शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘समृद्धि’को हाउगुजी

‘समृद्धि’को हाउगुजी

(ढोरपाटन दैनिकको १६औं बार्षिकोत्सव विशेष)


  • दिल शिरीष
  • भाद्र १२ २०७६, बिहिबार

जनप्रतिनिधि चयन भएको वर्षाैं बितिसक्दा ‘समृद्धि’ जनयुद्धका बेपत्ताहरू जस्तो गुमनाम छ । समाज बदल्छु भनेर निर्वाचित भएकाहरू विभिन्न स्वार्थ समूहको प्रभावमा आफैँ बदलिएर बदनामी भइसकेका छन् ।

यो भनाइको तथ्य कतै रेकर्ड र दस्ताबेज त छैन होला । तर, ‘समृद्धि’ सबैभन्दा बढी भाषण र चुनावी घोषणापत्रमा प्रयोग गरिएको शब्द हो । न कुनै दल, न कुनै नेता । यो शब्दको प्रयोगबाट जनतामा आश्वासन, प्रतिबद्धता र संकल्प राख्न कोही अछुतो थिएनन् । मुलुकमा एउटा ठूलो व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तनको महत्वपूर्ण अध्याय र उद्घोष पनि थियो । गाउँमा जाँदा गाउँकै समृद्धि, सहरमा जाँदा सहरकै समृद्धि । अर्को भाषामा ‘स्मार्ट भिलेज’ र ‘स्मार्ट सिटी’ । गाउँ–गाउँमा सिहंदरबार, घर–घरमा रोजगार । यतिबेला त यस्तो लाग्थ्यो कि अब सर्वत्र विकास र समृद्धिको उभार आउँछ । भोकको अभावमा कोही छटपटिनुपर्दैन । रोगको उपचार अभावमा कोही अकालमै मर्नुपर्दैन । छोराछोरी कसरी पढाउने, लेखाउने र भविष्य बनाइदिने शोकले कुनै आमाबाबु मानसिक रोगी बन्नुपर्दैन । समाजमा विद्यमान जे समस्या, दुःख, पिर, चिन्ता र सन्तापहरू छन्, त्यो हटेर जानेछ । चुनौतीका चाङहरू घटेर जानेछ । घरदेशदेखि परदेशसम्म हत्केलामा मृत्यु राखेर लामो सफर गर्नुपर्ने बाध्यतामा उल्लेख्य कमी आउन थाल्नेछ । र, कुनै दिन त्यो अन्त्य पनि हुनेछ । विडम्बना ! निर्वाचनबाट जनप्रतिनिधि चयन भएको वर्षांै बितिसक्दा ‘समृद्धि’ जनयुद्धका बेपत्ताहरूजस्तो गुमनाम छ । नागरिक आफ्ना परिवारका सदस्यजस्तो समृद्धि बेपत्ता भएपछिको ठूलो सन्नाटा र पिरमा छन् । नेता र जनप्रतिनिधि छातीमा स्वघोषित तक्मा लगाएर र थप लगाउने होडमा छन् ।
आखिर के हो त ‘समृद्धि’ ?
हामीकहाँ समृद्धिको परिभाषा निक्र्योल छैन । सम्भवतः पूरै परिभाषा या यसको अन्तर्य बुझेर समृद्धिको नाराको आलाप हाल्नेहरूको संख्या पनि ठूलो छैन । कतै भनिएको, सुनिएको या भन्नैपर्ने भएर गरिएको समृद्धिको भाषण र एजेन्डाको प्यासले जनता आकुलव्याकुल छन् । ‘समृद्धि’ शब्दको शब्दगत अध्ययनका क्रममा यो ल्याटिन भाषाको ‘प्रस्पिरस’बाट उत्पत्ति भएको पाइन्छ । यसको अर्थ राम्रो गर्नु भन्ने हुन्छ । राम्रो गर्दै जाने क्रमको लामो प्रक्रियापछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरूपता नै समृद्धि हो । विकास र समृद्धि परिपूरक पदावली हुन् । यद्यपि यिनीहरूबीचको सारभूत अर्थ धेरै भिन्न छ । कतिपयले यसलाई एउटै भन्ने अर्थमा पनि बुभ्ने र चर्चा गर्ने गर्छन् । तर सारतः विकास र समृद्धिमा धेरै अन्तर छ । कुनै पनि खास मानव समाजमा सबैखाले वा समानुपातिक विकास एउटा बिन्दुमा पुगेपछि अभिव्यक्त हुने उच्चतम वा उन्नत सामाजिक रूप नै समृद्धि हो । यसमा समानता र न्यायमा आधारित सुन्दरता, शान्ति, एकरूपता र वैभव अन्तरनिहित हुन्छ । भौतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विकास प्रक्रियाको उन्नत वा उच्चतम अभिव्यक्ति वा अवस्था नै समृद्धि हो । ‘समृद्धि’को विषयमा अर्काथरीको केही भिन्न मत छ– ‘समृद्धि भनेको सम्पन्नता हो ।’ नेपाली बृहत् शब्दकोशले ‘धनधान्य आदिले सम्पन्न, पुगीसरी आएको, उन्नतिशील वा उन्नत’ भनी परिभाषित गरेको पाइन्छ । सार वा संक्षेपमा भन्नुपर्दा ‘समृद्धि’ शब्दले व्यक्तिको सम्पन्नतालाई जनाउँछ र यो सम्पन्नता विशेष गरी आर्थिक क्षेत्रसँग बढी सम्बन्धित रहेको मानिन्छ । आफूले इच्छाएका कुराहरू गर्न आर्थिक कारणले रोकिनु नपरेको अवस्था नै हामीले व्यावहारिक रूपमा बुझ्ने सम्पन्नता हो । हुनतः मान्छेका इच्छाहरू असीमित हुने भएकाले पूर्ण समृद्धिको बिन्दु फेला पार्न कठिन हुन्छ । तैपनि आफ्नो घर–व्यवहार चलाउन, छोराछोरीलाई शिक्षादीक्षा दिन, बिरामी परे औषधोपचार गर्न, चाडबाड र सांस्कृतिक पर्वहरू मनाउन कुनै गाह्रो नपर्नु नै हाम्रो परिवेशमा समृद्धिको रूपमा लिन सकिन्छ ।
नेपाली समाजमा ‘समृद्धि’ हाउगुजी मात्र हो ?
समाजमा हाउगुजी मात्र जस्तो बनेको समृद्धिको परिभाषा व्यक्ति, समूह र भूगोलअनुसार फरकफरक हुन सक्छ । यसलाई केही अध्येताहरूले अर्को शब्दमा गरेको परिभाषा पनि मननीय छ– ‘गाँस, बास, कपासजस्ता आधारभूत र स्वास्थ्य, शिक्षा, सुरक्षाजस्ता मानव विकासका न्यूनतम विषयमा आफूले चाहेजसरी खर्च गर्न सक्ने हैसियत कायम रहनु र यी क्षेत्रमा गरेको खर्चले अन्य व्यवहारलाई प्रभावित नपार्नु नै हाम्रो सन्दर्भको समृद्धि हो ।’ समृद्धिको खास अर्थ हो एकातिर टाल्दा अर्काेतिर भ्वाङ नपर्नु अथवा छोटो सिरक ओढ्दा टाउको छोपे गोडा नांगै र गोडा छोपे टाउको नांगै हुने अवस्था नआउनु हो । हरेक नेपाली परिवारले जीवन जिउन पुग्ने गरी खर्च गर्ने सामथ्र्य प्राप्त गर्नु नै हाम्रो अर्थ र परिवेशको व्यावहारिक समृद्धि हो । समृद्धि भनेकै पैसा खर्च गर्ने क्षमता आर्जन गर्नु हो । खर्च त गर्न सकिन्छ, तर पैसा कहाँबाट आउँछ ? योचाहिँ गम्भीर सवाल हो । हामीकहाँ समृद्धिसँगै प्राप्त आयआर्जनका विषयमा पनि गम्भीर छलफल, समीक्षा र बहस हुनुपर्छ ।
के हामी समृद्धिको बाटोमा छौँ ?
हो, हामीले समृद्धि खोजेकै हो । समृद्धिको बाटो रोजेकै हो । तर, त्यो समृद्धि व्यक्तिको समृद्धि हो कि सामाजिक समृद्धि हो ? अहिले जनप्रतिनिधिदेखि कर्मचारी र अरू केही प्रतिनिधि पात्रहरूलाई हेर्दा हामी सामाजिक समृद्धि होइन, व्यक्ति समृद्ध हुने मार्गमा छौँ । यस्तो अभ्यासले कस्तो समृद्धि हुन्छ ? हामी कहाँ पुग्छौँ ? व्यक्ति समृद्ध, शक्तिशाली र धनी बन्ने तर राज्य, तिनका संरचना र निकाय कमजोर बन्दै जाने विषयले भोलिको परिदृश्य कस्तो देखिन्छ ? निश्चय पनि आजका सबै काम, गतिविधि, विकासक्रम, कार्यशैली, घटना र परिघटनाले शुभ संकेत गर्दैन । चाहे त्यो स्थानीय सरकार होस्, या प्रदेश र केन्द्र सरकार होस् । आफ्ना गाउँ, नगर कसरी समृद्ध गराउने व्यावहारिक, वैज्ञानिक योजनाभन्दा आफ्नै सुख, सुविधा र बिलासितामा जनप्रतिनिधि रमाइरहेको समाचारले जनता आजित बनिरहेका छन् । भलै केन्द्रदेखि स्थानीय सरकारसम्मले केही नगरेको या गर्न नखोजेको भन्ने होइन । करिब २० वर्षदेखि रिक्तप्रायः रहेको जनप्रतिनिधिको आगमनपछि तुलनात्मक रूपमा काम भएको छ । केही पूर्वाधार र समृद्धिका आधार पनि तय भएका छन् । तर, सरकारका राम्रा नीति, योजना, कार्यक्रम ल्याउने र केही विरोध र दबाबका स्वर आउँनासाथ पछाडि हट्ने प्रवृत्तिले राज्यप्रतिका महत्वाकांक्षी आशाहरू एकपछि अर्को गर्दै निराशामा परिणत हुँदै गएका छन् । यो तथ्य बिर्सिनुहुँदैन कि अरूबेलाका सरकारभन्दा यो फेरिँदो परिवेशमा बनेको सरकारप्रतिको विश्वास, भरोसा र जनआकांक्षा बढी नै थियो र छ । त्यसले नै बढी सरकार आलोचित बन्नुपरेको छ ।
त्यसो भए अब समृद्धि सम्भव छैन त ?
होइन, सम्भव छ । हामी नागरिकले पनि चिन्तन, मनन र बुझ्नैपर्ने विषय के छ भने हाम्रो समाज विकृति, विसंगति र अराजकताले गाँजेको समाज हो । एकैपटकमा सबै परिवर्तन र समृद्धि सम्भव छैन । यदि कसैले गर्छ या गर्छु भन्छ भने त्यो भ्रमात्मक हो । समृद्धिको यात्रामा अहिले सबैभन्दा ठूलो खतरा के देखिएको छ भने जसले समृद्धिको आधार खडा गर्छु, समाज र राष्ट्र बदल्छु भनेर निर्वाचित भएर गएका छन् । उनीहरू नै विभिन्न स्वार्थ समूहबाट प्रभावित भएर आफैँ बदलिने जोखिम बढेर गएको छ । कति जनप्रतिनिधि बदलिएर बदनाम भइसकेका छन् । कति बदलिने सम्मुखमा या सूचीमा छन् । समाज बदल्ने महान् उद्देश्य लिएर हिँडेको योद्धा स्वयंलाई समाजले बदलिदिने तितो यथार्थलाई बदल्ने सामथ्र्य कोसँग छ ? जातीय वर्ण व्यवस्थामा स्थापित राज्य र त्यसको धार्मिक वैधतामा सयौँ वर्षदेखि अभ्यस्त नेपाली समाज र संस्कृतिका मिथक र अन्य अन्धसंस्कारको जगमा हालसम्मका राजनीतिक अभियानहरूले प्रहार गर्ने धृष्टता राख्नेहरू समाजबाट बहिष्करणमा पर्ने प्रवृत्ति पनि विद्यमान छ ? नेपाली समाजको विकासका अवरोधकहरूमाथि राजनीतिक परिवर्तनहरूले हस्तक्षेपकारी भूमिका खेल्न सकेनन् । फलतः राजनीतिक परिवर्तनले शासनका पात्र परिवर्तन गरे पनि शासनको आधारभूत चरित्र, क्षमता सोच, शैली र संस्कार पुरानै हाबी भएको देखियो । यो हामीले अपेक्षा गरेको समृद्धिको सबैभन्दा खतरा र बाधक तत्व हो ।
र, अब समृद्धिका लागि यसो गरौँ न
समृद्धि न सरकार मात्रले गरेर प्राप्त हुने सम्भाव्य विषय हो, न कुनै एक व्यक्ति र समूहले । समृद्धिका लागि सरकारले नीति, कार्यक्रम, योजना र त्यसको कुशल नेतृत्वदायक भूमिका निर्वाह गर्ने क्षमता राख्नुपर्छ । जनतामा मात्र होइन, अहिले सरकार स्वयम्मा पनि भौतिक पूर्वाधारको विकास नै समृद्धि हो भन्नेतर्फ केन्द्रित भएको देखिएको छ । समाजको सर्वांगिण विकास समृद्धिको मुख्य सर्त हो । समृद्धिका लागि समाजमा विद्यमान खराब प्रवृत्ति बदल्ने र असल संस्कार सुरु गर्ने विषयमा पनि पक्ष–प्रतिपक्ष हुने अनिवार्यजस्तो बनेको विगतको अभ्यास बदल्नुपर्छ । समाज बदल्ने उद्घोषसहित सरकार र संसद्मा पुगेका जनप्रतिधि आफैँ बदलिएर कलंकित बन्न छाडेर सुखी नेपाली, समृद्ध नेपालको अभियानमा दृढ संकल्पका साथ लाग्नुपर्छ । सरकारहरू सनक र सोखको भरमा होइन, समयसापेक्ष प्रणालीका आधारमा चल्नु र चलाइनुपर्छ । त्यो प्रणालीमा प्रधानमन्त्री, मुख्यमन्त्रीदेखि वडा सदस्य र सर्वसाधारण बस्ने र चल्ने हुनुपर्छ । जसका कारण लोकले लाज मान्ने निर्णय, घटना, परिघटनाका परिदृश्य कसैले पनि देख्न नपरोस् । राज्यका सेवा, सुविधा, विकास, अवसर, रोजगारमा समान पहुँच, न्याय र समानता हुनुपर्छ । यसका लागि दीर्घकालीन सोच, योजना र संवेदनशीलता जरुरी छ । समृद्धिको नारा जपेर इतिहासमा जस्तो आफ्नो गाउँ आफैँ बनाऔँ या वृद्धभत्ताले मात्र अबको राजनीति कदापि टिक्दैन । समग्रतामा हरेकले आफ्नो सामाजिक उत्तरदायित्वसहितको भूमिका निर्वाह गर्ने वातावरण बन्नुपर्छ । अधिकार, अवसर, अनुदान, छुट मात्र खोज्ने, तर समाज र राज्यप्रतिको दायित्व बिर्सिने या त्यसलाई बेवास्ता गर्ने प्रवृत्ति तपाईं–हामीले पनि बदल्न अपरिहार्य छ । समाज समृद्ध भएर बदलिएको देख्न चाहने आदर्शवान्जस्ता तपाई–हामी आफू पनि इमानदार नागरिकको भूमिका निर्वाह गरेर समयसापेक्ष बदलिन तयार भए मात्र समृद्धि सम्भव छ । अन्यथा यो हाउगुजी मात्र बन्ने निश्चित छ ।
(शिरिष नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->