शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

समृद्धिको बाधक को ?

समृद्धिको बाधक को ?


  • काजी गाउँले श्रेष्ठ
  • भाद्र २३ २०७६, सोमबार

सामान्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको नेपालको संविधानको प्रस्तावनाबाट बुझ्न सकिन्छ । संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भन्ने कुरा नेपालको संविधानको धारा २३२ मा उल्लेख गरिएको छ । संघ, प्रदेश र स्थानीय तहका सीमाहरू, साझा सीमाहरू पनि संविधानमा कोरिएका छन् ।
संघीयता नेपालमा विकसित भएको प्रणाली होइन । यो अमेरिकी, स्विस मोडेलको आयातीत संघीयता पनि होइन । यो नेपालमा लादिएको प्रणाली हो । त्यस कारणले आ–आफ्नो स्वार्थअनुरूप यसका मान्यताहरू खोजिनु स्वाभाविकै हो । त्यसैले एकथरीले पहिचानको कुरा गर्दा अर्कोथरी तर्सनुपर्ने अवस्था देखापरेको थियो । संघीयताका सौदागरहरूले जातीय राज्यको सपना बाँडे, राज्य व्यवस्थामा हालीमुहाली गरिराखेका जातहरू मिलेर त्यसलाई निष्प्रभावी बनाए । जातीय सहिष्णुतामा चिसोपन आयो संघीयता आए यो बन्छ ऊ बन्छ भनी यसको बखान गर्नेहरू र संघीयताको माध्यमबाट विदेशी स्वार्थको भाले जुधाइ हुने सम्भावनातर्फ सचेत बनाउँदै संघीयता धान्न नसकिने खर्च देखाउँदै विकेन्द्रीकरण मुलुकका लागि उपयुक्त हुने तर्कहरू पनि सुन्ने गरिँदै छ । संघीयताले समृद्धि ल्याउँछ कि यो नेपालले थेग्नै नसक्ने प्रणाली हो यसको परीक्षण हुँदै छ ।
हामीले खोजेको समृद्धि कस्तो हो ? तराईको जंगल मासेर सिंहदरबारजस्ता दरबार बनाउनु समृद्धि हो कि, आगलागी हुनुअगाडि २०३० सालसम्म सिंहदरबार एसियाकै ठूलो प्रशासनिक भवन थियो रे यसलाई देशको समृद्धिसँग कसरी अलग गरेर हेर्न सकिन्छ । घुस खाएर, राष्ट्रको धन दुरुपयोग गरेर तस्करी गरेर, देशको सांस्कृतिक सम्पदा चोरी बिक्री गरेर, सार्वजनिक जग्गा हडपेर, शिक्षा र स्वास्थ्यमा माफियातन्त्र मच्चाएर, कालोबजार गरेर, विदेशीका एजेन्ट भएर, देशको कलकारखाना बेच्ने र धरायसी बनाएर, देशका संस्थानहरू लिलामीको स्तरमा पु¥याएर, महिला बेचबिखन गरेर, मानव तस्कर गरेर, कानुनविहीन अवस्थामा मुलुक पु¥याएर केही मान्छेहरू आलिसान महल बनाएर बसेका छन्, आयातीत रक्सी पिउँछन्, ब्रान्डेड लुगा लगाउँछन्, विलासी गाडीमा गुड्छन्, छोराछोरी विदेश पढाउँछन् । के हामीले खोजेको समृद्धि यही हो ।
९७ प्रतिशत घाटा व्यापारमा हामी छौँ । विषादीयुक्त फलफूल सब्जी खान बाध्य छौँ । कृषिप्रधान मुलक हो अन्न आयात गर्छौं । काम गर्न सक्ने जनशक्ति वैदेशिक रोजगारमा हिँड्ने गर्दछन् । वन मासिएका छन्, पहिरो भलबाढीको डुबानले वर्षौं नोक्सानी भोगिरहेका छौँ, जलवायु परिवर्तनको मारमा छौँ । काम गर्नेहरूको कदर छैन, कामचोरहरूको बोलवाला छ । दलभित्रका सामान्तीहरूको हालीमुहाली छ । ठगी धन्दा फस्टाउँदो छ । जताततै चमेरेहरूको घुसपैठ छ । परम्परागत घरेलु उत्पादन हराइसके । रैथाने बिउबिजन बिलाइसके । परिवारिक विखण्डन चरम स्तरमा पुगेको छ । रैथाने सिमेभूमे, मठमन्दिरको स्थान अन्तरदेशीय धार्मिक संस्थाहरूले लिइसकेका छन् । जसले धेरै चन्दा हाल्छ उही ठूलो धर्मात्मा कहलाइन्छ । हाम्रा प्रतिभाहरू, होनहारहरू, विदेशमा आफ्नो अनुहार बेच्न बाध्य छन् । आफ्नै देशमा यो ठीक छैन ऊ ठिक छैन भनी व्यक्तिगत सुखसुविधाका लागि विदेशमा श्रम बेच्नेहरूले आफ्नो बौद्धिकता छाँट्छन् । आफ्ना नेताले भैँसी पुज्दा गाई पुज्न हुने भैँसी पुज्न किन नहुने भनी आँखा चिम्लनेहरू छन् । अस्ति राणाका चाकरीदार, हिजो पञ्चायतका हनुमानहरू आजका शासकका गुरुहरू देखिन्छन् । हिजोको गाउँका हुनेखाने, जालीफटाहा, गुरु पुरोहित, जरसाब, करसाबहरूका सन्तान आज समाजवादका व्याख्याता छन् । बग्रेल्ती बोर्डिङ स्कुल, अस्पताल, ब्युर्टीपार्लर, रक्सी पसल, रेस्टुरेन्ट होटल, लज, यातायात व्यवसाय, निर्माण व्यवसाय, मासु पसल, डोजरले खोस्रेका बाटाहरू, धुलोधुवाँ, हिलो व्याप्त छँदैछ । हामीले खोजेको समृद्धि यही हो ?
हिजो कोराको ठुटे भोटो, चाल्ने सिस्नाका कछाड लगाउनेहरू आज आयातीत कपडा लगाइरहेका छन् । हिजो आँटो, ढिँडो, खानेहरू आज चाउमिन चाउचाउ खाने भएका छन् । हिजो मोही पिउनेहरू आज कोक फेन्टा पिउने भएका छन् । हिजो सोलीडाली बोक्नेहरू आज झोला बोक्ने भएका छन् हिजो मूलको पानी खानेहरू आज मिनरल वाटर पिउने भएका छन् । हिजो पठ्यँुमा भारी बोकी हिँड्नेहरू आचेल ट्याक्टरले ओसारेको सामान किन्ने भएका छन् । हिजो उज्यालोको लागि दियालो बाल्नेहरू आज बिजुली बाल्ने भएका छन् । हिजो ढिकीजाँतो प्रयोग गर्नेहरू आज मिलमा अन्न पिसेर खान्छन् । हिजो सरकारको जो निगाह भन्नेहरू आज जुलुस नारा लगाउन जानेका छन् । हिजो चप्पल लगाउने कार्यकर्ता आज देशका नेता भएका छन् । कमाउन युवाहरू बिदेसिएका छन्, मोबाइल धेरैले बोकेका हुन्छन् । हामी समृद्धिको बाटोमा छैनौँ ? हामी हाम्रा अगुवाहरूको भर पर्न सक्छौँ बेरोजगारलाई रोजगार दिन सक्छौँ ? व्यापार घाटा कम गर्न सक्छौँ ? नचाहिने विदेशी सहयोग बन्द गर्न सक्छौँ ? गाँठी कुरो नजानी लहलहैमा हिँड्ने वानी त्याग्न सक्छौँ ? प्रत्येकले दैनिक ५० रुपैयाँको भए पनि स्वदेशी वस्तु उत्पादन गर्न सक्छौँ ? स्वदेशी वस्तुको उपभोगलाई प्रोत्साहित गर्न सक्छौँ ? श्रमको इज्जत गर्न सक्छौँ ? ऋण काढेर तडकभडक देखाउन आडम्बरीलाई निरुत्साहित गर्न सक्छौँ ? चाकरी, चाप्लुसी र चुक्लीलाई घृणा गर्न सक्छौँ ? भोट हाल्नेबेलामा असल मान्छेलाई भोट दिन सक्छौँ ? स्वदेशी सिमेभूमे, सत्तल, पाटी, चौतारी पोखरी आदिलाई बढवा दिन सक्छौँ ? असललाई असल र खराबलाई खराब भन्न सक्छौँ ? आफ्नो देश, समाजअनुकूलको राजनीतिक पद्धति विकास गर्दै लान सक्छौँ ? स्वास्थ्य, शिक्षा, अन्न, फलफूल, लत्ताकपडामा आत्मनिर्भर बन्न सक्छौँ ? विदेशीको भत्ता डकार्न छोडेर स्वदेशी क्रियाकलापको मूल्यांकन गर्न सक्छौँ ? आफ्नो भूगोल, पर्यावरणअनुकूलको प्रविधिहरूको विकास गर्दै जान सक्छौँ ? द्वन्द्वकालका चोटहरूमा मलम लगाउन र मानवीय कानुनको उल्लंघन गर्नेहरूलाई दण्ड गरी दण्डविहीनताको अन्त्य गर्न सक्छौँ ? महाभूकम्प र पराकम्पले तहसनहस गरेको जनधन र सम्पदाको भर्पाई गर्न सक्छौँ ? बाढी डुवान, पहिरोबाट आयात भएकालाई राहत दिन सक्छौँ ? सुकुम्बासीका नाउँमा हुकुम्बासीहरूले गर्ने जंगल र जमिन दोहनको अन्त्य गर्न सक्छौँ ? के हामी भू–क्षय रोक्न सक्छौँ ? रैथाने बिउबिजनको बहाली गर्न सक्छौँ ? सिँचाइको व्यवस्था गर्न सक्छाँै ? रैथाने बिउबिजन जोगाउन सक्छौँ, परम्परागत सीप, ज्ञान र क्षमताको संवद्र्धन गर्न सक्छौँ ? जलस्रोत नदीजन्य क्षेत्रको दोहनलाई रोक्न सक्छौँ ? समृद्धिले यिनै प्रश्न गरिरहन्छ ।
हामीसँग हिमाल छ, उपत्यकामा कलासंस्कृति र सभ्यताका विश्वप्रसिद्ध सम्पदा छन् । हामीसंग मुक्तिक्षेत्र, पाशुपतक्षेत्र, लुम्बिनीक्षेत्र र वराहक्षेत्र छ । विश्वप्रसिद्ध भिसी पाउने लडाकुहरूको गाउँ छ । हामीसँग जलस्रोत छ, जडीबुटी छ, जैविक विविधता छ । आदिवासी जनजातिहरूको अनमोल वेशभुषा, भाषा, संस्कृति छ । विश्वप्रशिद्ध पर्यटकीय स्थलहरू छन् । हामी आफैँ सीधा, सरल र निर्मल छौँ । हामी आफैँ समृद्ध छैनौँ ? के सामन्ती निरंकुशविरुद्ध हामीले ऐतिहासिक आन्दोलन गरेका होइनौँ र ?
हो हामीसँग भोक छ, रोग, गरिबी छ । के मागेर हामी त्यसबाट मुक्त हुन सक्छौँ ? के हाम्रो राज्य व्यवस्थामा हालीमुहाली गर्नेहरूको हामी दया, माया र कृपाका पात्र हौँ ? विदेशीको सहयोगले हाम्रो गरिबी उन्मूलन भएको छ ? हामीलाई नागरिकको दर्जा दिन नसक्ने नेता, प्रशासक र न्यायकर्ताहरू माननीय, ढोगनीय र सम्माननीयका पात्र हुन सक्छन् ? समृद्धिका बाधकको ? हामी नागरिक कि विदेशी खेलाडी वा हाम्रा शासक ? नारामा होइन, यथार्थमा हामीले समृद्धिलाई पहिल्याउनै पर्छ, त्यसलाई ल्याउनै पर्छ र हामीकहाँ त्यो आउनै पर्छ ।

(गाँउले अधिवक्ता हुन )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->