म्याग्दी, २७ साउन – म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रथम पञ्चबर्षिय योजना निर्माण गरेको छ । जिल्लामा रहेका स्थानीय तहहरुमध्ये पहिलो पटक प्रथम पाचँ वर्षिय गुरुयोजना बनाएर काम गर्न लागेको हो । समुन्नत र समृद्ध रघुगंगा निर्माण गर्ने लक्षलाई कार्यान्वयन गर्नको लागि योजनाबद्ध विकास गर्न रघुगंगाले पाचँ वर्षिय योजना बनाएर काम गर्ने थालेको छ ।२०७६÷७७ देखि २०८०÷८१ सम्मका लागि गत असार २० गतेको कार्यपालिका बैठकले स्वीकृत गरेको प्रथम पञ्चवर्षिय योजना सार्वजनिक गरिएको कार्यपालिकाका प्रवक्ता जिवनकुमार मल्लले जानकारी दिए । आर्थिक विकास र गरिबी निवारणलाई जोड दिएको पञ्चवर्षिय योजनाले मध्य र दिर्घकालिन प्रकृतिका योजनाहरुको वडागत सूचि समेत तयार पारेको छ ।कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीको नेतृत्वमा आवधिक योजना तर्जुमा निर्देशक समिति गठन भएको छ । २०७७ मा मध्यावधि मूल्याङ्कन गरिने योजनामा बहुक्षेत्रगत विकासका नीतिहरु, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत, सूचना, सञ्चार क्षेत्रलाई महत्व दिएको प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले बताए ।
‘‘रघुगंगाको विकासमा यसले दिशा निर्देश गर्नेछ, विकासलाई कत लैजाने भन्ने कुराको ठोस निक्यौल गर्न पञ्चबर्षिय योजनाले सहयोग पुग्ने अपेक्षा गरेका छौँ’’–प्रमुख प्रशासकिय अधिकृत थापाले भने ।करिब तीन महिनाको वडागत रुपमा छलफल गरि इगल्स सोलुसन्स प्रा.लिको प्राविधिक सहयोगमा गाउँपालिकाले आवधिक योजना निर्माण गरेको हो । आवधिक योजना तर्जुमा निर्दे्शिका बमोजिम विस्तृत स्थलगत अध्ययन गरि समस्या र सम्भावनाहरुको पहिचान र प्राथमिकता गरेर दिर्घकालिन विकासको खाकालाई योजनामा समावेश गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।‘यसलाई दीर्घकालिन मार्गदर्शनको रुपमा लिएका छौँ, समग्र विकासलाई यसभित्र प्राथमिकतामा राखेका छौँ, गौरवका योजना र क्षेत्रगत योजनाहरु प्राथमिकीकरण भएकाले प्रदेश र संघिय सरकारसंग विकास साझेदार गर्न थप सहज हुने विश्वास लिएको बताउदै योजनामा क्षेत्रगत विकासको लक्ष्य, कार्यक्रमको विश्लेषण,दिर्घकालिन भौतिक विकासको योजनालाई समेटीएको अध्यक्ष भण्डारीको भनाई छ।पालिकाभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहाँसिक स्थलहरुको अबस्था र विकासको सम्भावना, वडागत भैतिक पूर्वाधार योजना, सडक लगायतका विकास निर्माण योजनाहरुसंगै अवसर, चुनौति र समस्याहरुलाई समेत समेटीएको छ ।
त्यसैगरि कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार लगायतका क्षेत्रको अबस्था र प्राथमिकतालाई समेत आबधिक योजनामा समेटीएको छ । गाउँपालिकाले २०७६।०७७ को निति तथा कार्यक्रममा भएका योजनाहरुको स्टेमेट सम्झौता गरि भदौको पहिलो हप्ताबाटै काम सुरु गर्ने अध्यक्ष भण्डारीले बताए ।





