राज्यले ठूला–ठूला घरानाहरुलाई अरबौं कर छुट दिन तयार तर साना व्यवसायीहरुलाइ रिक्सा, व्यक्तिगत घटना दर्ता, साना उद्योग दर्ता जस्ता विषयमा करको भार थोपर्न मरिहत्ते गर्ने प्रवृत्तिमा दोष छ । ठूला व्यवसायीको चङ्गुलबाट बाहिर निस्कने हिम्मत गर्न नसक्ने अनि कहाँबाट समृद्ध नेपाल सुखी नेपाली सम्भव हुन्छ ? ( यो ब्रेकर हो है )
यतिबेला समृद्धिको नारा खुबै चलेको÷बिकेको छ । तर, यसका सब्लेँटो र बिब्ल्याँटो विषयमा ध्यान कसैको छैन । समृद्धि भन्दैमा जादू जसरी आउने विषय होइन र कुनै नेताको जीवनमा वा परिवारमा समृद्धि देखिँदैमा देशमा समृद्धि आउँदैन । नेताहरूले आफ्नो लागि बाहेक देशको लागि गम्भिर ढङ्गले नसोचेसम्म समृद्धि नारामा मात्र सीमित हुनेछ ।
आज हाम्रा दलहरुका नेतामा ठूलो समस्या छ । आफू र आफ्नो परिवार मात्र हेर्ने समृद्ध बन्ने तर कार्यकर्ताहरुलाई बेवास्ता गर्ने । यसले अन्ततः पु¥याउने भनेको भड्खालोमा नै हो, समयमा बुद्धि फिरोस् । हामीले खोजेको समृद्धि नेता, नेताका परिवार, आसेपासे, झोलेको लागि हुँदै होइन । नेता, नेताका परिवार आसेपासे, झोलेसहित कार्यकर्ता र जनता पनि समृद्ध बनून्, बनाउन सकियोस् भनेको हो । समृद्धिको अर्थ । व्यक्तिले कोट, टाइ, सुट लगाउँदैमा नेता हुने वा जनताको पक्षमा भएको व्यक्ति कहलिने तर दिनरात जनताको सेवा गर्नेहरु पाखा लगाउने परिपाटीको विकासले न सुखी नेपाली न समृद्ध नेपाल बन्छ, न त, राजनैतिक व्यवस्था बलियो बन्छ । समृद्ध बनाउने हो भने अरु खोक्रो नारा बाँड्नुभन्दा पनि न्यूनतम यति त गर्नुप¥यो नि !
समृद्विको लागि गर्नुपर्ने काम
१. कृषि
– कृषि प्रणालीमा आधुनिकीकरण, व्यवसायीकरण विविधीकरण ।
–उन्नत मल, बीउ–बिजनको व्यबस्था ।
– समयमा बेच्न सक्ने बजारीकरण ।
२. उद्योग
–उद्योगमा लगानी–मैत्री वातावरण निर्माण ।
–कच्चा पदार्थको प्रबन्ध ।
– पूँजीमा राज्यको लगानी ।
३. श्रम
–श्रम गर्ने र श्रमको सम्मान गर्ने वातावरण निर्माण ।
– श्रमको उचित पारिश्रमिक ।
– श्रमिकहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी ।
४. शिक्षा
– राज्यबाटै सीपमुलक शिक्षा नीति लागु ।
–देशको आवश्यकता अनुसारको शैक्षिक नीति अबलम्बन ।
– विदेशमा सिकेको सीप र प्रविधिलाई नेपालमा लागु गर्ने व्यवस्था ।
५. सुसंगत समाज
–सुशासनसहितको राज्यको प्रत्याभूति ।
– भ्रष्टाचार, अनियमितता , ढिलासुस्ति रोकेर काममा चुस्तता दुरुस्तता ।
६. सडक
– सडकलाई अरु केही गर्न नसके पनि कमसेकम १२ महिना नै चल्ने बनाउने ।
–कृषि सडकहरुलाई नेताको घर आँगन होइन कृषि उपजसँग जोड्ने ।
– दीगो विकासलाई आत्मसात् गरेर सडक सन्जाल निर्माण ।
७. अन्य
– राजश्व छलिको तत्काल अन्त्य ।
–राज्यको स्रोत र साधनको उचित प्रयोग ।
– जल, जमिन, जंगल र जडिबुटीबाट यथासक्य फाइदा लिने नीति ।
केही समस्याका रहे पनि हामी प्रसस्तै सम्भावनाको बीचमा छौँ । समस्या स्रोत र साधनको भन्दा पनि हाम्रो सोच र संस्कारमा छ । हाम्रो संयन्त्र र व्यवस्थामा भन्दा पनि हाम्रो कार्यशैलीमा र दृष्टिकोणमा दोष छ । जसलाई हामीले चाहँदा समाधान गर्न सक्छौँ । अनि, राज्यले ठूला–ठूला घरानाहरुलाई अरबौं कर छुट दिन तयार तर साना व्यवसायीहरुलाइ रिक्सा, व्यक्तिगत घटना दर्ता, साना उद्योग दर्ता जस्ता विषयमा करको भार थोपर्न मरिहत्ते गर्ने प्रवृत्तिमा दोष छ । ठूला व्यवसायीको चङ्गुलबाट बाहिर निस्कने हिम्मत गर्न नसक्ने अनि कहाँबाट समृद्ध नेपाल सुखी नेपाली सम्भव हुन्छ ?
एउटा सामान्य घटनामा प्रधान न्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउने दलहरु, एनसेल कर छुट प्रकरणमा मुछिएका न्यायाधीशलाई बोलाएर सोधपुछसम्म गर्ने हिम्मत गर्दैनन् भने जनताले के बुझ्ने ? नेताहरु आफ्नो र झोलेहरुको बाहेक अरु कसको समृद्धि चाहन्छन् ? प्रष्ट छैन र ! संसदमा शुन्यसमय मागेर एकले अर्कालाई आरोप प्रत्यारोपमा खनिने महाशयहरु लाज लाग्दैन ? एनसेल कर छलि प्रकरणमा मुखमा पिँडालु राखेर बस्न ? हुँदाहँुदा एकजना सासंदले छानविन होस्, महाअभियोग लगाउन परे तयार हुनुपर्छ भन्ने धारणा के राखेका थिए, रातारात उनको समिति नै परिवर्तन किन ? यसको अर्थ दलका महान नेताहरु एनसेलबाट व्यक्तिगत समृद्धि लिन तल्लिन छन भन्ने कुरा कसैले फैसला गर्नुपर्छ र ? पर्दैन नि । यस्तै सोच र संस्कारबाट कहाँ पुगिन्छ ? नयाँ पुस्ताका सांसद वा नेताहरु पनि खुलेआम देश लुट्दा हेरेर बस्ने कि आवाज उठाउने ? प्रतिपक्ष नै छैन भन्दैमा सत्ता पक्षले पनि दिनदहाडै यस्तो गर्न मिल्छ र ? पक्का मिल्दैन । प्रतिपक्ष त अब आफ्ना पूर्वनेताको नामको खोजीमा कहिलेकाँही बजेट घोषणा वरिपरि बाहेक कतै देख्न नपाइला भन्ने भै सक्यो तर यही मौकामा सत्ताधारीले झन राम्रोराम्रो काम गर्ने कि एनसेल, ठेकेदार, मेलम्ची जस्ता केशमा रमाइरहने ?
अब पालो हामी युवाको हो । पुरानो पुस्तालाई ससम्मान अभिभावकको जिम्मेवारीमा लगाउने र हामीले देशमा समृद्धि ल्याउने, सुखी नेपाली बनाउने । राजा आऊ, देश बचाऊ भन्नेले पनि दिउसै सुतेर सपना नदेख, अनि धर्म निरपेक्षता को नाममा क्रिश्चियनहरु पनि नेता, पूर्वप्रधानमन्त्रीमार्फत नखेल । नेता र पूर्वप्रधानमन्त्रीले पनि क्रिश्चियनको सपना नबाँड । दिनदहाडै कुनै धर्मबाट छोडेर उठ् भन्ने अधिकार संबिधान को कुन धाराले दिन्छ, भट्टराई महासयलाई ? जुन कुरा समृद्धिको विपरित छ । आफ्नो र झोलेहरुको समृद्धिको लागि देश बेच्ने छुट कसलाई छ ? जनता पर्ख र हेरमा छन् । तिम्रो समृद्धिको नारा केवल एक थान नेता र तिनका झोले (जसले कालोलाई सेतो भन् भन्यो भने सेतो भनेर उफ्रिन्छन्) हरुको घरमा हँुदैमा हुन्छ र ? राज्य संयन्त्र र दलको कुरा गर्दा यहाँ सरकार र सरकारसँग सम्बन्धित दललाई मात्र होइन राज्यका सम्पूर्ण दल र दलका झोलेको कुरा पनि गरिएको हो । सरकार बाहिर भएका दल र दलका असल कार्यकर्ता त सधँै भरि ओझेलमा छन् । कहिल्यै मुखरित हुन पाएनन् । जसले सधैंभरि पार्टी र नेताको लागि काम गरे, भोलिको समृद्ध नेपाल सुखी नेपाली को निम्ति काम गरे तर झोलेहरुले आफ्नो पुस्ताँै सम्मलाई सम्पति कमाउन लागे । ठेक्कापट्टा कसरी हात पार्ने र कसरी हुन्छ कमसल काम गरेर भएपनि दाम मात्र कमाउने अभियानमा लागे । हरेक पार्टीहरु यो प्रवृत्तिमा लगाम लगाउन तयार छैनन्, अनि कसरी जनताको समृद्धि होला ? यसरी त नेता र झोलेको मात्र समृद्धि हुन्छ भनेर बुझाउने र त्यसै अनुसारको काम कारबाहि गर्ने नेतृत्व खै ? त्यो नेतृत्व हो र छ भने यही व्यवस्था भित्रका तपाईँ हामीहरु कै बीचमा छौ, छन् । कुनै अर्को व्यवस्था खोजेर होइन बरु राज्यका संयन्त्र र निकायलाई परिमार्जन तथा पुनः संरचित गर्नुपर्नेछ । यो व्यवस्था ल्याउन पनि धेरै नेता तथा कार्यकर्ता र आम जनताको त्याग योगदान र बलिदानी छ जसलाई हामीले सम्मान गर्नुपर्छ । तर राज्यको समृद्धि को निम्ति बाधक हुने हरुलाइ नाङ्गेझार बनाउनु पर्दछ र हाम्रै पालामा, हाम्रै पहलकदमीमा र हाम्रै नेतृत्वमा देशमा समृद्धि र जनतामा खुसी ल्याउनुपर्छ । जनतामा समृद्धि ल्याउनलाई जनता जसरी पनि उत्पादनसँग जोडिनु पर्दछ तब मात्र समृद्धि सुरु हुन्छ । भाषण र कुराले कागजमा बाहेक जीवनमा समृद्धि आउँदैन । समृद्धि भनेको नेता वा दलले मात्रै ल्याउने विषय पनि होइन । तपाईँ हाम्रो पनि उत्तिकै भूमिका छ ।




