मौषम सुधार हुन सकेको छैन । असोजलाग्दा भएको मौषम परिवर्तनले आम नागरिकहरुको दैनिकीमा असर पु¥याएको छ । मौषम सुध्रला । नजिकिँदै गरेको दशैँले आम नागरिकलाई केही क्षण भए पनि खुसी देला । आशावादी हुनु अभिशाप होइन । यो त हाम्रो. संस्कार नै हो । त्यसैले त, हामी अभावमा पनि हाँसिदिन्छौँ । दुःख छिट्टै भुल्छौँ र सानो सुखले पनि पुलकित हुन्छौँ । हामीले अहिले समृद्धिको सपना पालेका छौँ । समृद्धि आयात गर्न सकिँदैन । नाराले मात्रै पनि समृद्धि प्राप्त हुँदैन । आयातमा निर्भर देशको अर्थतन्त्रका अवयवहरु हेर्दा समृद्धि टाढाको पिलपिलाउँदो ताराजस्तो देखिन्छ । भ्रष्टाचार, व्यथिति र जडतन्त्रले गाँजेको सरकार र प्रशासनयन्त्र कोरा कल्पनालाई यथार्थमा परिणत गर्ने ल्याकत राख्छ र ? यो प्रश्नको उत्तर दिनेहरुको कमी त छैन तर यथार्थ त्योभन्दा फरक भएको पनि कहिँकतैबाट लुकेको छैन । दशैँलाई चाहिने आयातमा निर्भर छ । दशैँलगत्तै आउने तिहारलाई चाहिने फूल पनि आयात नगरि धर छैन । यस्तोमा समृद्धिको नारा लगाउँदा आनन्द त आउँछ तर यो सुखानुभूति दीर्घकालीन बन्न सक्दैन । चुलिँदो व्यापार घाटा, रेमिट्यान्सले धानेको अर्थतन्त्र र कामदार आपूर्ति गर्ने मूलुकको सूचिबाट बाहिर निकाल्ने योजनाहरु बने पनि व्यवहारिक कार्यान्वनयमा चुक्दै आएकाले यसो भएको हो । तर, निराशा मात्रै छैनन्, यहाँ । केही आशालाग्दा काम नभएका हैनन् । आशालाग्दा कामहरुभन्दा अनियमितता, ढिलासुस्ती र अकर्मन्यताले गाँजेकाले मात्रै त्यस्ता साना–साना खुसीहरुको कम चर्चा भएको हो । राजधानी काठमाण्डौलाई बाँकी नेपालसँग जोड्न मुख्य मार्ग हो, पृथ्वी राजमार्ग । यही सडकमार्ग हुँदै जब नागढुंगातिर उकालो लागिन्छ, तब हाम्रो विकासको गति कस्तो छ भन्ने थाहा हुन्छ ।
त्यो क्षेत्रमा सुरुङ मार्ग बनाउने सपना देखेको वर्षौँ भयो तर व्यवहारमा न त सुरुङ बन्यो न त त्यो बाटोको अन्य वैकल्पिक मार्गबारे नै सोच राखियो । लामो समयसम्मको यथास्थितिलाई तोड्दै हालैमात्र त्यो क्षेत्रमा सुरुङ मार्ग बन्ने निश्चित भएको छ । जापानी कम्पनीले २.६ किलोमिटर लामो सुरुङमार्गको ठेक्का पाएको छ । कुनै अवरोध भएन भने ४२ महिनामा सुरुङमार्गको काम सकिने पनि जनाइएको छ । निराशाको भेलमा कम्तिमा यी र यस्ता केही समाचारहरुले खुसीको संचार गराएको छ । २.६ किलोमिटर सुरुङमार्ग निर्माण विकशित राष्ट्रहरुको लागि ठूलो कुरा हैन । तर, हामीकहाँ यही बाटो बनाउनु पनि महाभारतजस्तै भएको छ । बल्लतल्ल बाटो बन्ने निश्चित भएको छ । तर, तोकिएकै समयमा बाटो बनिसक्छ भन्नेमा चाहिँ शंका नै छ । मेलम्चीको कथाले नै सबै कुरा भन्छ । समयमा सकिएको भए, मेलम्चीको पानी धेरैअघि काठमाण्डौमा आइसक्थ्यो । हिजोको त्यो योजनाले नपुगेर नयाँ योजना बनेको हुन्थ्यो । तर, हाम्रो नियतिले त्यसो हुन दिएन । नागढुंगा सुरुङमार्गको कथा त्यस्तो नहोस् । निर्माणको बेला अनावश्यक कमिसन माग्ने, काममा भाँजो हाल्ने र आवश्यक निर्माण सामाग्रीको व्यवस्था मिलाउन कुनै कसर बाँकी नराखियोस् । यतिबेला नागढुंगाको कुरा उठेको छ । पोखरामै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण द्रूतगतिमा भइरहेको छ । यही क्रमले जाने हो भने तोकिएको समयभन्दा अगावै पोखराबाट जहाज उड्ने निश्चित छ । निर्माण कार्यमा देखिएको यो तीव्रताले कम्तिमा केही त भएको छ भन्ने देखाएको छ । गर्नुपर्ने धेरै छ । मुख्य कुरा त, नेपालले आफ्नो क्षमता बढाउनु परेको छ । खासगरी निर्माण क्षेत्रमा अझ पनि दक्ष जनशक्ति, आधुनिक निर्माण सामाग्रीको अपर्याप्तताले गर्दा तोकिएको समयमा काम सम्पन्न हुन सकिरहेको छैन । त्यसमाथि अनावश्यक कमिसनको चक्करले अर्को बबण्डर निम्त्याउने पुरानो रोग पनि ज्यूँकात्यूँ छ । यी यावत् समस्याहरुको संवोधनले मात्रै सुखी नेपाली र समृद्ध नेपाल सम्भव छ ।

