तिमीले गरेर वा तिम्रो सरकार वा दलले नयाँ कार्य गरेर हामीमा केही परिवर्तन हुन्छ भने त्यो विकास अहिले नहोस्, हामी बत्तीमुनिको अँध्यारोमा बसे बस्छौँ, केही छैन, तर हामी यो वा त्यो ढंगले फरक मत प्रस्तुत गर्दछौँ । परिवर्तनको विरोध गर्दछौँ । हामीलाई सिकाएको, सिकेको फरक राजनीति दस्ताबेज यही हो । जो हामी आफैँले यो वा त्यो बहानामा अद्यावधि प्रयोगमा ल्याएका छौँ । टाउकेहरूलाई गाली गर्ने हामी घनटाउकेहरू आफैँ सुध्रन पर्ने कि नपर्ने ? आफैँ नसुध्री माउ टाउकेलाई गाली गर्ने नैतिकता हामीलाई कहाँबाट आउला ? मुलुकलाई समृद्धिमा डोहो¥याउने राजनीतिले हो । राजनीतिक अस्थिरताले दीर्घकालीन विकासे योजना र नागरिकका दैनिकी कार्यलाई गति दिलाउन सक्दैन, जुन हामीले भोगेर आएका हौँ । प्रजातन्त्रपश्चात् गिरिजाप्रसाद कोइरालाले सुरु गरेको गुटको राजनीति र आफू शक्तिमा रहिरहनका लागि पार्टी फोड्नै परे पनि पछि नपर्ने कुम्युनिस्ट चरित्रको विकसित राजनीतिक प्रवृत्ति सबै पार्टीमा उत्तिकै फैलिँदो छ, बरु संस्थागत र झाँगिदै छ, रोकिनेवाला छैन । केन्द्रीय राजनीतिक परिदृश्य जसरी चलेको छ, जिल्लामा पनि त्यसैको विम्ब देखिनु अनौठो भएन । आफैँभित्र विभिन्न गुटमा विभाजित कार्यकर्ताहरूले अरूलाई पाखा लगाउन वा अगाडि आउन नदिन आफ्नै पार्टी र नीतिविपरीत घातअन्तर्घात गरेका तितो चोकेभाषण र असन्तुष्टि सुन्दै आएकै छौँ ।
प्रसंग पुनः बागलुङ बजारकै, बागलुङ जिल्लाकै समृद्धि र विकासको अनि प्रतिस्पर्धी जिल्ला निर्माण गर्ने अभियानकै हो । तेजेन्द्र बहादुर, ओमकार, तेजब गौचन, रामजी शर्मादेखि चम्पा खड्कादेखि चित्रबहादुर केसीसम्म राज्यमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म पु¥यायो बागलुङ जिल्लाले । प्रशासनसँग प्रतिपक्षको भूमिका खेल्ने तेजेन्द्र बहादुर, चित्रबहादुर केसीको आदर्श र निष्ठाभन्दा अरूबाट बागलुङेले राजनीतिक रूपमा केही पाउन सकेन । रामजी शर्माले चर्चामा ल्याएको उत्तरगंगा जलाशययुक्त विद्युत् परियोजना चर्चामा रह्यो, तर अहिले कार्यान्वयन होला जस्तो छ । बागलुङ जिल्लाबाट उद्योग र व्यापारका लागि काठमाडौँ, बुटवल, नारायणगढ र पोखरा गएका धनाढ्यहरूले पनि बागलुङमा उद्योगधन्दा र लगानीको वातावरणतर्फ कुनै चासो दिनुभएन, बरु यताको बेचेर लानुभयो होला उताको यता ल्याउने कार्यमा लाग्नुभएन । पछिल्लो समय चन्द्र ढकाल, पुष्पमान, अशोक शेरचनले केही तत्परता देखाएका छन्, हेरौँ उनीहरूको लगानी र मेहेनत यता पर्छ या पर्दैन ? नत्र सबै गाउँको काठमाडौँ, पोखरा, नाराणगढ, बुटवल, भैरहवा लगी लगानी गर्ने व्यापारी भन्दा अरू हुने भएनन् । बागलुङ जिल्ला ऊर्जा, पर्यटन, कृषि, विभिन्न किसिमका खानीहरूको प्रचूर सम्भावना बोकेको जिल्ला हो । जिल्ला आफैँ धेरै चिजले निर्भर छ, पछिल्लो समय उर्वर भूमि खण्डीकृत गर्दै निर्माण हुन लागेका बस्तीले यहाँको उर्वर भूमि मासिने पक्का छ । जस्तोः हरिचौरको मजुवा, ग्वालीचौर, भीमगिठे, बुर्तिवाङ, कुश्मिसेरा, त्यसतर्फ ठोस योजना बनाउन ढिलाइ गर्नुहुँदैन ।
कुनै गाउँपालिका र वडा अछुतो नहोला विकासे कच्चीबाटो नपुगेका, तर ती बाटाहरू कुनै दक्ष इन्जिनियरले तयार पारेका पनि होइनन् । अब कल्पना गरौँ त्यति धेरै लगानीमा बनेका धुले र हिले बाटोले नागरिकको विकासमा कति सघाउ पु¥याउला ? तसर्थ समृद्धिको पहिलो खुड्किलो सडक हो दुविधा रहेन, तर यस्ता सडकले राज्यको रकम सक्ने, खेतीयोग्य जमिन र जंगल मास्नेबाहेक अरू आशा गर्न नसकिने हुँदा जिल्लालाई जोड्ने बृहत्तर सडक योजना, सडकको मापदण्ड, स्तरता र निर्माणमा जोड दिनु पहिलो आवश्यकता हो । लघुजलविद्युत्को जिल्ला हो बागलुङ, ठूला जलविद्युत्का प्रशस्तै सम्भावना छन्, तिनलाई निर्माणका लागि आवश्यकीय प्रबन्ध मिलाई निर्माण गर्नु श्रेयस्कर हुनेछ । प्राकृतिक रमणीयताको कुरै छाडौँ, माछी चरणदेखि डाँफे चरणसम्म फैलिएको यो जिल्ला सिकारका लागि अन्तर्राष्ट्रिय जगतकै प्रमुख आकर्षण र गन्तव्य हो । नेपालकै एक मात्रै सिकार आरक्ष ढोरपाटनको फाइदा हामीले लिन सक्यौँ, सकेनौँ यो बहसको विषय बनाइनुपर्दछ । ढोरपाटन क्षेत्र विश्व खेलकुद र पर्यटनका लागि मजबुत आधार बन्न सक्छ । आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउनका लागि पर्यटकीय रुट, होटेल व्यवसाय र आन्तरिक प्रबन्धका लागि आवश्यक पहल गर्नु जरुरी छ । कालिका मन्दिर, कुँडेले फेदी बैकेश्वर मन्दिर, भैरवस्थान, सर्वसिद्विधाम, रामकोट मन्दिर, उत्तरगंगा मन्दिर, गाजाको दह, भकुण्डेको दह, र ढोरपाटनका दहहरू, गाजाको धुरी, शिवधुरी, घुम्तेको धुरीको संरक्षण संवद्र्धन गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्य बन्न सक्छ । बागलुङ–पाङ झोलुंगे पुल निर्माणाधीन छ, बागलुङ–नागलीवाङ पुल र बन्जीजम्पको सम्भावनालाई कार्यान्वयनमा ल्याउँदा राम्रो हुनेछ । होमस्टेको प्रशस्तै सम्भावना छ, भकुण्डेको होमस्टेलाई प्रवद्र्धन गरी अन्यत्र पनि सिको गराउँदा राम्रो हुनेछ । बिहुँदेखि बुर्तिबाङसम्मको मध्यपहाडी मार्ग पिच हुँदा सदरमुकामदेखि बिहुँसम्मका नागरिकले अझैसम्म धुलो खानुको कारण के रहेछ, पिच छिटो निर्माणमा सरोकारवाला निकायको ध्यान जाओस् । निर्माणाधीन पुल, बाटो र भवनका ठेक्काहरू समयमा सक्नका लागि सरोकारवाला निकायलाई जवाफदेही बनाउने दायित्व कसको ? समस्या ठेक्कापट्टाहरूमा देखिएकै छ ।
आन्तरिक पर्यटक र ग्राहकहरूलाई रोक्ने उपाय भनेको अस्पताल, शिक्षालय र उद्योगधन्दा नै हुन्, तीनै विषयमा हामी शून्यमा छौँ भन्दा फरक पर्दैन । धवलागिरि, गल्कोट र बुर्तिबाङ क्याम्पसलाई सुविधासम्पन्न, दक्ष, उत्पादकमूलक शिक्षालय र आकर्षण गराउने जिम्मेवारी कसको ? धवलागिरि क्याम्पसलाई यो क्षेत्रकै प्रमुख कलेजका रूपमा स्थापना गर्न सक्ने प्रशस्त सम्भावनाहरू छन् । हामीसँग एउटा पनि मेडिकल कलेज छैन, निजी क्षेत्रले यसतर्फ किन नसोच्ने ? अञ्चल अस्पतालको तुलना हेल्थपोस्टसँग गर्ने गरिन्छ, दरबन्दीका विशेषज्ञ डाक्टर खोइ ? सबै खालका रोगको बिरामीको उपचार र निदान हुन्छ भन्ने सन्देश दिन सक्ने हैसियत राख्ने कहिले ? नागरिकसँग पैसाको चिन्ता छैन तसर्थ उपचार र शिक्षाको लागि सहजै जिल्लाबाट बाहिरिन्छन्, तर आफ्नै ठाउँका धरोहरहरू दिनानुदिन कमजोर हुँदा हाम्रो आर्थिक अवस्था के होला ? बाहिरिएको हाम्रो आर्थिक स्रोत हामीकहाँ नै अडाउन सक्ने विकल्पका बारेमा छलफल गर्न अब ढिलाइ गर्नुहुँदैन ।
संघीयताले धेरै अधिकारहरू स्थानीय तहलाई सम्पन्न बनाएको छ, तर स्थानीय तहहरू ती अधिकारको व्यवस्थापनमा अझै चुकेका छन्, पुरानै विकासे रोलमोडेलले समृद्वि प्राप्त गर्न सकिँदैन । तसर्थ नयाँ मोडेलको अभ्यासमा ढिलाइ नगरौँ । विकासको नाउँमा बाटो खन्ने, जंगल मास्ने र खेतीयोग्य भूमि पुर्ने संस्कृतिको अन्त्य गरौँ, शिक्षाको नाउँमा जबर्जस्ती अंग्रेजी भाषा र अवैज्ञानिक, अव्यावहारिक र अनुत्पादनमूलक शिक्षाको विकल्प खोजौँ ।
अन्त्यमा, सामाजिक सञ्जाल राजनीति र नकारात्मक टिप्पणीले मात्रै सजाउने समय आफ्ना ठाउँको सम्भावनाका बारेमा लेख्ने, देख्ने जिम्मा हाम्रो पनि हो । स्थानीय रूपमा नै स्वरोजगारयुक्त बन्न आवश्यकीय ऋण र प्रबन्ध गर्न स्थानीय निकायलाई नीति तथा कार्यक्रम बनाउन दबाब सिर्जना गरौँ । राजनीतिक भर्ती र सबै काममा राजनीति देख्ने दृष्टिलाई फराकिलो बनाउन सक्यौँ भने समृद्धि हामी आफैँले गर्न सक्छौँ, हाम्रै पालामा नेपाललाई समृद्ध देख्न सक्छौँ । (शर्मा अधिवक्ता हुन् ।)





