिपूर्वक सेवन गरेपछि समृद्धि कस्तो आउला ? गफाडी पसलमा रहेका गफाडीहरूबीच अन्तिममा यही निष्कर्ष निस्क्यो ! धन्यवाद ।





