शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेश : पर्यटन र समृद्धि

गण्डकी प्रदेश : पर्यटन र समृद्धि

(ढोरपाटन दैनिकको १६औं बार्षिकोत्सव विशेष)


  • चन्द्रप्रसाद ढकाल
  • भाद्र ९ २०७६, सोमबार

मुलुकको पश्चिमाञ्चल क्षेत्र अहिले धेरै भूगोल गण्डकी प्रदेशमा छ । यो क्षेत्रले वास्तवमा नेपालको विशिष्ट भौगोलिक क्षेत्रको पहिचान बोकेको छ । यहाँ धार्मिक, सामाजिक, बहुसांस्कृतिक, पर्यटकीय तथा विश्वकै सुन्दर पवित्र स्थलहरू छन् । जसको विशिष्टता र पवित्रताको सबै पक्ष अहिले यहाँ उल्लेख गर्न म असमर्थ छु । त्यसैले म एकजना नेपाली हुुनुमा जति गर्व छ त्यति नै खुसी मलाई यस मुलुकको पश्चिम भूगोलको नागरिक हुँ भन्दा लाग्दछ । र, मलाई यो पनि लाग्दछ कि यो भूगोलका हामी सबैमा यस्तै अनुभूति हुन्छ होला ।
हाम्रो महत्वपूर्ण पवित्रस्थल मुक्तिनाथ विश्वका हिन्दूहरूको महत्वपूर्ण आस्थाको केन्द्र हो । गण्डकी प्रदेशका लागि धार्मिक र सांस्कृतिक हिसाबले यो अतुलनीय सम्पत्ति हो । त्यस्तै विश्वको जनसंख्याको एकतिहाइभन्दा बढी मानिसका आस्थाका धरोहर भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी हाम्रो देशमा रहेकाले हामी नेपाली विश्वकै सबैभन्दा भाग्यमानी नागरिक हौँ । यो पवित्र लुम्बिनी पनि हाम्रो पश्चिम क्षेत्रकै एक अद्वितीय र अतुलनीय सम्पत्ति हो । त्यसैले मुक्तिनाथ र लुम्बिनीको धार्मिक र पर्यटकीय महत्वलाई संसारमा पु¥याउनु पनि हामी सबैको साझा कर्तव्य हो । हामीसँग यस क्षेत्रमा त्रिवेणी, मनकामना, देवघाट, विन्ध्यवासिनी, गुप्तेश्वर, बागलुङ कालिका, गलेश्वर अरू कैयौँ आस्था र विश्वासका धरोहरहरू छन् जो बत्तीमुनिको अँध्यारोको अवस्थामा रही आएका छन् । हाम्रो देशको पश्चिम क्षेत्र बहुसंस्कृतिको धनी मानिन्छ ।
विश्वका संस्कृतिविद्हरूले हाम्रो देशको संस्कृतिको बहुआयामिक महत्वको अध्ययन गर्ने अवसर पाए भने मलाई लाग्छ उनीहरूले पक्कै पनि एक अलग्गै र अलौकिक खालको विशेषता निकाल्न सक्दछन् । त्यसैले यस्तो देश र त्यस देशको पनि विशिष्ट भूगोलका बासिन्दाका रूपमा हामी गौरवान्वित हुन पाउनु बडो खुसीको कुरा हो । नेपालको पर्यटकीय पर्यावरणको त झन् विश्वका कुनै पनि पर्यटन गन्तव्यसँग तुलना हुन सक्दैन । विश्वको सर्वाेच्च शिखर सगरमाथाको देश हाम्रो नेपालमा रहेका अद्वितीय हिमालहरूबाट लिन सकिने अलौकिक आनन्द पनि हाम्रो पश्चिमाञ्चल क्षेत्रमै बढी पाइन्छ । धौलागिरि, माछापुच्छ«ेलगायतका अरू पनि कैयौँ हिमशृंखलाहरू मात्र होइन, जतिपटक गए पनि नअघाउने पोखरा, मनाङ मुस्ताङ, ढोरपाटनजस्ता मनोरम स्थल हाम्रै घरआँगन हुन् । त्यसैले ती क्षेत्र भएर ट्रेकिङमा जाने विश्वका पर्यटकहरूले आफूहरू जिउँदै स्वर्ग आएको अनुभव व्यक्त गर्दा हामीलाई हुने खुसीको अनुभूति संसारको अर्काे कुन देशको नारिकलाई होला र ?
त्यसैले त आफ्नो मातृभूमिलाई प्रकृतिले दिएको यस्तो वरदानबाट प्राप्त खुसीको तुलना अरू कुनै पनि वस्तुसँग गर्न सकिँदैन । सायद यसैले भनिएको होला ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनेर । हाम्रो जन्मभूमिप्रतिको यही मायाले नै हामी पनि आज यहाँ जम्मा भएका छौँ । त्यसैले हामी सबै मिलेर यो अलौकिक सम्पत्तिलाई आ–आफ्ना प्रयास र स्थानबाट संसारमा पु¥याउने प्रयत्न गरौँ भन्ने मेरो सबैमा विनम्र आग्रह छ ।
हाम्रो जन्मस्थानको विकास र संवद्र्धनका लागि एकै स्थानमा बसेर केही सोचौँ र आफ्ना भावना र कामनाहरूको पनि आदानप्रदान गरौँ भन्ने हाम्रो उद्देश्य हो । हाम्रा सबै कार्य अनि हामीले गर्ने सामाजिक कार्यक्रमहरूलाई आगामी दिनमा समृद्धि र पर्यटनसँग जोड्न निरन्तरता दिनु पर्दछ । आजजस्तै आगामी दिनमा पनि हाम्रा कार्यक्रमहरूलाई समृद्धिसँगै जोड्नुपर्दछ । यसैबाट नै हामी सबैलाई प्रेरणा र हौसला मिल्ने हो । हामीले आफ्नो मातृभूमिप्रतिको दायित्वलाई मनन गरेर यसको मुहार हसाउने काम गर्न सक्यौँ भने समृद्धि हाम्रा लागि धेरै टाढा छैन ।
वर्तमान सरकारले लिएको समृद्धिको सपनालाई हामीले हाम्रै पालामा पूरा गर्न सक्नेछौँ । यदि हामीले प्रयास गरेनौँ भने समृद्ध आफैँ कहीँकतैबाट झरेर आउने होइन । यसका लागि पनि हाम्रो सक्रियता र हाम्रा प्रयासहरू जारी राख्नु आवश्यक छ । तर, हामीले र मलाई लाग्छ देशका सबै नीति निर्माताहरूले पनि के नबिर्सिऔँ भने हाम्रो समृद्धिको आधार पर्यटन नै हो । हामीलाई प्रकृतिले वरदानस्वरूप दिएका यी अनुपम प्राकृतिक उपहारहरूबाट नै हामीले हाम्रा लागि र हाम्रो सन्ततिका लागि लाभ लिने हो । दिगो पर्यटनको आधारशीलाबाट लाभ लिन सक्यौँ भने समृद्धि हाम्रै पालामा सम्भव छ । त्यसका लागि हामी जहाँ छौँ, त्यही स्थानबाट सुरु गर्नु पर्दछ ।
(पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष ढकालले काठमाडौंमा हालै आयोजना गरेको मञ्चको कार्यक्रममा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->